MENU

मतदान केन्द्र सबैभन्दा बढी काठमाडौंमा, कम मनाङमा

नरेन्द्र साउद बिहीबार, बैशाख ७, २०७४ 4469 पटक पढिएको

Share This

देशभर १८, ५७२ मतदान केन्द्र

काठमाडौः मधेसकेन्द्रित दलले स्थानीय तह निर्वाचनमा भाग नलिने भन्दै असहमति व्यक्त गरे पनि निर्वाचन आयोगले २ नम्बर प्रदेशसहित देशभर मतदान केन्द्र तोकेको छ । आयोगले देशभर १० हजार ६ सय ४० मतदान स्थल र १८ हजार ५ सय ७२ मतदान केन्द्र तोकेको छ । मधेसकेन्द्रित दलको अवरोधका कारण आयोगले २ नम्बर प्रदेशमा मतदान केन्द्र तोक्न ढिलाइ गरेको हो ।

आयोग प्रवक्ता सूर्यप्रसाद शर्माले सात प्रदेशका ७५ जिल्लामा रहने मतदान स्थल र मतदान केन्द्रको संख्या निर्धारण गरिएको जानकारी दिनुभयो । आयोगले १० हजार ६ सय ४० मतदान स्थल र १८ हजार ५ सय ७२ मतदान केन्द्र निर्धारण गरेको प्रवक्ता शर्माले जानकारी दिनुभयो । मतदाताको संख्याअनुसार एउटा मतदान स्थलमा दुई वा सोभन्दा बढी पनि मतदान केन्द्र हुन सक्नेछन् ।

आयोगका अनुसार काठमाडौंमा सबैभन्दा बढी ६ सय ८६ मतदान केन्द्र छन् भने सबैभन्दा थोरै मनाङमा २८ मात्र मतदान केन्द्र तोकिएका छन् । स्थानीय निर्वाचनका लागि एक करोड ४० लाख ५४ हजार ४ सय ८२ मतदाता छन् । आयोगका अनुसार सबैभन्दा धेरै मतदाता मोरङमा छन् । ५ लाख ६३ हजार ८ सय ७० मतदाता रहेको मोरङमा ३ सय मतदान स्थल र ६ सय ६९ मतदान केन्द्र निर्धारण गरिएका छन् । ५ लाख ५९ हजार ४ सय मतदाता रहेको काठमाडौंमा सबैभन्दा धेरै ६ सय ८६ मतदान केन्द्र तोकिएका छन् ।

३ लाख ८९ हजार ३ सय ८६ मतदाता रहेको धनुषामा सबैभन्दा बढी ३ सय २६ मतदान स्थल तोकिएका छन् । तर, धनुषामा ५ सय ३५ मतदान केन्द्र छन् । मोरङ र काठमाडौंपछि ५ लाख बढी मतदाता रहेको तेस्रो जिल्ला झापा हो । ५ लाख १० हजार २ सय १६ मतदाता रहेको झापामा ६ सय ३७ मतदान केन्द्र निर्धारण गरिएका छन् । पर्साबाहेक दुई नम्बर प्रदेशका सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बारामा मतदाताको संख्या तीन लाख नाघेको छ ।

 

Yamaha

२ लाख ८० हजार मतदाता रहेको पर्सामा सबैभन्दा बढी २० दलले दलगत चुनाव चिह्न पाएका छन् । धेरै मतदाता रहेका जिल्लामा रुपन्देही र कैलाली रहेको आयोगले जनाएको छ । ४ लाख ५८ हजार ६ सय १६ मतदाता रहेको रुपन्देहीमा ५ सय ४३ तथा ४ लाख ३ हजार २ सय ८० मतदाता रहेको कैलालीमा ४ सय ९० मतदान केन्द्र तोकिएको आयोगले जनाएको छ ।

सबैभन्दा कम ५ हजार ९५ मतदाता रहेको मनाङमा २८ वटा मतदान केन्द्र तोकिएका छन् । मनाङपछि सबैभन्दा कम मुस्ताङमा ८ हजार २ सय ६३ मतदाताका लागि ३७ वटा मतदान केन्द्र तोकिएका छन् । निर्वाचन आयोगका अनुसार ५० हजारभन्दा कम मतदाता रहेका जिल्लाको संख्या ६ वटा छ । हुम्लामा २४ हजार ५ सय ६२, डोल्पामा १६ हजार ७ सय ३, मुगुमा २७ हजार ४ सय ३५ र रसुवामा २७ हजार ७ सय ५६ मतदाता छन् ।

आयोगले मतदान केन्द्र निर्धारण भइसकेकाले अब ७ सय ४४ वटै स्थानीय तहमा निर्वाचन अधिकृतका कार्यालय स्थापनाको तयारी भइरहेको जनाएको छ । मुख्य निर्वाचन अधिकृतका ७५ वटै जिल्लामा कार्यालय खोलिसकेको आयोगले केही दिनभित्रै मतदान सामग्री जिल्ला पठाउन पनि सुरु गरिने आयोग प्रवक्ता शर्माले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस

dishhomeapp