MENU

लोग्ने

डा. राजुबाबु श्रेष्ठ शनिवार, चैत ५, २०७३ 4279 पटक पढिएको

Share This

कविता 

जब तिमीले
मेरो जीवनको सेतो पन्नामा
मायाको गीत लेख्न छोडेर
पैसाको गीत लेख्यौं
त्यसै दिन उम्रियो
मेरो मनमा
घृणाको बिरुवा
कल्पनामा उभिएको
लोग्नेको सग्लो तस्बिर
त्यसै दिन
च्यतियो धर्धरी
आज पर्यन्त
कहिल्यै बनाउन सकिनँ
मेरो मनमा
पूर्ण चन्द्र जस्तो
लोग्नेको खुलेको तस्बिर।

Rajubabu-stha

मनको कुनामा
गौनाकै दिन
आँखैले भएपनि
तिमीसँग मनभरी बात मार्ने
लालसा थियो
जब खेतको लालपुर्जा देखेपछि
मलाई नै हेर्न भुल्यौ तिमीले
त्यसै दिन मर्‍यो
तिमीसँगको मेरो प्रेम।

तिमी भरिँदै भरिँदै गयो
म रित्तिँदै रित्तिँदै गए
माया गर्‍याैं कि गरेनौ
कहिल्यै महसुस भएन ।

कति भिजे आशुले सिरानी
तिमीलाई पत्तै भएन
बिनामर्जी लुट्यौ
मेरो गुलाबी जोबन
र जबरजस्ती बनायौ
तिम्रा भुराभुरिका आमा
मेरा पखेटाहरु कुन्जिए
मेरा सुन्दर प्वाखहरु झरे
जलेर खरानी भयो
मायाको एउटा सपना ।

त्यस पछिका यात्रा वर्ष
मैले कहिल्यै पाइनँ लोग्ने
कहिल्यै सोधेनौ तिमीले
के फुलेको छ तिम्रो मनमा ?
कुन बासना मनपर्छ तिमीलाई ?
मन नमिलेपछि
ओछ्यानका दुई कुना पनि
कोशौ दूर लाग्दो रहेछ।

मैले सोचेको
मेरो सपनाको राजकुमार
तिमी थिएनौ
कैयौपटक तिमीलाई
माया गर्ने कोसिस गरेँ
तर जति गर्दा पनि
मनको टारीखेतमा
तिम्रो लागि माया उमार्नै सकिनँ
जब जब तिमीलाई सम्झिन खोजेँ
मायाको क्यानभासमा
दुखीरामकै अनुहार पोतियो
विचरा दुखीराम
जसले मेरो खुट्टामा काँडा बिझ्दा
झिकेको थियो आफ्नो दाँतले
र निथ्रुक्क रुझेको थियो मेरो आँसुले
जो एक टुक्रा मायाको आशमा
अझै हेर्दै होला
आफ्नै रित्तो भाग्य ।

श्रीमान् !
आजकल हरेकपटक
तिमीसँग सुत्दा
दुखीराम आउँछ
मेरो अँगालोमा
अब तिमी नै भन म के गरूँ?
तिमीलाई लोग्ने भनूँ कि दुखीरामलाई ?

प्रतिकृया दिनुहोस

Annapurna Post1140X100