MENU

नक्कली मयुरको नाच

युवराज गौतम सोमवार, चैत ७, २०७३ 15147 पटक पढिएको

Share This

गणतन्त्र प्रचण्डहरूकै लागि गलपासो

ब्रिटेनकी महारानी 'चर्च अफ इङ्ल्यान्ड' र त्यहाँका सम्पूर्ण क्रिस्चियन धर्मावलम्बीको संरक्षक मानिन्छिन् । सन् १७७२ को रोयल म्यारिज एक्ट (शाही विवाहसम्बन्धी कानुनी व्यवस्था) अनुसार राजपरिवारका कुनै पनि सदस्यले विधर्मीसँग विवाह गर्न पाउँदैनन् । सन् १९३९ को जुलाईमा १३ वर्षको उमेरमै एलिजाबेथको विवाह इसाई प्रथाअनुसार भएको थियो । नेपाल वा भारतमा जस्तै त्यहाँ पनि बालविवाह चल्थ्यो भन्ने थुप्रै उदाहरण पाइन्छन् । अहिले पनि त्यहाँ धार्मिक व्यवस्था यथावत् छ ।

YUBARAJ-gautam_1सभ्य समाजले परम्परा, रीतिरिवाज, धर्म-संस्कृति, मर्यादा र मूल्यमान्यता बचाउन समयानुकुल परिस्कार ल्याउँदै पुर्खाले स्थापित गरेका हरेक असल पक्षलाई निरन्तरता दिने गर्छ । अर्बपति नै भए पनि जापानीहरू मान्यजनलाई झुकेर अभिवादन गर्छन् । मुसलमान राष्ट्रहरूमा मर्यादाहीन व्यवहारलाई 'हराम' (पाप) भनिन्छ र धर्म नमान्नेलाई हरामी । नेपालमा केही उच्छृंखल राजनीतिकर्मीहरू धर्म-संस्कृति नमान्दा आफू प्रगतिशील भएको ठान्छन् । हरामी त नभनौं, ती बिरामी पक्कै हुन् ।

राजा सुरेन्द्र विक्रम शाहको शुभराज्याभिषेक भएका बखत (वि.सं. १९०४) जाजरकोटमा राजा दीपनारायण शाह, बझाङमा राजा जगराज सिंह, सल्यानमा राजा तेजबहादुर शाह आदि रजौटा थिए । आधुनिक सुविधा थिएन तर सुदूर पहाडका ती अनकन्टार ठाउँमा पनि उनीहरूले मर्यादा, सभ्यता, रीतिथिति र धर्म-संस्कृति बचाउन छुट्टै काइदा कानुन बनाएका थिए ।

राजा सुरेन्द्रलाई राज्याभिषेकमा इलामदेखि सुदूर पश्चिमसम्मका प्रशासक र सैनिक अधिकारीहरूले शुभकामना सन्देश पठाएको पाइन्छ । ती सन्देशमा खुसीयाली मात्र अभिव्यक्त गरिएको छैन, असल सुझाव पनि छन् । पाल्पाका कमान्डर कृष्णबहादुर कुँवर (जंगबहादुरका भाइ), डोटीका सुब्बा काशीदत्त पन्त र काजी कुलमानसिंह बस्नेत, प्युठानका सरदार गुन्जमानसिंह बस्नेत, जुम्लाका सरदार फत्ते सिंह, गोरखाका नयनसिंह बस्न्यात आदि मात्र होइन, सेनाका विभिन्न पल्टनका तर्फबाट पनि शुभकामना अर्पण गरिएको थियो ।

इलाममा त्यतिबेला नयाँ श्रीनाथ कम्पनी तैनाथ थियो भने सिन्धुलीमा नारायण दल पल्टन । धनकुटामा श्रीजंग पल्टन, सल्यानमा कालीजंग, दुल्लु दैलेखमा ज्वालादल भवानी बक्स कम्पनी, दाङमा गुरु बक्स कम्पनी, डडेलधुरामा रणभीम पल्टन र उदयपुरमा गोरखनाथ कम्पनी तैनाथ थिए । यसैले राष्ट्रको धर्म-संस्कृति र मर्यादा सुरक्षित राख्न बल पुगोस् भन्ने चिताएको पाइन्छ । त्यसमा छलकपट थिएन ।

