MENU

पानीमुनि आधा घन्टा

निष्प्रभ सजी शनिवार, बैशाख २, २०७४ 3102 पटक पढिएको

Share This

सगरमाथा आरोहण दिवसको सन्दर्भमा पोहोर साल हाम्रो टोली नेपाली झन्डा बोकेर अस्ट्रेलियाको अग्लो हिमाल माउन्ट कोजिवस्को उक्लेको थियो । आज हामी १० युवा सगरमाथा आरोहण दिवसको स्मरण गर्दै फेरि नेपाली झन्डा बोकेर विपरीत दिशातर्फ जाँदै थियौं । पोहोर साल उकालो उक्लिएको नेपाली झन्डा आज स्कुपा डाइभिङ गर्दै मेन्ली हार्वरको पिँधमा फहरिँदै थियो । देश र राष्ट्रियता भूगोलको जुनै कुनामा भए पनि घरको आँगनजस्तै आँखाभरि हुँदा रहेछन् । पोहोर साल पाँचजना थियौं, यस वर्ष १० जना साथी भएछौं । नेपालीलाई अस्ट्रेलियाको थुम्कोमा उक्लिनु कुनै गाह्रो काम थिएन । तर, स्कुबा डाइभिङचाहिँ सचेततापूर्वक गर्नुपर्ने काम हो ।

समुद्रभित्र छिर्नु हामीले अहिलेसम्म नभोगेको अर्को संसारभित्र छिर्नु हो । मित्र ऋषि आचार्य, सुरज र रामजी विष्ट गरी हामी चारजना मेन्ली पुग्दा भीमसेन सापकोटा, सञ्जीव शर्मा, विमल केसी र राजन क्षेत्रीलगायतका अन्य साथी मेन्ली पुगिसकेको थिए । स्कुवा डाइभिङमा हामीलाई प्रशिक्षण दिँदै थिए क्रिस र उसको छोराले । डाइभिङका लागि निस्किनुपुर्व क्रिसले हामीलाई हाम्रो शरीरमा टाइट हुने स्कुवा हुड निकालिदियो । अनि साथीहरू एउटै कोठामा कोचिएर आआफ्नो रोगी शरीर देखाउन थाले । क्रिसले दोहोर्‍याइरहेको थियो, ‘गाइज वन्ली अन्डरवेयर !' कसैको भुँडी निस्किएको, कसैको भित्र पसेको । मैले फिटनेस अवार्ड सुरज प्रधानलाई दिएँ ।

वाणिज्य दूत दीपक खड्काले शुभकामनासहित हामीलाई नेपाली झन्डा हस्तान्तरण गरेपछि हामी बोटतिर लाग्यौं । बोटले हामीलाई डाइभिङ स्पटमा लगेर बिसायो । बोटमा यात्रा गरुन्जेल सबैका आँखा बोटको छेउमा पंक्तिबद्ध मिलाएर राखिएका अक्सिजन सिलिन्डरमा परेपछि केही साथीले बल्ल यो यात्रा जोखिमपूर्ण पनि भएको महसुस गर्न थाले । भर्खरैसम्म मेन्लीमा दुईजना साथीबाहेक अरू साथी आफूलाई कति पौडिन आउँछ भन्ने बखान गर्दै थिए । कोही फेवातालमा पौडिएँ भन्दैथिए, कोही कालीगण्डकीमा त कोही कर्णालीमा । म भने परार साल बाइरन बेमा गरेको कयाकिङ सम्झँदै थिएँ, जतिखेर म पनि पौडिनै नजान्ने जयन्तीलाई समुद्रभित्र होम्दै थिएँ । पानीमा पौडिनु र पानीभित्र आफ्नै तौलबराबरको अक्सिजन सिलिन्डर बोकेर पस्नु भिन्न कुरा थिए ।

समुद्रमा हाम फालिहालेपछि सुरुको दुई मिनेट निकै कठिन लाग्यो । मुखमा कोचिएको अक्सिजन ट्युब र सिलिन्डर बोकेर पानीमा पस्ने बानी नपरेर होला, केही साथी पहिलोचोटिमा भित्र जान हिच्किचाए र बोटमै फर्किए ।

ऋषिजीले यहीँनिर घाउमा नुन छरे । ‘पोहोर साल अमेरिका बस्ने एक नेपाली युवतीले अस्ट्रेलिया आएको क्रममा एक हप्ता ट्रेनिङ गरेर स्कुवा डाइभिङ गर्दा पनि आफ्नो ज्यान गुमाउनुपर्‍यो ।' केही साथीले थुक निले । अर्को साथीले झन् स्टिभ इरवनलाई सम्झिए, उनी पनि पानीभित्रै स्टिङ रेले डसेर मरेका थिए । क्रिसले अक्सिजन सिलिन्डरलाई कसरी प्रयोग गर्ने, भित्र आपत्कालील बेलामा कसरी सिग्नल दिने भनेर सिकाएपछि अब पानीमा हामफाल्ने पालो आयो ।

हामीसँगै क्रिस र अर्को इन्स्ट्रक्टर फोटोग्राफीका लागि मात्रै तल जाँदै थिए । बस्ने क्रममा म सुरुमा रहेछु, पानीमा हामफाल्ने पहिलो व्यक्ति मै भएँ । अलिकति मनमा मेरो पनि चिसो पस्यो । हामफालेपछि चिसो होइन जताततै चिसो पानी पस्यो । यो आरोहण दिवस पनि किन विन्टरमा पर्नु परेको !

