MENU

कार्ल मार्क्सको चिहानमा भूतपूर्व कम्युनिस्ट

विजय सापकोटा शनिवार, बैशाख २, २०७४ 6180 पटक पढिएको

Share This

बेलायततिर

डालाजियाको कलेजी रङको भव्य स्मारकको पिँढीमा उभिएर मैले आँखाले देखेसम्मको चिहान-संसार नियालेँ । नामै हाइगेट, ओसिलो बिहानमा थोरै भए पनि यो अग्लो ठाउँ मलाई लेकजस्तै लागिरहेको थियो । सिर्रसिर्र बहिरहेको हावाले बेलाबेलामा चेरीका पुष्प पत्रहरू ल्याएर स्मारकमा असरल्ल छरिदिन्थ्यो । तर, यसदेखि बाहेक कतै केही उज्यालो थिएन, धुम्मिएको बिहान सिँगाने केटोजस्तै थियो, बेलाबेलामा स्यार्र-स्यार्र पानी परेझैँ गथ्र्यो ।

Bijaya-Sapkota_1आइतबारे साँझमा पार्टी गरेर राति अबेर सुतेका 'भूत'हरूले ब्रेकफास्ट नखाँदै म त्यहाँ पुगेको थिएँ । टिकटघरकी गोरी आइमाई र सानो ट्रकजस्तो सवारीसाधनमा रूखका हाँगाबिगा ओसार्दै गरेका दुईजनाबाहेक त्यहाँ पुग्ने पहिलो व्यक्ति मै थिएँ, जसको जनाउ त्यही टिकटवालीले दिएकी थिए । सोमबारको त्यो उदास बिहानमा ११ पनि नबजी चिहानघारी घुम्न आएको मलाई देखेपछि उसले हाँसेर भनेकी थिई, 'सबेरै आयौ ।' प्रतिक्रियामा म फिस्स हाँसे पनि । मनमा प्रश्न उब्जिएकै थियो, 'यस्तो दिनमा, उसमाथि यति सबेरै म किन यहाँ आएको होला ? '

'मानिसहरू चिहान या मसानतिर घुम्न किन जान्छन् ? ' टिकटघरबाट बाहिर निस्किँदाचाहिँ मेरो मनमा अर्को प्रश्न आइसकेको थियो ।सानो छँदा चिहानघारी र मसानघाट पार गर्नु बहुत दुस्साहसपूर्ण कुरा हुन्थ्यो । हजुरआमाले सुनाएका सेताम्मे लुगा लगाएका भूतहरूको काल्पनिक आकृति ती ठाउँ टेक्नुभन्दा पहिले नै निषेधित क्षेत्र घोषणा गरी अघिल्तिर उभिइदिन्थे । सानोमा मैले बनाएको भूतको आकृति हरर मुभीहरूतिर देखाइनेजस्तो डरलाग्दो थिएन, त्यो त रोनाल्ड ड्याहालको विफजीजस्तो अग्लो न अग्लोमात्रै थियो । अनि त्यसले मान्छेको मासु लुछ्ने वा तर्साउने नभई मान्छेको नाम लिई बोलाउँथ्यो र त्यो मान्छेले 'हँ' या 'हजुर'मात्रै भनेको खण्डमा पनि त्यो ठाउँको ठाउँ नै मरिदिन्थ्यो । त्यसैले यस्ता निषेधित क्षेत्र पार गर्ने बेलामा कसैले आफ्नो नाम लिई बोलाइहाल्यो भने पनि नबोल्ने अठोट गर्नु नै भूतसित लड्ने बलियो हतियार थियो ।

चिहान वा मसानसितको यो 'भयग्रस्त घृणा' त्यति लामो समयसम्म भने रहिराखेन । माध्यमिक तह नटेक्दै यो वरिपरिको कम्युनिस्ट हावापानीको प्रभावमा 'सामन्तले फिँजाएको भ्रम'को रूपमा परिणत भयो । उमेर चढ्दै गएपछि यो दार्शनिकतासित भावनात्मक हिसाबले जोडियो । विशेषगरी जल्दै गरेका लास देख्दा वा मृत्युशोकमा परेकालाई भेट्न जाँदा मृत्युका अगाडि जीवनका सबै रंग फिका हुन्जस्तो भान पारिदिने शोकाकुल माहोलले लपेट्थ्यो । किनकि यस्ता ठाउँमा जस्तै भोगी, लोभी र कपटीको अनुहारमा पनि 'नीरञ्जन निराकार'को भावुकता छचल्किरहेको देखिन्थ्यो । कहिलेकाहीँ यो माहोल यति अभिनयपूर्ण र कृत्रिम देखिन्थ्यो, मनबाट शोकको सट्टा हाँसेको दुर्घटनाको पनि सम्भावना त्यत्तिकै रहन्थ्यो । त्यसैले पनि म सकेसम्म यस्ता माहोलहरूबाट टाढिन खोज्थेँ । चिहान वा मसानसित पनि त्यस्तो आकर्षण वा अनाकर्षण केही थिएन ।