सन् १९०७ मा एक वर्ष २२ दिनसम्म इङ्ल्यान्ड भ्रमण (पानीजहाजको यात्रा अवधिसमेत) गर्दा जंगबहादुरले भाइहरू बमबहादुर राणा (कार्यवाहक प्रधानमन्त्री), बद्रीनरसिंह राणा (प्रधानसेनापति), कृष्णबहादुर राणा (न्यायाध्यक्ष), रणोद्वीप सिंह (पूर्वपश्चिम क्षेत्र हेर्ने प्रशासक) र काकाका छोरा जयबहादुर राणालाई मालपोत हेर्ने 'इन्स्पेक्टर जनरल' बनाएका थिए । जंगबहादुरले दिएको हुकुममा राष्ट्रको मर्यादाको ख्याल गर्नू भनेको पाइन्छ ।

राजा त्रिभुवन २००७ सालमा दिल्ली प्रस्थान गरेपछि राणा प्रधानमन्त्री मोहन शम्शेरले त्रिभुवनका माइला नाति ज्ञानेन्द्रलाई राजा बनाए । राजगद्दीमा राखेर उनको नामका मुद्रासमेत छापियो । केही अवसरवादीले 'राजा त्रिभुवनलाई गद्दीच्युत गर्दैै श्री ३ महाराज नै श्री ५ बन्नुपर्छ' भनेर उक्साउँदा मोहन शमशेरले त्यसले राष्ट्रको मर्यादा नरहने तर्क गरेका थिए । राष्ट्र हाँक्नेहरूले नै मर्यादा बचाउन सकेनन् भने चरम बेथिति फैलिन्छ भन्ने उनीहरूलाई थाहा थियो ।

युवराज त्रैलोक्यका पालादेखि राजाको नाममा 'वीर विक्रम' लेख्ने चलन सुरु भयो । सुरेन्द्रविक्रम शाहले 'वीर' शब्द राखेको पाइँदैन । कतिपय इतिहासकारले राज्यको सर्वाधिकारी भएपछि अंशुबर्माले आफूलाई पहिलोपल्ट 'महाराजाधिराज' घोषणा गरेको बताएका छन् । पाँच हजार वर्षभन्दा पुरानो लिखित इतिहास भएको नेपाल धर्म-संस्कृति र मर्यादाका आधारमा चलेको थियो ।

सत्ताको लागि सबै कुरा त्याग्ने, मर्यादा बिर्सने र 'वाईसीएल' शैलीमा काम गर्ने प्रवृत्ति बढेकाले जताततै आज असभ्य, अहंकारी, अभिमानी, उन्मादी, उच्छृंखल, अशिष्ट र अविवेकीहरूको हैकम देखिन्छ । राजनीतिले यसलाई अरू प्रदूषित बनाइरहेको छ भने राजनीतिक नेतृत्व नै अमर्यादित भएकाले त्यसले दुष्प्रभाव राज्यका अरू अंगमा समेत स्पष्ट देखिएको छ ।

राजनीति, प्रहरी, प्रशासन, कूटनीति र प्राज्ञिक क्षेत्रसमेत शठतन्त्रले ग्रस्त छ । सिंहरबारका बाउसेभन्दा जंगलमा बस्ने राउटे धेरै मर्यादित देखिन्छन् । किनभने राउटेहरू धर्म र परम्परामा विश्वास गर्छन् । राजनीतिकर्मीहरू धर्म निरपेक्ष (? ) छन्, कुसुन्डाहरू पापनिरपेक्ष । यसरी हेर्दा राजनीतिक क्षेत्र सबैभन्दा धेरै विकृत बन्दै गएको देखिन्छ । सिद्धान्त महत्वहीन हुँदै गएकाले राजनीतिले जनतालाई सुखानुभूति गराएको पाइँदैन । निष्ठा, विश्वास, समर्पण र आदर्शको अवमूल्यन भइरहेकाले राजनीतिकर्मीहरूले जनविश्वास गुमाइरहेका छन् । यही कारणले अधिकांश राजनीतिज्ञका सन्ततिसमेत राजनीतिबाट विमुख हुँदै गएको पाइन्छ ।

