MENU

दुरच्या दरबारमा एक दिन

635x90

गनेस पौडेल शनिवार, बैशाख २, २०७४ 3151 पटक पढिएको

Share This

कवि टीएस इलियट नेपालमा जन्मेका भए 'चैत इज त क्रुलेस्ट मन्थ' भनेर लेख्थे होलान् । इलियटको अप्रिल आउन अझै चार दिन बाँकी थियो । म चैतको १५ अर्थात् मार्च २८ औंसीको बिहानमा थिएँ । मलाई भने 'क्रुलेस्ट' चैत बेसी मन पर्छ ।इलियटको 'वेस्टल्यान्ड' पढ्दाका बखत मेरो दिमागमा अन्टसन्ट विचारहरू आउँथे । जस्तो कि, मान्छेले सबैभन्दा ज्यादा आत्महत्या गर्ने महिना कुन होला ? सबैभन्दा ज्यादा हत्या हिंसा हुने महिना कुन होला ? जबर्जस्ती करणीको रेकर्ड तोड्ने महिना कुन होला ? यस्ता हिंस्रक प्रश्नको लिस्ट लामै हुन्थ्यो । तिनताका गुगल थिएन । सर्च इन्जिन नभएको जमानामा मेरा प्रश्नहरू त्यसै हराउँथे । तर, के आजकाल मान्छेको 'क्रुयल्टी' र महिनाबीचको कुनै सम्बन्ध नापेर रिसर्च भएको सामग्री गुगलमा छ ? छ होला । तर, मलाई त्यसको 'सर्च' गर्ने खास मोह छैन ।

अल्वेयर कामुको 'स्ट्रेन्जर'मा म्युअरसल्टले अरबीलाई गोली ठोकेर मारेको महिना कुन थियो ? त्यो कुनै समुद्र किनारको उखरमाउलो गर्मीको दिन त थियो, तर के त्यो चैत नै थियो ? मलाई उपन्यासमा महिनाको नाम पनि दिएको थियो भन्ने खालको कुनै सम्झना छैन । अहिले किताब फर्र्काएर हेर्ने जाँगर पनि छैन ।तिनताका म ती सबै प्रश्नको जवाफ कतै 'चैत' त होइन भनेर शंका गर्थे । मेरो प्रिय महिना चैत यस्तो हिंस्रक महिना हुनसक्ने कल्पनाले मात्रै पनि म झसंग हुन्थेँ, 'आफैं कतै यस्तै हिंस्रक त छैन ? नभए मलाई चैत किन मन पर्छ ? '

खैर, त्यो उहिलेको कुरा हो ।मध्य चैतको एकाबिहानै म एउटा निम्तो मान्न म दुलेगौंडा हिँडे । स्थानीय सिर्जनात्मक व्यापारी युवा साथीहरूको बोलावट लोभ्याउँदो थियो, 'नजिकैको दगाम गाउँमा जाने । त्यहाँको व्यापारिक सम्भावनाको खोजी गर्ने ।' आफूले रुचिपूर्वक पढेको विषय हो व्यवस्थापन । पछिल्लो चरणमा व्यापारिक सम्भाव्यता अध्ययन गर्ने धेरै काम गरिरहेको पनि थिएँ । त्यसो त कृषि-पर्यटनमा विशेष रुचि भएकैले पनि म निम्तोले तानिएको थिएँ ।

पोखरा-काठमान्डुको 'लोकल' बसले दुलेगौंडामा ओरालिदिएपछि हामी एकाध किस्साका चिया र चुरोटमा भुल्यौं । अनि सुरु भयो भुजीकोट बाइकिङ । दुई थान बाइकमा चार थान मनुवाहरू, एउटामा युवराज भट्टराई र म । अर्कोमा सुजन र मनिष श्रेष्ठ ।

चैते झरीले झ्याकेर उजिल्ट्याएको रातो माटोको बाटोमा टायर चिप्ल्याउँदै पहाड उक्लियौं । 'पृथ्वी राजमार्गको दुलेगौंडा बजारको बन्केवा चोकबाट बन्केवा बगैंचा हुँदै करिब सात किलोमिटर पूर्वतिर कच्ची बाटो हिँडेपछि भुजीकोट पुगिन्छ । हिँडेर गए डेढ घन्टा । बाइकमा एक घन्टा ।' मलाई आएको जानकारी यस्तै थियो । तर, बन्केवा चोकबाट आधीजति कच्ची बाटो दौडिएपछि टारमा भेटिएका एक जना रैथाने समाजसेवीले हाम्रो बाटो रोक्दै भने, 'सरहरू, पहिरो गएको हुनाले अगाडिको बाटो निकै खराब छ । मोटरसाइकल जानै सक्दैन । हिँडेर जाने भए यतैबाट जानोस् । होइन भने कोत्रेबाट एक्लेखेत हुँदै थप्रेक जाने बाटो समात्नोस् ।'

