MENU

यङ्गुन अर्थात दुःखबाट मुक्ति

घिमिरे युवराज शनिवार, बैशाख २, २०७४ 8001 पटक पढिएको

Share This

यात्रा

बर्मेलीको सहनशीलता असिमित छ । ट्रकभरी स्पिकर चाङ लाएर राखिएको छ । प्रायः सबै स्पिकर बजेका छन् । बजिरहेका स्पिकरमाथि केही युवा आनन्दले बसेका छन् । सडकमा यस्ता ट्र्क अचेल धेरै देखिन्छन् । यी ट्रक देख्दा पुराण र बिहेमा दिनरात गाउँ शहर थर्काएर गीत बजाएर सुत्न नदिनेहरूको आलोचना गर्ने नेपाली ट्विटेहरूलाई सम्झिएँ ।

उनीहरूलाई पनि यिनै स्पिकरमाथि राख्नु पर्ने । ट्रक हुईँकिएको छ । उनीहरू प्रफुल्ल छन् किनभने यहाँ पानी महोत्सवको तयारी सुरु भएको छ । देशकै सबैभन्दा ठूलो चाड ‘पानी महोत्सव'मा सरकारले १० दिन विदा दिने रहेछ । पानी महोत्सवको बर्मेली नाम संक्रान्त हो । हरेक वर्षको संक्रान्तीमा यो महोत्सव मनाइन्छ । यसको तिथि लुनार पात्रो अनुसार हेरिन्छ ।

वर्षको अन्तिम दिनदेखि पानी खेल्न सुरु गरेर नयाँ वर्षको स्वागत गर्ने यो पर्व यहाँका बौद्ध तथा हिन्दुहरूको ठूलो पर्व रहेछ । अहिले यसलाई राष्ट्रिय चाडकै रुपमा मनाइन्छ । त्यसैका लागि याङ्गुन र माण्डलेय जस्ता ठूला सहरभरी सरकारी तामझाम सुरु भएको छ । काठैकाठले बनाइएका छन् भव्य मञ्चहरू जहाँबाट मानिसहरूलाई पानी छ्यापिन्छ । गीत गाएर रमाइलो गरिन्छ । गर्मी चरम हुँदै जाँदा पानी छ्याप्ने पर्व पनि एक किसिमले प्रकृतिसँगको तालमेल जस्तो लाग्छ । पानी महोत्सवकै चर्चा छ यहाँ । सार्वजनिक यातायात चल्ने छैनन् । हप्ता दिनलाई खानेकुरा किनेर राख्नु पर्नेछ । मानिसहरूमाझ र संचारमाध्यममा पनि यसकै चर्चा छ । र, अर्को चर्चा बर्माका राष्ट्रपति ‘ऊ थिन च्यो'को छ ।

पानी महोत्सवको पुर्बसन्ध्यामा चिन भ्रमणमा रहेका च्योप्रति मिडिया र आम नागरिकको उत्सुकता छ, के उनले चिनियाँ राष्ट्र्पतिसँग ‘मित्सुङ बाँध' (मेखा र मलिखा नदीको दोभान) बारे कुरा गर्नेछन् ? ठूला देशको सिमानामा रहेका सबै सानादेशको हविगत सायद यस्तै हुन्छ । सन् २००९ मा दुई देशबीचको संयुक्त लगानीमा सुरु भएको ‘मित्सुङ विद्युत परियोजना'बाट उत्पादन हुने ९० प्रतिशत विद्युत चिनले लाने रहेछ । एयावडी नदीमा बन्दै गरेको यो परियोजना संसारकै १५औँ ठूलो विद्युत उत्पादन केन्द्र हुने रहेछ । बर्माको सबैभन्दा ठूलो यस नदीको बाँधले धेरै आवास क्षेत्र र जमिन डुबाउने रहेछ । बर्माका आम नागरिकले गरेको विरोधका कारण सन् २०११ मा स्थगित यो परियोजना अब के हुने हो भन्ने सबैलाई उत्सुकता छ । भनिन्छ, ‘ऐरावत हात्ती'को नामबाट नामाकरण गरिएको नदी ऐरावती नदी अपभ्रंस भएर एयावडी भएको रहेछ । बर्माका जंगलमा अझै संसारका सबैभन्दा ठूला हात्ती पाईन्छन् । यहाँका गाउँमा पनि हाम्रो झापा जिल्लामा जस्तो हात्ती आतंक बेलाबेला चल्ने गर्छ ।

