MENU

हाे, सबै ड्राइभर फटाहा नहुँदा रहेछन् !

सरला रेग्मी बिहीबार, बैशाख ७, २०७४ 194011 पटक पढिएको

Share This

पाँचथरदेखि धरानसम्मको यात्रा थियो। पाँचथरबाट पाँच घण्टामा विर्तामाेड अाइपुगिने। विर्तामाेडबाट धरान पुग्न प्राइभेट गाडीमा जान तीन घण्टा लाग्ने। तर, सार्वजनिक यातायातमा प्राइभेट गाडीमा चढे जस्तो कहाँ हुन्छ र? आजभोलि फिदिमबाट लाग्ने गाडी जतिबेलै पनि पाइन्छ। बिहानै उठेर हिड्न त मन थियो। तर, केही रेडियोको जरुरी काम सक्नु पर्ने भएकाले १० बजे खाना खाएर विर्तामाेडको गाडी चढे। १० बजे हिड्ने भनेको गाडी यात्रु बटुल्दै ११ बजे छुट्याे। पुसको महिना, जाडो निकै थियो ।

घरबाट भोलि जाउँ भन्दै हुनुहुन्थ्यो । महिलालाई माइती भनेपछि हुरुक्कै हुने, मनमा एक किसिमको हतार अवश्य थियाे। जसरी भएपनि बेलुका पुगिहालिन्छ नि भन्ने सोचेर हिँडे । गाडीमा कोचाकोच मान्छे खाँदिएको थियो। गाडीको अगाडिको सिटमा बसेकी थिएँ। दुईजनाको सिटमा तीनजना कोचाकोच, विचरा ड्राइभर र मेरो छेउमा बसेका दाइले बीचमा एउटी बहिनीलाई राखेका थिए। छेउमा बस्ने दाइलाई अनुरोध गरें, दाइ उता बसेर त्यो बहिनीलाई यता बस्न दिनुहोस् न। नदिन खोजेको पनि होइन तर अप्ठेरो हुन्छ रे। अलि ठूलो मान्छेलाई बीचमा राख्दा। अलि सानो मान्छे सजिलो अरे। वास्तवमा त्यस्तो हो कि नियत त्यो चाहिँ उही जानोस्। बाटोका घुम्तीहरुमा त्यो ड्राइभरको हातलाई त्यो बहिनीले जोगाएको देख्दा माया नै लाग्यो। विचरीको दमकमा तालिम भ्याउन पुग्नु पर्ने बाध्यता रहेछ। त्यो ड्राइभर फोनमा मस्केको देख्दा गाडीमा सवार म मात्रै होइन सबै रिसले चुर थिए।

मम्मीले भनेको कुरा याद आयो-ड्राइभरको ब्यहोरा नि हुन्न। भित्रभित्रै रिस पनि उठ्यो, बल्लबल्ल साढे ४ मा विर्तामाेडमा उत्रिएँ। म छेउमा बसेकी केटी र मसँगै गाडीबाट निस्कियाैं। दमकसम्म जाने थिइ ऊ। मसँगै जाउँ भन्ने उसको प्रस्तावलाई हुन्छ भने तर एउटा पार्सल विर्तामाेडमा आफन्तको दिनु थियो, चढ्यौं सिटी रिक्सा। सिटी रिक्साको ड्राइभर ऐनाबाट हामीलाई हेर्दै मस्किरहेको थियो। लाग्छ पहिलो पटक कोही महिला देख्दैछ। कपाल मिलाउँदै र सर्टको गोजीमा राखेको चश्मा पुछ्दै। किन त्यसाे गर्‍यो थाहा छैन्। हामीलाई प्रभावित पार्न वा अरु केही उही जानोस् ।

 

Yamaha

बसपार्कमा उत्रिँदा, आफ्नो लगेज निकाल्दा र सिटी रिक्सामा चढेर भद्रपुर रोड पुग्दा ५ बजिसकेको थियो। घरबाट बारम्बार फोन आएर विर्तामोडमै बस् भन्ने आदेश नआएको त होइन। तर, माइती पुग्ने हतारले झुट बोल्न बाध्य भए कि धरानको साथी भेटे उतै जान्छु। आफन्तकोमा पार्सल दिएर फर्कियौं, गाडी प्रतिक्षा गर्दै थियौं। पुसको महिना कति छिटो रात पर्ने, ५ः३० त्यही भइसकेकाे थियाे।  एउटा भ्यान आएर हाम्रो अगाडि रोकियो। बहिनी कहाँ जाने हो? एकजना महिला पनि थिइन् त्यहाँ। गाडीभित्र यसो हेर्‍याैं। हामीले के गर्ने, के नगर्ने दोधारमा पर्‍याैं। धरान पुग्नु थियो। कहाँ जान्छ दाइ यो गाडी? मैले सोधें। उसले भन्याे-धरान जान्छ, जाने हो? दोधारमा परे।  मसँगैको साथी दमकसम्म मात्र, मैले भने जान त धरान नै जाने हो। तर ...... जाने हो भने चढ्नुस्, ट्राफिकले रोक्न दिँदैन यहाँ। जाउँ दिदी खाली नै छ बहिनीले भनिन्। फेरि गाडी पनि धरान नै जाने रहेछ।

