MENU

परिवारकाे निम्ति

वन्दना ढकाल शनिवार, चैत ५, २०७३ 1145 पटक पढिएको

Share This

नेपाली भाषामा बच्चालाई पढाउने कथा वा अन्य सामग्रीको उपलब्धता अत्यन्तै न्यून छ । अनुदित सामग्रीले नेपाली सहरिया बालबालिकाले केही मात्रामा पढ्ने खुराक पुर्‍याइरहेका छन् । ग्रामीण क्षेत्रका विद्यार्थीमा त त्यो पनि पुगेको छैन । अनुदित पुस्तकहरूमा पनि अधिकांश परीकथा, जादुकथा, रहस्य, भूतप्रेत र धार्मिक कथा भएका पाइन्छ ।

ह्यारी पोर्टरजस्ता विषयले बच्चाको मनमस्तिष्कलाई रहस्य र भूलभुलैयातिर लगिरहेका छन्, त्यसका काल्पनिक संसारमा रमाउने र संवाद गर्ने गर्छन् । तर, वैज्ञानिक आधार भएका विषयवस्तुबारे बच्चालाई शिक्षित गराउने काम निकै कम छ, त्यही अभावयुक्त समयमा बच्चा र किशोरकिशोरीलाई दिन मिल्ने खुराक भर्खरै प्रकाशित भएको छ । आकाश महर्जनको ‘विज्ञान जिज्ञासा भाग-३ ।'

अन्डा पहिले कि कुखुरा ? पाद किन गन्हाउँछ ? पानीले आगो कसरी निभ्छ ? आदि व्यावहारिक जीवनसँग सम्बन्धित प्रश्न मानवको सिकाइको तहबाटै विकास भएको पाइन्छ । यस्ता कुरा मानिसका लागि जिज्ञासाका रूपमा रहेका हुन्छन् । मानिस वयष्क भएपछि त्यसको उत्तर खोज्न सक्ला वा यस्तै हो भने थाहा पाउला । तर, बच्चालाई कसरी उत्तर दिने हो, के भन्ने हो यसका बारेमा अभिभावकलाई सकस पर्न सक्छ ।

बच्चालाई चित्तबुझ्दो तरिकाले बुझाउन सकिएन भने उसको दिमागमा नकारात्मकताले बास गर्न सक्छ वा कुनै वस्तुप्रति सन्देह नै नउठ्ला । यसैलाई मध्यनजर गर्दै बालबालिकामा उठ्न सक्ने कौतूहललाई केही मात्रामा शमन गर्नका लागि तयार पारिएको छ ‘विज्ञान जिज्ञासा भाग-३' । दैनिक जीवनमा घटिरहेका तर हेर्दा सामान्य लाग्ने घटनाहरूसँग विज्ञान जोडिएको कुरा हामीले वास्ता गरेका हुँदैनौं तर त्यही दैनन्दिनका घटनालाई वैज्ञानिक अध्ययन गर्दा त्यसबाट निकै उपयोगी तथ्यहरू थाहा पाउन सकिन्छ भन्ने उदाहरण यस पुस्तकले पेस गर्दछ ।

‘विज्ञान जिज्ञासा भाग-३' २९ वटा वैज्ञानिक जानकारीमूलक लेखको समुच्चय हो । यसमा विज्ञानका कुनै सूत्र वा टेस्टट्युबमा प्रयोग गरिने रसायनका बारेमा गलफत्ती छैन । हामीले देखेका, भोगेका व्यवहार, जवाफ नपाएका प्रश्न, हार मानेर छोडेका कुरालाई सरल तरिकाले वैज्ञानिक आधारसहित बुझाइएको छ । पेसाले शिक्षक, ‘नवयुवा' मासिक पत्रिकाका सहायक सम्पादक, पढाइले भौतिक विज्ञानका विद्यार्थी आकाश महर्जन यस पुस्तकको श्रेय ती विद्यार्थीलाई दिन्छन्, जसले शिक्षक भएर पनि अध्ययन गरिरहनुपर्छ र जिज्ञासु भइरहनुपर्छ भनेर याद दिलाउँछन् ।