मैले उमा सुवेदीको ‘ईति' उपन्यास सम्झिएँ । हामी टनकपुर बाँध र महाकाली नदीलाई उसरी नै सम्झन्छौँ । के हामीसँग भारतसँग बहस गर्ने र हाम्रा नदीमा उनीहरूको हस्तक्षेप हटाउने हिम्मत छ ? राष्ट्र्पति च्यो र सबै बर्माबासीलाई पानी महोत्सवको शुभकामना । पानी महोत्सव मनाउने नागरिकहरू नै पानीका कारणले ठगिनु नपरोस् । ५ वटादेशसँग सिमाना जोडिएको नेपाल भन्दा ४ गुणा ठूलो यो देश उसरी नै चिन र भारतको चेपुवामा छ । तर हामी भन्दा निक्कै सुध्रिएको अर्थ ब्यवस्था भएको यो देशमा म लगभग गुप्ताबास जस्तो दिनहरू बिताइरहेको छु । लाटकोसेरो जस्तो पो हो कि । दिनभरी घरभित्रै, साँझ परेपछि बाहिर निस्कने । प्रिय मित्रहरू यो बर्माको यङ्गुन सहर हो । आज दिउँसो यहाँको तापक्रम ३७ डिग्री सेल्सियस पुगेको छ । र, यो बढ्नेक्रममा छ ।

बर्माको पहिचान भनेको यहाँको लुंगी र पान हो । जर्दा पान सबैको मुखमा हुन्छ । अचेल पर्यटकहरूको बृद्धिसँगै डाउनटाउनमा डिस्को र बारहरूको संख्या पनि थपिँदैछन् । अझै डेटिङ र डिस्को पनि लुंगी मै आउने युवाहरू छन् यहाँ ।

कोपनहेगनको लिटिल मर्मेट, ब्रसेल्सको पिसाब फेरिरहेको फुच्चे केटो वा लुभ्रको मोनालिसा जस्तो ट्वा पार्ने खालको छैन बर्माको स्वेडागन पेगोडा । हुन त भनिएला, महत्वपूर्ण हुनलाई आकारले ठूलो र विशेष खालकै भैरहनु पर्दैन । तर यसको भब्यता, सुन्दरता र सालिनताले स्वेडागन पुग्नेहरू साँच्चै मन्त्रमुग्ध हुन्छन् ।

पेरिसको आइफल टावर, आग्राको ताजमहल, लखनौको भुलभुलैया, काठमाडौको स्वयंभू र पशुपतिनाथ जस्तै पर्यटकिय आकर्षण भएको सुन्दर ऐतिहासिक आस्था बोकेको स्वेडागन समस्त बौद्ध र हिन्दु धर्मावलम्बीहरूको मात्रै धरोहर हैन । यहाँ आउने सबै पर्यटकहरूको प्रेम र सद्भावको केन्द्र बनेको छ । दिल्लीको जैन मन्दिर (लोटस टेम्पल)मा जस्तो यहाँ कसैले नबोल्नुस् भन्दैनन् । यो न्यूयोर्कको ९० मिनेटसम्म नबोली खाना खाने रेस्टुरेन्ट ‘यिट इन ग्रिनप्वाइन्ट' पनि हैन ।

न त काठमाडौका नाटकघरहरूमा जस्तो कसैले मोवाइल अफ गर्नुस्, खानेकुरा नखानुस् नै भन्छ । तर बहुसंख्यक मानिसहरू यहाँ प्रवेश गर्नासाथ मौन हुन्छन् । सालिन हुन्छन् । धार्मिक आस्थाको कुरा पनि छ तर यहाँको बास्तुकलाले मानिसहरूलाई प्रभावित गर्छ । अहा अति सुन्दर । कति सफा । नेपालमा मल्ल र लिच्छवीकालमा बनेका ऐतिहासिक स्थलहरूको बास्तुकलामा त्यो भव्यता हामी भेट्छौँ ।

त्यही भएर हामीले बसाउन लागेको सहर, चोक, बाटोघाटो, चौर, फूलबारी, हामीले बनाउन लागेको कार्यालय, घर, विद्यालय, विश्वविद्यालय पुस्तकालय, नाटकघर, सिनेमाघरमा त्यो बास्तुकला देखिनु पथ्र्यो जहाँ हाम्रो हृदय बस्न सकोस् । ठाउँ विशेषको वास्तुकलाले हामीलाई त्यही संस्कारमा हुर्काउने हो । यतिखेर हामी कस्तो संस्कार निर्माण गर्दैछौँ ? जिम्मेवारी लिनेहरूले सोच्नुपर्छ ।

 

