MENU

म मामाघर जान्छु

सुशीला प्रधानांग आइतवार, चैत ६, २०७३ 960 पटक पढिएको

Share This

‘मम्मी ! आज म मामाघर जान्नँ है? ' संजोग कोठाको ढोकामा उभिएर आफ्नी आमा सरस्वतीलाई भन्दै थियो । सरस्वती कपाल कोर्दै थिइन् । उनले कपाल मिलाउँदै सोधिन्, ‘किन छोरा? अस्तिदेखि मामाघर जाने भनेर कराइरह्यौ । अब जाने बेलामा जान्न भन्छौ । यो छोराको कुरै बुझ्दिनँ म ।'

संजोगले आमाको सारीको सप्को समात्दै भन्यो, ‘अर्कोपटक जाऊँला नि है मम्मी ! योपटक हजुरमात्रै जानुस् । म, दाइ र बाबा यहीँ बस्छम् ।' सरस्वतीले उसलाई आफ्नो अगाडि उभ्याएर भनिन्, ‘तिम्रो दाइ पनि मसँगै जान्छ । तिम्रो बाबा जानुहुन्न । तिम्रो मामाले दुवैजना भान्जालाई लिएर आउनू भनेर फोन गर्नुभएको छ । यो भने... के हो, के हो ? यस बेला आएर जान्नँ पो भन्छ । तिम्री हजुरआमालाई पनि तिमी दुईको अनुहार हेर्न हतार भयो रे । तिमी नगए पनि म त तिम्रो दाइलाई लिएर जान्छु । म एक्लै त जाँदिनँ ।'

आफ्नी आमाको कुरा सुनेर उसको मन पनि दुख्न थाल्यो । फेरि दाइलाई लिएर जान्छु भनेको सुन्दा उसले आत्तिएर भन्यो, ‘दाइलाई पनि लिएर जाने रे !' छोराको कुरा सुनेर सरस्वतीले हाँसेर भनिन्, ‘अँ त, अनि के भयो ? तिम्रो बाबा अफिस गइहाल्नुहुन्छ । तिमी घरमा एक्लै बस ।' आमाले अलिकति मन दुखाएजस्तै गरेर उसलाई हेर्दै फेरि भनिन्, ‘झन् विद्यालयमा छुट्टी भएको बेलामा लिएर जाऊँला भनेर सोचेकी थिएँ । त्यत्तिकै...।'
संजोगले आमालाई फकाउँदै भन्न थाल्यो, ‘मम्मी ! दाइलाई लिएर नजानुस् न । म घरमा एक्लै हुन्छु । मलाई एक्लै डर लाग्छ, मलाई साथी चाहिन्छ ।'

सरस्वतीले नहाँसीकन नै भनिन्, ‘त्यसो भए तिमी पनि हिँड ।' संजोगले केही जवाफ दिएन । ऊ सरासर कोठाभित्र पस्यो र सोफामा बस्दै सोच्यो, ‘यो मामालाई पनि अहिले नै बोलाउनुपर्ने । आपूmले भने छुट्टीको बेलामा टीभीमा खुब कार्टुन हेर्छु भनेर सोचेको थिएँ ।' उसले फेरि मनमनै सोच्यो, ‘स्कुल जाने बेलामा मम्मीले कार्टुन नै हेर्न दिनुहुन्न । होमवर्क गर, निबन्ध लेख, नेपालीको शब्द अर्थ लेख, पढमात्रै भन्नुहुन्छ । हुन पनि हो मम्मीले त्यति नगराउनुभएको भए म कक्षामा फस्ट ब्वाय हुनै सक्दिनथेँ । अब म के गरौं ? घरमा एक्लै बसौं कि मामाघर जाऊँ ।' यस्तैमा उसको दाजु सुजन कोठाभित्र पस्यो ।
सुजन कक्षा ६ मा अध्ययन गथ्र्यो भने संजोगचाहिँ कक्षा ३ मा पढिरहेको थियो । सुजनले कोठाभित्र छिर्नेबित्तिकै भन्यो, ‘ए फुच्चे ! खै टीभीको रिमोट देख्यौ ? मलाई स्पोर्ट च्यानल हेर्नु छ । अहिले नगरस्तरीय फुटबल...।'

सुजनले आफ्नो कुरा पूरा गर्न नपाउँदै संजोगले भन्यो, ‘नगरस्तरीय होइन दाइ, इन्टरनेसनल भन्नुस् ।' त्यो सुनेर सुजनलाई रिस उठ्यो । उसले भाइको कान समात्दै भन्यो, ‘धेरै बाठो नबन फुच्चे ! म तेरो दाइ पो हुँ । खै रिमोट देऊ ।' संजोगले आफ्नो अनुहार अँध्यारो पार्दै आफूले रिमोट नदेखेको बतायो । सुजनले यताउता रिमोट खोज्यो । रिमोट सिरानीमुनि रहेछ । ऊ टेलिभिजन खोलेर हेर्न थाल्यो । सुजनको कुरा सुनेर संजोगलाई नरमाइलो लाग्यो र उसले सोच्यो, ‘दाइ घरमा बसेपछि मैले त झन् पटक्कै टीभी हेर्न नपाउने रहेछु ।'

