MENU

एक जिनियस मूर्तिकारको अात्मस्वीकृति

राजा पुनियानी सोमवार, चैत ७, २०७३ 12655 पटक पढिएको

Share This

कार्टुनदेखि मूर्तिसम्म

जिनियस कस्तो हुन्छ ? शायद उजस्तै ।उसँग जतिचोटि भेटेको छु, त्यतिचोटि मलाई ऊ सामान्य लागेको हो । त्यति नै चोटि असामान्य पनि । चञ्चले, छटपटे, छुलछुले, चुलबुले, सकसके, फुसफुसे, फुरुक्के, ल्याङफ्याङे, झोंक्की, भावुक, निष्ठुरे, फुर्के । मोठमा सनकी । चित्रकार/सालिककार- अमीर सुन्दास ।

Raja puniyani photo_3

होशियार, बात मार्दा मार्दै तपाईंको स्केच बनिसकेको हुनसक्छ । गफिँदा उसले तपाइँतिर सोझै हेर्नेछैन । उसको नजर भुइँतिर, छेउतिर, उँभोतिर हुनेगर्छ । के-के-क-के सोचिरहेको । स्वाट्ट तानिरहेको । कुटुककुटुक कोट्याइरहेको । खुसुखुसु खोर्सिरहेको । ख्वासख्वास कोरिरहेको ।

एकचोटि समालोचक जस योञ्जन प्यासीको भाषण सुन्दैथियौँ । उत्तरआधुनिकतामाथि । लामो र बोरिङ । अमीरले हामी पछिल्तिरका श्रोताहरूलाई फुर्ति दान गर्यो। प्यासीको गज्जप स्केच डुडल गरेछ । त्यो कागज सर्कुलेट गर्दै हामीले समय कटनी गरेका थियौँ ।

सीके श्रेष्ठ सम्पादक रहेको अखबार 'अब'मा अमीर सुन्दास थिए कार्टुनिस्ट । म थिएँ इलस्ट्रेटर । हामी दुवैले रू. ८ सय तलब उठाउँथ्यौ । सन् १९९६ को कुरा । भोटाङे शरणार्थी आन्दोलन भारतको भूमिमा चम्किरहेको । सीके श्रेष्ठ आन्दोलनमा लागिपरेका । बेलुकी 'वक्रदृष्टि' कार्टुन स्तम्भमा चरित्रहरूको मुद्रा सीके श्रेष्ठ आफैले भावभङ्गी गरेर देखाउँथे । अमीर चरित्रको रेखाचित्र बनाइराखेर डेरा जान्थ्यो । भोलिपल्ट बिहान पेपर आएपछि क्याप्सन देख्थ्यो र हाँस्थ्यो । आफैँले बनाएको कार्टुनको अर्थ छापिएपछि मात्र बुझ्थ्यो । जीवनकै पहिलो एकल चित्र प्रदर्शनी उनै सीके श्रेष्ठको हातबाट उद्घघाटन गराएको थियो ।

दाजीर्लिङ, कालेबुङ र भोटाङका पहाडहरूले घेरिएको समतल हो- डुवर्स । भोटाङको दैलो पनि । चिया कमानहरूले भरिएको डुवर्सको चियाकमान बाग्राकोटमा जन्मेको अमीर सिलगढी शहरमा 'आजभोलि' पत्रिकामा जागिर खान पहिलोचोटि पस्छ सन् १९९५ मा । ५ सय रूपियाँ तलबले नपुग्ने । पन्ध्र दिन नबित्दै रासन-पानी सकिने । पैसा लिन घर धाइहाल्ने । जीवनलाई यसरी काँचो ठाँउबाट अनुभूत गरेको हो । 'म त अहिले पनि चित्रकार नै हुँ' भन्ने अमीर एक्सिडेन्टल्ली मूर्तिकार भयो । उसले प्रगतिवादी लेखक बद्रीनारायण प्रधानको देहान्तपछि बद्रीनारायणको मूर्ति बनायो । यो उसको जीवनको पहिलो मूर्ति थियो । त्यसपछि, अरूणा लामा, दुर्गा मल्ल, हरिभक्त कटुवाल, लक्ष्मीप्रसाद देवकोटा, भानुभक्त, अगमसिंह गिरी, बिर्सा मुण्डाका मूर्तिहरू बनायो । पेशाले पोट्रेट आर्टिस्ट मूर्तिकलाको सीप सिक्न उसलाई समय लागेन । इन्टरनेटले पनि उसलाई मद्दत गरेको छ ।