सामान्यतयाः हामी अभिभावकहरू बालबालिकालाई स्कुल जान थाल्दा बित्तिकै गृहकार्यको तनावतिर धकेल्छौं । अनौपचारिक तर बच्चालाई रमाइलो गरी दिइने शिक्षाबारेमा भने एक क्षण घोत्लिन पनि गाह्रो मान्छौं । आमाबाबुका साथै विद्यालयले जति गुणस्तरयुक्त समय खर्च गर्छौं त्यति नै बच्चाको समय र पढाइ गुणस्तरीय हुन्छ । यसप्रति ध्यान नदिई बच्चालाई एकोहोरो विषयवस्तुप्रति शंका होइन कि रटान र पेलानमा लैजाने पद्धतिको विकास भइरहेको छ । त्यसैले प्रस्तुत पुस्तकमा त्यस्ता अनौपचारिक प्रक्रिया र पद्धति छन् जसले सजिलै बालबालिकालाई पढाइप्रति आकर्षित गर्न सक्छ, वस्तुप्रति सन्देह, छलफल र निष्कर्षमा पुग्न सहयोगी हुन्छ ।

बढ्दो उमेरसँगै बालबालिकाहरू घर, समाज र स्कुलमा अनेक खालका व्यावहारिक र पढाइगत समस्यामा फँसिरहेका हुन्छन् । कुनै समस्याबारे उनीहरू खुलेर आमाबाबुसँग कुरा गर्न सक्छन् । जस्तैः समुद्रको पानी किन नुनिलो हुन्छ ? जाडो मौसममा किन रुघा बढी लाग्छ ? बिरालोको आँखा राति कसरी चम्किन्छ ? चट्याङ के हो ? हात्ती किन उफ्रिन सक्दैन ? पानीले आगो कसरी निभाउँछ ? सुपरमुन के हो ? जस्ता समस्या वा कौतूहल अवश्य आउँछ । यसबारे घरमा छलफल गर्न सक्छन् । यसको वैज्ञानिकताबारे पनि प्रस्ट पार्न सक्लान् तर प्रेम र बिछोडको बारेमा आमाबाबुसँग खुलेर कुरा गर्ने अवस्था नेपाली समाजमा आइसकेको छैन ।

 पुस्तकमा बिछोडको विज्ञानबारेमा पनि जानकारी दिइएको छ । प्रेम पर्दा ठेलीका ठेली साहित्य सिर्जना भएका छन् भने बिछोडमा पनि वियोगान्त साहित्य निर्माण भएका छन् । यो वियोगान्त साहित्य लेख्न प्रेरित गर्ने बिछोड तत्वव सिर्जना गर्ने कुन अवयव हो ?

यही समय हो जुन बेला बालबालिकामा भइरहेको उमेरगत परिर्वतनका कारण विपरीत लिंगीप्रतिको आकर्षण बढेर जान्छ । त्यस्तोमा ‘प्रेमको विज्ञान' र ‘बिछोडको विज्ञान'जस्ता लेख हुर्कने उमेरका बालबालिका र युवावयकालाई अत्यन्तै उपयोगी हुनसक्छ । ‘कहिल्यै प्रेममा पर्नुभएको छ भने तपाईंलाई अनुभव होला कि प्रेममा परेको समयमा हरेक चिजले खुसी बनाउँछ । खुसी हुनका लागि खासै त्यति ठूलो कारण नै चाहिँदैन किनभने ती स-साना कुराहरू नै पनि अब मस्तिष्कको प्लेजर सेन्टरलाई सक्रिय बनाउन सक्षम हुन्छन्, (पृ.१३५) ।' किशोरकिशोरलाई आमाबाबु भन्दा साथीसंगाती र प्रेमीप्रेमिकाका कुरा यथार्थ लाग्न थाल्छ र अभिभावकसँग द्वन्द्व बढ्न सक्छ । यदि आमाबाबुले पनि प्रेमप्रतिको मनोवैज्ञानिक भावनालाई मनन् गरी बालबालिकालाई बुझाउन सके भने उनीहरूको जीवन सही मोडतर्फ लाग्न सक्छ । यसरी प्रेममा कुन तत्ववले काम गरेको हुन्छ भन्ने थाहा पाउन मद्दत गर्ने विज्ञानले बिछोड केहो भन्ने बारेमा पनि त जानकारी देला नि ?

