MENU

ओलम्पिक कमिटी विवाद : फुटाएको ताला, प्रहरीले लगायो

विष्णु थापा सोमवार, चैत ७, २०७३ 1989 पटक पढिएको

Share This

काठमाडौं : सातदोबाटोस्थित नेपाल ओलम्पिक कमिटी (एनओसी)को भवनमा लगाइएको ताला आइतबार दिउँसो तोडिएको छ । अन्तर्राष्ट्रिय मान्यताप्राप्त नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठको नेतृत्वमा ४०/५० जनाको समूहले भवनको मूल ढोकामा लगाइएको ताला फोडेको हो । बिहान साढे ११ बजे मूल ढोकामा लगाइएको ताला फोडेर श्रेष्ठ नेतृत्वको समूह कार्यालय प्रवेश गरेको थियो । उनीहरू ओलम्पिक भवनमा पसेको करिब एक घन्टापछि प्रहरी आएर उनीहरूलाई बाहिर निकालेको थियो ।

ताला फुटाएर कार्यालय प्रवेश गरेको समूहलाई हटाउन महानगरीय प्रहरी वृत्त सातदोबाटोका प्रहरी नायब उपरीक्षक (डीएसपी) रोमेश्वरप्रसाद यादव आफैं खटिएका थिए । डीएसपी यादवले भवनमा प्रहरी नरहेको मौका छोपी ४०/५० जनाको समूहले मूल ढोकामा लगाएको ताला फोडेको बताए । 'बिहान प्रहरी नभएको मौका छोपेर ४०/५० जनाको समूह ओलम्पिक कमिटीको ताला तोडेर भित्र पसेको थियो । पछि मेरै कमान्डमा उनीहरूलाई कार्यालयबाट हटाएर हामीले पुनः ताला लगाएका छौं', डीएसपी यादवले भने ।

यादवले ओलम्पिक भवनको सुरक्षाका लागि सईको कमान्डमा सातजनाको प्रहरी टोली परिचालन गरिएको जानकारी पनि दिए । 'भवनको सुरक्षाका लागि जुनियर अफिसरको कमान्डमा सातजनाको टोली चौबीसै घन्टा परिचालन गरिएको छ', उनले भने । ओलम्पिक कमिटी भवनको निगरानीमा एकजना प्रहरीमात्र रहेको र ति प्रहरी पनि खाना खान गएको मौका पारी ताला तोडिएको जानकारी उनले दिए ।

श्रेष्ठको नेतृत्वमा एक समूह बिहान साढे ११ बजे भवनको ताला तोडेर कार्यालयमा प्रवेश गरेको र त्यसको करिब एक घन्टापछि प्रहरी आएर सबैलाई बाहिर निकालेको पुष्टि ओलम्पिक कमिटीका कर्मचारी नीरज श्रेष्ठले पनि गरे । उनका अनुसार ताला तोड्न उपाध्यक्ष पुरेन्द्रविक्रम लाखे, महासचिव लामा टेन्डी शेर्पा तथा सदस्यहरू नीलेन्द्रराज श्रेष्ठ, सुनील श्रेष्ठ, दीपकहर्ष वज्राचार्य, समिममिया अन्सारी, आङटेन्डी शेर्पा र रमेशकुमार श्रेष्ठसहितको समूह सातदोबाटो पुगेको थियो ।

हाल नेपालमा दुईवटा ओलम्पिक कमिटी अस्तित्वमा छन् । रुक्मशमशेर राणाको नेतृत्वमा रहेको ओलम्पिक कमिटीलाई सर्वोच्च अदालतले वैधानिक ओलम्पिक कमिटी भनी फैसला गरेको छ भने श्रेष्ठ नेतृत्वको ओलम्पिक कमिटीलाई अन्तर्राष्ट्रिय मान्यता प्राप्त छ । अदालतबाट असंवैधानिक घोषित कमिटीका महासचिव लामा टेन्डी शेर्पाले पनि आफूहरूले ओलम्पिक भवनमा लगाइएको ताला तोडेको स्वीकार गरे ।

'ओलम्पिक कमिटी भवनमा ताला लगाइएको लामो समय भयो । मध्यरातमा लगाएको ताला कसले लगाएको हो भन्ने पुष्टि अहिलेसम्म भएको छैन । त्यही भएर हामीले ताला तोडेका हौं', शेर्पाले भने, 'यो भवन आईओसीको सहयोगमा बनेको हो, आईओसीले हामीलाई मान्यता दिएको छ र यसको भोगचलन गर्ने अधिकार पनि हामीसँग मात्र छ ।' उनले ओलम्पिक भवनमा बस्न रोक लगाएर हालसम्म आफूहरूलाई कुनै निकायबाट आधिकारिक पत्र नआएको दाबी पनि गरे । उनले आफूहरूले न्यायपालिकाको आदेशलाई शिरोधार्य गर्ने बताउँदै सर्वोच्च अदालतले आफूहरूलाई अवैधानिक घोषणा नगरेको बताए ।

ओलम्पिक कमिटीको आधिकारिकताको विवादमा सर्वोच्च अदालतको फैसला लामो समयसम्म कार्यान्वयन नभएपछि अदालतबाट वैधानिकता पाएको राणा नेतृत्वले गत माघ ११ गते सातदोबाटोस्थित ओलम्पिक कमिटी भवनमा ताला लगाएको थियो । सर्वोच्च अदालतले पनि पटकपटक राणा नेतृत्वको ओलम्पिक कमिटीलाई मान्यता दिने आफ्नो निर्णय कार्यान्वयन गर्न सम्बन्धित निकायलाई निर्देशन दिँदै आएको छ ।

प्रतिकृया दिनुहोस

Annapurna Post1140X100