MENU

ट्‍याक्‍सीमा बिलिङ: कार्यान्वयन कहिले ?

शंकरप्रसाद खनाल/अन्नपूर्ण टुडे सोमवार, चैत ७, २०७३ 3153 पटक पढिएको

Share This

काठमाडौं नयाँ बसपार्कको पश्चिममा बालाजुको माछापोखरीसँगै छ, नेपाल गुणस्तर तथा नापतौल विभाग । त्यसको परिसरमा छिर्न बाहिर लागेको घुँइचो छिचोल्न हम्मे पर्छ । त्यसै पनि नयाँ बसपार्क क्षेत्र सधैं भीडभाडयुक्त रहन्छ, अहिले ट्याक्सी चालकहरूको लर्को पनि थपिएको छ । २६ फागुनमा कार्यालय परिसरमा टुडे संवाददाता पुग्दा ट्याक्सी चालकहरू हात–हातमा मिटर बोकेर पालो पर्खंदै थिए ।

विभागको ट्याक्सी/टेम्पो एकाइ प्रमुख विकास धैंजु खाजा खाएर कार्यकक्षमा प्रवेश गरे । कोठाभित्र र बाहिर भीड थामिनसक्नु थियो । सरकारले १७ पुसदेखि ट्याक्सीमा कम्प्युटर बिलिङ प्रणाली अनिवार्य गरेपछि चालकहरू विभागमा ओइरिएका हुन् । विभागले ट्याक्सीको ‘लट’अनुसार मिटरमा प्रिन्टर जडान गर्न सार्वजनिक सूचना नै जारी गरेको छ । पछिल्लो पटक दर्ता भएका अर्थात् बा२ज ३२०० पछिका ट्याक्सीबाट प्रिन्टर जडान शुरु गरी आगामी साउनसम्म काठमाडौं उपत्यकाका करिब साढे नौ हजार ट्याक्सीमा प्रिन्टर जडान गरिसक्ने लक्ष्य छ । विभागले १७ पुसदेखि २२ फागुनसम्म एक हजार दुई सय ७७ वटा ट्याक्सीलाई कम्प्युटर बिलिङ प्रणालीमा समेटेको छ ।

पुसमा दुई सय ९७, माघमा पाँच सय ३४ र फागुनमा चार सय ४६ वटामा कम्प्युटर बिलिङमा जडान भयो । यसलाई आधार मान्दा हालसम्म १५ प्रतिशत मात्र लक्ष्य हासिल भएको छ । ट्याक्सी/टेम्पो एकाइ प्रमुख धैंजुका अनुसार लक्ष्यको आधा मात्र ट्याक्सीमा कम्प्युटर बिलिङ प्रणाली लागु भएको छ । साउनसम्मको लक्ष्य पूरा गर्न समस्या देखिएको छ । माघ दोस्रो साता व्यवसायीले हल्ला फिँजाएर दर्तामा बाधा पुर्‍याएको विभागको दाबी छ । विभागले सूचना प्रकाशित गरेपछि दैनिक करिब दुई दर्जन व्यवसायी जाँचपासका लागि आउन थालेका थिए । ट्याक्सी व्यवसायीले उक्त प्रणालीको विरोध गरे । र, जाँचपासमा आधा दर्जनको हाराहारीमा झरे । 

राज्यले नियमन गर्छु भन्दा विभिन्‍न बखेडा झिक्ने काम हुन्छ। यो असफल प्रणाली होइन। अब लक्ष्यअनुसार नै सफल हुन्छ।-विश्‍वबाबु पुडासैनी महानिर्देशक, गुणस्तर तथा नापतौल विभाग

विभागले दैनिक प्रिन्टर जाँचपास गरिरहेको छ । लटअनुसार ट्याक्सी प्रक्रियामा नआउँदा तिनको नवीकरण र नामसारीमा अवरोध भइरहेको धैंजु बताउँछन् । ट्राफिक प्रहरी र काठमाडौं महानगरका प्रतिनिधि सम्मिलित अनुगमन टोली बनाएको विभागले शुरुमा प्रिन्टर राख्न दबाब दिँदै आएको छ । अटेर गर्ने ट्याक्सीलाई चलाउन रोक लगाउने तयारी भइरहेको छ । सोही चेतावनीका कारण ‘लट’ को भाका नाघेर पनि प्रिन्टर जडान नगर्ने ट्याक्सी एकदेखि दुई सातासम्मको छुट पुर्जीमा सञ्चालनमा छन् ।

आरोप ‘असफल प्रणाली’

पुष्पकमल दाहाल प्रधानमन्त्री बनेसँगै ट्याक्सीमा कम्प्युटर बिलिङ प्रणाली लागु गर्ने घोषणा गरेका थिए । प्रधानमन्त्रीकै योजनामा उद्योगमन्त्री नवीन्द्रराज जोशीले उक्त प्रणाली लागु गर्न मातहतका निकायलाई निर्देशन दिए । त्यसपछि नेपाल गुणस्तर तथा नापतौल विभाग सक्रिय भयो । नेपालका सन्दर्भमा यो प्रणाली अहिले प्रचार गरिएजस्तो बिल्कुलै नयाँ भने होइन । पुनरावेदन अदालत पाटनले सबै ट्याक्सीमा अनिवार्य कम्प्युटर बिलिङ जडान गर्न २७ चैत्र ०६१ मै आदेश दिएको थियो । त्यसलगत्तै लागु पनि भयो । करिब दुई हजार पाँच सय ट्याक्सीले यो प्रणाली आत्मसात गरे पनि विभागकै कारण पूर्ण कार्यान्वयनमा नआएको दाबी गर्छन् ।

