MENU

फेरि अाैलोको कुरा

डा. सुमनराज ताम्राकार बुधवार, बैशाख ६, २०७४ 2634 पटक पढिएको

Share This

प्रसंगः औलो दिवस (२५ अप्रिल )

‘राम्रोको लागि औलोको अन्त्य गर' भन्ने नाराका साथ अर्को साता विभिन्न कार्यक्रम गरी विश्व औलो दिवस मनाइँदैछ । विश्वमा हाल करिब सवा २१ करोडभन्दा बढी मानिस औलोबाट प्रभावित छन् । औलोको कारण हाल बर्सेनि सवा लाखजना मानिसको मृत्यु भइरहेको वास्तविकता छ ।

कीटजन्य सरुवा रोगहरूमध्ये औलो सबैभन्दा डरलाग्दो कीटजन्य स्वास्थ्य समस्या हो । विशेषतः अफ्रिकाको सबसहारा क्षेत्र, दक्षिण पूर्वी एसिया र मध्यपूर्वी क्षेत्रमा झै कतिपय दक्षिण एसियाली मुलुकहरूमा औलो व्याप्त छ । तर पनि सन् २००० देखि औषधियुक्त झुल वितरण गर्ने तथा घरभित्र लामखुट्टेविरुद्ध औषधि छर्किने काय गरिरहेको भए पनि विगत पाँच वर्षमा औलोको नयाँ बिरामी २१ प्रतिशतले र यसकै कारण हुने मृत्युदर २९ प्रतिशतले घटाउन सफल भएको छ ।

यसै अवधिमा गर्भवती महिलामा औलोको प्रकोप पाँच गुणाले घटाउन सम्भव भएको छ । सन् २०२० सम्ममा औलोको नयाँ बिरामी र यसै कारण हुने मृत्युदर ४० प्रतिशतले घटाउने लक्ष्य लिइएको छ । हाल औलोबाट उच्च प्रभावित राष्ट्रहरूमध्ये ३५ राष्ट्रमा सन् २०३० सम्ममा औलोलाई पूर्णतः उन्मुलन गर्ने लक्ष्य पनि छ । तर औलोको उच्च जोखिम भएका विश्वका ९१ वटा कम आयमूलक भएका राष्ट्रमै निर्धारित लक्ष्यभन्दा ४० प्रतिशतमात्र उपलब्धि भइरहेबाट चुनौती भने अवश्य छ ।

औलो, कालाजर, डेन्ग्यु, चिकन्गुन्यालगायतका संक्रमणहरू कतिपय ठाउँमा वर्षैभरि छन् भने गर्मी एवं वर्षात् मौसममा अन्यत्र पनि यदाकदा महामारीको रूपमा पैmलिने गरेको छ । सुरक्षित वातावरण तथा स्वच्छ खानेपानी एवं सरसफाइको लागि पर्याप्त पानी उपलब्ध नहुने ठाउँका बासिन्दाहरूमा कीटजन्य सरुवारोगहरूको प्रकोप बढी देखिने गरेको छ ।

 

लामखुट्टेको टोकाइबाट सर्ने विभिन्न सरुवा रोगहरूमध्ये औलो पनि एक हो । स्त्री जातिको एनोफिलस लामखुट्टेको टोकाइबाट औलो रोग सर्दछ । औलो रोग गराउने कारक परजीवी चाहिँ प्लाज्मोडियम हो । यसको पनि भाइभेक्स, फाल्सिपेरम, मलेरी र ओभेल गरी चार उपजातिहरू छन् । औलो प्रभावित क्षेत्रमा फाल्सिपेरम उपजातिका प्लाज्मोडियमहरूको बाहुल्य छ भने अन्य क्षेत्रमा प्लाज्मोडियम भाइभेक्स नै प्रमुख कारक परजीवी हो ।

औलो गराउने परजीवीले संक्रमित बालबालिका र लामखुट्टेमा गरी आफ्नो जीवनचक्र पूरा गर्दछ । संक्रमित लामखुट्टेले निरोगी मानिसलाई टोकेपछि औलोका परजीवीहरू मानिसको रगतको माध्यमबाट कलेजोमा पुग्दछ ।

कलेजोको कोषिकाहरूमा यिनीहरूले आफ्नो विकासक्रमको विभिन्न चरणहरू पार गरी रातो रक्तकोषमा पुग्दछन् । त्यहाँ भाले र पोथीको रूपमा विकसित हुन्छन् । लामखुट्टेले संक्रमित मानिसलाई टोक्दा उनको रगतमा रहेका औलोको परजीवी लामखुट्टेको पेटमा पुग्दछ । त्यहाँ परिपक्व भाले र पोथी मिलन भएर लामखुट्टेको पेटको भित्तामा पुग्दछ । त्यहाँ यिनीहरू विभाजन भई शरीर भरि पैmलिन्छन् । यसै क्रममा लामखुट्टेको र्‍याल गन्थीमा आइपुग्दछ । र अन्य निरोगी मानिसलाई सार्न तयारी अवस्थामा हुन्छ । यी सबै प्रक्रियाको लागि करिब दुई साता समय लाग्दछ ।