Yamaha

पहेँलो रंगका पनि कति किसिम हुन्छन् ? स्वेडागोन पेगोडालाई विहानदेखि बेलुकासम्म हेरे हुन्छ । घामको मात्रासँगै, रंगसँगै पहेँलो स्वेडागोनको पनि रंग बदलिरहेको हुन्छ । ‘शिल्पी' नाटकघर छेऊका रुखहरूले पनि यसरी नै रंग फेर्छन् । त्यही पात कोमल हरियो हुन्छ, त्यही पात गाडा हरियो हुन्छ । आकाशमा कालो बादल मडारिँदा पात पनि कालै देखिन्छ । कस्तो रमाईलो । मलाई त यस्तो देख्दा खुब रमाइलो लाग्छ । फुर्किन्छु प्राय म । आखिर रंगको अस्तित्व अँध्यारोले न दिने हो । जहाँ उज्यालेको मात्रा र स्रोतले रंगको बास्तविक स्वरुप भन्छ । त्यसो भए रंग भनेको उज्यालोको अस्तित्व रहेछ । याद गर्नुभएको छ होला, टन्टलापुर घाम लागिरहेको बेलामा एक सिरक बादल जब सूर्य नारायणको रापिलो अनुहार पुच्दै बहन्छ त्यतिखेर स्वेडागन पेगोडाको रंग कसरी बदलिन्छ थाहा लाग्छ । स्वेडागनमा अर्कै कोमल पँहेलो रंग खुल्छ । यही हाम्रो वरिपरिका बनस्पतीहरूमा पनि लागु हुन्छ । यो आ-आफ्नो चासोको विषय हो । मलाई यसमा निक्कै चासो छ ।

पानी परेपछि बस्तुको रंगमा झनै परिवर्तन आउँछ । बाटोमा बासना आउँछ । धर्तीमा मादकता छाउँछ । किशोरकिशोरीमा पहिलो प्रेम बसे जस्तो । साँझ खासमा स्वेडागन खास्साको देखिन्छ वा देखिन्छे । पहिलो र छोटो चुम्बनपछि आँखा जुधाउन नसकेका युवायुवती जस्तो स्वेडागन कोमल र उदात्त हुन्छे हरेक साँझ । यहाँ हरेक साँझ घाम यङ्गुन नदी वा ऐरावत नदीमा डुब्छ । कसैको घाम समन्द्रमा खस्दो हो । कसैको मरुभूमिमा । मेरो मोरङको गाउँमा घाम बाँसघारीमा लुक्छ । काठमाडौमा त अचेल घाम घरपछाडि लुक्छ । यहाँ घाम नदीमा डुबे पनि घामको उज्यालो बाँकी नै छ । क्षितिज अझै रातै छ । परिसरमा पे्रमिल जोडीहरू पनि छन् म र लुना जस्तै । टलक्क टल्किने ढुंगा छापिएको भुईँमा बसौँ बसौँ लाग्छ । त्यहीँ सुतौँ जस्तो पनि लाग्छ । पुलकित छु तर सम्हालिन कर लाग्छ । त्यहाँ विशेष अनुशासन परिवेशले माग्छ । अनेकौँ रंग बोकेर अनेकौँ रंगका मानिसहरू आएका छन् । अनेकौँ उमेरका । उनीहरूको खुशी देखेर म खुशी हुन्छु । खासमा ती खुशीहरू सम्बन्धित छन् जस्तो देखिन्छ ।

नत्र सिरियामा बमबाट मारिएका कलिला बालकहरू समाचारमा देख्दा हामी किन रुन्छौँ ? लुना र म पनि खुशी भएका मानिसहरूको बीचमा खुशी छौँ । दुःख पनि त क्षणिक हो । संसारकै ठूलो र पुरानो बौद्ध चैत्यमा आएपछि अलिकति दार्शनिक त हुनै पर्‍यो । साँझपख यङ्गुन नदीमा नाउमा बसेर यात्रा गर्दा खुब मज्जा आउँछ । ‘सिगल'हरू चारो टिप्न आउँछन् । यात्रुहरू चारोलाई हावामा फाल्छन् । चराहरू हावाबाटै चारो टिप्छन् । हरेक यात्रु नाउको आकाशमा सयौँ सिगलहरू उडेको रोमाञ्चक दृश्यमा पश्चिम क्षितिज रातो भएर रंग भर्छ ।

