MENU

'बाबु धर्नामा, छोरो तस्करीमा'

माधव ढुङ्गेल शनिवार, चैत ५, २०७३ 47156 पटक पढिएको

Share This

डेस्टिनेसन लालका पुल

'लालका पुलसम्म मात्र हो, वीरगन्ज जाँदैन', ठूल्ठूलो स्वरमा भन्दै थिए टाटासुमोका गुरुजी (ड्राइभर)। लालका पुल अर्थात् सिमरा-जितपुरबीचको रातो पुल।'त्यहाँभन्दा तल किन नजाने? '

उनले सहजै जवाफ दिए, 'लालका पुल नै मितेरी पुल हो कि जस्तो बनाइसके हजुर, फोरम (मधेसी मोर्चा)का नेताहरूले। त्यहाँभन्दा अगाडि जानै मुस्किल छ।''५ बजेपछि त बन्द खुलिहाल्छ, खुलेपछि वीरगन्ज नै जाँदा हुँदैन ? ', ड्राइभरसँगैको सिटमा बसेका मनोज नाम बताउने एक यात्रुले भने। उनी मोटर पार्टस्को व्यापार गर्दा रहेछन्।

'भोलिदेखि पनि खुल्ने भर छैन। वीरगन्जसम्म पुग्ने कुरै नगर्नुस्, जितपुर उता जाँदै जाँदैन। मैले अहिले नै भन्देको छु, भरे किचकिच गर्न पाइँदैन', गुरुजीले अडान राखे।

मधेस केन्द्रित दलहरूले तराई-मधेसमा फेरि बन्द-हडताल सुरु गर्दा त्यसबाट प्रभावित हुनेहरू त्रसित देखिन्थे। सायद नौ महिना नाकाबन्दी हुँदाको सन्त्रास बाँकी नै छ। फागुन २५ र २६ गते दुई दिनको यातायात बन्दमा वीरगन्ज फेरि सुनसान भयो। यद्यपि जितपुर-सिमराबीचको लालका पुलउत्तर चाहिँ गुल्जार देखियो। वीरगन्जदेखि आउने-जाने सबै सवारीसाधन सिमराबाटै छुटे, त्यहीँ रोकिए।

'आन्दोलन हुनेबित्तिकै वीरगन्ज सिमरामा आइपुग्छ। वीरगन्ज क्षेत्रमा खुल्ने कारखाना पनि भैरहवा, नेपालगन्जतिर गए भन्छन्', गुरुजीले चिन्ता व्यक्त गरे, 'आन्दोलनले उजाडै पार्ने भयो। पहिला औद्योगिक राजधानी भन्थे, अब त खण्डहर भइसक्यो।' वीरगन्ज र यसको आसपासका बासिन्दाले भैरहवा-बुटवल वा नेपालगन्ज-कोहलपुर क्षेत्रको ६ लेन सडक देख्ने हो भने आन्दोलनकारीलाई के भन्थे होलान्, सहजै अनुमान गर्न सकिन्छ।

बल्खुबाट चार घन्टामा हेटौंडा पुग्ने हालसम्मको सबैभन्दा छोटो मोटरबाटो अहिले यात्रुको रोजाइमा छ। दिउँसो काठमाडौंको काम सकेर फर्कन भ्याइन्छ यो बाटोबाट। बाटो सद्दे हुँदो हो त तीन घन्टामै हेटौंडा पुगिन्थ्यो। अहिले भने सडक विस्तारको धुलोले यो सडक काठमाडौंभन्दा चार गुणा धुलाम्मे छ।

'सप्तरी काण्ड'पछि सुरु भएको मधेसकेन्द्रित दलको आन्दोलनको मारमा छन् मधेस जाने यात्रु। 'भाडा त आठ सय रुपैयाँ लाग्छ, त्योभन्दा कममा हुँदैन हजुर', गुरुजीले कारण बताए, 'आउँदा तीन जनामात्र लिएर आएको। त्योभन्दा कममा त सकिँदैन।''मलाई टिकट पनि आठ सयकै दिनुहुन्छ ? ', प्रश्न गरेँ।

उनले जवाफ दिए, 'तपाईंलाई ठग्न अलि डराएर ती दुइटा गाडीले सिट छैन भनेर नलगेका। टिकट पाँच सयभन्दा बढीको दिन मिल्दैन।' सायद मलाई अरूभन्दा सुकिलो देखेकाले आँट नगरेको हुनुपर्छ तिनले।

गाडी चढ्ने नौ यात्रुमध्ये सात मधेसी मूलकै छन्। उनीहरू सबैलाई वीरगन्जसम्मै पुग्नु छ। तर, बाराको जितपुरबाट वीरगन्जसम्मको २० किलोमिटर कसरी पार गर्ने भन्नेमा सबै चिन्तित थिए। लगभग साढे २ बजे बल्खुबाट छुटेको टाटासुमो साँझ ८ बजेसम्म जितपुर पुग्ने अनुमान छ।

गुरुजी भने यो अनुमानमा पनि असहमति जनाउँछन्, 'म चाहिँ ८ बजे पुग्ला भन्न सक्दिनँ। कति ठाउँमा जाम पर्छ ? ' वीरगन्ज पुग्ने यात्रुलाई भाउन्न छुट्छ, त्यसपछि उता कसरी जाने !