एउटा मूर्ति बनाउन कममा एक महिना र बढीमा दुई महिना लगाउँछ अमीर । पेन्टिङजस्तो सजिलो नभएको स्वीकारोक्ति अमीरको छ । ऊ भन्छ, 'मूर्ति सजिलो छैन । केश, आँखा, नाक डुप्लिकेट हुन्छ । एउटै कलरमा चिन्दैन । मूर्तिमा रिस्क छ । पैसा पनि छ ।' अमीर यताको समाजले मूर्तिकलाको खास कदर गर्न नसकिरहेको मत राखेको छ । घरमै 'चेतना कला केन्द्र' खोलर नानीहरूलाई चित्रकला सिकाउँछ । मूर्ति सिक्नेलाई वर्कशपमा राख्छ ।

महङ्गो मूर्तिकार

अमीरको पहिलो लभ रङ हो । दोस्रो लभ नाटक । तेस्रो लभ सङ्गीत । रङलाई माया गर्ने अमीर राति हरियो रङ चिन्दैन । कलर ब्ल्याइन्डनेसझैँ कुनै रोग छ उसलाई । 'बेलुकीसम्मको माटो बिहान मूर्ति बन्छ', रूपेश शर्मा अमीरको दक्षताबारे किटेरै भन्छन् । कार्टुनिस्टबाट शुरू भएको अमीरको करियर आज आएर भारतकै एक शीर्षस्थ मूर्तिकारमा स्थापित छ । अमीर एकलव्य थियो । गुरूको मूर्तिसम्म नभएको । गुरू बिनाको चित्रकार । भुइँफुट्टा । उसलाई लाग्थ्यो - म निक्कै जान्दछु । डुवर्सकै चित्रकार अजय थापाकहाँ भर्ना भए यता उसको भ्रम तोडएिछ । उसलाई लागेछ - मैले सिक्नुपर्ने त निक्कै पो रहेछ ।

अजय थापासँग प्रोफेसनल चित्र मात्र होइन, गानबजना पनि सिकेछ अलिअलि सबैथोक ।भारतभरिमा एकल पोट्रेट- मूर्ति प्रदर्शन उसकै मात्र भएको होला । 'दार्जीलिङ क्रिएटिभ फेस्टिभल- २०१६' र सिलगढी 'सिर्जनावृत्त'को आयोजनमा । भारतभरिमा सबैभन्दा महङ्गो मूर्तिकारकै सूची बनाइए त्यसमा एउटा नाम अमीरको पनि आउने हो ।

murti--1

फकीर अमीर

मूर्तिकार अमीरमाथि चिन्तक अमीरको स्वीकारोक्ति यसरी पोखिन्छ -'मानिसजस्तो मान्छेको मूर्ति बनाएँ कहिले मूर्तिजस्तै मान्छेको'नी मूर्ति बनाएँ कहिले' सिक्किमे चित्रकार दीपा राई दावा गर्छिन्, 'म चित्रकारको आँखीझ्यालबाट चिहाउँदा भारतीय नेपाली जातिका एकमात्र माइकलेन्जेलो देख्छु अमीरलाई ।' अमीरले बनाउने गरेको मूर्तिमा खाँट्टी नेपाली आँखा, नेपाली मुहडा, नेपाली कदकाँठ, अग्र्यानिक नेपाली शरीर संरचना भेटिन्छ । नत्र अनेपालीलाई नेपालीको मूर्ति बनाउनु दिँदा नेपालीभाषी व्यक्तित्व कि बङ्गाली, कि बिहारी भएर आउने गरेको गुनासो रहने गर्थ्यो ।