ठूलो नदी दुर्गन्धित छ । ठूलो सहरको मुटु भएर बग्ने धेरै नदीहरूको दुःखको कारण हामीले उब्जाएको मल र ढल हो । रातको समयमा स्वेडागन झलल्ल बल्छ । जुनेली रातमा निलो आकाशले नयाँ रंग भर्छ । एकैखाले भेषभुषा बनाएका कुचो लगाउने दर्जनौँ महिलाहरू कोरस नृत्य झैँ वा दाईँका गोरु झैँ लाइनमा उभिएर परिसरमा कुचो लाउँछन् । कुची महिलाहरूको लाइन एक पछि अर्को हुन्छन् । पर्यटकहरूले फोटो लिन लाग्दा कोसर टक्क रोकिन्छ । बौद्ध भक्तालुहरू र पर्यटकहरूको भिंड लाग्ने यो पेगोडा म्यानमारको सबैभन्दा पवित्र र आध्यात्मिक स्थल मानिन्छ । पर्यटकहरूको लागि सबैभन्दा आकर्षक यस ठाउँमा मानौ नपुगे यो शहर घुमेको कुनै अर्थ लाग्दैन । ईतिहास खोतल्दै जाँदा अर्को रहस्य फेला पर्छ । यो पेगोडा त गौतमबुद्धकै उमेरको रहेछ।

स्वेडागनको उचाई ११० मिटर छ । धेरै पटकको जिर्णोद्वारमा यसको उचाई थपिएको हो । संसारकोसबैभन्दा पुरानो यो चैत्य वरिपरि यङ्गुनको सबैभन्दा पुरानो बस्ती थियो भनिन्छ । सन् १७५५ मा राजा अलौङ्पायाले बर्माको केन्द्रलाई हस्तक्षेप गरे र शहर बसाए । उनैले शहरको नाम राखे यङ्गुन । बर्मेली भाषामा यसको अर्थ हुन्छ ‘दुःखबाट मुक्ति' । सन् १८२४ को पहिलो आङ्लो बर्मेली युद्धमा ब्रिटिसहरूले जितेपछि यङ्गुनको नाम फेरिएर रङ्गुन भयो । र, यसका दुःखका दिन सुरु भए । त्यसपछि सन् १८५२ र सन् १८८५ गरेर जम्मा ३ पटकसम्म ब्रिटिसहरूसँग बर्मेलीहरूको युद्ध भयो । तीनै पटक बर्माले हार्‍यो । यही बखत सन् १८३५मा बेलायती गोर्खालीको रुपमा पहिलो पटक गोर्खाली सैनिक टुकुटी बर्मा आइपुगेको मानिन्छ । ००० बाल्यकालदेखि नै सुनेको नाम हो बर्मा । धेरै पटक सुनेको उखान हो ‘बर्मा गए कर्मसँगै' । बर्माबाट आएका मानिसहरू थिए गाउँमा फाट्टफुट्ट । ती मानिसहरूलाई देखेर त्यतिखेर बर्माबारे मभित्र एउटै धारणा गढेर बसेको थियो । लाग्थ्यो बर्मा गरिव र दुःखीहरूको ठाउँ हो ।

नजरबन्दमा परेकी नेता आङ सान सुकीको नाम रेडियोले पटकपटक लिन्थ्यो । हाम्रो घरको इण्डियन रेडियो कस्तो भने विहान ६ वजेदेखि राती ११ बजेसम्म बन्द नहुने । नेपालका लागि भारतीय राजदुतहरू जस्तो । दिउँसो ११ बजेदेखि १ बजेसम्म प्रसारण रोकिएको बेला पनि रेडियो स्याँ...गरिरहेको हुन्थ्यो । प्रसारणको अन्त्यमा बज्ने राष्ट्रगान र सुरु हुनु भन्दा अगाडिको टुँउउउ...आवाज अझै मेरो कानमा गुञ्जिन्छ । तब अंग्रेजी समाचार कसैले नबुझे पनि रेडियोले फलाकी रहन्थ्यो । अंग्रेजी समाचारमा मैले धेरै पटक सुनेको नाम हो - आङ सान सुकी ।