सूचना बडो झ्याउलाग्दो थियो । आधी बाटोबाट फर्केर पुरानै बिन्दुमा पुग्नु र अर्कै बाटो समातेर फेरि यात्रा सुरु गर्नु भनेको भूकम्पले भत्काएको घरकै जगमा अर्को घर उभ्याउनुजस्तै थियो । तर, योबाहेक अर्को विकल्प देखिएन । हिँडेर पुग्ने र हिँडेरै फर्किने समय हामीसँग थिएन ।'जीवनका तमाम उपलब्धि गुमाएपछि जीवनको जुन यात्रा फेरि थालिन्छ, त्यही नै खास जिन्दगी हो ।' मेरो निन्याउरो मुख देखेर मित्र युवराज भट्टराईले दर्शन छाँटेपछि मेरो हाँसो फुस्कियो । हामी दुलेगौंडा हुँदे कोत्रे फर्कियौं ।

'यताबाट जाने बाटो त मलाई थाहै छैन ।' गाइड हुनुपर्ने मनिष श्रेष्ठले उल्टै तर्किदिएपछि अर्को समस्या आइलाग्यो । बरु म आफैं नै यही बाटो हुँदै धेरैपटक थप्रेक-ठाँटीसम्म गएको थिएँ । थप्रेकमुन्तिरको फैंचोकमा पर्छ मेरो ससुराली । तर, मलाई पनि थप्रेक जाने बाटोको कुन ठाउँबाट भाँचिएर दगाम पुगिन्छ भन्ने थाहा थिएन । बाटोमा सोधखोज गरेर हिँड्ने सल्लाह गर्दै मेरो अगुवाइमा बाइकिङ चल्यो । कोत्रेबाट एक्लेखेत हुँदै गुह्ये खोलासम्म त बाटो ठिकै थियो । तर, जसै सेराबेसी उक्लियो बाटोले आफ्नो रौद्र रूप देखाउन थाल्यो । एकपछि अर्को गर्दै बाटोले बेलाकुबेला 'चक्मा' दिन थाल्यो । वर्षाले चिपिक्कै भिजेको रातो माटोको चिप्लो बाटो ।

चुच्चाचुच्चा ठूल्ठूला ढुंगा । पानीले खोतलेर बनाएका खाल्डाखुल्डी । एकखाले परीक्षा थियो ड्राइभिङको । बाटोमा भेटिएमा गाउँलेलाई सोध्दै खोज्दै हामी सेराबेसीबाट अघि बढ्यौं । देउराली, धोबी डाँडो, बतासे भञ्ज्याङ, नयाँ गाउँको आरु स्वाँरा, सिम्ले, चण्डी मैदान हुँदै तल्ली पोखरी पुग्दा चोकमा स्कुले केटाकेटीको एउटा झुण्ड देखियो । हाम्रो बाइक वरिपरि झुन्डिएर केटाहरूले बाइकको ऐना, सिट, लेगगार्ड र हेडलाइट सुम्सुमाउन थाले । हाइवेदेखि मात्र एक घन्टाको दूरीमा रहेको गाउँका स्कुले केटाकेटीले देखाएको थोत्रा बाइकप्रतिको उत्सुकता कदाचित गतिलो सन्देश दिने कुरा थिएन । मनै कुँडियो ।

सूचना बडो झ्याउलाग्दो थियो । आधी बाटोबाट फर्केर पुरानै बिन्दुमा पुग्नु र अर्कै बाटो समातेर फेरि यात्रा सुरु गर्नु भनेको भूकम्पले भत्काएको घरकै जगमा अर्को घर उभ्याउनुजस्तै थियो । तर, योबाहेक अर्को विकल्प देखिएन । हिँडेर पुग्ने र हिँडेरै फर्किने समय हामीसँग थिएन ।