त्यसो त बितेका आधा दर्जन वर्षमा मैले झन्डै आधा दर्जन नाम चलेका र ठूला चिहान टेकिसकेको छु । तैपनि चिहान घुम्नुका पछाडि कुनै ठोस उद्देश्य के हुनसक्छ, मैले कहिल्यै पनि विचारेको छैन । कुन उत्तेजना अथवा रहरले मानिसलाई यस्ता ठाउँको यात्रा गराउँछ ? यसको उत्तर मैले कहिल्यै खोजी गरेको पनि छैन । (सायद यसको उत्तर कुमार नगरकोटी अथवा 'लोकेसन'का दीपक सापकोटाले पो दिन सक्छन् कि ? ) तर, उद्देश्य प्राप्तिको अपेक्षाबिनाका धेरै विषय र यात्रा पनि स्वत्वका लागि अत्यन्तै रुचिकर र आनन्दिला हुने गर्छन् ।

डालाजियाको स्मारकमा कहाँबाट यात्रा थालूँ भनेर केही बेर अलमलिएँ । बाटाहरू धेरैतिर चिरिएका थिए । मलाई भने मूलबाटो र व्यवस्थित ठाउँतिरभन्दा पनि परित्यक्त चिहानको बाटो रोज्न मन लागिरहेको थियो । मेपल, अनेक अपरिचित झाडी र तलतल लत्रिएका रूखका हाँगा पन्छाउँदै हिँड्दा रमाइलो लाग्छ । त्यसका लागि केही पर पुग्नुपथ्र्यो । त्यसैले मैले बाटरलो पार्कको बारको छेवैछेउ भएर हिँड्ने मन गरेँ ।

ठ्याक्कै पहिलो नजर पर्‍यो— सेतो मार्बल स्मारकको खोपामा कालो रङको टाउको मात्रैको मूर्तिमा । लौ यो चिहान बीसौं शताब्दीको एउटा कुख्यात चोर ब्रुस रेनलल्डसको रहेछ, जो सन् १९६३ मा ग्लास्कोबाट लन्डन आउँदै गरेको ट्रेनबाट भएको ४९ मिलियन पाउन्डको चोरी काण्डका मास्टरमाइन्ड थिए । मलाई मनमनै हाँसो लागिरहेको थियो, पहिलो दर्शन नै महान् चोरको पाउँदा । म अलिकति पर डिआलको महिला र पुरुष आलिंगनबद्ध स्मारको छेवैबाट एउटा सानो कान्लो उक्लिएँ । कान्लोमा असजिलोसित राखिएका छन्— चर्चित लेखक डगलस आडम ।


यो त्यही चिहान हो जहाँ पहिले जेनी माक्र्स अनि माक्र्स र अन्त्यमा उनीहरूकी आजीवनकी सहयोगी लिन्चेनलाई गाडिएको थियो । लिन्चेन आजीवन माक्र्स परिवारका आरोह अवरोहहरूकी साक्ष्यमात्रै होइन

उनको चिहानमाथि सानो श्वेत र सादा मार्बल प्लेट गाडिएको छ । तर, अघिल्तिर एउटा भाँडोमा कलमहरू राखिएकोचाहिँ रमाइलो लाग्छ । सायद उनका प्रशंसक यहाँ आउँदा कलम राखिदिन्छन् । प्लेटमाथि केही सिक्का र एउटा सानो प्लास्टिकको चरा राखिदिएको देख्दा मलाई बनहिल फिल्ड्स सिमेट्रीमा रहेका कवि विलियम ब्लेकको चिहानको स्तम्भमाथि पनि यसैगरी पैसा र अरू चीजहरू राखिएको याद आउँछ, मानिसहरू के विश्वासले यस्तो गर्दा रहेछन् कुन्नि। मैले मेसो पाउन सकेको छैन । तर, यस्तो देखेर मानिसको आस्था, विश्वासको भावनात्मक तह कति बलियो र गहिरो हुँदो रहेछ भन्नेचाहिँ लागिरह्यो ।