मेरो लागि यो अचम्मको नाम भएर कति पटक आन साङ सुची पनि भयो । दुई वटा फिल्म ‘दि लेडी' र 'बर्मा भिजे'ले मलाई धेरै हदसम्म बर्माको राजनीति र आङ सान सुकीबारे बुझ्न मद्दत गरे । आङ सान सुकीको अन्तर्वार्ता र उनको जीवनी समेटिएको किताब ‘दि भ्वोइस अफ होप'ले पनि धेरै सिकायो मलाई । सुकीका पिता आङ सान बर्माका स्वतन्त्रता सेनानी हुन् । ब्रिटिस शासन बिरुद्ध आन्दोलनको योजना बनाउँदै गर्दा सन् १९४७ मा सैनिकहरूले सुकीका पिताको हत्या गर्छन् । त्यतिखेर सुकी २ वर्षकी थिइन् । सन् १९४८ मा भारत स्वतन्त्रतासँगै बर्मा पनि ब्रिटिस शासनबाट मुक्त हुन्छ । तर फेरि सन् १९६२ मा शैनिक सासन सुरु हुन्छ । बेलायतमै विवाह गरेर बसेकी सुकी सन् १९८८ मा आफ््नी विरामी आमालाई भेट्न यंगुन आउँदा शैनिक सासन बिरुद्धको उत्सर्गको आन्दोलन देख्छिन् । तत्कालीन सैनिकद्धारा हजारौँ मानिसहरू मारिन्छन् । आम बर्मेली नागरिकहरूको अनुरोधमा उनले बर्माको आन्दोलनमा चासो राख्छिन् । र, अन्तत ‘नेसनल लिग फर डेमोक्रेसी' पार्टी स्थापनासँगै उक्त पार्टीको महासचिव नियुक्त हुन्छिन् । सुकीको पार्टीले सन् १९९० मा बहुमतले चुनाव जित्छ । तर, सैनिक सासनले त्यसलाई बैधानिकता दिँदैन । धेरै मानिसहरू जेलमा पर्छन् ।

उनी लामो समय नजरबन्दमा राखिन्छिन् । ‘दि लेडी फिल्म'ले सन् २०११ सम्मको सुकीको जीवनी र बर्मेली स्वतन्त्रता आन्दोलनलाई छोटकरीमा भन्छ । सन् २००७ मा लाखौँ बौद्ध भिक्षुहरूले गरेको शान्तीपूर्ण आन्दोलनलाई रोचक ढंगले खिचेको छ बर्मा भिजे डकुमेन्ट्रीले । भिक्षुहरूले पनि आन्दोलनमा हतियार उठाए भन्ने हल्ला हामीले नेपालसम्म सुनेका थियौँ । तर उक्त डकुमेन्ट्री र अन्य विवरणहरूले भिक्षुहरूले हतियार चलाएको भन्ने हल्लालाई गलत सावित गरेको छ । सात जना युवाहरूले गोप्य रुपमा खिचेको भिडियोहरूबाट बनेको यस डकुमेन्ट्रीका निर्देशक हुन् - आण्डर्स ओस्टरगार्ड । राजनीतिमा चासो हुनेहरूले हेर्नै पर्ने डकुमेन्ट्री हो यो । सन् १९३४मा प्रकाशित जर्ज अर्वेलको पहिलो उपन्यास ‘बर्मिज् डेज'ले पनि ब्रिटिस सासनबाट आम मानिसहरूले भोगेको पीडा देखाएको छ । अर्वेल सन् १९२२ देखि १९२७ सम्म आफैँ ब्रिटिस भारतीय पुलिसका रुपमा बर्मामा कार्यरत थिए । यतिखेर लहरो तान्दा पहरो गर्जे जस्तो भएको छ । बर्माको ईतिहास खोज्दै जाँदा बर्मा गए कर्मसँगैको अर्थ खुल्न थालेको छ । दोस्रो विश्वयुद्धमा बर्मेली गोर्खाली सैनिकहरूको कथा भेटियो । बर्मेली गोर्खालीहरूको ईतिहास तत्कालीन राजा महेन्द्रले नेपालमै गराएको पुर्नवाससम्म आइपुगेकोछु । यता एनआरएन अध्यक्ष सागर घिमिरेलाई भेटेपछि हालका बर्मेली नेपालीहरूसँग पनि बाक्लै संगत हुन थालेको छ । कवि अविनाश श्रेष्ठलाई आफना पुर्खाहरूको थलो बर्मा आउने मन छ रे । भेटमा भन्नु भएको थियो ।

बर्मा चैत्य र स्तुपाहरूको सहर हो । यङ्गन त झन् सुनौला चैत्यहरूको सहर हो । बर्माको अर्को प्रसिद्ध पर्यटकिय स्थल 'बगान' कम्बोडियाको हिन्दु मन्दिरहरूको ऐतिहासिक क्षेत्र ‘आंकोरभाट'पछिको ठूलो मानिन्छ । काठमाडौ उपत्यका भन्दा ठूलो क्षेत्रफलमा फैलिएको यो धार्मिक स्थल ९ देखि १३ औँ सताब्दीको बीचमा बनेको मानिन्छ । तत्कालीन सासन ब्यवस्थाले दश हजार बौद्ध स्तुपा, मन्दिर र गुम्बाहरू बनाएको अनुमान गरिन्छ । हाल २२ सय बौद्ध स्तुपा, मन्दिर र गुम्बाहरू छन् यहाँ । ती स्थलहरू निर्माणका लागि कति नागरिकहरूका कति पुस्ताले आफ्नो जीवन अर्पण गर्नु पर्‍यो । त्यसको लेखाजोखा छैन । आम नागरिकको श्रम र राज्यको ढुकुटी ती धार्मिक स्थलमै खर्च भएको देखिन्छ । यस आदिम धार्मीक स्थलको कुनै अग्लो स्तुपामाथि चढेर हेरे पनि चारैतिर चैत्य, स्तुपा, मन्दिर र गुम्बाहरूमात्रै देखिन्छन् ।