क्लास फाइभ-सिक्समा मादल बजाएर लोकगीत गाउने अमीर । ड्रइङ बनाएर २÷४ रूपियाँ स्कूलमै कमाउन थालेको थियो अमीरले । यसरी स्कूले दिनदेखि नै अमीरको पेशेवर धार पलाएको थियो । केही समय चिया-कमानमा कलिलो उमेरमै छोकडा खटिएको अमीर आज एउटै मूर्तिको लाखौँ रुपियाँ तोक्छ । लाखमा खेल्दा पनि अमीर विचारले भने फकीर । जनताका लागि सोच्ने सादा अमीर । भौतिक लोभले इञ्चीभर खान नसकेको । यो सन्की अहिले पनि निरन्तर समाजको सामूहिक उन्नतिकै दिशामा गमिरहने एउटा संस्कृतिक-कर्मी हो ।

भ्राम्यमान मोडलमा बहुमुखी अमीर

अमीर अभिनयमा पनि पोख्त । उसले बङ्गालको डुवर्स र असम पनि फाँडेको छ ।विश्वमै पहिलो थेटर मोडल 'भ्राम्यमान नाटक ।' स्टेज, प्रोप्स, लाइट, साउण्ड सबै यावत थोकको व्यवस्था भएको मोबाइल नाटक । असमका रतन लहकर यसका जनक । नाटकको नयाँ लहरै चलाएका थिएछन् रतनले । राम दाहाल, पृथ्वी विलास, धर्म बस्नेत, अछुत पाठक, विनोद खनालले असमीया नेपाली समाजमा यो मोडल पहिलोचोटि हुले सन् १९९४ मा ।

सन् १९९८ मा अन्तिमचोटि यस्तो खाले नाटक असम-बङ्गालतिर डुल्यो । समाजकर्मी कृष्ण भुजेलहरूले 'लाली गुराँस थेटर'मार्फत् सन् २०१० -मा यो नाट्यमोडललाई नेपाली समाजमा पुनर्जन्म गराए । अहिले ४० वटा जति नेपाली भ्राम्यमान थेटर सक्रिय रहेको बताइन्छ । दार्जीलिङबाट झिकाइयो सीके श्रेष्ठलाई । श्रेष्ठले बोकेर गए अमीरलाई । अमीरले नाटकमा अभिनय गरेछ, गीत लेखेछ, सङ्गीत भरेछ, कोरियोग्राफी गरेछ । त्यतिले मात्र नभएर इभेन्ट म्यानेज्मेन्ट समेत गरेछ । कृष्ण भूजेल भन्छन्, 'अमीरको बहुमुखी भूमिका छ ।'

पुलिस याद गर है

'अब' मै विशेष फिचर लेखकको जागिर खाइरहेका बबाल सर्जक राजनारायण प्रधान । राज सरसँग अमीरको घनिष्ठता बढ्यो । दुवैको निक्कै थोरै बोल्ने, बोलेपछि अचम्मको कुरा गरेर सबैलाई हाँसोको फोहोरा छुटाइदिने बानी । क्याजुअल तरिकामा टुक्रे गफ गर्ने चटके शैलीको गज्जब भाइबले तुइन हाल्यो ।

एकदिन पाको राजनारायण प्रधानले सिलगढी रेल जङ्कशनको फ्लाइ-ओभर पुलमुनि लगेछन् कलिलो साथी अमीरलाई । राज सरले कोक किनेछन् र अमीरलाई आधी घुटयाउन लगाएछन् । अमीर जाँड नखानेमा पर्छन् । कोक प्यासी काकाकुलीले झैँ घुटयाएछन् । राज सरले रहल कोकमा रक्सी किनेर फिटेछन् र भनेछन् - 'पुलिस याद गर है ।'