७० वर्ष अघिदेखि नेपाली राजनीतिलाई सूक्ष्म दृष्टिले अध्ययन गरेका ९६ वर्षीय साहित्यकार (२००७ सालका सक्रिय पत्रकार) श्यामदास वैष्णवले राजनीतिका बारेमा घतलाग्दो टिप्पणी गरेका छन्, 'मैले राजा त्रिभुवनदेखि राजा ज्ञानेन्द्रसम्मको शासन हेरें । राजा, प्रधानमन्त्री र अन्य शक्तिशाली व्यक्तिहरूलाई समेत ढाँटेर खाने हुल्याहा, मुल्याहा र छुल्याहा ठगहरूको हस्तक्षेप उस्तैउस्तै छ । इमानदार, सज्जन, देशभक्त र कर्तव्यनिष्ठहरूले राष्ट्रको गरिमा बचाउने काम गर्छन् । तर हरेक कालखण्डमा कुनै न कुनै किसिमको विकृतिले राजनीति ग्रस्त बनेको पाइन्छ । कुरौटे, अरौटे र भरौटेहरूले शक्तिशालीहरूलाई घेराबन्दीमा पार्ने गरेका छन् ।'

उनी भन्छन्, 'श्री ३ मोहन शमशेरलाई तत्कालीन गुप्तचर प्रमुखले राजा त्रिभुवन सपरिवार गुप्तरूपमा दिल्ली जाने कार्यक्रम छ भन्ने रिपोर्ट बुझाएछन् । श्री ३ महाराज तथा गुप्तचर प्रमुखबीच सम्वाद भइरहेका बेला सरदार उपेन्द्रपुरुष ढकाल छेउमै रहेछन् । उनले गुप्तचरको खण्डन गर्दै 'महाराज (मोहन) स्वयं भगवान् होइबक्सन्छ । राजा सपरिवार दिल्लीतिर भाग्न लागेको हो भने त्यस्तो अप्रिय कुरा महाराजलाई सपनामा थाहा हुन्छ । त्यसैले गुप्तचर प्रमुखको कुरा हावादारी हो' भनेछन् । 'भगवान्लाई पूर्व आभास भइहाल्छ नि' भनेपछि मोहन शमशेर पनि दंग परे । केही दिनमै राजा दिल्ली पुगे । गुप्तचरको सूचना सही ठहरियो ।'


झन्डै चालीस-पैतालीस वर्षअघिको कुरा हो । तराईका सहर-बजारमा भारतबाट 'रामलीला' नाटक देखाउने टोली आइरहन्थे । स्टेजमा राति राम-रावणको घमासान युद्ध चल्थ्यो । साँच्चै युद्ध नै भएजस्तो ठानेर हामी केटाकेटी राति अबेरसम्म रामलीला हेथ्र्यौं । दिउँसो उज्यालोमा अर्कै दृश्य देखिन्थ्यो । रामले रावणलाई खैनी मोलेर खुवाइरहेको हुन्थ्यो । हनुमानले रावणको शरीरमा तेल घसिरहेको हुन्थ्यो । त्यो देख्दा केटाकेटीहरू उदेक मान्थे । नेपाली राजनीति पनि त्यस्तै नाटक रहेछ ।

