MENU

खबर

दिनेश अधिकारी शनिवार, बैशाख २, २०७४ 2695 पटक पढिएको

Share This


हिजो
अस्ति
र, झन् अस्ति जस्तै
आज पनि छापिएको छ
अखबारमा
थुप्रै निर्दोष मान्छेहरू मारिएको खबर
खबर पढिरहेछु म -
अरबबाट आजैमात्र
चारवटा लास भित्रिएको छ
सामूहिक बलात्कारपछि मारिएकी
अपरिचित एउटी युवतीको लास
आजै नदी- किनारमा भेटिएको छ
चुनावको घोषणासँगै
पेटका लागि
मालिकको पर्चामा अनुदित
आफ्नो अनुहार बोकेर
जुलुसमा फर्फराइरहेको एउटा युवक
अर्को पक्षसँगको मुठभेडमा मारिएको छ
कुनै भू- माफियाले
पूरै बस्ती आफ्नो नाममा दर्ता गराएपछि
उसकै निवेदनको आधारमा
जग्गा खाली गराउन
सरकारी संयन्त्र परिचालन हुँदै गर्दा
विरोधमा उत्रिएका एक हूल मानिसको
प्रहरीको गोलीबाट
घटनास्थलमै मृत्यु भएको छ
यात्रु-बस पार गर्दै गर्दा
मन्त्रीको सालोले ठेक्का लिएको
र, भर्खरैमात्र हस्तान्तरण गरेको पुल भत्किएर
बसमा सवार सबैको एकै चिहान भएको छ
सरकारी अस्पतालले बाँडेको
डेट एक्सपायर्ड औषधि सेवनका कारण
एउटै गाउँका
दुइटी गर्भवतीको ज्यान गएको छ
म भनेँ
वर्षौंदेखि प्रतीक्षामा छु -
ती, जसले-
विषालु सुरुङभित्र तिनीहरूलाई छिराए
ती, जसले -
आफ्नो ज्यानको सुरक्षा -कवच तिनीहरूलाई बनाए
ती, जसले -
मनोरञ्जनका लागि उनीहरूको सिकार गरे
ती, जसले -
मालिक हुनुको आफ्नो परिचय लुकाएर
कालो कामका लागि उनीहरूलाई भरिया बनाए
उत्रियोस् तिनीहरूको मुखुण्डो
पाकेको केरा ताछेजस्तै - चोकबजारमा
र, छटपटाओस् तिनीहरूको सास
वरिपरि उभिएकाहरूको नजरमा
तिनीहरू मारिएको खबर
कहिले आउला हँ ! अखबारमा ?

प्रतिकृया दिनुहोस

Dish latest