अमीरले नाम चलेका ठूलाठूला व्यक्तित्वहरूको मूर्ति बनाउँदा-बनाउँदा वाक्क भएको खुलासा गरेको छ । उसलाई अब आम-मान्छेको मूर्ति बनाउने इच्छा छ । आम मान्छे, जसलाई समाजले देखेर पनि देख्न चाहँदैन ।

छवटा गोजीवाला कार्गो

अमीर सिम्पल छ । तर, फेसनेबल पनि छ ।'तिमीले गर्दा मेरो कार्गो प्यान्ट खराब भयो । अब झापाको लागि नयाँ किन्छु', 'रिडर्स झापा'को 'कला साहित्य उत्सव २०७३' मा कलामाथि बोल्न जाँदै गर्दा फोनमा भन्यो उसले ।काँकडभिट्टाबाट फर्किएपछि उसलाई सोधेँ, 'किन्यौ प्यान्ट ? 'उसले भन्यो, 'किन्नै पाइनँ नि । त्यै पुरानै दागी कार्गो लगाएर गएँ ।'अमीर चित्रकार÷मूर्तिकार मान्छे । रफ र टप देखिन उसले कार्गो प्यान्ट मात्र पहिरिने । रङ र माटोको काम गर्दा पनि सजिलो । सिलगढीमा कञ्चनजङ्गा उद्धार केन्द्रको रिह्याब होम बनाउन फन्ड-रेजर कार्यक्रम । मैले 'दिलमाया' कविता प्रेजेन्ट गर्दा सँग-सँगै चित्र बनाऊ भनेँ । उसले एक फोनमै मानेको हो ।

मैले कविता भन्दै गर्दा पररर ताली बज्यो । दर्शकले हेरिरहेको क्यानभसतिर हेरेँ । अमीर त नेपथ्यतिर पो हिँडिसकेछ क्यान्भास छाडेर । मैले कविता सक्नुअघि नै उसले दिलमाया आँकिसकेको थिएछ । टाटेपाङ्ग्रे हतारो रङ लागेछ प्यान्टमा ।उसलाई सोधेँ, 'अरू प्यान्ट थिएन त ? किन किन्नैपर्ने नयाँ ? 'उसले भन्यो, 'अरू छ । तर, छवटा गोजी भएको त्यै प्यान्ट मलाई मनपर्छ ।'

फेसबुके बिहे

प्रेम अस्थिर हुन्छ भन्ने अमीरलाई घरमा र साथीभाइले अब बिहे गर्नुपर्छ भन्ने चाप दिन थाले । ढिपी लगाए । फेसबुकमा एउटा फेसले चुम्बकले झैँ तानेछ । रिक्वेस्ट एक्सेप्ट भएछ । तीन दिनमा नम्बर मागेछ । उनले दिइछन् । बात भएछ । एक सातामा त घरैमा हात माग्न पुगेछ । केटीकी बोजुले सोधिछन्, 'केटा के यै हो त ? '- 'हो' ।- 'काम के गर्छ ? '- 'कलाकार' कलाकार त कलाकार नि । तर, काम चैं के गर्छ सोधिएछ । यो प्रश्न यस्तो थियो, मानौँ कलाकारले गरेको काम 'काम' होइन वा त्यो कामको दाम छैन । आम सोच छ- कलाकारले जीवन धान्न गाह्रो हुन्छ ।

murti-2

हुनेवाला सालाले अमिरबारे गुगलमा सर्च हानेछन् । त्यसपछि मलाई इन्क्वायरी कल आयो । बिहे भयो । बिहेको साजसज्जा अमीरका कला विद्यार्थीहरूले गरेका थिए । साजसज्जा बाहिरदेखि भित्रसम्म कलैकलाले भरिएको थियो । ठाँउ-ठाँउमा झुण्ड्याइएको क्यान्भास देख्दा बिहेको प्रीतिभोजमा होइन, मोडर्न आर्ट एग्जिभिसनमा आइएको झैँ लाग्ने । स्टेजमा रातो रङले लोग्ने-स्वास्नीको दाहिने-देब्रे हत्केलाको छाप सजाइएको थियो ।

