MENU

कवितामा ध्रुवबहादुर, रामबहादुर र फूलमती

निमेष निखिल शनिवार, बैशाख २, २०७४ 2899 पटक पढिएको

Share This

अन्तर्वार्ता

हेटौंडा बसेर लामो समयदेखि कविता-साधना गरिरहेका निमेष निखिलले अर्का कवि प्रसन्न घिमिरेसँग अन्तर्वार्ता गरेका छन् । हालै प्रसन्नलगायत आठजना कविको संयुक्त कवितासंग्रह ‘एकात्म’ प्रकाशन भएको छ । ‘एकात्म’कै सन्दर्भमा निमेषले प्रसन्नसँग गरेको अनौपचारिक वार्ताः


 प्रसन्न भाइ कुरा अनौपचारिक गरौं है । २०६९ को सुरुमै ‘र निःशब्द’ कवितासंग्रह लिएर आएका थियौ । हालैमात्र तिमीलगायत आठजना कविको संयुक्त कवितासंग्रह ‘एकात्म’ प्रकाशन भएको छ । तिमी कविताचाहिँ किन लेख्छौ ? कविता लेखन मनोविनोद मात्रै हो या सामाजिक दायित्व पनि हुन्छ कविहरूको ?
 निमेष दाइ हामी औपचारिक हुन पनि त सक्दैनौं, वकिल भएको भए सक्थ्यौं, सायद । तिमीलाई थाहा छैन, कविता मैले चुनेको होइन, म त म्युजिसियन हुन चाहन्थेँ । टयुसन पढ् भनेर दाइले दिनुभएको पैसा म्युजिक सिक्न खर्च गरेँ । तर, मेरो इस्क कबुल भएन । एकोहोरो प्रेम भने चलिरहेको छ । मेरो परिवारमा कवि आवश्यक थिएन । मेरा ठूलोबुवा राष्ट्रकवि माघव घिमिरे नै काफी हुनुहुन्थ्यो । उपन्यासमा काम गरिरहेको छु । तर, मजा त कवितामा पाउँछु । कहिले ? कसरी ? कवितासँग इस्क होइन अबसेसन भइगएछ । अन्य कविहरूको के जानूँ ? मेरा लागि त जिन्दगी नै मनोविनोद । आनन्द आउँदैन थियो त सरकारलाई सराप्ने, रुवाबासी गर्ने काम कहिल्यै गर्ने थिइनँ ।

निमेष दाइ  तिमीलाई थाहा छैन सायद, आनन्द आइन्जेल होटलमा वेटरको काम गरेँ, टुरिस्ट गाइड भएर पनि हिडेँ, कलेजमा पढाएँ, कलेज छोडेर साना नानीहरूलाई पढाएँ, त्यो छोडेर दूध डेरीमा काम गरेँ । यस्तै अरू थुप्रै काम गर्दै छोडेपछि अहिले उपन्यास लेख्दैछु । आनन्द सक्किएको दिन श्वास फेर्न पनि छोडिदिऊँ । अब त यति नै कामना छ । जसरी दिनभर खेत जोत्नुले एक किसानको सामाजिक दायित्व स्वतः पूरा हुन्छ, चाहे तारे गोरुले जोतौं वा माले गोरुले । एक कविले कविता लेख्नुले उसको सामाजिक दायित्व स्वतः पूरा हुन्छ, चाहे प्रेमको लेखोस् वा घृणाको । सामाजिक दायित्वको कुरा गर्दै कविता लेख्न छोड्ने कोही कवि होला ? होला र ?
 तिम्रो कविताको फम्र्याट (बाहिरी बनावट) नितान्त नयाँ त नभनौं, चलनचल्तीको भन्दा भिन्न रहँदै आएको छ । यो प्रयोग अर्थपूर्ण पनि छ कि केवल अरूभन्दा फरक देखिने मोहमात्रै हो ? यस सम्बन्धमा पाठकहरूबाट कस्तो प्रतिक्रिया पाएका छौ ?
- एआर रहमान मलाई एक रिबेलियन लाग्छन्, एक क्रान्तिकारी । सिर्जनामा कसरी रिबेलियन हुँने उनले सारा विश्वलाई देखाइदिएका छन् । म उनको डाइहार्ट फ्यान । कवितामा कसैले त्यो कोसिस गरोस्, मूर्त गरोस्, मैले चाहेको यत्ति हो । म कोसस मात्र गरिरहेछु । ‘र निःशब्द’भित्र एउटा कविता छ ‘सुदू...र आकाश’, त्यसलाई जुन तरिकाले पाठकमा लैजानुपर्ने हो त्यो बाँकी छ, त्यो कवितामा गरेको काम म आफैंलाई पनि मजा लाग्छ । तर, सबै क्रान्ति सफल हुँदैनन्, यो कुरा वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालकै प्रचण्डपथको यात्रालाई हेरेरै थाहा पाइरहेछु । पाठक प्रतिक्रिया मि िश्रत पाइरहेछु ।
 यति धेरै कविको ‘एकात्म’ कवितासंग्रह प्रकाशन गर्ने सोच कसरी आयो ? कविहरू त अरू पनि निकै थिए । ‘एकात्म’भित्रका आठजना नै छान्नुको आधार र कारण के हो ?
- ‘सम्यक किनारा’ संस्थाको संयोजकको भूमिकामा यो मेरो तेस्रो प्रयास हो, जुन सम्भव भयो कवि सिजन श्रेष्ठको सम्पादनमा । यसमा शैली अनि शिल्पमा पनि केही नयाँपनको खोजी गरिएको हो ताकि नेपाली कवितामा देखिएको क्लिसे कम गर्न सकियोस् । यो संग्रहको सोच पनि यस्तै कुराले आएको हो ।

