MENU

रङसँग खेल्दै

635x90

रामकला खड्का आइतवार, चैत २०, २०७३ 1739 पटक पढिएको

Share This

धेरै बालबालिकाको रुचिको विषयमध्ये एक हो, चित्रकला । अलि सिर्जनशील स्वभावका बालबालिका घरमा पनि फुर्सद पाउँदा केही न केही कोरेरै बस्छन् । त्यसमा पनि विद्यालयको परीक्षा सकिएर लामो बिदा बसेको बेलामा चित्रकला सिक्न धेरैलाई रहर लाग्नसक्छ । आफ्नो यही चाहनाले गर्दा पाटन मंगलबजारकी श्रदिका लाखे हाल हरिहरभवनमा चित्रकला कक्षामा सहभागी भएकी छन् ।

काष्ठमण्डप आर्ट स्टुडियोले सञ्चालन गरेको उक्त आर्ट कक्षामा उनीलगायत धेरै बालबालिकालाई कलाकार प्रमिला वज्राचार्यले चित्रकला प्रशिक्षण दिइरहेकी छन् । सेन्ट मेरिज स्कुलमा कक्षा ५ मा पढ्ने श्रदिकाले कक्षा १ देखि नै चित्रकलाको कक्षा लिन थालेकी हुन् । सानो बेलामा विद्यालयबाट दिएको गृहकार्यमा भएका चित्र पनि बनाउन नजानेर उनी आफ्नो आमासँग चित्र बनाइदिन सहयोग माग्थिन् ।

यही कारणले गर्दा आमाले चित्रकला कक्षामा भर्ना गरिदिएपछि आफ्नो चित्र आफैं बनाउनेमात्रै होइन, विद्यालयमा शिक्षिकाको प्रशंसा पनि बटुल्ने गर्छिन् उनी । उनको विज्ञान विषयको कापीमा शिक्षकले चित्र बनाएपिच्छे ‘गुड' लेखिदिने गरेका छन् । आर्किटेक्ट इन्जिनियर बन्ने उनको लक्ष्य भए पनि फुर्सदमा चित्रकलालाई निरन्तरता दिने उनको चाहना छ । उनीसँगै उनकै विद्यालयकी रूपास्ना महर्जन पनि हिजोआज चित्रकला सिक्दैछिन् ।

कक्षा २ देखि नै चित्रकलाको अतिरिक्त कक्षा लिन थालेका आदित्यशंकर श्रेष्ठ अब कक्षा ६ मा जाँदैछन् । मल्पी इन्टरनेसनल स्कुलका यी छात्रलाई सानैमा उनका आमाबाबुले तिम्रो चित्रकला साह्रै राम्रो छ भनेपछि झन् बढी सिक्न रहर लाग्यो । विद्यालयमा हुने कला कक्षामा पनि उनका शिक्षक र साथीहरूले उनको चित्रको प्रशंसा गर्दा उनलाई अझै राम्रा चित्र बनाउन हौसला मिल्छ । ठूलो भएपछि इन्जिनियर बन्न चाहने आदित्य फुर्सदको समयमा घुम्न र खेल्न रुचाउँछन् । शुभतारा स्कुलमा कक्षा ५ को परीक्षा दिएर बसेका जारिया महर्जनलाई चित्रकलाको साथमा नृत्य गर्न पनि मन पर्छ ।

त्यसैले उनले यहीअनुसार समय व्यवस्थापन गरेकी छन् । बिहान १० बजेदेखि ११ सम्म नृत्य कक्षा सकाएर उनी चित्रकलाको कक्षामा आउने गरेकी छन् । यसपछिको समयमा भने आफू बस्ने धोबीघाट रेसिडेन्सी अपार्टमेन्टमा रहेका साथीहरूसँग खेल्न उनलाई मन लाग्छ । चित्रकलाको कक्षा रातो बंगला स्कुलका खुसी अग्रवाल, प्रितीस राज, आदित्य राजका साथै संस्कृति इन्टरनेसनलका तेजश्वी शाक्य, निलभ शाक्य र रिवाज शाक्यलाई पनि निकै रमाइलो लागिरहेको छ ।

जेम्सका प्रजेश शाक्य, बिभुष्ना वज्राचार्य र उसमा लाखे पनि उत्साहित भएर सकेसम्म कक्षा छुटाउँदैनन् । ज्ञानी भएर चित्र बनाइरहनेमा सेन्ट जेभियर्स स्कुल गोदावरीका सार्थक धाकवा र युनाइटेड एकेडेमीका प्रतिका शाक्य र आश्विनी शाक्य पनि पर्छन् । धेरै वर्ष अगाडिदेखि काष्ठमण्डप आर्ट स्टुडियोले बालबालिकालाई यसरी चित्रकला सिकाउने गरेको छ । कक्षा लिने विद्यार्थीमा केही नयाँ भए पनि धेरै पहिलेदेखि सिक्दै आएका विद्यार्थी छन् । एकमहिने उक्त कक्षामा शनिबारका दिन अन्य दिनमा भन्दा विशेष कक्षा सञ्चालन हुने स्टुडियोकी संस्थापक सदस्य एवं कला प्रशिक्षक प्रमिला वज्राचार्यले बताइन्।

राम्रा चित्र बनाउनुअघि


. चित्र बनाउन चाहिने आवश्यक सामग्री तयार पार्ने ।
. सुरुसुरुमा स्केच प्याडमै चित्र बनाए राम्रो हुन्छ ।
. सेडिङ चित्रको मेरुदण्ड भएकाले सेडिङ पेन्सिल अनिवार्य चाहिन्छ ।
. चित्र बनाउँदा पहिले त्यसको स्केच कोर्नुपर्छ ।
. सेडिङ पेन्सिलले चित्रमा सेडिङ गर्नुपर्छ ।
. चित्रमा विस्तारै रङ लगाउनुपर्छ ।
. रङको सम्मि श्रण गर्न सिक्नुअघि पेन्सिल कलरबाट नै प्रयास गर्नुपर्छ ।
. बिस्तारै पानी रङको मि श्रण गर्न प्रयास गर्नुपर्छ ।
. चित्रमा एउटै रङभन्दा पनि विषयवस्तुसँग मिल्दोजुल्दो केही रङ लगाउनुपर्छ । जस्तै— एउटा रूखको चित्रमा हरियो रङमात्रै नभई हल्का हरियो, गाडा हरियो, पहेँलो लगायतका रङ लगाउँदा चित्र सुन्दर हुन्छ ।
. नियमित अभ्यासले चित्रकलालाई सुन्दर बनाउन सकिन्छ ।

National College 220X220Pix Ad for Annapurna

प्रतिकृया दिनुहोस

Annapurna Post1140X100