MENU

मुक्तिको बाटो

मणि शर्मा सोमवार, चैत ७, २०७३ 5034 पटक पढिएको

Share This

प्रदेश नम्बर २ को राजविराजबाट बिराम लिएर अरू जिल्लामा एमालेको मेची-महाकाली अभियान सफलतापूर्वक सम्पन्न भयो । हजारौं कार्यकर्ताको भीडले यो अभियानलाई शानदार बनाएकै हो । केपी ओली यो अभियानको आकर्षणको केन्द्रबिन्दु भए पनि उनी आउने प्रचारप्रसार गरेर जनताको भीड जुटाउन सफल एमालेले मुख्य ठाउँहरूबाहेक अन्यत्र ओलीको पदार्पण गराएन ।

आकर्षणको केन्द्रबिन्दुको अनुपस्थितिले अधिकतम मानिसहरू निराश हुनुपरेको थियो । एमालेले ओलीको नाम बेचेर झुक्कायो भन्ने धेरैको गुनासो थियो । जे होस्, राजनीतिको आफ्नो उत्पादनको मार्केटिङ गर्न एमाले सिपालु नै छ ।जुनसुकै राजनीतिक दलको, विशेषगरी ठूला दलको आमसभामा लाखौं खर्च गरेर तामझाम देखाएर बसको लस्करमा जनता कोचेर ल्याई भीड जुटाउन सफल नै भएका छन् । तर सबैका नसीबमा सोचेजस्तो सफलता लेखेको हुँदैन ।

भीड त हो नि । चर्चित नेताको भाषण सुन्न, बजार खेल्न, आफ्नो काम निपटाउन र रामरमिताको लागि पनि राजनीतिक उद्योगहरूले भाडामा लिएको बसमा चढेर भेडाको बगाल झैं बजार पस्छन् । एकातिर आफ्नो काम पनि भयो, राजनीतिक उद्योगहरूको राम्रै व्यापार पनि भयो ।

नेपालमा बढ्दो बेरोजगार छ । काम धन्दा छैन । नेताहरूले जता जाम भन्यो उतै लाग्नु जनताको दिनचर्या भएको छ । नेतालाई भोट दिएर जिताउँछन्, त्यसपछि उनीहरूको काम समाप्त हुन्छ, दलीय राजनीतिमा । त्यसपछि सुखसयलका दिन नेताहरूको ऋण तथा गरिबीको भारी जनताको थाप्लोमा ।
त्यसैले होला भारतीय कवि धुमिलले भनेका छन्- जनता के हो, एउटा भेडा हो । जो अरूको जाडोको लागि आफ्नो पिठ्युँमा उनको फसल बोकिरहेको छ ।

हिजो जिल्लाहरूमा राजाको सवारी हुँदा पनि यिनै जनता हुन्, हुलका हुल राजाको दर्शनको लागि साउनको भेल झैं आउने गर्थे, आज तिनै जनता राजनीतिक उद्योगका उद्योगपतिहरू आउँदा त्यस्तै भीड लगाउने गर्छन्, तिनीहरूको जयजयकार गर्ने गर्छन् ।

हिजो गणतन्त्र आउँदा त्यसको विरोधमा चुइँक्क नबोल्ने जनता आज राजा आऊ देश बचाऊ भनेर सडकमा निस्कन थालिसके । राप्रपाले राजतन्त्र र हिन्दु राष्ट्रको नाम बेचेर चौथो ठूलो दल बन्न सफल भएको छ । भोलि राजतन्त्र फर्केर राजा यसरी नै जिल्लामा आउँदा योभन्दा ठूलो भीड लाग्नेछ । आज जुन नेताहरू आउँदा बसमा कोचिएर जनता नेताको भाषण सुन्न आइरहेका छन्, भोलि यिनै नेतालाई जेल हाल्ने परिस्थिति बन्यो भने यिनै जनता त्यसैको समर्थनमा सडकमा उफ्रिनेछन् ।

जनताले हिन्दु राष्ट्र र संंवैधानिक राजतन्त्रको पक्ष र सके संघीयता नराख्ने, राखे पनि उत्तर-दक्षिण गरेर पाँच विकास क्षेत्रलाई पाँच प्रदेश बनाउनुपर्ने आफ्नो मत जाहेर गरेकै हुन् । तर जनताको भीडको अर्थ रहेन, कथित सभासद्हरू जो दाहाल, कोइराला र नेपालहरूको भेडा थिए, थपडी बजाएर विदेशीले चाहेजस्तो नेपाललाई असफल मुलुक बनाउने संविधान ल्याएकै हुन् ।

बर्दियाको सदरमुकाम गुलरियाको हाल नगरपालिका भएको चौर जसलाई उहिल्यै धर्मभकारी चौर भनिन्थ्यो । गणतन्त्र आएपछि पुरानो संरचना भत्काउने कार्यमा लागेका माओवादी नेताहरूका भनाइमा लागेर कांग्रेस, एमालेलगायतका दलहरूले राणाकालदेखि गुलरियाको शानको रूपमा रहेको दुइटा धर्मभकारीलाई फोडेर नगरपालिका बनाए । बाँकी रहेका ठाउँमा अहिले पनि चौर छ, जहाँ अहिले पनि पहिलाजस्तै प्रायः आमसभालगायतका कार्यक्रम हुने गर्छ ।

नेपालको स्वतन्त्रता र राष्ट्रिय स्वाभिमानको रक्षाको लागि हामीले भेडातन्त्रबाट मुक्त हुँदै यसको विकल्प खोज्नैपर्छ ।