ग्याजग्याजी हिलो कुल्चिँदै म अनेकथरी चिहानको बीचबाट गुज्रिरहेछु । कतै ढुंगा वा मार्बलका प्लेट गाडिएकामात्रै छन् । कुनै चिहानमा अग्ला र चुच्चे स्तम्भ बनाइएका छन् भने कतैचाहिँ अग्लाअग्ला कलात्मक स्मारक पनि भेटिन्छन् । बाँचुन्जेलको मानिसको वर्ग-पहिचान चिहानघारीमा पनि अस्तित्ववान् हुँदो रहेछ । ठूला र भव्य स्मारकले ससाना, टुटेका, ढलेका वा घाँसपातले पुरिएका अथवा काई परेर लेखिएका अक्षर नै पुरिएका स्तम्भ वा प्लेटहरूलाई गिज्याएजस्तो, धम्क्याएजस्तो लाग्ने । कति परित्यक्त चिहानमाथिका स्तम्भ भाँचिएर पसारिएका देखिन्छन् । अनेक घाँस र लहराले जेलिएर कति त हरियै देखिन्छन् । यी परित्यक्त चिहान देखेर मनै नरमाइलो हुने, जति नरमाइलो साना केटाकेटीको चिहान देखेर हुन्छ । अरू त ठीकै होससाना सिक्री या फलामका डन्डीको बार लगाइएका चिहान देख्दा अनौठो अनुभूति हुन्छ । चिहानमाथि ढुंगो या मार्बलको प्लेट गाडेर मान्छेले मृत प्रियजनको भौतिक अस्तित्वलाई त्यहीँमुनि दबाइदिइसक्यो, तैपनि त्यसमाथि बार लगाएर किन सीमांकन गर्न खोज्दो रहेछ कुन्नि मान्छे ?

 

चिहानमाथिका स्तम्भ वा स्मारकमा अनेक किसिमका मूर्ति या अन्य चिह्न-संकेत भेटिन्छन् । यस्ता मूर्ति या चिह्नले अनेक किसिमका प्रतीकात्मक अर्थ दिन्छन् भन्ने कुराचाहिँ केन्जल ग्रिन सिमेट्रीमा थाहा पाएको हुँ । त्यहाँ एउटा गाइडले आफ्नो समूहमा भनिरहेको कुरा चोरेर सुनेको आधारमा यस्ता केही चिह्नका संकेतलाई सामान्य अर्थ लगाउन सक्ने भएको छु । चिहानका स्मारक वा स्तम्भमा राखिएका वस्तु, जनावर अथवा विभिन्न किसिमका धार्मिक पात्रहरूका मुखाकृति र भावकृतिले चिहान वा स्मारकको भव्यतालाई बढाएको मात्रै नभई मृतकको अवस्थालाई पनि संकेत गर्दा रहेछन् । भेडाको पाठोको मूर्तिले त्यो केटाकेटीको चिहान भएको जनाउँदो रहेछ, पुतलीले कसैले बाँचेको छोटो जीवनको संकेत गर्दो रहेछ । त्यस्तै उल्लुले विद्वता, साँढेले धैर्य, सिंहले निर्भय, खरायोले मिलनसारितालाई बुझाउँदो रहेछ ।

त्यस्तै चिहानमा रोपिएका या चढाइएका फूलहरूले पनि त्यस्तै कुनै न कुनै अर्थलाई बोक्दा रहेछन् । गुलाफले सुन्दरता, लिलीले पवित्रता, डेजीले निर्दोषलाई बुझाउँछन् अरे । फरकफरक भावाकृतिका एन्जेलहरूका पनि अनेक अर्थ हुँदा रहेछन् । मौरीका चाकाका चिह्नले व्यापारी, उद्योगपतिलाई बुझाउनु, टुटेको सिक्रीले जीवनसँगको सम्बन्धविच्छेदलाई देखाउनु पनि कम्ती प्रतीकात्मक छैन । नाभी या डुंगाचालकहरूको चिहानमा जहाजको लंगुरको संकेत राखिँदो रहेछ, फलामको काम गर्नेहरूका चिहानमा अचानोजस्तो संकेत राखिएको हुँदो रहेछ । यस्ता कुरा थाहा पाएर रमाइलो लाग्छ । अहो, मान्छेले मृत्युलाई पनि कति कलात्मक तरिकाले बेहोर्न चाहँदो रहेछ ।