सरकारी निरिक्षण र संरक्षणमा रहेको यो क्षेत्रमा बौद्ध चैत्यहरूबाट सूर्योदय र सूर्यास्त हेर्न पर्यटकहरूको भिड लाग्छ । दिनभरीका लागि विद्युतीय साइकल भाडामा पाइन्छ । हप्तौँ घुम्दा सायद सबै स्तुपा, मन्दिर र गुम्बाहरू पुग्न सकिन्छ होला । यहाँ पनि सबै चैत्यहरूमा यङ्गुनमा झैँ घुँडा देखिने गरिको छोटो लुगा लगाए प्रवेश निषेध छ । प्रवेशद्धारमा लुंगी बिक्रीमा छ । पुर्खाले यस्तो ऐतिहासिक स्थान सन्ततीहरूलाई छोडेर गए । जसरी धार्मीक स्थलहरू बने उसरी नै आज पूर्वमा शिक्षा र चेतनाका निम्ति राज्यले लगानी गर्छ कि गर्दैन ? ईतिहासदेखि ती बास्तुकलासँगै शिक्षामा लगानी भएको भए आज बर्मा कहाँ पुग्थ्यो होला, नेपाल वा भारत वर्ष कहाँ पुग्थ्यो होला भन्ने अनुमान गर्न मन लाग्छ । यतिखेर हामी धर्मको नाममा युद्ध गर्दैछौँ । शिक्षालयहरू ध्वस्त हुँदैछन् । तर बर्मा सन् २०११ पछि साँच्चै शान्त र सालिन छ । थाहा छैन यो सालिनता भित्र जनताका कति दुःख लुकेका छन् ।
००० बर्माको अर्को पर्यटकीय सहर ‘पा आन' पुग्ने अवसर मिल्यो । यसलाई गुफाहरूको सहर भने हुन्छ । दर्जनौँ गुफाहरूमा बौद्ध मुर्तिहरू र ध्यान केन्द्र बनेका छन् । यहाँ पनि मोटरसाइकल भाडामा लिएर घुम्ने पर्यटकहरूको ठूलो जमात भेट्न सकिन्छ । लुना र म सँगै लुनाका दुई सहकर्मीहरू एस्ट्र्र्डि र मरि पनि थिए यात्रामा । हामी २ वटा बाइक भाडामा लिएर दिनभरी यात्रामा हुन्थ्यौँ । सुनसान सडकमा यात्रा गर्दै एउटा पछि अर्को गर्दै गुफा र चैत्यहरू घुम्यौँ हामी । ‘पा आन'मा पनि धेरै तालहरू छन् । तालहरूबाट निस्किएका कनालहरू धानबारी हुँदै कुद्छन् । तिनै साँघुरा कनालहरूमा नाउ खियाउँन रमाइलो हुन्छ । ‘पा आन' शहरको पुर्वदक्षिण भेगमा एक हजार आठ वटा बुद्धका मुर्तिहरूको धार्मीक स्थललाई ‘लुम्बिनी बगैँचा' नाम दिइएको छ । यो बगैँचा बुद्धको जन्मभूमि लुम्बिनी नेपालमा समर्पित छ भनेर लेखिएको छ । यो देखेर निक्कै खुशी लाग्यो । यो राष्ट्रियता भन्ने चिज ठाउँ कुठाउँ जागेर आउने रहेछ । एसिया साइकल यात्रामा निस्किएका नेपालका ३ युवाहरू केही हप्ता अघि यङ्गुनमा भेट भएको थियो । भारत, बंगलादेश, श्रीलंका हुँदै बर्मा आइपुगेका उनीहरूको चिन्ता थियो ‘श्रीलंकाका बौद्धमार्गीहरू पनि बुद्ध भारतमै जन्मिएका हुन् भन्ने ठान्छन् ।'