प्रेमिकाको चित्रले जोगाएको चित्रकार

एक साँझ अमीर पक्राउ परेको खबर आयो । सबैको मुख वाँ परेको थियो । नेपालको माओवादी आन्दोलनलाई भारतको भूमिबाट टेवा दिन खोलिएको 'अखिल भारत नेपाली एकता समाज'मा कर्मठ सदस्य अमीरले एकता समाजको संस्कृति विभागमा ज्यान हाले । 'माओवाद' शब्दसँग सिलामात्र जोडिएको जो-कोहीलाई पनि धरपक्री गरिरहेको सन्त्रस्त भारत सरकार अमीरको पनि पछि लाग्यो । कालेबुङ बीटी कलेजमा एक साले प्रशिक्षण सिद्ध्याएपछि प्राचार्यले कला प्रशिक्षकको पदमा राख्नै लाग्दा पक्राउ परे अमीर ।

पत्रकार प्रमोद गिरी र अरू साथीहरू मतिगडा थानामा अमीर लगिएको छ भन्ने सुइँको पाएर गएका छन् । पुलिसले अमीर छैन भनेर फिर्ने अवस्था थियो । तर, कसैले हाजतको भित्तामा बाग्रोकाटकै एक युवतीको कोइला चित्र देख्छ । अमीरकै गर्लफ्रेन्डको रेखाचित्र थियो त्यो । अमीर यहीँ छ, भेट गराऊ भनेर आवाज उठेपछि पुलिसले अमीरलाई देखाएछ ।

अमीरको जेल उपद्रो

अमीर २ वर्ष, १ महिना जेल पसेर जेलमै पनि उपद्रो गरेको मान्छे । जेलरहरूको निद्रा उडाएको थियो उसले ।देशद्रोहीजस्तै ठहरिएको अमीरले अलिपुरद्वार जेल सारिएको बेला हिन्दी नाटक लेखेछ- 'देशद्रोही' । एउटा भोकोले हक माग्दा देशद्रोही ठहरिन्छ भन्ने थीम । माओवादीलाई आतङ्कवादीभन्दा ठूलो देशद्रोही ठहर्याएको थियो भारत सरकारले । आइजीको विशेष दौडाहामा प्रदर्शन गरिने नाटक थिएछ । अमीरले ५ जना कैदी साथमा लिएछ । गाडी चोर, डाकू, नेता मार्ने हत्याराहरू र अमीर स्वयंले नाटक खेलेछ । 'द टेलिग्राफ'ले विशेष कभरेज दिएको यो घटनाले जेलबाहिर निकै सनसनी मच्चाएको थियो ।

अमीर उपद्रव कतिसम्म भएछ भने जलपाइगढी जेलमा हुँदा अमीरले क्रान्तिकारी गीतै मात्र गाउने । जेलर राँक्किएछ । सुपरिटेन्डेन्टले अमीरको गायनमा ब्यान्ड नै ठोकेछ । स्वतन्त्रता दिवसको अवसरमा आयोजित देशभक्ति कार्यक्रममा 'यो आजादी झूटो छ' बोल भएको गीत कुन जेलरले सहला ? कैदीको खाना मान्छेको खानाजस्तो हुँदैन थिएछ । अमीरले कविता लेखेछ कैदी साथीको नाममा

'माछा किन सानु हुन्छ सन्त्रीलाई सोधः रोटी किन काँचो हुन्छ डिजेललाई सोध'