 

समुद्रमा हामफालिहालेपछि सुरुको दुई मिनेट निकै कठिन लाग्यो । मुखका कोचिएको अक्सिजन ट्युब र सिलिन्डर बोकेर पानीमा पस्ने बानी नपरेर होला । केही साथी पहिलोचोटिमा भित्र जान हिच्किचाए र बोटमै फर्किए । तर, पछि भने सबैजनाले पिँधमा झन्डा फहराएर आए । हामफाल्ने क्रममा केही साथीले, एकअर्कालाई हाँसो गरेर ‘ल साथी जिउँदै फर्कनु' भन्न पनि बाँकी राखेनन् । भीमसेनले सार्क पनि देखेछन् । हामीले भने भित्रको प्लान्टस् र केही सानादेखि मझौला खालका माछा देख्यौं । दृश्य अद्भुत थियो ।

केही साथीलाई प्रेसर इक्वलाइज गर्न गाह्रो भएर नउजिया पनि भयो । बोटमा फर्किसकेपछि, सुरजले एउटा रमाइलो प्रसंग सुनाए । हामीलाई क्रिसले आपत्कालीन सिग्नलबारे सिकाउने क्रममा, थम्सअपको अर्थ ‘माथि उत्रिन्छु भन्ने हो' भनेर सिकाएको थियो । हामी नेपालीको, सब ठीक छ वा सहमत छु वा रमाइलो भयो भन्न बूढी औंला ठड्डाउने बानी छ । सुरज पिँधमा पुगेपछि झन्डा फहराउने क्रममा हामीजस्तै उत्साहित भएछन् । फोटोग्राफरले फोटो खिच्न थालेपछि, निकै उत्साहका साथ खुसी व्यक्त गर्दै थम्सअप गर्दै बूढीऔंला ठड्याएछन् । क्रिसले ‘लौ साथीलाई गाह्रो भयो' भनेर एक्कासि पानीमाथि उतारिदिएछ । धन्न, मैले पनि सुरजले जस्तै झन्डै थम्स अप गरिसकेको थिएँ । नत्र म पनि सुरजजस्तै छिट्टै माथि आउनुपर्थ्याे।

फर्किने क्रममा हाम्रा राम्जी दाइलाई अर्को कुरा खड्किरह्यो । बोटको क्याप्टेन साहेब जो करिब पचास पचपन्नका अस्ट्रेलियन थिए, हाम्रैसामु बोटपछाडि उभिएर मूत्र त्याग गर्दै रहेछन् । राम्जी दाइको चित्त दुखाइ पनि ठीकै हो । यो नेपालीको संस्कृति कसरी सभ्य अस्ट्रेलियनभित्र सर्‍यो ? ठीकै छ, साथीहरूले बल्ल थाहा पाए, समुद्रको पानी किन यतिसाह्रो नुनिलो हुँदो रै छ !

केही बेर पछि फ्रेस भएर हामी क्रिससँगै बोटमा सर्कलर कि र लुना पार्कतिर लाग्यौं । भीमसेनले ओपेरा हाउसलाई पछाडि पारेर बोटबाटै एमएन टीभीका लागि छोटो अन्तर्वार्ता पनि रेकर्ड गरे । पछि कार्यक्रम बार्बेक्युमा आएर टुंगियो । भीमसेनको भेजिटेरियन बार्बेक्युले सेफ मित्र सुरज प्रधानको कला पाएपछि झन् स्वाद पायो । हातमा तातो चिया लिएर, मेन्लीबाट देखिएको सूर्यास्तको दृश्य हेर्दाको अनुभूति स्कुवा डाइभिङजस्तै विशेष थियो । चिया पिउँदै जयन्तीलाई फोन गरेँ । बिहान निस्किँदा काममा जान निस्केको थिएँ । बीचमै, म समुद्रभित्र पसेको घटना उसलाई थाहा थिएन । परार साल बल्लतल्ल कायाकिङका लागि मनाएको थिएँ । स्कुवा डाइभिङ त उसलाई सुन्दा पनि डरलाग्दो कुरा हो । ठीकै भयो, ढिलो थाहा दिएँ ।

प्रतिकृया दिनुहोस

Dish latest