MENU

सयौं टेस्टमा बंगलादेशले रच्यो इतिहास

एजेन्सी सोमवार, चैत ७, २०७३ 1757 पटक पढिएको

Share This

कोलम्बो : बंगलादेशले आफ्नो एक सयौं टेस्टमा श्रीलंकालाई चार विकेटले पराजित गरेर इतिहास रचेको छ । टेस्ट राष्ट्रको मान्यता पाएको सबैभन्दा कान्छो टोली बंगलादेशले श्रीलंकालाई उसैको मैदानमा हराएको हो । कोलम्बोमा भएको दोस्रो टेस्टको अन्तिम दिन घरेलु टोली श्रीलंकालाई पराजित गर्दै बंगलादेश एक सयौं टेस्टमा जित हासिल गर्ने चौथो टोली बन्यो । यसअघि यस्तो उपलब्धि अस्ट्रेलिया, वेस्ट इन्डिज र पाकिस्तानले हासिल गरेका थिए ।

ऐतिहासिक जितसँगै बंगलादेशले दुई टेस्टको शृंखलालाई १-१ को बराबरी गर्न सफल भएको छ । घरेलु टोली श्रीलंकाले दिएको एक सय ९१ रनको लक्ष्य बंगलादेशले ६ विकेट गुमाउँदै पूरा गरेको थियो । टोलीलाई जित दिलाउन सुरुआती ब्याट्सम्यान तामिम इक्वालले महत्वपूर्ण भूमिका निर्वाह गरे । उनले टोलीका लागि ८२ रनको अर्धशतकीय पाली खेले ।

इक्वाललाई साथ दिएका सब्बिर रहमानले ४१ रन बनाए । इक्वाल र रहमानले तेस्रो विकेटका लागि एक सय नौ रनको साझेदारी गरेपछि बंगलादेशको ऐतिहासिक जित सम्भव भएको थियो । इक्वाल शृंखलाको म्यान अफ दी सिरिज चुनिए । बंगलादेशले पहिलोपटक श्रीलंकालाई पराजित गरेको हो । श्रीलंकाले पाँचौं दिन दोस्रो पालि आठ विकेटको क्षतिमा दुई सय ६८ रनबाट सुरु गरेको थियो ।

दिलरुवान परेराले ५० र सुरंगा लकमलले ४२ रन को पालि खेलेपछि श्रीलंकाले तीन सय रनको आँकडा पार गरेको थियो । श्रीलंकाको दोस्रो पालि तीन सय १९ रनमा समेटिएपछि बंगलादेशले एक सय ९१ रनको विजयी लक्ष्य पाएको थियो ।

श्रीलंकाका कप्तान रंगना हेराथ र दिलरुवान परेराले तीनतीन विकेट लिँदै खेलमा फर्किने प्रयास गरे पनि बंगलादेशी ब्याट्सम्यानको धैर्यपूर्ण ब्याटिङले त्यो सम्भव हुन सकेन । पहिलो टेस्टमा श्रीलंका दुई सय ५९ रनले विजयी भएको थियो ।

Yamaha

प्रतिकृया दिनुहोस

dishhomeapp