MENU

स्मार्टफोनमा ड्युल क्यामेराको बिगबिगी

रन्जनहरि कोइराला बुधवार, बैशाख ६, २०७४ 18159 पटक पढिएको

Share This

काठमाडौः एप्पलले आफ्नो उत्पादन आइफोन ७ प्लसमार्फत ड्युल क्यामेराको प्रवेश गरायो । बजारमा एप्पलभन्दा पहिले ड्युल क्यामेराका साथ स्मार्टफोन निर्माण गर्ने ब्रान्ड नभएको भने होइन । तर, आइफोन ७ प्लसमा ड्युल क्यामेराको प्रयोगले स्मार्टफोनको बजारमा ड्युल क्यामेराको चर्चा अकासिएको हो । एप्पलजस्तो ठूलो ब्रान्डले स्मार्टफोनमा ड्युल क्यामेराको प्रयोग गर्दा स्मार्टफोन प्रयोगकर्तालाई यो चासोको र रुचिको विषय भएको हुन सक्छ ।

यसैको प्रतिफल होला पछिल्लो समय नेपाली बजरमा पनि यस्ता स्मार्टफोन भित्रिएका छन् । र, दर्जनौंको संख्यामा भित्रिने क्रममा छन् । जुन रुपले यस्ता स्मार्टफोन भित्रिएका छन, सोही रूपले तिनको माग पनि बढ्दो रहेको बताउनुहुन्छ ताम्राकार मोबाइल व्यापार संघका अध्यक्ष जगत साउद । उहाँका अनुसार विशेषतः सेल्फीमा आएको ड्युल क्यामेरासहितको स्मार्टफोनले बजार पाएको छ । अहिले नेपालमा आइफोन ७ प्लस र हुवावेको जीआर ५, २०१७, कुलप्याडको कुल वान, जेडटिई एक्सजोन इलाइट ड्युल रियर क्यामेराका साथ सार्वजनिक भइसकेका छन् भने ओप्पोको एफ थ्री प्लस ड्युल फ्रन्ट क्यामेराको साथ नेपाली बजारमा भित्रिसकेको छ ।

एप्पलजस्तो ठूलो ब्रान्डले स्मार्टफोनमा ड्युल क्यामेराको प्रयोग गर्दा स्मार्टफोन प्रयोगकर्तालाई यो चासोको र रुचिको विषय भएको छ । 

विश्व बजारमा यो वर्ष ड्युल क्यामेरासहितको स्मार्टफोनले ठूलो चर्चा पायो । बार्सिलोनामा आयोजना भएको मोबाइल वल्ड कंग्रेस २०१७ मार्फत ड्युल क्यामेराका साथ एलजीले जी-६, हुवावेले पी१० र पी१० प्लस र ओप्पोले फाइभ एक्स ड्युल क्यामेरा जुम सार्वजनिक गरे । ड्युल क्यामेराको इतिहासलाई हेर्ने हो भने सर्वप्रथम एलजीले सन २०११ को फेब्रुअरीमा एलजी अप्टिमस थ्रीडी फोनमार्फत ड्युल रियर क्यमेरालाई भित्र्याएको थियो । लगत्तै सन २०११ को मार्चमा एचटिसीले ड्युल रियर क्यामेराका साथ ईभीओ थ्रीडी सार्वजनिक गर्‍यो । यी दुबै फोनमा प्रयोग भइएको उक्त ड्युल रियर क्यामेरा थ्रिडी फोटो खिच्न निर्माण गरिएको थियो ।

तर, स्मार्टफोनमा ड्युल रियर क्यामेराका साथ आउने पहिलो कम्पनीका रूपमा एचटीसी रहेको छ । एचटीसीले सन २०१४ मा सार्वजनिक गरेको एचटीसी वान एम ८ मार्फत ड्युल रियर क्यामेरा भित्रिएको हो । त्यसपछि विभिन्न चाइनिज ब्रान्डले यसलाई आत्मसात गरेका छन् ।

तर, यो चर्चाको विषय तब बन्यो जब सन २०१६ मा आएर एलजीले जी५ मार्फत प्रिमियम स्मार्टफोनमा ड्युल रियर क्यामेराको प्रवेश गरायो । एलजीले १६ मेगापिक्सल सेन्सर र ८ मेगापिक्सल सेन्सरका साथ आफ्नो प्रिमियम मोडल जी५ लाई सार्वजनिक गरेको थियो । २०१६ मै हुवावेले लाइकाको सहकार्यमा आफ्नो उत्पादन पी९ मोडलको स्मार्टफोनमा दुबै क्यामेरा १२ मेगापिक्सलका साथ बजारमा ल्यायो ।

एलजी र हुवावेजस्तै सन २०१६ को अन्त्यमा एप्पलले आइफोन ७ प्लसमार्फत ड्युल रियर क्यामेरालाई आफ्नो उत्पादनमा समावेश गर्‍यो । एप्पलले आइफोन ७ प्लसमा प्रयोग गरेको १२-१२ मेगा पिक्सलको ड्युल रियर क्यामेरा सबैका लागि चासोको विषय बन्यो । यसरी एलजीबाट आइफोनसम्म आइपुग्दा ड्युल क्यामेरा स्मार्टफोनको पछिल्लो भागमा मात्र सीमित नभएर फ्रन्टमा सेल्फीका लागि पनि प्रयोगमा आएको छ ।

जसको प्रयोग जिओनी, हुवावे, लेनोभो, लीईको, ओप्पो, एलजी, भीभो माइक्रोम्याक्सलगायत ब्रान्डले आफ्नो उत्पादनमा गरिसकेका छन् । जसले विस्तारै नेपाली बजारमा समेत प्रवेश पाउनेछन् । अहिलेसम्म ओप्पोको ड्युल सेल्फी क्यामेराका भएको स्मार्टफोन नेपाली बजारमा छ ।

नेपाली बजारमा थोरै मात्रामा ड्युल रिएर क्यामेराका साथ भित्रिएका स्मार्टफोनको आकर्षणले अबको दिनमा यस्ता स्मार्टफोनको बजार पनि विस्तार हुने विश्वास व्यक्त गर्नुहुन्छ कोटेश्वरस्थित सन मोबाइल्सका सञ्चालक दीपेन्द्र बानियाँ । उहाँका अनुसार अहिले बजारमा हुवावेको जीआर ५, २०१७ ड्युल क्यामेराका साथ सबैभन्दा बढी बिक्री हुने स्मार्टफोनको रूपमा रहेको छ ।

प्रतिकृया दिनुहोस

Dish latest