घुमघाम सकेर फर्किने ठाउँ त यङ्गुन नै हो । लुना र मेरो बसाई केही महिनालाई यता सरेको छ । हामी स्वेडागन चैत्यको नजिकै बस्छौँ । नेपाली राजदुतावास यहाँबाट हिंडेर १५ मिनेटमा पुगिन्छ । स्वेडागन चैत्यको पुर्वमा लमतन्न सुतेको छ कण्डोवकी पार्क । करिव आठ किलोमिटर गोलाईमा फैलिएको यो पार्कभित्र कृतिम तालहरू छन् । होटल, रेष्टुरेन्ट, स्विमिङ पुल र फूलबारीहरू छन् । प्रत्येक दिन यसलाई एक परिक्रमा लाएपछि म पार्कभित्र छिर्छु । यो पार्क मानिसहरूले स्वास फेर्न आउने ठाउँ भएको छ । ब्यायामका लागि होस् या डेटिङका लागि यो पार्क प्रसिद्ध छ । तालको किनारमा निजी कारहरू दर्जनौँ छन् । कार नहुनेहरू रुख मुनी छन् वा तालमाथि बनेका काठका पुलमाथि अंगालोमा छन् । कार हुनेहरू कारभित्रै छन् । तर पिके फिल्ममा जस्तो यहाँका कारहरू उस्तरी हल्लिरहेका छ्रैनन् । यहाँ प्रेम सालिन छ ।

यहाँको सहर ब्यवस्थापन देख्दा लोभ लाग्छ । कण्डोवकी पार्क जस्ता दर्जनौँ पार्क छन् यंगुनभरी । बाटोहरू चौडा छन् । बाटोको बीचमा फूलबारी र रुखहरू छन् । दक्षिण पूर्वी एसियाको यो देश निकै सुन्दर लाग्छ । अचम्म लाग्छ, हरेक दिन किन कर्मचारीहरू चौर, रुख र फूलहरूमा पानी हाल्छन् । किन हरेक दिन बाटो सफा गर्छन् । ट्याक्सी ड्रइभरहरू किन पान थुक्ने बट्टा बोकेर हिंड्छन् ? बाटोमै किन थुक्दैनन् ।

बर्माको पहिचान भनेको यहाँको लुंगी र पान हो । जर्दा पान सबैको मुखमा हुन्छ । महिला पुरुष, युवा बृद्ध सबै । यहाँको पानले लिंग र उमेरमा कुनै भेद गर्दैन । यहाँको पान हाम्रोतिर पाइने पान जस्तो ठूलो मुठो हुँदैन । थोरै पातमा तामुल, चुना र जर्दा हालेको चिटिक्कको आकारको हुन्छ । भारतको आसामतिर खाने तामुलपानसँग केही मिल्छ जस्तो लाग्छ । मैले पनि केही पटक खाइ हेरेँ । झुम्म बनाउने रहेछ । अचेल जर्दा नहालेको पान नियमित खान मन पर्छ । पान नखाए यहाँ भए जस्तो महसुस नहुने रहेछ । यस्तो लाग्यो प्रायः मानिसहरू पानको नसामा छन् । यहाँ पाइने पातले बेरेको लामो चुरोट र सिगार पनि स्वादिलो र नसालु हुन्छ । यहाँ सबै मानिसहरू सालिन र शान्त लाग्छन् । ट्याक्सीमा धेरै मोलतोल हुँदैन । भनेको ठाउँमा अलिकति तलमाथि भए पनि खुशीले पुर्‍याई दिएका छन् । पछाडि डालो भएको गाडीमा यात्रुहरू थ्याच्चै भुइँमा बस्छन् । स्कुटरको अग्रभागको खाली ठाउँमा केटाकेटीहरू थ्याच्चै बस्छन् । हामीकहाँ जस्तो यहाँ अहम पलाई सकेको छैन ।

पर्यटकहरूलाई ठग्ने बानी परेका छैनन् यहाँका मानिसहरू । कण्डोवकी पार्कको एउटा पसलमा कफी पिउँदै थिएँ । एक अपरिचित ग्राहकले मेरो कफीको पैसा तिरेर गए । धेरै ठाउँमा पान किन्न खोज्दा मसँग पैसा लिन मान्दैनन् । मैले पान खाएको देखेर अचम्म मान्छन् यहाँका पसलेहरू । सेवाभाव धेरै महसुस हुन्छ यहाँ । सहरबाहिर त हुने नै भयो मुख्य सहरमा पनि माटाका भाँडाहरूमा यात्रुहरूका लागि पिउने पानी राखिएको छ । भिक्षुहरू बुद्ध गान गाउँदै हातमा भिक्षा थाली बोकेर सडकभरी हुन्छन् । बालबालिका देखि अनेकौँ उमेरका छन् । यहाँ सेवा गर्नलाई कुनै विशेष अवसर कुर्नु पर्दैन । सेवा गर्ने मन हुनेहरूले हरेक दिनका फिरन्ता भिक्षुहरूको थालीमा केही राखिदिन सक्छन् । ती लाखौँ भिक्षुहरूको जिविकोपार्जन यसरी नै हुन्छ । राज्यले गुम्बाहरूमा ठूलो लगानी गरेको छ ।