आजका कविहरू (तिमी-हामी नै भनौं न) लाई कवितामा नयाँपन भएन, भन्ने आरोप लाग्छ नि ! एउटा कविको नाताले यो आरोपलाई खण्डन गर्नुपर्‍यो भने कवि प्रसन्न के भन्छ ?
- निमेष दाइ तिमी नयाँपनको कुरा गर्छौ । ९५ प्रतिशत कविता एकैखालको आइरहेछ । ध्रुवबहादुरको ठाउँमा रामबहादुर अनि रामबहादुरको ठाउँमा फूलमती । शैली उस्तै चिन्तन उस्तै । कविहरू सरकारकोे काम हेरेर निराश हुन्छन् म समकालीन कविता हेरेर निराश हुन्छु । तैपनि केही कवि छन् एकान्तमा क्तै चुपचाप बसेर लेखिरहेछन्, शैली नयाँ, लबज नयाँ, सोच नयाँ, हेराइ नयाँ छ तिनको । कुमार नगरकोटीलाई नै हेर्नुस् । बजारले हल्ला गरेको झुर उपन्यास ‘मिस्टिका’को लागि सम्झन्नँ म उनलाई । तर, ‘औंलाहरू’ कविताका लागि सम्झन्छु जसरी सम्झन्छु तीर्थ श्रेष्ठ दाइलाई ‘हिउँमा लेखिएका नामहरू’ कविताका लागि । बजारले हल्ला नगरेका मेरै समकालीन कवि निरज भट्टराईका कविता पढ्नुस्, नवीन प्राचीनका कविता पढ्नुस्, ‘एकात्म’ मित्र कवि नवीन अभिलाषीलाई पढ्नुस् ।

 साहित्यलाई अनुत्पादक ठान्ने प्रवृत्ति आज पनि हावी छ । कवि लेखकहरू बेरोजगारीका उपज हुन् भन्ने मनोविज्ञान आज पनि धेरै हदसम्म मानिसहरूले बोक्ने गरेका छन् । समग्र नेपाली साहित्य र साहित्यकारको उत्थान र विकासमा ककसले कसरी पहल गर्नुपर्छ जस्तो लाग्छ कवि प्रसन्नलाई ?
- साहित्य अनुत्पादक छैन, यति धेरै पब्लिकेसन व्यापार गर्दैछन्, यही प्रमाण काफी छ । ब्रान्डेड पत्रकार, ब्रान्डेड लेक्चरर, ब्रान्डेड हिरोइन अनि हिरो, ब्रान्डेड व्यापारी, ब्रान्डेड तस्कर सबै अवकाशपछि काम गर्न साहित्यमा आएका छन् । निमेष दाइ यति नै काफी छ नि नेपाली साहित्यको उत्थानमा । रचनात्मक कार्य गर्न नसक्ने यी नानाथरीका साहित्यक भर्तीकेन्द्र बन्द गरेर सरकार अब सुते हुन्छ । हरेक वर्ष एकएक उत्कृष्ट उपन्यास, कविता, निबन्ध, गीत, गजल कृतिको अनुवाद गर्न नसक्नेहरूबाट अरू के आश गर्नु हेर्नुस् म त सरकारले किसानलाई दिनुपर्ने जति अनुदान देला अनि गाउँमा गएर सँगुर पालेर बसँला भन्ने सोचिरहेको झ्यास कवि, आफ्नो पार्टीको प्रधानमन्त्री कुर्सीबाट निस्केपछि कविताको ढुंगा सरकारलाई हान्न सुरु गर्ने खालको झ्यास कवि । । हेर्नुस् म जस्तालाई त सुँगुर पाल्नै पठाएको राम्रो हो नि । कवि रवीन्द्र मि श्र हुनुभएको साझा पार्टीले यो कुरालाई उठाउला कि, मलाई बढो आश लागिरहेछ ।

नितान्त व्यक्तिगत प्रश्न छ है । उत्तर नदिन पनि तिमी स्वतन्त्र छौ- प्रसन्न यो वार्ता गरिरहँदासम्म अविवाहित हुनुको कारण के होला ?
- बस, कार, स्कुटर, साइकल । ती आए अनि गए, रोकिएनन् । तिनले उडाएको धुलो रोकिएको छ- चस्मामा । त्यसैमा कविताको स्केच गरेर बस्छु । उही कविताको स्केचसँग कुरा गर्छु । कुनै समय थियो, माथि आकाशमा जून हुन्थ्यो गल्लीमा मेरै सपनाको पदचाप हुन्थ्यो । सबै छोडियो अब । झरीको थोपामा पनि कविता हुन्थ्यो, छोइँदा सिसमको पात बच्थ्यो । त्यो त परपरदेखि मलाई भेट्न आउने पदचाप हुन्थ्यो । त्यो सब कहाँ अब । त्यो इस्क थियो बिँडीमा भर्ने तमाखु जस्तो, थोरै थिएन भरिभरि थियो । त्यो सल्कियो । कविता, त्यसैको धुवाँ हो कविता यो । इस्कमा दुई दिन मिल्नु प्रशस्त भयो, अविवाहित जिन्दगी पनि भरिभरि भयो ।

Yamaha

प्रतिकृया दिनुहोस

dishhomeapp