कैदीको खानाको खर्चमा जेलभित्रै हुने हिनामिनामाथि व्यंग्य कसिएको यो कविताको दम यसप्रतिको प्रतिक्रियाले प्रमाणित गर्छ । 'रोहित'को नाममा यो कविता जब जेलको भित्तेपत्रिकामा देखा.पर्छ, रोहितलाई लगेर जेलरले चापेछ । भोलिपल्टदेखि खानाको रूप-रङ फेरिएछ । माओवादीले जे-जे चाहन्छ, त्यो- त्यो दिनू - हाइकमान्डबाट अर्डर आएछ । भारतमा नेपाली भाषी बन्दीमा सम्भवतः पहिलोचोटि राजनैतिक बन्दीको दर्जा पाउनेहरूमा अमीरहरू थिए ।

चकचके अमीर र एक्ले छत्रे

जेलले सेलको दैलो दिनभरिमा ३ पल्ट खोल्छ, ३ पल्ट बन्द गर्छ र ६ पल्ट कैदी गन्ती गर्छ । अमीर प्रायै सेलबाहिरै हुने । उसको भेट हुनथाल्यो- छत्रे सुब्बासँग । गोर्खाल्याण्ड आन्दोलन तुहायो भनेर फेब्रुअरी, सन् २००१ मा सुवास घिसिङलाई रकेट लञ्चरले हमला गरेको भन्ने आरोपमा फँसिएका जङ्गी नेता छत्रे प्रायः सेलबाहिर एक्लै बस्न रूचाउने ।बाहिर बाघजस्तै छवि भएको छत्रे जेलभित्रको बिरालो समातेर अमीरलाई भन्थे, 'अमीर आऊ यता । यसको कान कैंचीले काटेर बाघजस्तो मिलाएर काटिदेऊ ।' आउँदो सुनवाइपछि म छुट्छु भन्ने आशा गर्थे । सुनवाइ हुने । तर, फेरि उनी त भित्रको भित्रै । १० वर्ष ५ महिना १४ दिनपछि मात्र छुटे छत्रे ।

वैद्य, छत्रे र अमीर

अमीर भन्छ- मोहन वैद्य मिलनसार थिए । बाहिरबाट आएको फलाहार, लुगाफाटा बाँड्थे ।छत्रे सधैँ अङ्ग्रेजी पेपर पढ्छन् । सफा-सुकिलो बस्छन् । योगासन गर्छन् । माओवादी मोहन वैद्य जेलमा बिमार थिए । वैद्यलाई छत्रेले कपालभाँती सिकाए । वैद्यले गरे । केही निजात पनि पाए । छत्रे नङ पनि घोटिरहने । अमीरहरू जेलमा ३ दिन भोक हड्ताल बसे । छत्रे सधैँझै एक्लै । उब्रेको रोटी सुकाएर त्यही रोटी पोली खाना बनाउने । अरूले पकाएको खाँदैनन् छत्रे । सिल्भरको थाल-बटुका कुच्याएर बनाइएको कराही-डेक्चीमा छत्रे खाना पकाउँछन् ।छत्रे कुरा हाँक्छन्, 'म जेलमा भएकोले गोर्खाल्याण्ड हुन ढिल्याइ भइरहेको छ ।'

'बाहिर निस्केर के गर्नुहुन्छ ? ' अमीर सोध्थ्यो ।छत्रे भन्थे, 'पहिलाजस्तै गर्ने । जिपमा पानी ल्याउने, हुटेलमा सप्लाई गर्ने ।'मोहन वैद्यले दुःख पाएछन् जेलमा । नेपाली किताबै नपाइने । बङ्गला सिकाएछ अमीरले । केही दिनमै भारतीय दर्शनमाथिको बङ्गला किताब सरसरती पढ्ने भए । सबै छक्क मात्र पर्नुपर्ने ।अमीरले सोधेछ वैद्यलाई, 'तपाइँले यो नबुझिने भाषामा यो किताब कसरी पढ्नुभयो ? ''सबै संस्कृतजस्तो हुँदो रहेछ', भनेछन् वैद्यले ।