लामखुट्टेको वृद्धि पानी जम्ने ठाउँ (ताल, तलाउ, नाली, पोखरी) मा हुने भएकोले वर्षात् मौसममा औलो महामारीको रूपमा पैmलिन्छ । नेपालको तराई, भित्री मधेस तथा पहाडी क्षेत्रको बेंसी भाग औलो प्रभावित क्षेत्र हुन् ।

औलो लाग्दा कम्पनसहित ज्वरो आउने, कलेजो तथा फियो बढ्ने, रक्तअल्पता हुने, जीउ दुख्ने, टाउको दुख्ने, जोर्नीहरू दुख्ने हुन सक्छ । प्रत्येक पटक ज्वरो आउँदा अलि भिन्नै खालको हुन्छ । सुरुमा जाडो महसुस हुने, त्यसपछि तातो (न्यानो) हुने र पछि पसिना खलखली आई ज्वरो ओर्लिन्छ । औलो गराउने परजीवीको उपजातिअनुसार ज्वरो निस्कने समयको अन्तराल पनि फरकफरक हुनसक्छ ।

औलो पत्ता लगाउन स्लाइडमा रगतको पातलो र बाक्लो तह बनाई औलो र यसको कारक परजीवीको उपजाति पनि पत्ता लगाउन सकिन्छ । रगतका साथै भिडियो एक्सरे, पिसाब पनि जाँच्न सकिन्छ । औलोको उपचारको लागि क्लोरोक्विननामक अवधि प्रभावकारी छ भने क्विनिन, मेफ्लोक्विनजस्ता औषधिहरूको पनि आवश्यकता पर्ने सक्दछ । यसका साथै ज्वरो घट्ने, औषधिको अलावा झोलिलो खानेकुरा बढी खुवाउने, खुल्ला हावामा राख्ने, पातलो लुगा लगाइदिने गर्नुपर्दछ ।

औलोबाट बच्न घर छेउछाउ सफा राख्ने, सुत्दा झुलको प्रयोग गर्ने (सम्भव भएसम्म औषधियुक्त तथा विशेषतः गर्भवती महिला र बालबालिकाको लागि), विशेषगरी तराई तथा भित्री मधेसमा साँझपख घरबाहिर बस्दा हातखुट्टा पूरै छोपिने लुगा लगाउने, घर र गोठका भित्ताका प्वाल एवं चिराहरू टालटुल गर्ने, गाईबस्तु पाल्ने भए तिनीहरूका लागि गोठ घरबाट टाढा बनाउने गर्नुपर्दछ । यसका साथै घरवरिपरि पानी जम्ने ठाउँबाट पुरिदिने, डीडीटी/मालाथियनजस्ता कीटनाशक औषधि छर्किदिने एवं औलो प्रभावित क्षेत्र जानु अगाडि क्लोरोक्विन औषधि खानु पर्दछ ।


औलो घातक कीटजन्य स्वास्थ्य समस्या हो ।
९१ राष्ट्रमा औलो फैलावट निरन्तर नै छ ।
सन् २०१० देखि २०१५ सम्मको अवधिमा औलोसम्बन्धी नयाँ केस २१ प्रतिशतले, यसकै कारण सबै उमेरसमूहको मृत्युदर २९ प्रतिशतले र पाँच वर्षमुनिको मृत्युदर ३५ प्रतिशतले कमी आएको छ ।
औलो रोगबाट प्रभावितहरूको संख्या सबसहारा अफ्रिकी क्षेत्र अप्रत्याशित तवरले बढी छ ।
सन् २०१५ मा पत्ता लागेका ९० प्रतिशत औलोका नयाँ केस र ९२ प्रतिशत औलोका कारण भएका मृत्यु सबसहारा क्षेत्रमै भएको थियो ।

औलो र गर्भवती महिला

गर्भवती महिलामा हुने औलो मुख्य जनस्वास्थ्य समस्यामध्ये एक हो । औलोका कारण गर्भवती महिलामा हुने रक्तअल्पता, यसैकारण गर्भेशिशुमा हुने रक्तअल्पता र सालमा विद्यमान परजीवीको संक्रमणले आफसेआफ गर्भपतन हुने, समयअगावै सुत्केरी हुने, नवजात शिशुको तौल निकै कम हुने, गर्भभित्रै शिशुको मृत्यु हुने, समग्रमा शिशुवस्थामा पनि रोगी हुने वा मृत्यु हुने सम्भावना हुन्छ ।

यसैकारण पनि गर्भवती महिलाले औषधियुक्त झुल प्रयोग गर्न, गर्भावस्थामा तारन्तार आवश्यकताअनुसार औलोविरुद्धका कतिपय औषधि सेवन गर्ने, साबिक झै आइरन र फोलिक एसिडका चक्कीहरू सेवन गर्न, औलो लागेको शंका लाग्नेबित्तिकै तुरुन्त उपचार गर्न र औलोका रोकथाम सबै उपायहरू अपनाउन विश्व स्वास्थ्य संगठनले सुझाएको छ । नेपालमा पनि कतिपय औलो प्रभावित जिल्लाहरूमा नेपाल सरकारले विशेषतः गर्भवती महिलालाई औषधियुक्त वितरण गरिँदै आएको छ ।

प्रतिकृया दिनुहोस

थप सामग्री

Dish latest