MENU

रंगमञ्चमा सन्तुष्टी बढी

शुक्रवार, बैशाख १, २०७४ 3273 पटक पढिएको

Share This

२०७३ साल नेपाली रंगमञ्चको लागि सुनौलो वर्ष रह्यो । यो वर्ष राम्रा नाटकहरू मञ्चन भए । गएको वर्ष संख्या र गुणस्तर दुवै दृष्टिले रंगमञ्चका लागि उपलब्धिमूलक रह्यो । वर्षभर रंगमञ्चहरू प्रायः खाली भएनन् । उत्साहवद्र्धक मानिएको २०७३ साल स्मरणसँगै नयाँ २०७४ को योजनाका बारेमा केही रंगकर्मी र विनीता मरहट्टाबीच भएको कुराकानीः


विभेदलाई महसुस गर्दैछु

सोमनाथ खनाल
वर्ष २०७३ बाट धेरै सन्तुष्ट छु । यो वर्ष ठूलो सपना पूरा भयो । सुनील पोख्रेल दाइलाई निर्देशन गर्न पाएँ । अभिनयबाट दर्शकको मन जित्न सक्छु जस्तो लाग्दैनथ्यो, तर नाटक १२ दुर्वाशामार्फत दर्शकबाट पाएको प्रतिक्रियाले अभिनयप्रति विश्वास बढेको छ । दर्शकले मन पराउनुभयो । अब कुल भएर काम गर्नेछु । काम गर्ने बेलामा सधैं डरले जित्थ्यो । अब डरलाई पाखा लगाएर काम गर्नुपर्छ भन्ने सोच आएको छ ।

यस वर्षदेखि सामाजिक राजनीतिक विषयमा चासो राख्न थालेको छु । पहिला एकपक्षीय मात्र सोच्थेँ । पछिल्लो समय रंगमञ्चको माध्यमबाट धेरै सामाजिक विषयमा काम गरेँ । सामाजिक कामको अनुभवले ‘अल्टरनेटिभ भ्वाइस’ बुझ्ने मौका पाएँ । समाजमा लैंगिक, जातीय र रंगीय विभेद छ । यो विभेदको विषयलाई महसुस गर्दैछु । अलि प्रजातान्त्रिक हुँदैछु कि जस्तो लाग्दैछ । २०७४ मा पनि यस्तै सिक्ने मौका मिलोस् । मैले गर्ने नाटक नै हो । युवाहरूलाई उत्प्रेरणा दिने नाटक गर्न मन लागेको छ । कलाकर्मी सधैं उत्पीडितको आवाज बन्नुपर्छ भन्ने महसुस भएको छ । यसलाई विस्तारै काममा प्रस्तुत गर्दै लैजानेछु । पहिला कला राजनीतिबाट मुक्त हुनुपर्छ भन्ने लाग्थ्यो । तर होइन रहेछ । राजनीतिबाट कोही पनि मुक्त रहन सक्दैन । यस्तै विषयमा काम गर्नेछु ।


चुनौतीपूर्ण काम पर्खंदै छु
सरिता गिरी
२०७३ साल मेरो लागि निकै फलदायी रह्यो । बोक्सीको घर, १२ दुर्वाशाजस्ता नाटकमा अभिनय गर्न पाएँ । महोत्सवका लागि विदेशमा नाटक लिएर गएँ । एकल अभिनय गर्न पाएँ । राम्रैसँग बित्दाबित्दै पनि यो वर्ष समयसँगै कुद्न सकिन कि जस्तो लाग्छ । यो वर्ष अझ धेरै काम गर्न सक्थेँ होला । पढ्न विदेश जाने सोच बनाएकी थिएँ । लामो समय निरन्तर काम भइरह्यो । केही समय बाहिर जान मन थियो । पूरा गर्न नपाएका र नयाँ सोचका कामहरू २०७४ सालमा पूरा गर्नेछु । अहिले पनि सूचीमा केही नाटकहरू छन् ।

राम्रा नाटक गर्ने योजनामा छु । महिलाको विषयमा गरेको काम दर्शकले मन पराउनुभयो, अब अरू विषयमा पनि काम गर्नेछु । दर्शकलाई फरक स्वाद दिन मन छ । फेरि कुनै चुनौतीपूर्ण कामको पर्खाइमा छु । चुनौतीपूर्ण चरित्र निभाउन त्यस्तै टिम र कथावस्तु खोजिरहेछु । जीवनका केही महŒवपूर्ण निर्णय पनि नयाँ वर्ष हुन सक्छन् । राम्रो चलचित्र पाएँ भने त्यसमा पनि काम गर्ने सोचमा छु ।