नेपाल मिटर ट्याक्सी व्यवसायी संघका अध्यक्ष अर्जुन गौतम असफल प्रविधिलाई नयाँ भनिएको बताउँछन् । ‘हामी कम्प्युटर बिलिङमा जान तयार छौँ । यो प्रणालीसँग विमति छैन,’ गौतम भन्छन्, ‘तर, चार वर्षयता भाडादर समायोजन भएको छैन । यसमा सरकारले विचार गर्नुपर्छ ।’ व्यवसायीहरू कम्प्युटर बिलिङ त के, मिटरमै जान मान्दैनन् । यो कुरा गौतम पनि स्वीकार्छन् । यस विषयमा संघमा उजुरी पनि पर्ने गरेका छन् । विभागका महानिर्देशक विश्वबाबु पुडासैनी भने यसलाई विभिन्न बहाना झिकेर अल्झाउने खेलको संज्ञा मात्र दिन्छन् ।

२०६१ सालमा अढाई सय हाराहारीमा कम्प्युटर बिलिङ प्रणाली लागु गरिए पनि व्यवसायीकै कारण सफल नभएको पुडासैनी जिकिर गर्छन् । ‘मिटरभन्दा बार्गेनिङबाट व्यवसायी पैसा असुली गर्न चाहन्छन्,’ पुडासैनी भन्छन्, ‘राज्यले नियमन गर्छु भन्दा विभिन्न बखेडा झिक्ने काम हुन्छ । यो असफल प्रणाली होइन । अब लक्ष्यअनुसार नै सफल हुन्छ ।’

तेब्बर महँगो

बिलिङ लागु गर्दा विभागले घटीमा पाँच हजार पाँच सय रुपैयाँ लाग्ने बताए पनि तेब्बर महँगो परेको व्यवसायीहरूको गुनासो छ । राष्ट्रिय ट्याक्सी व्यवसायी संघका सचिव अमिरप्रसाद मानन्धरका अनुसार नयाँ मिटर र प्रिन्टर जडान गर्न २१ हजार रुपैयाँसम्म खर्च भइरहेको छ । उनी भन्छन्, ‘शुरुमा जुनसुकै मिटरमा पनि प्रिन्टर लगाउन सकिने बताइएको थियो ।

पुरानो मिटरमा प्रिन्टर लाग्दैन । गुणस्तरका कर्मचारीले जसरी हुन्छ लगाऊ मात्र भन्छन् ।’ नेपाल मिटर ट्याक्सी व्यवसायी संघले पनि २० वर्ष पुरानो प्रविधि प्रयोग गर्दा समस्या झेल्नुपरेको जिकिर गरेको छ । विभागले अनुमति दिएका नापतौलका पसलेले विभागकै मिलोमतोमा चाँडै बिग्रने मेसिन ल्याउन लगाएको र व्यवसायीलाई महँगो शुल्क तिर्न बाध्य बनाएको आरोप लगाउँछन् ।

विभागका महानिर्देशक पुडासैनी भन्छन्, ‘हामीले न मूल्य तोक्ने हो, न आयात गर्ने हो । प्रिन्टरको इजाजत पनि दिनु पर्दैन । यसमा हाम्रो कुनै हात नै छैन ।’ त्यसो त, व्यवसायीबाट व्यापक गुनासो बढेपछि विभागले प्रिन्टरको मूल्यका विषयमा बजार अनुगमन गरेको थियो । त्यस क्रममा कम्तीमा ७५ सयदेखि ११ हजार तीन सय रूपैयाँसम्मका प्रिन्टर बिक्री भएको पाइएको थियो ।

भेटिँदैनन् प्रिन्टरवाला

पुस दोस्रो सातादेखि नै ट्याक्सीका मिटरमा प्रिन्टर जडान भइसकेको छ । एक हजार तीन सयभन्दा बढी ट्याक्सीमा प्रिन्टर जडान भइसके पनि बजारमा प्रिन्टरवाला ट्याक्सी भेटाउनै गाह्रो छ । सामाखुसी, गोंगबु र तीनकुने क्षेत्रमा अन्नपूर्ण टुडे टिमले एक दर्जनभन्दा बढी ट्याक्सीमा गरेको अवलोकनमा कुनैमा प्रिन्टर भेटिएन । फागुन तेस्रो साता भद्रकाली, रातोपुल, विमानस्थललगायत ठाउँमा अनुगमन गरिएको थियो ।

प्रिन्टर नराख्ने दुई दर्जन ट्याक्सीलाई एक साताभित्र प्रक्रियामा आउन निर्देशन दिइएको थियो । विभागका अनुसार हालसम्म कम्तीमा बा १ ज ९००० नम्बरसम्मका ट्याक्सीमा प्रिन्टर जडान भइसकेको हुनुपर्छ ।अधिकांश व्यवसायीको रेडिमेड जवाफ थियो, ‘हाम्रो पालो नै आएको छैन ।’ राजधानीमा अधिकांश ट्याक्सी मिटरमा यात्रु चढाउँदैनन् । बार्गेनिङमा यात्रा गर्दा यात्रु महँगोमा पर्छन् । त्यसैले त, ट्याक्सी ‘हुने खानेले चढ्ने’ र विपत्तिमा चढ्ने साधनजस्तो भएको छ ।

प्रतिकृया दिनुहोस

Dish latest