चढ्यौ गाडी हामी। ६ बजेकाे थियाे। माइती घर र यता घरबाट फोन बारम्बार आइरहेको थियो। साथी दमकमा अाेर्लिइन्, दिदी राम्रोसँग जानु है भन्दै।  हवस् भनी बिदा भयाैं। अब गाडीमा म र ड्राइभरमात्रै भयाै। मुटु कति स्केलमा दौड्दै छ थाहा थिएन। ब्यागलाई दह्रो समाएको थिएँ, दुई हात जोडेर प्रार्थना गर्दै थिएँ फेरि सम्झिएँ, ड्राइभरको भर हुँदैन। मुटु त्यो भ्यानभन्दा कयाैं छिटो दौड्दै थियो। गाडी अगाडि बढ्यो। म पछाडिको सिटमा थिएँ, धरानमा कहाँ जाने बैनी? ड्राइभरले साेध्याे।

मैले उसकाे प्रश्नको जवाफ दिएँ- बरगाछी। को छ त्यहाँ? फेरि प्रश्न सोध्यो- माइतीघर हो जवाफ दिएँ। ए.. चेली पो हुनुहँदो रहेछ थोरै मुटुको बेग घट्यो । तर थोरैमात्र ...। मुटुको बेग घटेको मात्र के थियो। पथरीको जङ्गलमा गाडी घ्याच्चै रोकियो। साढे ७ बजिसकेकाे थियाे। मोबाइल अफ थियाे। पुसको महिना बाहिर अँधेरो, त्यो घटेको मुटुको धड्कन फेरि दौडिन थाल्यो। एकैछिन है बहिनी- म बाहिर गएर आउँछु। झन् डर लाग्यो।

‘काम दिने भयो' हतार हतार ब्यागबाट चक्कु झिकेर हातमा राखे। मुटुलाई केही सान्त्वना दिंदै थियो त्यो चक्कुले। ड्राइभर आयो मुटु ढुकढुक भइरहेको थियो। ड्राइभरले भन्याे-चेली अगाडि बस्ने हो कि? होइन दाइ पछाडि नै ठिक छ। भ्यानकाे अगाडिपट्टी राखेको बक्सबाट बिस्कुट समाउन चै समाएँ। तर खाइनँ। कतै वेहोस पार्ने दवाइ त हालेको छैन भनेर एकदमै डराएको थिएँ। किनकी म पनि यही समाजमा हुर्किएकी एउटी केटी थिए। अनि हाम्रो समाजमा एउटा उखान छ कि ‘छोरी मान्छेको इज्जत सियोको टुप्पामा हुन्छ' याे कुराले डर अझै बढ्दै थियो। गाडी अगाडि बढ्यो त्यो भन्दा छिटो मेरो मुटु दौडियो। मोबाइल बन्द, हातमा चक्कु मनभित्र कति धेरै डर। ड्राइभर बोल्दै थियो, म उसको जवाफ दिँदै थिए। गाडी इटहरी पुग्यो। थोरै मुटु दौडिन कम हुँदै गयो। तर, हरा हुँदै फेरि जङ्गल सुरु भयो।

सेउती पुल हुँदै तीनकुनेमा पुलिसको चेकिङ थियो। गाडी रोकियो कहाँबाट आउनु भएको? ड्राइभरले जवाफ दियो-भद्रपुर एयरपोर्टबाट आएको सर। वहाँ चै को हो? मेरो चेली। घर आइपुग्न लागेको थियो। मेरी चेली भन्ने जवाफले मन खुसी पनि भएको थियो। बरगाछी आइपुगे दाइ मलाई यही रोकिदिनु मैले भने। घर कता हो बैनी घरमै पुर्‍याइदिन्छु। राति भइसक्यो फेरि तपार्इँको सामान पनि छ। मैले बाटो देखाए उसले घरमै लगेर छाेडि दियाे। सामान पनि बोकेर भित्रै लगेर छाेडिदियाे अनि अनि मेरो मम्मीलाई हेर्दै भन्यो आमा बहिनी ल्याइदिएको छु। चिया त खाएर जानु दाइलाई अनुरोध गरें। गाडी भाडा झिकेर दिए तर लिन मानेनन्। भाडामा गाडी चाहिए सम्पर्क गर्नु भन्दै उनले कार्ड दिए। जति शब्दले भन्यो धन्यवाद त्यो भन्दा धेरै मनले साँच्चै आफ्नै दाइ भेटे झैं लाग्यो।