राजनीतिले जनता चुसेको छ
टंक चौलागाईं
प्रायः अन्तर्राष्ट्रिय महोत्सवमा जाने गर्थें । २०७३ सालमा जान पाइनँ । तै पनि यो वर्ष मलाई फाप्यो । वर्षको सबभन्दा महŒवपूर्ण उपलब्धि नाटक ‘माधवी’ सफल हुनु हो । यही वर्ष उपन्यास ‘टालाटुली’ विमोचन भयो । पहिलो सन्तान छोरा थियो । यस वर्ष पुत्रीलाभ भएको छ । धेरै उपलब्धि पाएको २०७३ मा केही कमजोरी पनि भएका छन् । नाटक ‘माधवी’ कथाको कारणले सफल भयो । निर्देशकको रूपमा राम्रो काम गर्न सकिनँ कि जस्तो लाग्छ । ‘टालटुली’ पनि उत्कृष्ट किताब होइन । २०७४ सालमा नयनराज पाण्डेले लेख्नुभएको ‘उलार’ लाई नाटकमा प्रस्तुत गर्दैछौं ।
नयाँ वर्षमा सामाजिक विषयवस्तु र त्यसमा राजनीतिक प्रभाव देखाउने छौं । यो वर्ष देशमा राजनीतिक परिवर्तन हुँदैछ । ‘उलार’ को विषयमा सोच बनाउँदा स्थानीय चुनावको विषय उठेको थिएन । राजनीतिक परिवर्तनको वातावरणमा नाटक सान्दर्भिक हुन्छ होला । राजनीतिले जनता चुसेको छ । नाटक चयन गर्दा सबभन्दा पहिला विषयवस्तु नै हेर्छु । समाजको विषय पर्छ कि पर्दैन भनेर हेर्छु । नयाँ वर्षमा आफ्नो कामको हिसाबले राम्रो गर्न सक्छु भन्ने लागिरहेको छ ।


खुसीमै बित्यो वर्ष २०७३
सिर्जना सुब्बा
केही वर्षदेखि रोकिएको काम २०७३ सालमा सफल भए । मेरो लागि यो वर्ष राम्रो रह्यो । दर्शक माझ आफ्नो कार्यक्षमता देखाउन पाएँ । राम्रो नाटक गर्न पाएँ । आफूलाई चित्त बुझेको चलचित्रमा दर्शकले पनि मन पराइदिनुभयो । यही वर्ष नाटक निर्देशन गर्न पाएँ । खुसी खुसीमै बितेको वर्ष २०७३ मा केही काम भने अधुरा रहे । पत्रपत्रिकामा महिलाको विषयमा केही लेख लेख्ने सोच थियो । पूरा गर्न सकिनँ । हुन त म धेरै योजना बनाउँदिनँ । योजना बनाएर त्यहीअनुसार पूरा गर्न गाह्रो हुन्छ । योजना पूरा भएन भने नराम्रो लाग्न सक्छ । त्यसैले लामो योजना बनाउँदिनँ । आफ्नो कार्यक्षमता प्रस्तुत गर्दै जान्छु । २०७४ सालमा महिलाका विषयमा काम गर्नेछु । मैले उत्पीडितको आवाज पुर्‍याउने माध्यम रंगमञ्च नै हो । सबैले आ आफ्नो माध्यमबाट समाज परिवर्तनको लागि आवाज उठाउनुपर्छ । फेरि महिलाकै विषयमा नाटक निर्देशन गर्नेछु ।


द्वन्द्वकालको कथामा नाटक गर्छु
राज शाह
२०७३ साल फलदायी रह्यो । सालको अन्त्यमा आफ्नै लेखन निर्देशन र अभिनयमा नाटक ‘बुख्याँचा मन’ गरेँ । दर्शकको प्रतिक्रियाले २०७४ सालको लागि नयाँ काम गर्ने ऊर्जा मिलेको छ । २०७३ सालमा कम्तीमा दुईवटा नाटक गर्ने सोच थियो तर त्यो चाहिँ पूरा हुन सकेन । समय व्यवस्थापन गर्न नसक्नु ठूलो कमजोरी रह्यो । नयाँ वर्षमा आफ्ना कमजोरीलाई महसुस गर्दै राम्रो काम गर्नेछु । २०७४ सालमा आफ्नै लेखन, निर्देशन र अभिनयमा कम्तीमा दुईतीनवटा नाटक गर्ने लक्ष्य बनाएको छु ।
नाटकमा नयाँ कलाकारलाई डेब्यु गराउने योजना पनि छ । लेख्दै गर्दा रोकिएको एउटा नाटक छ । त्यसको प्लटलाई उठाएर नयाँ नाटक गर्नेछु । पहिलेका नाटक वियोगान्त भए । दर्शकको प्रतिक्रियाअनुसार अब संयोगान्त नाटक पनि गर्नेछु । सामाजिक विषयवस्तुलाई उसै गरी उठान गर्नेछु । २०७४ मा द्वन्द्वकालको कथालाई प्रस्तुत गर्ने सोचमा छु । सर्वनामले गर्ने गरेको अन्तर्राष्ट्रिय एकल नाटक महोत्सवको लागि योजना पनि बनाइरहेको छु।

प्रतिकृया दिनुहोस

Annapurna Post1140X100