दिल्लीमा बाह्रबुँदे नाटक रचना गरियो। राजतन्त्र फ्याँक्ने र गणतन्त्र ल्याउने फैसला दिल्लीले गर्यो। जनआन्दोलनको नाटक नेपालमा भयो। भारतविरुद्ध युद्ध गर्छौं भनेर हुँकार गर्ने पुष्पकमल दाहाल,बाबुराम भट्टराई, रामबहादुर थापा आदि सबै उतैको रामलीला पार्टी रहेछ । राष्ट्रवाद पो बेरुजु निस्केछ ।
केही दिनअघि निर्वाचन आयोगले राजतन्त्र र हिन्दु राष्ट्र जस्ता शब्द संविधानविरोधी छन् भनिदियो । संविधानको व्याख्या गर्ने काम आयोगको होइन, सर्वोच्च अदालतको हो । गणतन्त्रको संविधानलाई साह्रै उत्कृष्ट भन्दै आएको दलले नै राजतन्त्र र हिन्दु जस्ता शब्द कतै मिल्काउन पाए हुँदो हो भन्ने सोचिरहेका बेला कुचोले बढार्नुपर्ने कसिंगर हावाले उडाएजस्तो भयो ।

पूर्व प्रधानमन्त्रीहरू टंकप्रसाद आचार्यकी छोरी मीना, केआई सिंहका छोरा यज्ञजित, सूर्यबहादुर थापाका छोरा सुनिल, लोकेन्द्रबहादुर चन्दका छोरा जयन्त, मरिचमान सिंहका छोरा अनिल, नगेन्द्रप्रसाद रिजालका छोरा राजेन्द्र आदिलाई कुनै डर भएन । प्रधानमन्त्री पुष्पकमल दाहालले हजारौंको हत्या गराएकाले अहिले दाहाल परिवार मात्र होइन, कुनै पनि माओवादी नेता एक्लै हिँड्न सक्ने अवस्थामा छैनन् ।

वृद्ध आमा-बाबुको सेवा गर्न गाह्रो मान्ने कपुत पनि लोकलाई देखाउन आमा-बाबु मर्दा रोए झैं गर्छन् । राप्रपा नेतृत्वमा छाएको शोक पनि त्यस्तै कृत्रिम र क्षणिक वेदना मात्र हो । सिद्धान्तसँग सत्ता साट्नैपर्ने, गणतन्त्र जोगाउन पूर्व आतंककारीका लेफ्टिनेन्ट जनरल (टु-आई-सी) हुनैपर्ने र लाटासीधा कार्यकर्तालाई 'हाम्रो पार्टी राजावादी नै हो बाबै' भनेर ढाँट्नैपर्ने बाध्यताले ग्रस्त भएका बेला निर्वाचन आयोगले हिन्दुधर्म र राजतन्त्र आदि शब्द उच्चारण गर्न नपाइने हुकुम दिएको छ । राष्ट्र नै इसाईकरण भइरहेको र हिन्दु तथा राजतन्त्र देखाएर राजनीति गर्नेहरूले नै बाइबल जस्तो संविधानलाई 'उत्कृष्ट' घोषणा गर्न लाज मानेनन् भने गणतन्त्रकै जागिर खाइरहेका निर्वाचन आयोगले गौमाताको फोटो देखाएर गणतन्त्रको गहुँत खानेहरूलाई त्यस्तै जवाफ पठाएर शक्तिपरीक्षण गर्न खोजेको देखिन्छ । यस्तो स्थितिमा राप्रपाले सत्ता त्याग्छ कि सिद्धान्त ? जनता यसको उत्तर पर्खिरहेका हुन् सक्छन् ।

एकजना पण्डित बाजेलाई आफ्नो छोरा आफूजस्तै बनोस् भन्ने चाहना रहेछ । छोराले लामो टुप्पी नफ्याँकोस् भन्ने पण्डितको आग्रह थियो । अमेरिका जाने चिट्ठा परेपछि 'धर्म' बिर्सियो केटाले । तर बाबुको डरले टुप्पी काटेन । अन्त्यमा विदेश जाने विमान चढ्दा ढोकाको एउटा किलामा अल्झिएर बाहुन केटाको टुप्पी चुँडियो । ऊ प्रसन्न भयो । कतै मिल्काउन पाए हुन्थ्यो भनेर घाँडो ठानेको टुप्पी आफैं चुँडियो । त्यस्तै गणतन्त्रकै हर्ताकर्ता भइसकेका पार्टी नेताको अन्तरकुन्तरको आशय बुझेर निर्वाचन आयोगले 'टुप्पी' फ्याँकिदियो ।

