MENU

सजाय

श्यामकृष्ण थापा आइतवार, चैत २०, २०७३ 3020 पटक पढिएको

Share This

‘सर म होमवर्क गर्छु । भोलि पूरा गर्छु । मलाई नपिट्नुस् सर, मलाई नपिट्नुस् ..... !' मेघा राति सुतेको बेला भटभटाइन् ।
‘बाबा ... मामु ... आज पनि स्कुल जान्न होमवर्क सकिएकै छैन । मलाई सर मिसले बेस्सरी पिट्नुहुन्छ । कान समातेर कक्षाको अगाडि राख्नुहुन्छ । साथीहरूले मलाई गिज्याउँछन् । त्यसैले बाबा, मामु .... आज म जाँदै जान्न' पुन मेघा भटभटाइन् ।

राति सुतेको बेलामा मेघा बर्बराएकी देखेर उनको मम्मी, बाबा निकै चिन्तित भए । उनीहरू आश्चर्यमा परे । पहिलेपहिले यसरी नबरबराउने छोरी केहीदिन देखि निरास र दुःखी देखिन्थी । आज त उनी धेरै बरबराउन थालिन् । ‘यिनलाई के भएछ, विद्यालयमा गृहकार्य नगरेकै कारण सजाय दिँदा रहेछन् जस्तो छ ', मेघाको मम्मीले बाबालाई बताइन् । ‘गृहकार्य नगरेकै कारण सजाय दिन त नपर्ने हो, सजाय दिने गरेको हो भने त राम्रो होइन । भोलि नै गएर स्कुलमा बुझ्छु', मेघाको बाबाले आफ्नी पत्नीसँग सल्लाह गरे ।

मेघालाई मात्रै होइन आरती, निरू, प्रवेश, सुशान्तलाई पनि विद्यालयमा गृहकार्य नगरेकै कारणले सजाय दिइएको छ । आज पनि मिसले पिट्दै भनिन्, ‘तिमीहरूले आज पनि गृहकार्य गरेनौ । यो त अति भयो । सधैं खेल्ने, टीभी हेरेर बस्ने, मोबाइल चलाउने, गृहकार्य चाहिँ नगर्ने । त्यसकारण पढाइमा तिमीहरू सधैं कमजोर हुने अनि गुनासो हामीले सुन्नु पर्ने ? ' भन्दै लठ्ठीले हातमा हानिन् । पछि उनीहरूलाई उठबस गर्न लगाइन् र पुनः सबै साथीहरूको सामु उभिन लगाइन् ।

सजायको कारण राति मेघा र नम्रतालाई हनहनी ज्वरो आयो । उनीहरू बेलाबेलामा तर्सिने र डराउने गर्न थाले । उनीहरूका बाबा स्कुलमा प्रिन्सिपललाई भेट्न गए । आरती, नीरू, सरु, प्रवेश, सुशान्तका अभिभावक पनि त्यहाँ आएका थिए । उनीहरूले गृहकार्य बढी दिने र गर्न नभ्याउँदा कडा सजाय दिने गरेको बारेमा गुनासो व्यक्त गरे ।

मेघा र आरतीका बाबाले पनि थपे, ‘हाम्रो बच्चाहरूको हालत पनि उस्तै छ । स्कुलमा सर मिसले नराम्रोसँग पिट्ने गर्दा रहेछन् । अस्ति लठ्ठीले हानेर आरतीको हात सुन्निएको थियो ।' सुशान्त, प्रवेशका अभिभावकले पनि यसरी भने, ‘सर मिसले टाउकोमा हिर्काएर होला सुशान्त र प्रवेशको टाउकोमा पनि टुटुल्को उठेको थियो । गाला र कान रातो भएको थियो । कान बेस्सरी निमोठेर घाउसमेत भएको थियो । रगतसमेत देखिन्थ्यो ।' अभिभावकको गुनासो सुनेपछि प्रिन्सिपलले अभिभावकलाई सम्झाउँदै भने, ‘उनीहरूले धेरै दिन भयो होमवर्क नगरेको भन्ने सर र मिसको गुनासो थियो । मैले सम्झाउनू, पिट्ने काम नगर्नू भन्ने निर्देशन दिएको थिएँ । यस बारेमा के हो बुझ्छु । बिरामी हुने चोट लाग्ने गरी सजाय दिन हुँदैन यो हाम्रो विद्यालयको नीतिविपरीत कार्य हो । यस्तो हो भने त्यस्ता शिक्षकशिक्षिकालाई हामी कारबाही गर्नेछौं ।'

‘तपार्इंको विद्यालयमा बच्चाहरूलाई मायालु वातावरणमा पढाइन्छ, सिकाइन्छ भनेर हामीले ठूलो विश्वास गरेका थियौं तर यहाँको वातावरण, व्यवहार देखेर हामी सन्तुष्ट छैनौं । विद्यालयको नीतिविपरीत काम गर्ने, गल्ती गर्ने गर्नेलाई कारबाही गर्नुहोस् । यस्ता शिक्षक हाम्रो बच्चालाई आवश्यक छैन ।' ‘सजाय दिनु हाम्रो रहर होइन, बाध्यता हो । हामीले धेरै सम्झाउँदा फकाउँदा पनि नमान्ने विद्यार्थीलाई मात्र सजाय दिने गरेका छौं । सामान्य उठबस, कान समाउन लगाउने, उठाउने, सामान्य सजाय दिने गरेका छौं' अभिभावकलाई पुनः सम्झाउँदै उनले भने, ‘बच्चाहरू पनि अनुशासित भई विद्यालयले दिएको गृहकार्य गर्नुपर्छ ।