केटाकेटीले देखाइदिएकै बाटो समातेर हामी तल्ली पोखरीबाट दाहिने बाटो ओर्लियौं । बाटोको अमरज्योति माविलाई पछाडि छोडेर जंगलभित्र छिर्‍यौं । बाटो झन्झन् खतरनाक भएर आयो । करिब दुई वर्ष अघितिर डोजरले बाटो खनेदेखि अहिलेसम्म कुनै टायरले नकुल्चिएको, मान्छेको पैतालासमेत नपरेकोजस्तो थियो बाटो । हिँड्दै नहिँड्ने बाटो किन खनेका होलान् गाउँलेले ? बाटोभरि ढुंगैढुँगा । ढुंगाभरि जंगली ओसले पलाएको लेवैलेउ । मुस्ताङको लोमान्थाङमा एक्लै बाइक चलाएर जाँदा पनि मलाई यस्तो डर लागेको थिएन जस्तो आज लाग्दै थियो । एकातिर छंगाछुर भीर । अर्कोतिर साँघुरो चिप्लो बाटो । नभन्दै दगाम पुग्न करिब एक किलोमिटर वर ढुंगामा चिप्लिएर धन्नै पल्टिएन मेरो बाइक । सन्तुलन गुमाएको बाइकको अघिल्लो टायरले बाटोको किनार नाघिसकेको थियो । कस्सो युवराज बाइकको पछाडिबाट झटपट ओर्र्लिएर च्पाप्प बाइक समाते । एक बित्ताको हिसाबले मात्रै तल खसिनँ । खसेको भए ढास खुस्किने पक्का थियो ।

वसन्त यामको हिसाबले अहिले आकाश खुला हुनुपथ्र्यो । झरी परेको चार दिन भइसकेको हुनाले कम्तीमा आज त आकाश खुल्छ कि भन्ने एउटा आशा थियो बिहानसम्म । त्यसो भैदिए त नीलगिरिदेखि लमजुङ हिमालसम्मका श्वेत शृंखला लहरै देख्न पाइन्थ्यो । तर, आकाश गुजुमुज्ज बादलले ढाकिएर झर्ला झर्लाजस्तो देखिन्थ्यो । हिमालको झल्को पाइने कुनै सारसम्य थिएन । घामको अत्तोपत्तो थिएन ।
हामी स्थानथोक पुग्दा बिहानको १० बजिसकेको थियो । बिहान ७ बजे हिँडेका हामी तीन घन्टा लगाएर जेनतेन पुगेका थियौं । तिर्खा र भोकले हत्तु थियौं । बन्केवाको बाटोबाट आएका भए करिब सात किलोमिटरको यात्रा गरे पुग्थ्यो । एक्लेखेतबाट सोझै भुजीकोट उक्लिने छोटो बाटो पनि रहेछ तर हामीलाई थाहा थिएन । हामीले फेरो बाटो समातेको हुनाले १०÷१२ किलोमिटरभन्दा ज्यादा हिँडेका थियौं ।

एउटा परम्परागत मगर घरको अघिल्तिरको चौरमा लगेर मनिषले बाइक रोके । म ओर्लेर खुला क्षेत्रमा शौच विसर्जन गर्नै लागेको थिएँ । एउटी अधबैंसे मगर्नी दिदी नजिक आइन् ।
'बाबुहरू हाम्रो घरको पाहुना हो र ? ' उनले सोधिन् ।
'ए फुपू नमस्ते ? पुसाईं हुनुहुन्न ? ' यात्रा व्यवस्थापक सुजनले सोधे । म भनेँ पिसाब रोकेर झाडी खोज्दै तल ओर्लिएँ ।

पुसाईंं अर्थात् दुर्गाबहादुर थापा मिटिङमा गएका रहेछन् । एक घन्टा नभई उनी नआउने बताउँदै फुपूले सोधिन्, 'अनि बाबुहरू रक्सी खानुहुन्छ कि जाँड ? '
झाडीको छेकल परेर पिसाब फेर्दै गरेको मेरो हाँसो फुत्कियो । भात नखाँदै सोमरसको निम्तो ! अवस्था पक्कै गम्भीर बन्नेवाल छ भन्ने अनुमान गर्न गाह्रो भएन ।