मातृभाषा भोजपुरी भएका एक यात्रुले भने, 'मोटरसाइकल त पाइन्छ। जितपुरदेखि वीरगन्ज पुर्‍याएको भाडा भने काठमाडौंबाट आइपुग्ने जत्तिकै लिन्छ। बहुत लुट छ यहाँ।'

अन्योलबीच हामीलाई बोकेर हिँडिरहेको टाटासुमो हाँकिरहेका गुरुजी गफिइरहेछन्। पहाडी मूलका सँग खस भाषा र मधेसी मूलका सँग भोजपुरी दुवै भाषामा सराबरी गफ गरिरहे। प्रसंगमै नाम-वतन सोधेँ। उनले जवाफ दिए, 'नागरिकतामा त अर्कै छ, बोलाउने नामचाहिँ शंकर। घर यहीँ जितपुर हो।'
'के हो र नागरिकताको नाम ? ', मैले कोट्याएँ। 

'इमानदारीपूर्वक १५ दिनमात्र काठमाडौंमा पेट्रोल र ग्याँस रोकेको भए त्यसै बेला पूरा हुन्थ्यो मधेसको माग', टाटासुमोका गुरुजीले भने, 'त्यस बेला बाउ नाकामा धर्ना बस्ने, छोरोचाहिँ तस्करी गर्ने गरे।'

उनले अनकन गर्दै घुमाउरो जवाफ फर्काए, 'न्वारनकै नाम छ नागरिकतामा।'उनले भन्न नचाहे पनि मैले आफ्नो हठ छोडिनँ। अति गरेपछि सर्मिन्दा मुस्कानसहित भने, 'फटाहानन्द खनाल। न्वारनको नाम बुवाले राखेको हैन, पण्डितले राखिदिएका। यस्तै राखेछन्, के गर्नु ? फेर्न नमिल्ने।' नागरिकताको नाम जे भए पनि मान्छे भने सज्जन र फरासिला रहेछन्।

आठ सय दरमा भाडा उठाएपछि नौजना यात्रु बोकेर गाडी अघि बढ्यो। मैले सोधेँ, 'तपाईंले हामीले तिरेकोमध्ये कति पैसा लिएर हिँड्नुभो ? तिघ्रा भत्ता कति छाड्नुभो ? ' टिकट काउन्टरमा बस्ने तिघ्रेहरूलाई सवारीसाधनले प्रतिट्रिप निश्चित रकम दिन्छन् भन्ने जानेरै सोधेको थिएँ।

'अरू बेलामा नौजनाबाट ४५ सय उठ्छ, त्यसमध्ये गाडीले ३८ सय रुपैयाँ पाउँथ्यो। सात सय तिघ्रेले खान्थे। अहिलेचाहिँ मलाई ६ हजार दिए', उनले सोझो हिसाब बताए। साहूले उनलाई दिँदो रहेछ— मासिक ६ हजार तलब। अनि एकपटक आतेजाते गरेको एक हजार रुपैयाँ भत्ता। 'अहिले यो सुमोको साढे ३१ लाख रुपैयाँ पर्छ, महिनाको ३५ हजार कमाइ भए त आफैं किनिन्थ्यो', उनले भने।

पिताजीसँगै काभ्रेबाट ०३७ सालमा बारा बसाइँ झरेका रहेछन्, गुरुजी। उनको लवज स्वभाव सबै भोजपुरी मातृभाषा हुनेको भन्दा केही फरक छैन। आवाज भने ठूलो छ, झगडा हो कि सल्लाह छुट्ट्याउनै मुस्किल पर्छ। ठूलो स्वरमा मात्र बोल्छन्।

'भोजपुरी त बोल्नै पर्‍यो, थारूटोलमा घर छ', उनले सुनाए, 'पहिले पहाडिया १३ घर थिए, अब त हामी तीन घरमात्र बाँकी छौं। अलि हुनेखाने पैसावालहरू हिँडे, हामी त नहिँड्ने। छरछिमेकीको धम्की कहिल्यै आएन, त्यसै हिँडेका। पैसा धेरै भएपछि अलि डर हुन्छ नि त !'