अनि सोच्न बाध्य बनायो। सबै ड्राइभर त फटाहा नहुँदा रहेछन् नि! यदि उसले फटाइ गर्नु नै थियो भने मैले हातमा राखेको चक्कुले मलाई बचाउँथ्यो होला त? हाम्रो समाजमा धेरै ड्राइभर, डाक्टर, इन्जिनियर, प्रहरी, अफिसमा काम गर्ने कर्मचारी, विभिन्न क्षेत्रमा आवद्ध विभिन्न पेशाका मान्छेहरु छन्। तर, पनि विशेष गरी ड्राइभर र प्रहरी पेशालाई अलि नराम्रो दृष्टिकोणले हेरिन्छ अरु कुरा त थाहा छैन। केटीसँगको सम्बन्ध र अनैतिक सम्बन्धका विषयमा जोडेर हेर्ने गरेको पाइन्छ अनि त्यही समाजमा हुर्किएका हामी ड्राइभर र प्रहरी पेशालाई मात्र हामी अनैतिक सम्बन्धमा हुने पेशाको रुपमा हेर्ने गर्छाैं। के व्यक्ति र पेशा फरक कुरा हाेइन र? एउटा व्यक्तिको चरित्र उसको पेशामा नै गएर जोडिएको हुन्छ त? के सबै मानिस पेशाले गर्दा नै खराब हुन्छन् त?

के हामीले सबै मानिसलाई उसको व्यवहारले भन्दापनि उसको पेशाले मुल्याङ्कन गर्ने हो त? ड्राइभिङ पेशा र प्रहरी पेशाक बाहेक अन्य पेशाका मानिस खराब या अनैतिक सम्बन्ध राख्ने हुँदैनन् त? के यो दुनियाँमा दुइटी श्रीमती ल्याउने र अनैतिक सम्बन्ध राख्ने ड्राइभर र प्रहरी मात्र हुन् त ? एउटा व्यक्ति खराब हुँदा सबै संस्था र संगठन नै खराब हुन्छ त? के प्रहरी र ड्राइभरबाहेक अरुले अनैतिक सम्बन्ध राख्दैनन् होला त? केही महिनाअघि व्यापारीलाई विर्तामोडको विभिन्न होटलमा पक्राउ गरेकाे भन्ने समाचार पनि सुनियो। के ति पनि ड्राइभर वा प्रहरी थिए त? राजनीतिक दलका विभिन्न सभासद्‍लाई पनि विभिन्न परिस्थितिमा भेटियो भनेको समाचार पनि सुन्छौं के ति पनि ड्राइभर र प्रहरी मात्र हुन् त? रेडियोमा कार्यक्रम प्रस्तुत गर्ने जोडी बाटोमा गाडीभित्र नै पक्राउ परेको समाचार पनि त सुनेको। हिजो अस्ति भर्खरै धरानको पञ्चकन्या स्कुलका शिक्षकले १४ वर्षीया बालिकालाई अश्लिल म्यासेज पठाएको खबर पनि भर्खरै बाहिर आएको थियो। के ति पनि ड्राइभर र प्रहरी हुन् त?

औषधि गर्न गएकी बुहारी डाक्टरसँग राति होटलमा भेटियो भन्ने समाचारले त झनै सामाजिक सञ्जाल नै भरिएको थियो। के ति पनि ड्राइभर वा प्रहरी नै हुन् त? पेशा वा कुनै पनि संगठन आफैमा खराब हुँदैन।  खराब त्यतिबेला देखाउँछ जब एउटा प्रहरी वर्दीमा केटी जिस्काउँछ, अनैतिक सम्बन्ध राख्छ, शिक्षकले पढाउँदा केटीलाई हातले सुम्सुम्याउँदै अनैतिक कार्य देखाउँछ। हो त्यतिबेला पेशा नै खराब देखिन्छ।

केही व्यक्तिको व्यक्तिगत गुणका कारण पुरै पेशा र संगठन खराब भन्न मिल्छ र ? हास्य कलाकार दिपकराज गिरीसँगको मैले एउटा अन्तरवार्तामा मैले सोधेंकी थिएँ, फिस्स हाँसेर जवाफ दिएका थिए। ‘कुनैपनि काम गर्दा मनबाट गर्नुपर्छ सफल भइन्छ र श्रद्धा र भावकासाथ गर्नुपर्छ' उहाँले भन्नु भएको थियो। काम आफैमा सानो र नराम्रो हुँदैन। यदि सहचालककाे काम नै किन नगरियोस्। तर ड्राइभरले सधैं त्यही खलासीलाई खोजोस्। 

पेशालार्इ मर्यादित बनाउने जिम्मा त्यही व्यक्तिको हो जो त्यो पेशामा संलग्न छ। त्यसैले अरुकाे कामबारे विभिन्न टिकाटिप्पणी गर्नुभन्दा आफ्नो कामलाई आफैले मर्यादित बनाउँदा कसो होला? त्यसैले आफ्नो कामलाई सम्मान गरौं।

 

प्रतिकृया दिनुहोस

dishhomeapp