MENU

कसरी बन्छ स्मार्ट सहर ?

राजन लम्साल शुक्रवार, बैशाख १, २०७४ 5013 पटक पढिएको

Share This

हिजोआज सबै कुरामा ‘स्मार्ट' शब्द प्रचलनमा आएको छ । स्मार्टफोनले बढी चर्चामा ल्याएको यो शब्द पछिल्लो समयमा फोन हुँदै स्मार्ट लाइफस्टाइल, स्मार्ट घर, स्मार्ट सहरका परिकल्पनामा अघि आइरहेका छन् । साधारण ब्ल्याक एन्ड ह्वाइट मोबाइलहरू अचेल सबै काम एकै ठाउँबाट गर्नसक्ने गरी कन्भर्ज भएर स्मार्ट भएका हुन् । यसैगरी हाम्रो जीवनशैली स्मार्ट बनाउने कुरामा भने स्मार्टफोन बोकेरमात्र बन्ने हैन । हाम्रा दैनिक कामकाज र सेवासुविधाहरू कति सहज र डिजिटल रूपमा उपयोग गर्न सकिन्छ, यसमा पनि हाम्रो जीवनशैली जोडिएको छ ।

हरेक मानिस समाज, टोल र सहरमा बस्ने भएकाले त्यहाँको वातावरण, दैनिक कामकाज, शिक्षा, स्वास्थ्यलगायतका सेवा, सुविधा, कारोबार, सरकारी सुविधा, हामी हिँड्ने सडक र यातायात आदिले स्मार्टनेस गराउने गराउने हो । स्मार्ट सिटीको परिभाषा देश र सहरअनुसार फरक हुने भएकाले हामी स्मार्ट सिटीका आधारभूत मापदण्ड र सूचक के-के हुन् भन्ने कुरा पत्ता नलगाई स्मार्ट सिटीको बिगुल फुकिरहेका त छैनौं ।

सरकारले कुनै पनि पूर्वाधार तयार नगरी स्मार्ट सिटी, स्याटेलाइट सिटी बनाउने घोषणा गरिरहेको छ । तर, अहिलेसम्मको तयारी र पूर्वाधारको विकास हेर्दा यो सबै हावा गफै हो भन्ने जोकोहीलाई लाग्न सक्छ । घोषणा गर्नु राम्रो कुरा भए पनि यसको तयारी र त्यसअनुरूपको काम अघि बढाउन नसक्दा सरकारी लगानी बालुवामा पानीझैं भइरहेको छ । केही समयअघि टेली सेन्टर, टेली मेडिसिन र ई भिलेजका कुरा खुब चर्चामा आए तर त्यसको पनि कुनै ठोस परिणाम र उपलब्धि सर्वसाधारणले अनुभव गर्न पाएनन् ।

विश्व परिवेश हेर्दा सहरीकरणमा भएका सूचनाप्रविधिको व्यापक प्रयोगले उनीहरूको जीवनस्तर र देशको आर्थिक उन्नति गुणात्मक रूपमा फड्को मारिरहेको छ । १० वर्षको अवधिमा अरू केही देशले गरेको प्रगतिको प्रमुख सूचक वा टुल्स नै आईसीटीको प्रयोग हो । कोरिया, सिंगापुर, हङकङ, भारत नै यो क्षेत्रमा धेरै अघि बढिसकेका छन् ।

Yamaha

इन्टरनेटको व्यापक प्रयोग, ई कमर्समा हुने खरिदबिक्री, घर बसीबसी बैंकको कारोबार र सपिङ, ट्याक्सी, गाडी, होटललगायतका आवश्यक कुरा अनलाइन र डिजिटल रूपमा मोबाइलमै बुकिङजस्ता कुरा स्मार्ट सिटीका सामान्य अवधारणा हुन् । त्यसैगरी सरकारी सेवा र सुविधाका कामकाज सहज तरिकाले क्षणभरमै डिजिटल प्रविधिको माध्यमबाट उपयोग गर्न पाउनु पनि यही अवधारणामा पर्छ । यसका लागि हामीले के कति पूर्वाधार तयार गरिरहेका छौं र कहिलेसम्म तयार हुन सक्छौं भन्ने मुख्य कुरा हो ।

जनता, सरकार, आवागमन, आर्थिक अवस्था, बसोबासको अवस्था, वातावरणको अवस्था हेरेर त्यसमा सूचनाप्रविधि कसरी प्रयोगमा ल्याउन सकिन्छ र प्रभावकारी बनाउन सकिन्छ र त्यसलाई सूचनाप्रविधिमैत्री बनाउन सरकार र सबै सरोकारवाला लाग्नुपर्छ । अरू देशमा देखेको र सुनेको आधारमा आफ्नो क्षेत्रमा पनि घोषणा गरिहाल्ने तर तयारी र कार्यान्वयन पक्ष फितलो हुँदा उपलब्धि हासिल गर्न धेरै समय लाग्ने गरेको छ । गर्‍यो भने नहुने केही पनि छैन तसर्थ नेपालमा तीनवटा मात्र नभएर यो सानो देशलाई स्मार्ट मुलुक बनाउन गतिलो पहल र इच्छाशक्ति बनाएर सरकार, सरोकारवाला र सर्वसाधारण सबै अघि बढ्ने पो हो कि ?

प्रतिकृया दिनुहोस

dishhomeapp