भिरालो कान्लोमा उभिएर हेर्दा यो हाइगेट सिमेट्री चमकधमकबिनाको देखिन्छ । मूलबाटोको पश्चिम र बाटोको पूर्व गरी दुई भागमा बाँडिएको यसको पश्चिम भागमा म पुगेको छैन । यसअघि पुगेको केन्जल ग्रिनमा जति भव्य, कलात्मक र खान्दानी चिहान र स्मारकहरू यहाँ त्यति देखिएनन्, न त अवनी पार्क सिमेट्रीको जस्तो चहलपहल नै । केन्जल ग्रिन त मलाई चिहानघारीभन्दा पनि प्राचीन बस्तीको भग्नावशेषजस्तो लाग्छ । अवनी पार्क भने जीवन्त चिहानघारी लाग्छ, पूर्णतः प्राकृतिक किसिमको ।

आफन्त अथवा आफ्ना नातेदार पुर्खाको चिहान सफा गरिरहेका अधबैंसे र वृद्धवृद्धाहरू, चिहान अघिल्तिर बसेर प्रार्थना गरिरहेकाहरू, गितार बजाएर गीत गाइरहेकाहरू अथवा कतै बेन्चीमा या स्मारकहरूकै आडमा टाँसिएर चुम्माचाम्मी गरिरहेका जोडीहरूका विविध सांसारिक रंगहरू त्यहाँ देख्न पाउने सम्भावना प्रबल रहन्छ । त्यहाँ देखेको एउटा चिहान म यदाकदा भावुक भएर सम्झन पनि पुग्छु । आफ्ना दुई छोराको चिहानमास्तिर एउटी दुःखी आमाले प्ले-कार्डमा यस्तो लेखेर टाँसेकी थिइन्, 'कृपया, मेरा फूलहरू चोर्ने काम बन्द गर । तिमी मलाई असाध्यै दुःखी बनाइरहेका छौ । डेभिड र टमकी आमा मार्गरेट ।'
मैले पहिलोपटक टेकेको चिहानचाहिँ वनहिल हो । त्यहाँ टेक्दा खै किन हो तीर्थालु अनुभूति भएको थियो।

आफूले पहिलोपटक अंग्रेजी पुस्तकको पठन सुरु गरेको किताब 'रोबिन्सन क्रुसो'का लेखक डेफोको चिहान भेटेर हो कि मनको आध्यात्मिकता जागरुक भएर आएको थियो त्यति बेला । यहीँ छन् कवि तथा चित्रकार विलियम ब्लेक । तर, यस्तै अनेक सेलिबे्रटी गाडिएको वेस्टमिन्स्टर अविमा भने चिहानको गन्ध पटक्कै मिल्दैन । डार्बिन, न्युटन, डिकेन्स आदि जस्ता हस्तीहरूको अन्त्येष्टि गरिएको यो ठाउँ पुरानो म्युजियमजस्तो लाग्छ । यस्तै झल्को मिलेथ्यो ट्रिनिटी चर्चमा सेक्सपियरको चिहान हेर्दा पनि । एउटा असाध्यै रहर गरेर जान नपाएको चिहान छ— हाइड पार्कमा । जहाँ भिक्टोरियन समयको घरपालुवा जनावरहरूको सानो सिमेट्री छ भन्ने सुनेको छु । मलाई ती ससाना चिहानमाथि गाडिएका ससाना स्तम्भहरूमा ती जनावरहरूप्रतिका मानिसका प्रेमलाई पढ्ने असाध्यै धोको छ ।

उपन्यासकार जर्ज इलियटको चिहानमाथि अग्लो चुच्चे स्तम्भ उठेको छ । उनको छिमेकी चिहानको ढुंगामाथि खिया लागेको एउटा उदास लाल्टिन ट्यास्स बसिरहेको छ, चिहानको छातीमा अपरिचित कालो चराको लास वेवारिस पल्टेको छ । अलिक माथि मलाई रिसालु आँखाले हेर्दै गरेको ब्ल्याक एन्ड ह्वाइट बिरालोलाई देख्दा लाग्दैछ, यसैले त्यो बेवारिस लासको सद्गति गर्नेछ । यहीँबाट देखिन्छ कार्ल माक्र्सको ठूलो स्मारकमाथिको परिचित टाउको । नाम नसुनेका कवि, इतिहासकार, चित्रकारहरूका चिहानहरू पार गर्दै माक्र्सको छिमेकमा पुग्छु । त्यहाँ आसपासमा पत्रकार, सामाजिक अभियन्ता र विभिन्न देशका कम्युनिस्ट नेताका केही चिहान पनि छन् । कार्ल माक्र्स र हवर्ट स्पेन्सरलाई बाटोले छुट्याएको छ ।