अखिल भारतीय नेपाली राष्ट्रिय कांग्रेस २००३ साल कात्तिक १५ गते बनारसमा स्थापना भयो । देवीप्रसाद सापकोटा संस्थापक अध्यक्ष थिए । २०४६ सालपछि कांग्रेसमा आगन्तुक र अंगीकृतहरूको बहुमत भयो । गत वर्ष सम्पन्न तेह्रौं महाधिवेशनमा बीपीको तस्बिर देखाउँदै केही प्रतिनिधिले सोधेछन्, 'यो बूढो को हो ? ' भारतबाट आएका र विभिन्न दलको सिफारिसमा नेपाली नागरिकता लिएकाहरू राजा महेन्द्रलाई गाली गर्छन् । यस्तै वरिष्ठ भइसकेका राजनीतिज्ञसमेत विगतका सबै कुरा खराब थिए भन्दै इतिहासको अपव्याख्या गरिरहेका छन् ।

नक्कली मयुरहरूको प्रायोजित नाचलाई आज गणतन्त्र भन्ने गरिएको छ । विदेशीले पालेका भाले मयुरहरू पखेटा फिँजाएर नाचिरहेका छन् । असल नभए पनि उनीहरू 'सफल' छन् । आफ्नी गृहिणीलाई सुनका गहनाले सजाउने, महलमा बस्ने, पचासौं लाख रुपैयाँका मोटरगाडी चढ्ने र हजारौं रुपैयाँको दारु खाएर पुर्लक्क लड्ने ती 'त्यागी' नेताको सपना पूरा भएको छ । सरकार आफैंले गोली हनेर जनताको सिकार गर्छ र दस दस लाख रुपैयाँका दरले लास किनेर आफैंले सहिद घोषणा गर्छ । यस्तो दृश्य अन्य देशमा देखिँदैन । एउटै व्यक्ति राष्ट्रघाती र राष्ट्रवादी (? ) हुन सक्छ नेपालमा । एउटा पद्धतिलाई फेल बनाउनेहरू अर्को पद्धतिमा आफैं महारथी भएका छन् ।

प्रजातन्त्रका निमित्त संघर्ष र प्राणोत्सर्ग गरेका र दुःख पाएकाहरूको रेकर्ड कतै छैन । श्री ३ पद्म शमशेर नेपाल त्यागेर राँची (भारत) जाँदा उनीसँगै गएका डा. महेन्द्रप्रसाद श्रीवास्वतसँग पंक्तिकारले भेट गरेको थियो । त्यतिबेला उनले भनेका थिए, 'राँचीमा कुल्ली काम गर्न जाने नेपालीलाई पद्म शमशेरले पनि बेलाबेलामा खर्च दिन्थे । त्यस्ता कुल्लीहरूलाई भेला पारेर कांग्रेसले छापामार युद्धको तालिम दिन्थ्यो, तर कांग्रेसी नेताहरू सुरुदेखि नै गैरजिम्मेवार थिए भने कर्यकर्ताहरूले पनि पेट पाल्ने काम मात्र गरे ।'