यही धर्मभकारी चौर हो, जहाँ मदन भण्डारीले भारतीय विस्तारवादको विरुद्धमा गर्जेर भाषण गरेका थिए । यही चौरमा पुष्पकमल दाहाल पहिलोपटक प्रधानमन्त्री हुँदा आएर आमसभामा मदन भण्डारीको हत्या र दरबार हत्याकाण्ड भारतले गरेको भनेर भारततिर फर्केर औंला देखाएका थिए । यही धर्मभकारी चौरमा बीपी कोइरालाले प्रजातन्त्रको महत्व र राजतन्त्र तथा प्रजातन्त्रको सहकार्यले मात्र नेपाल रहने बताएका थिए ।बीपीबाहेक अरू नेताहरूले यो धर्मभकारी चौरमा जति चर्का भाषण गरे, सत्तामा गएपछि सबै बिर्सेर भारतपरस्त भए । मदन भण्डारी सत्तामा जान पाएनन् ।

यिनै पुष्पकमल दाहाल हुन्, जो कटवाल काण्डमा प्रधानमन्त्रीको जागिर गएपछि काठमाडौंमा भारतीय विस्तारवादविरुद्ध धम्की दिँदै भनेका थिए—सुगौली सन्धिमा गुमेको पूर्वमा टिस्टादेखि पश्चिम काँगडासम्मको नेपालको भूभाग भारतले फिर्ता गर्नुपर्छ । दोस्रोपटक प्रधानमन्त्री हुनको लागि केपी ओलीलाई धोका दिँदै भारतको शरणमा परेर भारतको आज्ञाकारी सेवक बन्ने सर्तमा प्रधानमन्त्री बने । भारतको स्वार्थमा दिल्ली पुगेर पच्चीसबुँदे सहमति गरेर आए । खै, टिस्टादेखि काँगडासम्मको हाम्रो भूभाग फिर्ता माग्न सक्ने हिम्मत ? खै, यो मागलाई अन्तर्राष्ट्रिकरण गरेको ? गोविन्द गौतमको भारतीय एसएसबीले नेपालमै आएर हत्या गर्दा दाहालले भारतीय प्रधानमन्त्री मोदीसँग एक कल फोन गरेर विरोध गर्ने हिम्मत देखाउन सकेनन् । यस्ता हाम्रा प्रधानमन्त्रीले देशको स्वाभिमान र स्वतन्त्रताको रक्षा कसरी गर्लान् ?

कांग्रेस र एमालेको मिलेमतोमा एनसेललाई तेत्तीस अर्ब रुपैयाँ राजस्व मिनाहा दिँदा एमालेजस्तो ‘राष्ट्रवादी’ पार्टीले मौनता साँध्नु, त्यसबारेमा पार्टीको आधिकारिक धारणा बाहिर नआउनु रहस्यमय होइन र ? एमालेले आफ्नो पिठ्युँमा राष्ट्रवादको ऊनको खेती कसको लागि गरिरहेको छ ? हिजो राजतन्त्र छँदा यिनै दलहरू हुन्, गणतन्त्र ल्याउन राजतन्त्रविरुद्ध दलील दिइरहेका थिए—२४० वर्षसम्म राजतन्त्र हुँदा नेपाल अन्धकारमा रह्यो, कुनै विकास भएन, राजा धनी भए, जनता झन्-झन् गरिब ।

२३८ वर्षमा १०४ वर्ष त एकलौटी राणाशासन थियो, राजा राणाको कठपुतली थिए । पृथ्वीनारायणको राज्याभिषेकदेखि सुगौली सन्धिसम्म ६४ वर्ष राष्ट्र एकीकरणमा बित्यो । ००७ सालदेखि ०६३ सालमध्ये पच्चीस वर्ष दलीय शासन व्यवस्था थियो । ०६३ यताको जोड्दा दलीय शासन पैंतीस वर्ष बित्यो । जम्मा पैंतालीस वर्ष सक्रिय राजतन्त्र रह्यो । जनता त पञ्चायती कालभन्दा पनि गरिब भएकै छन् । हिजो गोर्खा भर्ती केन्द्रको विरोध गर्नेहरूले नेपाललाई आज खाडी मुलुक र मलेसियामा श्रमदास बेच्ने दास बजार बनाएका छन् ।

इतिहास साक्षी छ, जबजब नेपालमा दलीय व्यवस्था आयो नेपालको राष्ट्रियता र राष्ट्रिय स्वाभिमानको पतन भएको छ । गणतन्त्रमा यो पतन झन् निकृष्ट छ । आधुनिक नेपालमा महेन्द्रयुगीन युगमा नेपालको राष्ट्रियता र स्वाभिमान विश्व मानचित्रमा सगरमाथा उक्लेको थियो । मुलुकमा विकासको पूर्वाधारहरू खडा भएका थिए ।

धुमिलकै शब्दमा भन्नुपर्दा हामी जनता नेताको लागि ऊनको फसल बोक्ने भेडा त बनेकै छौं, हाम्रा नेताहरू पनि विदेशीको न्यानोको लागि ऊन बोक्ने भेडा भएका छन् । नेपालको स्वतन्त्रता र राष्ट्रिय स्वाभिमानको रक्षाको लागि हामीले भेडातन्त्रबाट मुक्त हुँदै यसको विकल्प खोज्नैपर्छ ।


नेपालको स्वतन्त्रता र राष्ट्रिय स्वाभिमानको रक्षाको लागि हामीले भेडातन्त्रबाट मुक्त हुँदै यसको विकल्प खोज्नैपर्छ ।

प्रतिकृया दिनुहोस

Annapurna Post1140X100