हरेक ठाउँका आआफ्ना विशेषता छन् । यङ्गुन सहर सडकमा राखिएका खानाहरूले प्रसिद्ध छ । जता हेर्नुस् सडकभरी खानाका पसलहरू छन् । यस्तो लाग्छ, कति कुरा खान जानेका यहाँका मानिसले । परिपरिका सागसब्जी र कन्दमुलहरू छन् । जरादेखि हाँगा र पातसम्म केही बाँकी छैन खानलाई । मासुका किसिम पनि अनेक छन् । माछादेखि गाईगोरुसम्म । कुखुरा र माछा त नाङ्लोमा सागसब्जी जस्तै गरेर राखिएको हुन्छ बेच्न । जनावरका आन्द्रा भुँडी खाने पसलहरू जताततै भेटिन्छन् । ‘नाइन्टिन स्ट्रिट' सिंगो माछा र वियरको लागि प्रसिद्ध छ । रेस्टुरेन्ट अगाडि लमतन्न सडक भरी राखिएका टेवल कुर्सीमा मस्त राम भएर पिउने पर्यटकहरू बढेका छन् । अचेल पर्यटकहरूको बृद्धिसँगै डाउनटाउनमा डिस्को र बारहरूको संख्या पनि थपिँदैछन् । अझै डेटिङ र डिस्को पनि लुंगी मै आउने युवाहरू छन् यहाँ ।

युवतीहरू दुवैतिरका गालामा तनखा नामको काठको लेप लाउँछन् । भड्किलो पहिरनले नछोइसकेको आफ्नै जातीय परिवेशमा रमाइरहेको युवा जमातमा खुल्ला बजारले पक्कै असर पार्ने छ । त्यसको असर केही वर्षमा देखिएला । सन् १९५४ मा ब्रिटिसको पालामा बनेको सहरको छेऊबाट सहरलाई बृत्त बनाएर कुद्ने रेल छ यहाँ । यसलाई सर्कल ट्रेन भन्ने गरिन्छ । निक्कै विस्तारो चल्ने यो «ट्रेनले एक परिक्रममा गर्न ठ्याक्कै ३ घण्टा लाग्छ । सर्कल ट्रेनको यात्राले यहाँका आम मानिसहरूको साक्षात्कार गराउने छ । शहरपछाडिका झुप्रा र गरिव बस्ती पनि देखिन थाल्छ ।

हरेक ठूला सहरभित्रका रहस्यहरू त्यहाँ बस्दै गएपछि खुल्न थाल्छन् । लामो समय ब्रिटिस शासन र उसैगरी लामोसमय सैनिक शासन भोगेको यो देशका आम जनताको स्वास्थ्य, शिक्षा र आर्थिक स्थिति निक्कै दयनिय छ । प्रसस्त प्राकृतिक स्रोतको धनी बर्मालाई पछिल्लो समय द्रुत गतिमा विकास भैरहेको देश मानिन्छ । अचेल पर्यटकहरूको ओइरो लाग्छ यहाँ । सन् २०११को राजनीतिक परिवर्तनसँगै विस्तारै यहाँ नव लगानी कर्ता तथा पर्यटकहरूलाई सहज वातावरण बन्दै गएको मानिन्छ । आङ साङ सुकीको पार्टी सरकारमा छ ।

सन् २०१२ को राष्ट्रिय चुनाव र सन् २०१५ को स्थानीय चुनाव दुवैमा नेसनल लिग फर डेमोक्रेसीले भारी मत ल्याएर विजय भयो । म्यानमार आफ्नो पुरानै नाममा फर्किएर बर्मा भएको छ । रङ्गुन पनि फेरि यङ्गुन भएको छ । कामना गरौँ यहाँका मानिसहरूको दुःखबाट मुक्ति मिल्नेछ । स्रोतः दि लेडी, बर्मा भिजे, सुकीको जीवनी दि भोइस अफ होप, जर्ज अरबेलको उपन्यास बर्मिज डेज तथा विभिन्न एजेन्सीहरूबाट

 

प्रतिकृया दिनुहोस

dishhomeapp