MENU

कार्टुन मोह

सुधीरमान सिंह बीके खाती आइतवार, बैशाख ३, २०७४ 2001 पटक पढिएको

Share This

प्रसिद्ध अमेरिकी बैंकर हिदी स्टेन्लीद्वारा सन् १९९० ताका रचित कृति ‘कलेज फ्रेसमेन'मा उनले लेखेकी छिन्, ‘टीभी एउटा यस्तो पार्क हो, जहाँ हामी विद्यालय समयपछि सधैं रमायौं ।' आजभोलिका बालबालिका हिदी स्टेन्लीजस्तै विद्यालयबाट घर आउनेबित्तिकै टीभी (कार्टुन) मा नरमाउने सायदै कम होलान् । हालैका वर्षहरूमा बालबालिकाका लागि कार्टुन मनोरञ्जनको प्रमुख साधनको रूपमा स्थापित भइरहेको छ ।

बिहान उठ्नासाथ र राति सुत्नुअघि बालबालिका कार्टुनमा रमाउँछन् । विद्यालयको गृहकार्य गर्ने समयमा पनि कतिपय बालबालिकालाई कार्टुन लगाइदिनुपर्छ । अन्यथा स्कुलको गृहकार्य गर्दिन भनी उनीहरू घुर्की लगाउँछन् । यस्तो अवस्थामा अधिकांश अभिभावक कार्टनु हेर्न दिनु नै उत्तम ठान्छन् । तर ती बालबालिकाले हेर्ने कार्टुन कत्तिको बालमैत्री छ वा छैन यसबारे अभिभावकको ध्यान विरलै जाने गर्छ ।

नेपालमा कलिला बालबालिकाले अत्यधिक रुचाउने कार्टुनहरू क्रमशः ‘मोटु और पत्लु', ‘सिवा' र ‘क्रिस' हुन् । साथै कार्टुनमा बोलिने हिन्दी शब्द र देखिने चित्रहरूले बालबालिकामा अमिट छाप पार्न सफल भएको छ । यी तिनै कार्टुनले नैतिक शिक्षाको पाठ पढाएता पनि यिनमा राखिएका ७० देखि ९० प्रतिशत हिंसात्मक दृश्यले बालबालिकामा पार्ने नकारात्मक असरका बारे अभिभावक कहिले जागरूक हुने ?

नैतिकताको पाठ सिकाउने नाममा क्रिस र सिवाजस्ता कार्टुनहरूले प्रत्येक ६० सेकेन्डमा हिंसा र द्वन्द्वको सहारा लिएको छ । कार्टुन क्रिसमा गुरु कंश र चेला क्रिसबीच अनन्त समयसम्म चलिरहने मारपिट, छलकपटका घटनालाई प्रस्तुत गरिएको छ । अर्कोतर्फ कार्टुन सिवामा एउटा अद्भुत बालक ‘सिवा'सँग चामत्कारिक साइकल हुन्छ । यस कार्टुनमा सिवाले प्रहरीद्वारा गर्न नसक्ने र असम्भव प्रायः काम गरी प्रहरीलाई मद्दत गरिरहन्छ । तर सो कार्यले पनि हिंसालाई नै प्र श्रय दिएको छ ।

 

Yamaha

‘मोटु और पत्लु'मा दुई साथी मोटु र पत्लुले आफ्नो गाउँ फुरफुरी नगरमा भए गरेका अपराधजन्य घटनाहरूलाई निस्तेज पार्न हरसम्भव प्रयास गर्छन् । समोसा खाएपछि असामान्य शक्ति प्राप्त गर्ने मोटु र जस्तोसुकै अप्ठ्यारो परिस्थितिमा आइडिया (दिमाग) लगाउन सक्ने पत्लुबीचको जोडी अद्भुत रूपमा प्रस्तुत गरिएको छ । यसका बाबजुत यो कार्टुनले पनि हिंसाजन्य घटनालाई नै प्राथमिकता दिएको पाइन्छ ।

अभिभावकले आफ्ना नानीहरूलाई हिंसाजन्य कार्टुनबाट टाढा राख्नु जरुरी छ । यसको अर्थ उनीहरूलाई सबै कार्टुन बन्देज लगाउनु भन्ने होइन । हामीले आफ्ना बालबालिकालाई कम हिंसाजन्य ‘निन्जा हतौडी', ‘हेनरी', ‘ओगी एन्ड कोकरोजेज', ‘सन् द सिप', ‘लार्भा' र ‘चार्ली' जस्ता कार्टुन हेर्न प्रेरित गर्नु राम्रो हुनेछ । यीमध्ये पनि ‘निन्जा हतौडी'लाई बालबालिकाको लागि सर्वोत्तम कार्टुनकै श्रेणीमा राख्दा फरक नपर्ला । मुख्य पात्र बालकलाकार हुनु यस कार्टुनको विशेषता हो । पारिवारिक एवं विद्यालय परिवेशलाई कार्टुनमा प्राथमिकता दिइएको छ ।

त्यसैगरी कार्टुनले नैतिक शिक्षा दिनुका साथै हिंसाजन्य घटनालाई कम प्राथमिकता दिएको छ । कार्टुन ‘मासा एन्ड बियर' विश्वका २५ प्रमुख भाषाहरूमा अनुवाद गरिएको छ । यो विश्वका सय देशहरूमा प्रसारण हुन्छ । बालबालिकाले मन पराउने यस कार्टुनका मुख्य दुई कलाकार मासा र बियर हुन् । मासा रसियन केटी हुन् । यिनी जंगलको छेउमा बस्छिन् । यी पात्रको स्वभाव दयालु, चतुर र चकचके हुन्छ । प्रायः यिनको चकचके स्वभावकै कारण यिनले कामहरू बिगारी रहन्छिन् । बियर यस कार्टुनको दोस्रो पात्र हुन् । निकै ठूलो शरीरका यी भालु अति नै भलादमी र उदार दिलका हुन्छन् । यिनले मासाद्वारा बिगारेका सम्पूर्ण कामहरूलाई बनाउने गर्छन् ।

प्रतिकृया दिनुहोस

dishhomeapp