ऊ हत्तपत्त अर्को कोठातिर लाग्यो र सरस्वतीको हात समात्दै भन्न थाल्यो, ‘मम्मी ! दाइलाई पनि लिएर मामाघर जानुहोला, बरु म घरमा एक्लै बस्छु । म डराउँदिनँ । है मम्मी ! दाइलाई जसरी पनि लिएर जानुहोला ।' उसको कुरा सुनेर सरस्वतीलाई अचम्म लाग्यो । एकैछिन अघिसम्म दाइलाई लानु पर्दैन भनेर जिद्दी गर्ने छोराले अहिले किन यसो भन्दैछ भनेर उनी छक्क परिन् ।

संजोगले फेरि भन्यो, ‘हस् भन्नुस् न मम्मी !' सरस्वतीले उसको दुवै काँधमा आफ्ना दुवै हात राख्दै पुनः सोधिन्, ‘किन र ? अघिसम्म त पर्दैन भन्दै थियौ । तर अहिले अचानक के भयो ? मैले तिम्रो कुरै बुझ्न सकिनँ ।' संजोगले आफूलाई उठेर सीधा पार्‍यो र आफ्ना दुवै खुट्टा उचाल्दै भन्यो, ‘हेर्नुस्, मम्मी ! अब म ठूलो भएँ । ठूलो भएको मान्छे डराउँदैन । म पनि डराउँदिनँ । फेरि बाबा साँझ घर फर्किहाल्नुहुन्छ । हजुरलाई पनि त साथी चाहियो । दाइलाई लिएर जानुहोला ।'

सरस्वतीलाई कसैका कुरामा पनि विश्वास लागेन । कोही पनि नजाने भए मामालाई फोन गरेर हामी आउँदैनौं भनिदिन्छु भनेर उनले भनिन् । संजोगलाई आफूले सोचेजस्तै केही नभएको देखेर मनमनै खुब रिस उठिरहेको थियो । ‘मम्मी ! साँच्चै, हजुर मामाघर नजाने ? ' उसले भनेपछि आमाले भनिन्, ‘म तिमीलाई नलिईकन जान्नँ ।' उसलाई के गरौं, के गरौं भइरहेको थियो । दाई मामाघर नगए आफूले घरमा बसेर टीभी हेर्न पाउँदिनँ भन्ने चिन्ताका साथै अहिले नगए बिदा सकिएपछि मामाघर जान नपाउने भन्ने पनि लागेको थियो ।

उसलाई छटपटी भयो र आमाको अगाडि गएर भन्यो, ‘मम्मी ! एउटा कुरा सोध्छु, हजुरले नरिसाई भन्नुहोला है ? ' सरस्वतीले पनि हाँसेर भनिन्, ‘थाहा छ छोरा ! तिमीलाई ? मम्मी पनि आफ्ना छोराहरूको साथी हुन सक्छिन् । तिमी र म साथीसाथी है । अनि आफ्नो साथीसँग मनमा लागेको कुरा भन्नुपर्छ नि । तिम्रो मनमा पनि केही कुरा लागेको छ हो ? हो भने लौ भनिहाल ।' त्यो कुरा सुनेर संजोगले सोधिहाल्यो, ‘साँच्चै हो मम्मी ? ' उनले पनि त्यसरी नै जवाफ दिइन्, ‘साँच्चै हो छोरा !'

‘त्यसो भए मम्मी मामाघरमा टीभी छ ? ' त्यो कुरा सुनेर उनी एकछिन पेट मिचीमिची हाँस्न थालिन् । एकछिनपछि आफ्नो हाँसो रोक्दै भनिन्, ‘बस् यति कुरा । यही कुरा पहिले नै भनेको भए अघि नै समस्या सुल्झिहाल्थ्यो नि ।' संजोगले आमालाई अँगाल्दै भन्यो, ‘मलाई बिदामा कार्टुन हेर्नु थियो । हजुरले नै बिदामा कार्टुन हेर्नु भन्नुभएको होइन ? ' आमाले पनि टाउको हल्लाउँदै हो भनिन् । त्यो सुनेर संजोगले भन्यो, ‘अनि घरमा दाइले पनि टीभी हेर्न दिनुहुन्न । दाइ आपैंmले स्पोर्टस् च्यानल हेर्ने रे । अनि मलाई जति बेला पनि ए फुच्चे ! ए फुच्चे मात्रै भनिरहनुहुन्छ । अनि म के गरम् ? '

उनको मनको कुरा थाहा पाएर सरस्वतीले छोरालाई सम्झाउँदै भनिन्, ‘छोरा ! यस्तो कुराको बारेमा मम्मीलाई भन्नुपर्छ नि । मामाको घरमा हाम्रोभन्दा ठूलो टीभी छ । मामाघर पुगेर दिनभरि कार्टुन हेर्नु ल ।' आमाको कुरा सुनेर खुसीले उफ्रिँदै संजोग भन्न थाल्यो, ‘म मामाघर जान्छु ! म मामाघर जान्छु।'

प्रतिकृया दिनुहोस

dishhomeapp