राजा त्रिभुवनकी मुमाले चन्द्रशमशेरलाई धर्म-भाइ बनाएर तिहारमा टीका लगाइदिने हुँदा त्रिभुवनले प्रधानमन्त्रीलाई महाराज मामा भन्थे भनेर इतिहासकारहरूले लेखेका छन् । दुवै एकअर्कालाई सम्मान गर्थे । चन्द्रशमशेरलाई राणाशासन चल्छ भन्ने पटक्कै विश्वास थिएन । चन्द्रले भनेका कतिपय कुरा कालान्तरमा सत्य सावित भयो । उनले 'भीमशमशेरलाई गँजेडी, जुद्धलाई स्त्रिलम्पट, पद्म र केशरलाई जँड्याहा र मोहन शमशेरलाई पुजारी' भन्दै व्यंग्य गर्ने गरेको इतिहासमा पाइन्छ । त्यसैले राजा त्रिभुवनलाई मोहनशमशेरले भनेका छन्, 'यिनीहरूले राजकाज चलाउँदैनन् । अन्त्यमा सरकारको हुकुम सरकारमै फर्किन्छ ।' उनले आफ्नै भाइ-भतिजालाई ढंग नभएका नक्कली मयुर ठानेका रहेछन् ।

शासकले सबै कुरा चाल पाउँदैनन् । तसर्थ, राष्ट्राध्यक्ष, सरकार प्रमुख र अन्य जिम्मेवार व्यक्तिहरूले योग्य व्यक्तिलाई सल्लाहकार र सचिव बनाउने चलन आएको हो । कतिपयले लम्फु र भुत्तेहरूलाई व्यर्थमा तलबभत्ता र मानमर्यादा दिएर आफ्नै गोडामा बन्चरो हानेका उदाहरण पनि छन् ।
वृद्धहरू भन्छन्, 'राणाकालमा श्री ३ बाट जागिर थमौती भएका राणाहरू ६ घोडे बग्गी (सालेबम) चढेर सैनिक पोसाकमा राजदरबार पुगेर श्री ५ को दर्शन गर्थे ।' २०६३ सालपछि प्रधानमन्त्री हुनेहरू दिल्ली दरबार जान थाले । ०६३/६४ को परिवर्तनपछि विभिन्न देशका दूत मात्र बन्न पुगे, नेपालका प्रधानमन्त्रीहरू । त्यसैले उनीहरू विदेशीको खटनपटन मान्न बाध्य छन् । कुन बेला कसको प्राण जाने हो भनेर प्रधाननमन्त्रीकै परिवारमा चर्चा चल्न थालेपछि प्रधानमन्त्रीपुत्रले पन्ध्र लाख रुपैयाँको बन्दुक किनेको कुरा समाचारमा आयो ।

राणाशासनपछि सर्वसाधारण जनताबाट प्रधानमन्त्री हुने मातृकाप्रसाद कोइरालाका छोरा कमलप्रसाद कोइरालालाई बन्दुक र सुरक्षा चाहिएको छैन । पूर्व प्रधानमन्त्रीहरू टंकप्रसाद आचार्यकी छोरी मीना, केआई सिंहका छोरा यज्ञजित, सूर्यबहादुर थापाका छोरा सुनिल, लोकेन्द्रबहादुर चन्दका छोरा जयन्त, मरिचमान सिंहका छोरा अनिल, नगेन्द्रप्रसाद रिजालका छोरा राजेन्द्र आदिलाई कुनै डर भएन । प्रधानमन्त्री पुष्पकमल दाहालले हजारौंको हत्या गराएकाले अहिले दाहाल परिवार मात्र होइन, कुनै पनि माओवादी नेता एक्लै हिँड्न सक्ने अवस्थामा छैनन् । अर्थात् गणतन्त्र उनीहरूकै लागि गलपासो बनेको छ ।

पूर्व प्रधानमन्त्रीहरू टंकप्रसाद आचार्यकी छोरी मीना, केआई सिंहका छोरा यज्ञजित, सूर्यबहादुर थापाका छोरा सुनिल, लोकेन्द्रबहादुर चन्दका छोरा जयन्त, मरिचमान सिंहका छोरा अनिल, नगेन्द्रप्रसाद रिजालका छोरा राजेन्द्र आदिलाई कुनै डर भएन । प्रधानमन्त्री पुष्पकमल दाहालले हजारौंको हत्या गराएकाले अहिले दाहाल परिवार मात्र होइन, कुनै पनि माओवादी नेता एक्लै हिँड्न सक्ने अवस्थामा छैनन् ।

प्रतिकृया दिनुहोस

Dish latest