उर्दू पत्र लेखक

जलपाइगढी जेलमा नाजिर अहमद गाँजा ओसारपसार मामिलामा कैदी थियो । लगभग ४५ वर्षका नाजिर दार्जीलिङे हुन् । नाजिर १३ वटा भाषा जान्दथ्यो । अमीरको नाजिरसँग दोस्ती बढ्यो । भाषाकर्षण पनि थियो त्यो । अमीरले उर्दूमा लेखपढ गर्ने भयो, नाजिरलाई गुरू थापेर । पछि-पछि त मुसलमान कैदीहरूको पत्र लेख्ने, पत्र पढ्ने पत्रलेखक भयो अमीर । भाषा कति शक्तिशाली हुन्छ भने भाषाले मान्छेलाई तान्छ ।

murti-3

जेलमै बसी-बसी मोहन वैद्य र सिपि गजुरेलको स्केच बनाएर नेपाल पठाएको थियो अमीरले । चित्र बनाउनुको कारण विशेष सुविधा पाउँथ्यो । अलिपुरद्वार जेलमा गएको एक महिनामा अफिसको कामकाज गर्ने भयो । कोठा बाहिर अरूभन्दा बढी समय बिताउन पाउने उहि थियो ।

आम मान्छेको मूर्ति

सन् २००४ मा जेल पसेर सन् २००६ मा बाहिर निस्कँदा शायद दुनियाँ अर्कै भएको आभास अमीरलाई भयो ।तर, अमीरको पिकअप ठीक थियो । एकताका माओवादी समर्थक अहिले मूर्तिकार भएर चम्कियो । अमीरले केवल नाम चलेका ठूलाठूला व्यक्तित्वहरूको मूर्ति बनाउँदा-बनाउँदा वाक्क भएको पनि खुलासा गरेको छ । उसलाई अब आम मान्छेको मूर्ति बनाउने इच्छा छ । आम मान्छे, जसलाई समाजले देखेर पनि देख्दैन, देख्न चाहँदैन, जसले युद्धमा सधैँ हार्छ । जसको हारको कथा कसैले लेख्दैन । हो, आम मान्छेको मूर्ती बनाउने 'मुड'मा छ अमिर ।

हिमालको मान्छे समुद्रमा

२ शताब्दीअघि ब्रिटिशहरूले उपनिवेश बसाएको माटो । संसारकै सबैभन्दा व्यस्त महानगर- मुम्बई । साम्राज्यवादी ग्लोबलाइजेशन एवम् युद्धको विरोधमा यही शहरको किनारमा गोलबद्ध भएका छन् दक्षिण एशियाली र मध्यपूर्वी मुलुकका ६० हजार किनारीकृत शिरहरू । एमआर २००४, मुम्बई रेजिस्टेन्स । इन्टरनेशनल क्याम्प, थेसालोनिकी रेजिस्टेन्स, ग्रीस उभारपछिको धरोहर प्रतिरोध उत्सव थियो एमआर । मुम्बईको आकाशमा 'अमेरिकी साम्राज्यवाद मूर्दाबाद' को नारा घन्कँदै थियो।

'हिमालको मान्छे समुद्रमा भेट्यौं', शङ्खकीरा थुपार्दै आइपुगेका अमीरलाई पार्थ उर्फ राम कार्कीले भनेछन् ।समुद्रीहावाको झोंकाले पार्थको त्यो ठट्यौली वाक्यलाई कुनै गहिरो अर्थ दिइरहेको हुँदो हो । एक दिन अमीरले फेसबुकमा लेख्यो-'मानिसजस्तो मान्छेको मूर्ति बनाएँ कहिले मूर्ति जस्तै मान्छेको नि मूर्ति बनाएँ कहिले ।'

सबै तस्बिर: काैस्तभ चाैधुरी

प्रतिकृया दिनुहोस

Annapurna Post1140X100