महर्जनको प्रस्तुत पुस्तकमा बिछोडको विज्ञानबारेमा पनि जानकारी दिइएको छ । प्रेम पर्दा ठेलीका ठेली साहित्य सिर्जना भएका छन् भने बिछोडमा पनि वियोगान्त साहित्य निर्माण भएका छन् । यो वियोगान्त साहित्य लेख्न प्रेरित गर्ने बिछोड तत्वव सिर्जना गर्ने कुन अवयव हो ? यसबारेमा पुस्तकमा चिरफार गरिएको छ, रमाइलो तरिकाले । ‘हामीलाई सामान्य घाउ वा चोटपटक लाग्दा हाम्रो दिमागको पछिल्लो भाग एन्टिरियोर सिंकलेट कोर्टेक्स सक्रिय हुन्छ । वास्तवमा यो मस्तिष्कको त्यही भाग हो, जुन बिछोडको समयमा सक्रिय हुन्छ । त्यसैले शारीरिक चोट र भावनात्मक चोट हामीले सोचेजस्ता फरक सायद छैन, (पृ.१२८) ।' बिछोड वा दुःखको सम्बन्ध केवल मनसँग हुन्छ भनेर पन्छिनेका अगाडि भने ‘बिछोडको विज्ञान'मा तथ्यपूर्ण तरिकाले यसबारे चित्रांकन गरिएको छ । विद्यार्थीलाई पढाइको सधैं तनाव रहन्छ ।

त्यस्तैमा शिक्षकले भनेका कुराहरू सर्लक्क आफ्नो दिमागमा फिट गर्न पाए भन्ने लाग्ने गर्छ । कतिपयलाई त लाग्दो हो, शिक्षकको दिमाग वा पूरै पुस्तक आफ्नो दिमागमा सार्न पाए ? मस्तिष्क पनि कम्प्युटरजस्तै भइदिए शिक्षकका क्षमता डाउनलोड गरेर आफ्नो दिमाग राख्न हुन्थ्यो नि भन्ने सोचाइ पनि आउँछ । विभिन्न वेभसाइटका सामग्रीलाई डाउनलोड गर्न सकिन्छ भने यो मस्तिष्कलाई डाउनलोड गर्न सकिन्छ कि सकिँदैनहोला ?

यही कुतूहल शान्त पार्ने लेख छ, ‘मानिसको मस्तिष्क डाउनलोड गर्न मिल्छ ? ' भौतिक वस्तुलाई अनेकन विकास गरेर, मानिसका विभिन्न अंगप्रत्यंगको चिरफार गरेर, एउटाको अंग अर्कोमा प्रत्यारोपणको क्रम नेपालमा सफल भइरहेको बेलामा यो मान्छेको मस्तिष्क पनि त डाउनलोड गरेर हेर्न र अध्ययन गर्न मिल्नुपर्ने हो नि हैन ? अत्यन्तै सफल, प्रतिभावान् र समाजलाई उपयोगी हुने व्यक्तिको मस्तिष्कलाई पनि त पेन ड्राइभमा जोगाएर राख्न सकिन्छ होला नि ? यसको बारेमा चित्तबुझ्दो जवाफ पुस्तकमा पाइन्छ ।