ओर्लनेबित्तिकै के भात खानु ? फुपूलाई भाले काट्न लगाएर पुसाईं नआउन्जेलको समय काट्न हामी स्थानथोकबाट तेस्रो तेर्सो बाटो पछ्याउँदै भुजीकोट भ्युटावरतिर लाग्यौं । भुजीकोट गाउँमा २०÷२२ घर थिए । पूरै गुरुङ बस्ती । गाउँको दक्षिणी थाप्लोमा एउटा पुरानो बाघभैरव मन्दिर थियो । मन्दिर छेउमा भ्यु टावर । वरवरका केही पथेरामा लालीगुँरास फुलिरहेका थिए । दृश्य मोहक थियो । हामी टावर चढ्यौं ।

हिमाल हेर्न नपाए पनि दिन खुल्दै जाँदा पोखरा-लेखनाथका केही ताल धमिलो हुँदै देखिए । फेवातालमाथिको सेतो गुम्बा पनि देखियो । सेती किनारको सुन्दर शुक्लागण्डकी नगरपालिका टावरको ठ्याक्कै मुन्तिर देख्दा बडो मजा आयो । सुन्नमा आएअनुसार माछापुच्छ्रे, अन्नपूर्ण, नीलगिरि, धौलागिरि, मनास्लु लगायतका धेरै हिमाली टाकुराहरू आफ्ना फुटहिलसहित लहरै देखिन्छन् यहाँबाट ।
'अब हिमाल हेर्नकै लागि मात्र पनि भुजीकोट अर्कोपटक पनि आउनुपर्ने भयो', युवराजले भने ।

 

National College 220X220Pix Ad for Annapurna

'हिमाल त गण्डक क्षेत्रको जुनसुकै कुनाबाट पनि देखिन्छ । तर, सबै ठाउँबाट हिमाल उस्तै देखिन्नँ । जति पश्चिम गयो माछापुच्छ्रे उति सुन्दर देखिन्छ । जति पूर्व गयो लमजुङ हिमाल र अन्नपूर्ण बबाल देखिन्छ ।' गण्डक क्षेत्रका गाउँ चहारेर खग्गु भइसकेका मनिषले आफ्नो हिमालपरख देखाए ।
'रातिको समयमा यहाँबाट पोखरा, लेखनाथ र तनहुँको पूरा बजार झिलिमिली देखिन्छ', सुजनले ठाउँको व्याख्या गर्दै भने, 'यहाँको सबैभन्दा मीठो दृश्य भनेको सूर्योदय र सूर्यास्तको पो हुन्छ !'
एकाध चरणका फोटोग्राफी सकेपछि हामी ओर्लियौं । पेटले आहारा मागिरहेको थियो । तर, पुसाईंको घर पुग्दा भात होइन गिलासमा कोदोस्की र बटुकामा जाँड बोकेर फुपू आइन् । थालमा लोकल भालेको ग्रेफी तरकारी । खाली पेटमा रक्सीको रन्को परेपछि भातसात बिर्सियो । भाले काटिँदै गए । रक्सीको ग्यालिन रित्तिँदै गयो । दिउँसो ३ बजेतिर मात्रै भात पेटमा पर्‍यो ।

भात खाएर लडखडिँदै हामी दगाम घुम्न निस्क्यौं । दमाग गाउँ माहुरी पालनका लागि प्रख्यात छ । यहाँको मह देशका विभिन्न सहरमात्रै नभएर विदेशमा समेत सगुन र उपहारका रूपमा पुग्ने गरेको छ । यहाँका घरघरमा थिए माहुरीका घार । घरको चारैतिर फूल खिल्दै गरेका सुन्तला र मौसमको बगैंचा । आँगनको कुनामा सुँगुरको खोर । आँगनभरि रहरलाग्दा लोकल कुखुरा । शुद्ध गाउँले परिवेश । शुद्ध गाउँले जीवन । शुद्ध गाउँले कृषि । मोहनी लगाउन काफी थियो मलाई । कृषि पर्यटनको राम्रो विकास गर्न सके यो गाउँले काया फेर्दो हो !