बिल्कुलै विपरीत विचारका पक्षपाती दार्शनिक चिन्तनलाई यसरी आमनेसामने गाडिनु संयोग थियो या नियोजित यो त थाहा छैन, तर यसले भावुक भएर सोच्नेका लागि भने जीवनमा नरुचाइएका र आफूले मन नपराएका अथवा आफूलाई विश्वास नभएका चीजहरूको पनि अस्तित्व छ है भनेर बताउँछ जस्तो लाग्छ ।

माक्र्सको चिहानमा हँसिया हथौडाको चित्र भएको गोलकार सेतो कपडा राखिएको थियो । त्यहाँ बुकेहरू र फूलका थुंगाहरू पनि टन्नै थियो । अघिल्लो हप्ता उनको स्मृति दिवस परेर होला । अघिदेखि माक्र्सको चिहानको अघिपछि गरिरहेका दुई वृद्धाहरू सानो डिजिटल क्यामेरामा फोटोहरू हेर्दै थिए । मैले यता चिहानतिर लागेपछि बिरालोबाहेक उनीहरूलाई नै भेटेको थिएँ । लन्डनमा अन्यत्र भए यस्ता खुला ठाउँमा लोखर्केको झिल्के नाच हेर्न पाइन्थ्यो । तर, यहाँ त लोखर्केसम्म पनि थिएन । क्यामेरा हातमा लिएकी बूढीआमैको आग्रहमा फोटो खिचिदिएपछि मलाई माक्र्सको पहिलो चिहान तत्काल हेरिहाल्ने मन भयो । हातमा टिकट काटेबापत फोस्सामा पाएको लिफलेटमा नक्सा त थियो, तैपनि चिहान भेट्टाउनलाई एकछिन त हम्मे पर्‍यो । केही बेरको संघर्षपछि माक्र्सको ओरिजिनल चिहान भेटिन्छ र भेटिन्छन् अघिका दुइटी आमैहरू पनि ।

यो त्यही चिहान हो जहाँ पहिले जेनी माक्र्स अनि माक्र्स र अन्त्यमा उनीहरूकी आजीवनकी सहयोगी लिन्चेनलाई पनि गाडिएको थियो । लिन्चेन आजीवन माक्र्स परिवारका आरोह अवरोहहरूकी साक्ष्यमात्रै होइन, माक्र्सका अघोषित छोराकी आमा पनि थिइन् । तिनै लिन्चेनलाई माक्र्ससँग गाडिनु उनको इच्छा थियो अथवा माक्र्सका हैरानीहरूलाई आफूले लिइदिने एंगेल्सको महानता थियो मेरो मनमा यो कुरा खेलिरहेको थियो । अनि सँगसँगै महान् जीवित विचारकले सोच्न बन्द गरेको घोषणा गरिरहेका भावुक एंगेल्स कतापट्टि उभिएर आफ्नो अभिव्यक्ति दिइरहेका थिए जस्तो पनि लागिरहेको थियो । एंगेल्सले आफ्नो लासलाई जलाउनु भनेका थिए, गाडेको भए सायद माक्र्सकै चिहानको आसपास उनको पनि चिहान हुन्थ्यो होला ।

ती दुई बूढीआमै पनि मजस्तै त्यहीँ अल्झिरहेका थिए । अघि मसित बोल्नेचाहिँ अर्कीलाई केही कुरा प्रवचन दिएजसरी भनिरहेकी थिइन् । जर्मनमा कुरा गरेको हो कि जस्तो लागेर सोधेँ पनि । हंगेरियन रहेछन् । दुईमध्ये धेरै बोल्नेचाहिँ अंग्रेजी मज्जाले बोल्नसक्ने रहिछन् । उनीहरू माक्र्सकै चिहान हेर्ने मुख्य उद्देश्यका साथ आएका अरे । यो सुनेर मैले पनि प्याच्च सोधिदिएँ, 'तपाईं कम्युनिस्ट हो ? '
उत्तरमा बूढीआमैले मुस्काउँदै भनिन्, 'पहिले हंगेरियन सोसलिस्ट वर्कस् पार्टीको सक्रिय कार्यकर्ता थिएँ । तर, अहिले त म कम्युनिस्ट पनि होइन ।'

'अहिलेचाहिँ किन होइन त ? ' यस्तो रूखो गरी सोध्नु हुँदैन कि ठान्दाठान्दै पनि बोली फुस्किहाल्यो ।
तर तिनले बडो सजिलोसित भनिन्, 'अबको जमानामा कम्युनिस्ट हुन कठिन छ । मेरो विचारमा त यो असम्भव छ ।'मलाई अझै किन नि भनेर सोध्न मन थियो, तर सकिनँ ।

प्रतिकृया दिनुहोस

Dish latest