बल्खुबाट अघि बढेको टाटासुमो १० मिनेट पनि नहुँदै धुलोको कुहिरीमण्डलभित्र डुब्दै अघि बढ्छ। भत्केको गाडीभित्रका यात्रु लंगुरबुर्जाका गोटीजस्तै हल्लिन्छन्। हिँडेको झन्डै दुई घन्टा पुग्दा गुरुजीको अनुहार सडकको निःशुल्क पाउडरले चिन्नै गाह्रो हुने गरी फेरिइसकेको छ। यस्तै 'फगी डस्ट' सिस्नेरी नपुगुन्जेल पाइरहिन्छ।

'फाखेल भएर जाऊँ न', मैले भनेँ।गुरुजीले भने, 'जान त हुन्थ्यो तर के गर्नु ? बन्द छ। फाखेलको बाटो त सिस्नेरीभन्दा सात किलोमिटर छोटो पनि पर्छ। पहाडको बाटो सात किलोमिटर भनेको निकै छोटो हो। पीच पनि भइसक्यो तर खुलेको छैन। यो धुले बाटो पिच गर्ने बेलामा त त्यो खोल्ला नि।'

बाटोमा बाक्लै भेटिन्छन्— गिट्टीढुंगा बोक्ने टाटाकै टिपर। बाटो उबडखाबड बनाउन धेरथोर योगदान यी टिपरको पनि छ। गुरुजी जोडले हर्न बजाउँछन् तर टिपरले साइड दिँदैन। ठूलो हेभी गाडीले बेस्सरी धुलो उडाउँछ।

बाटो नै देख्न मुस्किल पर्छ, उनी गाडी एकछिन रोक्छन्। 'के हर्न सुन्थ्यो, यो बाटोको डन नै यिनै हुन्', गुरुजी भन्छन्। धेरै कुदाएर अर्कोलाई जित्न पनि चाहँदैनन्। भन्छन्, 'मलाई पनि चाँडै घर पुग्न, परिवारसँग बस्न मन छैन र ? मैले मेरोमात्र हैन, यी सबै यात्रुको घरमा खुसी पुर्‍याउनुपर्छ। मैले हतार गर्दा ठूलो क्षति हुनसक्छ।'

झ्यालमा बस्ने यात्रुले हेटौंडा पुगेर ऐना हेर्‍यो भने आफैंले आफूलाई चिन्दैन। बाटोको लिक पहिल्याउनै मुस्किल भए पनि दैनिक अभ्यासले खारिएका गुरुजी भन्छन्, 'बल्ल एक वर्ष हुन लाग्यो, सडक बढाउन थालेको। अब डेढ वर्ष जतिमा पूरा होला, त्यसपछि त दुईतर्फी गाडीलाई साइड पुग्छ। चार घन्टामा आरामले वीरगन्ज पुगिएला।'

गुरुजीले विगतमा पटकपटक भएका मधेस आन्दोलन भोगेका छन्। नयाँ संविधान जारी भएपछि भारतले लगाएको अघोषित नाकाबन्दी र ६ महिनासम्म वीरगन्ज बन्द हुने गरी भएको मधेस आन्दोलनको अनुभव पनि छ। उनीजस्तै भोगाइ छ यो रुटमा चल्ने करिब १२ सय टाटा सुमोका ड्राइभरको।

संविधान जारी भएपछि भारतले गरेको नौ महिना लामोे अघोषित नाकाबन्दी र वीरगन्ज केन्द्रित आन्दोलनको पीडा पनि गुरुजीले राम्ररी भोगेका छन्। दिनदिनै फरकफरक यात्रु बोकेर गफिँदै हिँड्ने उनीसँग सूचनाको पनि कमी छैन। उनी राजधानीका राजनीतिक विश्लेषकभन्दा कम लाग्दैनन्, कुरा गर्दा।

'इमानदारीपूर्वक १५ दिनमात्र काठमाडौंमा पेट्रोल र ग्याँस रोकेको भए त्यसै बेला पूरा हुन्थ्यो मधेसको माग', गुरुजीले भने, 'त्यस बेला बाउ नाकामा धर्ना बस्ने, छोरोचाहिँ तस्करी गर्ने गरे। सर्वसाधारणलाई मर्का पर्‍यो तर पैसावाललाई ग्यास-पेट्रोलको खाँचो भएन। एक सिलिन्डर ग्यास १५ हजारसम्ममा बेचे। साढे सात हजार त रेट नै थियो।'

झन्डै वर्ष दिन लगातार भएको आन्दोलनको मारमा वीरगन्जका धेरै व्यवसायी मारमा परे। 'धेरै देखियो हजुर ! सोझो धन्दा गर्ने धेरै करोडपति व्यापारीहरू रोडपतिमा झरे, अनि दुई नम्बरी गर्नसक्ने धेरै रोडपतिचाहिँ यही अवधिमा करोडपति बने', गुरुजीले सुनाए, 'सुरुदेखि नै पेट्रोल र ग्यास ओसार्ने हाम्रै धेरै साथीभाइले ६ महिनामा आफैं टाटासुमो किन्ने पैसा पनि कमाए। हामी सोझो धन्दा गर्ने परियो। सात-आठ लाख रुपैयाँमात्र कमाउन पाएको भए त किस्तामा किन्न सकिहालिन्थ्यो नि !'

प्रतिकृया दिनुहोस

Dish latest