यहाँहरूले आफ्नो छोराछोरीहरूले गृहकार्य गरेका छन् कि छैनन् बुझ्नु पर्दछ । गृहकार्य नगरेकै भए सम्झाएर गराउनु पर्दछ । नजानेको भए सिकाउनु पर्दछ । अभिभावकबाट पनि यसो भएमा सजाय दिनुपर्ने परिस्थिति आउने थिएन ।' अभिभावकले पनि प्रिन्सिपलको प्रतिउत्तर दिँदै भने, ‘हामीले हाम्रो सन्तानको बारेमा ध्यान दिएका छौं । हाम्रो छोराछोरीको अवस्था कस्तो छ, गृहकार्य गर्छन् कि गर्दैनन् सबै हामीले बुझेका छौं ।' प्रिन्सिपललाई सम्झाउँदै उनीहरूले फेरि भने, ‘गृहकार्य धेरै भएकोले बच्चाले गर्न भ्याउँदैनन् । यसैका कारण बच्चाहरूले तनाव लिइरहेका देखिन्छ । त्यसैले बच्चालाई कम गृहकार्य दिएर पनि राम्रो शिक्षा दिन सकिन्छ कि सर ? '

‘त्यस्तो होइन । होमवर्क धेरै दिँदैमा, किताब धेरै बोकाउँदैमा राम्रो, गुणस्तरीय शिक्षा दिएका छौं भन्ने मान्यता हाम्रो होइन । पुस्तक अन्य स्कुलमा प्रचलनमा आए अनुरूप व्यवस्था गरिएको हो । हामीले पनि किताब धेरै भयो, बच्चाले बोझ महसुस गरिरहेको, उनीहरूलाई बोक्न समेत गाह्रो भइरहेको ठानेका छौं । तर प्रतिस्पर्धाको अवस्थामा अन्य विद्यालयभन्दा पृथक्, कम पुस्तक राखेर पढाउन सक्ने अवस्था पनि छैन । यसो गरेमा पनि गुनासो आउँछ । पढाउने राम्रो सर नभएर किताब राखेन, अन्य विद्यालयमा कति किताब छ । सबैमा राम्रो पढाइ हुन्छ । यहाँ त पूरा किताब राखेको रहेनछ । पढाइ पनि हुँदैन कि क्या हो भन्ने गुनासो आउँछ । त्यसकारण हामी चाहेर पनि कम किताब राख्न सक्ने अवस्थामा छैनौं । प्रत्येक पुस्तकबाट गृहकार्य दिइने कारण धेरै भएको हुन सक्छ । अब हामी यसतर्फ विचार गर्नेछौं र विद्यार्थीलाई सकेसम्म कम होमवर्क दिनेछौं', प्रिन्सिपलले अभिभावकलाई सम्झाउने कोसिस गरे ।

‘विचारमात्र गर्ने होइन सर, अब निर्णय गरी आजबाटै बच्चाले भ्याउने मात्र गृहकार्य दिनुहोस् । ससाना बच्चाहरूलाई भारी किताब बोक्न पर्ने बाध्यता अन्त्य गर्नुस् । अति आवश्यक पुस्तकमात्र राखेर पढाउनु होला । यसो भएमा बच्चाहरूलाई निकै सजिलो हुन्छ', अभिभावकले पनि थपिहाले । बच्चाले सहज रूपमा कुनै डर र त्रासबिना पढ्न पाउने वातावरण बनाउनेतर्फ विद्यालय सजक हुने प्रतिबद्धता प्रिन्सिपलले जनाए । सोही दिन विद्यालयमा शिक्षक मिटिङ बोलाइयो । मिटिङमा गृहकार्य कम दिने र बच्चाहरूलाई सकेसम्म सजाय नदिने, दिनै परे पनि साधारणमात्र दिने निर्णय गरियो ।

अभिभावकको गुनासो तथा विद्यार्थीको शारीरिक, मानसिक अवस्थालाई ध्यान दिएर कम गृहकार्य दिँदै अति आवश्यक पाठ्यपुस्तकमात्रै राखेर विद्यालयमा पढाउन थालियो । त्यसपछि विद्यार्थी पनि खुसी हुन थाले । विद्यालय आउन नमान्ने मेघा तथा उनका साथीहरू सुशान्त र प्रवेश पनि नियमित विद्यालय आउन थाले । विद्यालयबाट दिइने सबै गृहकार्य पूरा गर्न थाले । उनीहरूको पढाइ पनि राम्रो हुन थाल्यो । उनीहरू अतिरिक्त क्रियाकलाप र नृत्य, संगीत, खेलकुदजस्ता प्रतियोगितामा समेत पोख्त हुन थाले ।

प्रतिकृया दिनुहोस

Dish latest