अग्र्यानिक मह खाने मोहले दगाम त पुगियो तर १०÷१५ घर भएको दगाममा कतै पनि मह पाइएन । मकै लगाउने सिजन भएको हुनाले प्रायः घर बन्द थिए । मान्छे भएको घरमा मह थिएन । मह भएको ठानिएको घरमा मान्छे थिएनन् । घारमा भुन्भुनिएका माहुरीलाई मात्रै हेरेर हामी फेरि स्थानथोक फर्कियौं । पुसाईंको घरमा बाइक थन्क्याएर कोटतिर उक्लियौं ।

कोटमा चारैतिर भग्नावशेष थिए । छरपस्ट परेका ढुंगा, पुराना पर्खाल, सानो मन्दिर अनि चारैतिर सल्लाको जंगल । 'बाइसे चौबीसे राज्यकालमा यहाँ दुरच्या थरका मगर राजाले शासन गर्थे रे', सुजनले ठाउँको व्याख्या गर्दै भने, 'दुरच्याले शासन गरेको हुनाले यो ठाउँलाई दुरुङचुङ भनिन्थ्यो । इतिहासकारका अनुसार बाइसे-­­चौबीसे कालमा यहाँ सात सय कुरिया थिए । पछि गएर हालको तनहुँको ढोर गाउँसँगै यसलाई पनि पाल्पाली सेन राजाले कब्जा गरेका थिए रे !' दुरच्याको दरबारको भग्नावशेष परिसरमा उत्तानो परेर हामी सबै घाम तापेर सुत्यौं । आकाश अझै गुजुधुम्म थियो ।

'मौसम सफा भएको भए यहाँबाट अनदु डाँडा, बौद्ध स्तूप, विन्धवासिनी पूरै देखिन्थ्यो । त्यतिमात्रै होइन यहाँबाट स्याङ्जा, बागलुङ, गोरखा, धादिङसम्मका चुचुराहरू देखिन्थे । नवलपरासीको देवचुली, वरचुली र चुरे पर्वतका अनेकौं शृंखला पनि देखिन्थे । तनहुँकै छिम्मा लेक पनि देखिन्थ्यो', मनिषले मेरो डायरीमा कुरा टिपाउँदै भने ।

एक घन्टाजति टाकुरामै टहलिएर रक्सीको कैंडा मारेपछि हामी पुसाईंको घर ओर्लियौं । अनि फेरि सुरु भयो सोमरस पान । नखाई सुख्खै दिएनन् । साँझ ८ बजेतिर स्थानीय नन्दराज थापाको नेतृत्वमा २०÷३० जना गाउँलेको झुण्ड पुसाईंको घरमा आयो । परम्परागत मगर पोसाकमा सजिएका युवतीहरू, डम्फु, मादल र झ्याली बोकेका वाद्यवादकहरू, महिला केटाकेटीहरू सबै मिलेर कौरा गाउन र नाच्न थाले । सञ्चारउद्यमी सुजन श्रेष्ठले लठ्ठ परेको स्वरमा आफ्नो लोकगायन कला देखाउन थाले । राति ११ बजेसम्म गीत, नृत्य र सोमरसको माहोल जम्यो । म त नाचेको नाच्यै भएछु ।

राति १२ बजेतिर होमस्टेको बिस्तारामा पल्टिँदा मनभरि दगाम गाउँका पर्यटकीय सम्भावनाहरूको लिस्ट भर्खराउँदै आउन थाले । बन्केवा चोकबाट दगाम, थप्रेक, फैंचोक, देउराली हुँदै बेगनास तालको सुन्दरीडाँडासम्म जाने ट्रेकिङ रुट सञ्चालन गर्न सके 'हाई अल्टिच्युड'का कारणले हिमाली क्षेत्रमा जान नसक्ने ट्रेकरहरूलाई यता तान्न सकिन्थ्यो । यता आउँदा हामीले लुइँचे, बनकुखुरा, लामपुच्छ्रे कोइली, ढुकुर, बाज लगायतका अनेकौं चरा बाटोभरि देखेका थियौं । स्थानीय कृषि र ग्रामीण जीवनको अवलोकनमात्रै नभएर चरा अवलोकनका लागि पनि सुन्दर ट्रेल हुन सक्थ्यो त्यो ।

निदाउनुअघि इलियट फेरि सम्झनामा आए । मेरो कानमा फुस्फुसाउँदै भने, 'मिस्टर पौडेल, पोखरामा जन्मेको भए मैले 'वेस्टल्यान्ड' नै लेख्दिनथेँ । लेखेकै भए पनि 'चैत इज द क्रुलेस्ट मन्थ' भनेर कथाचित कविता सुरु गर्दिनथेँ ।'

प्रतिकृया दिनुहोस

Annapurna Post1140X100