त्यसैगरी हामीले सानैदेखि ‘हुने बिरुवाको चिल्लो पात' भन्ने उखानले परिपूर्ण र ‘महान्' बनाइएका लेखक, कलाकार, वैज्ञानिक, आविष्कारक आदिका बाल्यकालका कथाहरू पढ्ने गरेका छौं । बच्चादेखि नै चतुर, बुद्धिमान, ज्ञानी, तेज दिमागको व्यक्ति भविष्यमा ‘ठूलो' बन्ने शिक्षा स्कुल, क्याम्पस, घरमा दिइरहेका छौं चाहे स्वयं आमाबाबु, शिक्षकका माध्यमबाट होस् या शैक्षिक सामग्रीका माध्यमबाट । ‘ठूलो र महान्' बनाउने ध्याउन्नमा व्यक्तिको क्षमता, चाहना र व्यक्तित्व विकासमा बाधा पुर्‍याइरहेका त छैनौं, यही विषयतर्फ ध्यानाकृष्ट गराउने काम ‘कोही मानिस जन्मदै प्रभावशाली हुन्छ त ? ' लेखमा गरिएको छ ।

व्यक्तिमा रहेको क्षमतालाई विशेष किसिमले प्रशिक्षित गरियो र उसको क्षमता निर्खानका लागि उपयुक्त वातावरण सिर्जना गरियो भने मात्र उक्त व्यक्तिलाई प्रभावशाली बनाउन सकिन्छ । मान्छेको प्रतिभा सँगसँगै उसँग खास भौतिक वातावरण हुनुपर्छ जसले निर्धारित लक्ष्यका लागि तयार पारोस् । हो, त्यही तथ्यमा टिकेर मानिसमा हुने प्रतिभा, जिन र भौतिक वातावरण अर्थात् परि श्रमको त्रिकोणात्मक सम्बन्धसहित मानिस ‘प्रभावशाली' हुने विश्लेषण गरिएको छ ।

यसरी हेर्दा पुस्तक साना ठूला कौतूहलताको वैज्ञानिक समन गराउने खुराक हो, जसमा हामी साना वा ठूला व्यक्तिहरूले रहस्यमा राखेका, उत्तर दिन नसकिने वा असम्भव ठानेर बालबालिकालाई टालटुल पारेका विषयलाई वैज्ञानिक कारणसहित खोतलिएको छ । बाल्यकालमा हप्काएर वा टालेर दिइएको जवाफ चाहिँ युवाकालका व्यक्तिलाई पनि दिन सकिने शैली यहाँ प्रस्तुत गरिएको छ । एक सय ९० पृष्ठ, २९ वटा विविधतायुक्त शीर्षक र प्रश्न उत्तरसहितका चित्रले पुस्तकलाई सहज, सरल र रोचक बनाएको छ । चित्रकलाका सशक्त प्रतिभा दीपमाला महर्जनको चित्रले किताब पढ्नेलाई झर्को लाग्दैन । विज्ञान भन्ने विषय नै रोचक हुने हुँदा साथै आफूले नै भोगेका, मनमा बसेका प्रश्नको उत्तर पुस्तकमा संलग्न लेखहरूले दिँदा पढ्दा रमाइलो लाग्छ । तर कतिपय शाब्दिक त्रुटिहरूले गाँसमा ढुंगो लागेको आभास हुन्छ । लामालामा वाक्य, कुनै कुनै शब्दले अनर्थ दिँदा सम्पादनमा कम ध्यान दिइएको थाहा हुन्छ ।

विज्ञान विषयलाई रहस्यमा छोडिदिने नेपाली समाजमा यस पुस्तकले बालबालिका र युवायुवतीलाई वैज्ञानिक तरिकाले सोच्न प्रेरित गर्छ । साथै बच्चालाई काल्पनिक परीकथाका, जादुमयी कथा सुनाउनुभन्दा विज्ञानसँग सम्बन्धित र बच्चाकै जीवनमा ठोकिइरहने कथा भन्न सकियो भने उनीहरूमा घर गर्ने अन्धविश्वास पक्कै कम गर्न सकिन्थ्यो । त्यसका लागि ‘विज्ञान जिज्ञासा' पुस्तक बच्चाहरूका लागि मात्रै होइन, परिवारभित्र अभिभावकहरूका लागि समेत अत्यन्तै उपयोगी अध्ययन सामग्री हो ।

प्रतिकृया दिनुहोस

Dish latest