MENU

एउटा स्वप्निल पाठशाला

कला अनुरागी शनिवार, चैत ५, २०७३ 1474 पटक पढिएको

Share This

फागुनको पहिलो साता । नयाँ दिल्लीमा रोज्जा मौसम छ । गर्मीको ग्राफ उकालो चढ्न पाएको छैन, जाडोसँग सताउने सामथ्र्य सकिँदैछ । मोहक मौसमको आनन्दमा खुलेको मन लिएर पुगेका छौं मन्डी हाउसस्थित राष्ट्रिय नाट्य विद्यालय अर्थात् एनएसडी । गोधूलि साँझमा झिल्मिलाउँदै गरेको दिल्लीको अरू रौनक छोडेर एनएसडी गेटबाट भित्र पस्दै गर्दा झट्ट सम्झन्छु रंगकर्मी सुनील पोखरेलले उल्लेख गरेको प्रसंग, ‘सन् २००४ तिरको कुरा हो । नर्वेबाट फर्कंदै थिएँ । दिल्ली एअरपोर्टमा एकजना भारतीयसँग परिचय भयो । उनले मेरोबारे सोधे । मैले उनलाई थिएटर गरिरहेको र एनएसडी पढेको बताएँ । उनले त एक्कासि मेरो गोडा छोए । थिएटरप्रति निकै रुचि राख्ने तिनी एनएसडी प्रवेश परीक्षामा कत्ति गर्दा पनि पास हुन सकेका रहेनछन् ।'

त्यो प्रसंगले रंगकर्मीहरूको स्वप्निल पाठशाला एनएसडीको भव्य चित्र कोरिएको थियो मनमा । चित्रमा उत्रिएको कल्पनालाई वास्तविकतामा दाँज्ने अवसर पनि आँखैअघि फैलियो । साथमा थियो, मण्डला थिएटरका कला निर्देशक राजन खतिवडा नेतृत्वको रंगकर्मी समूह । फेब्रुअरीको पहिलो दिनबाटै सुरु भएको ‘१९औं भारत रंग महोत्सव'को कलात्मक ब्यानर छन् जताततै । उपहारादि सामग्री किन्न ‘थिएटर बजार' चलिरहेको छ, भोकले भरंग बनाए ‘फुडकोर्ट' त्यतै छ । पुस्तकादि चाहिए किताब बिक्री कक्ष खुल्लै छ । वरिपरिका भित्तामा अघिल्ला महोत्सवमा मञ्चित नाटकहरूको तस्बिर-कोलाज टाँगिएका छन् । भवन र मञ्चहरूबीचको ‘करिडोर' तथा ‘लवी'का संरचना हेर्दा लाग्छ, कुनै आर्ट ग्यालरीमा पसिरहेछु । तिनका भित्तामा नाटकका तस्बिरकथा छन् । एनएसडी ‘पास आउट' प्रसिद्ध रंगकर्मीका तस्बिर छन् ।

गेटैअघिको खुला चौरबीच एनएसडी महोत्सव बोर्ड चम्किएको छ, पृष्ठभागमा कुँदिएका छन् नाट्यमुद्राका अनुहारमूर्ति जीवन्त लाग्छन् । हाँगाहरूमा लालटिन झुन्ड्याइएका चौर छेउछाउका रूख परबाट हेर्दा दर्जनौं जून फलिरहेका बोटजस्ता देखिन्छन् । प्रकाशले नुहाइरहेको झम्के साँझमा एनएसडीको माहोल सुन्दर कविता पढ्नुजत्तिकै आनन्ददायी र रोमाञ्चक लाग्छ । मस्तिष्कमा झञ्झावात चलेजस्तो हुन्छ, रोम-रोम रोमाञ्चित हुन्छ । मनमा कसोकसो कल्पना र सपनाको नागबेली चुल्ठो बाटिँदै जान्छ । एउटा अतृप्त प्यासले चरक्क पार्छ छाती । निस्कन्छ सुस्केरा, ‘हामीकहाँ पनि यस्तै कलात्मक माहोल भइदिए !'

‘त्यसको लागि स्थान खै ? ', चौरमा बसेर चिया पिउँदै गरेका राजन चिन्ता व्यक्त गर्छन्, ‘चिया पिउनकै लागि अन्यत्र धाउन नपर्ने फराकिलो ठाउँ भइदिए !' दयाहाङ राईको सोचाइ बोल्छ, ‘कलाप्रेमीहरू निर्धक्कले बसेर छलफल र अध्ययन गर्न सक्ने स्थान बनाउन सके !' कलात्मक लबीमा सरसर्ती आँखा डुलाएपछि सिर्जना सुब्बा भन्छिन्, ‘यत्तिमात्रै ठाउँ भइदिए पनि हुन्थ्यो !' सरिता गिरी तस्बिर-कोलाज नियाल्दै बोल्छिन्, ‘सोचलाई साधनको अभावले पनि त साँघुर्‍याउँदो रहेछ !'
०००
अर्को साँझ चौरमा बसेर चिया पिउने समूहमा दयाहाङ राईका साथमा छन् नेपाल पत्रकार महासंघ, भारत शाखाका सचिव ऋषिराम अधिकारी । रंगप्रेमी अधिकारी नेपाली रंगक्षेत्रको हालचाल बुझ्न आतुर छन् ।

यता, दयाको अनुहार हेर्दा देखिन्छ- दिनभरि एनएसडीका नाटक र नृत्य-प्रहसनादिको कलात्मक माहोलले दिएको मुग्धता बेलुका हुँदै जाँदा तिक्ततामा फेरिँदैछ । मानौं, दिनभरि साथीसंगीसँग हाटमा रमाएको तन्नेरी बेलुका आफ्नो लथालिंग घरको सम्झनाले बिरक्तिइरहेछ । दयाहाङ भन्छन्, ‘एक दिन राष्ट्रिय नाचघर अघिबाट हिँड्दै थिएँ । गेटैमा पेन्टी र ब्रा झुन्ड्याएका थिए बेच्नका लागि । एकैछिन हेरिरहेँ, विरक्त चल्यो ।'

अत्याधुनिक ढाँचाकाँचामा बनेको छ काठमाडौंको केन्द्र जमलमा राष्ट्रिय नाचघर । तर, तिनका हलभाडा रंगकर्मीले तिर्नसक्ने हैसियतको छैन । नाटक गर्ने ठाउँ खोज्दाखोज्दै आफ्नै नाटकघरको सपना पन्पिन्छ उनीहरूमा । कमिलाले घर बनाउन माटो ओसारेजत्तिकै मेहनतले बनेका छन् केही निजी नाटकघर । तिनमा पसिना र मेहनतको जग त छ तर जग्गा छैन । जग्गा आफ्नो नहुन्जेल जग बलियो नहुँदो रहेछ । सोही मारमा परेर राजधानीका ढले आरोहण गुरुकुल र थिएटर भिलेजका घर । अरू चार थिएटर घर धरमराउँदै भए पनि धानिँदैछन् । अहिले राजधानीबाहिर पनि बन्दैछन् रंगघरहरू ।

तर, व्यक्ति र समूहस्तरका यी प्रयत्नबाट बेखबर छ राज्य । जसलाई रंगकर्मको रंगले कतै छोएको देखिँदैन । छन त, नेपाल संगीत तथा नाट्य प्रज्ञाप्रतिष्ठान छ । तर, आफ्नै करुण संगीत र दयनीय नाटक काफी छ उसका लागि । दयाहाङ दया देखाउँदै भन्छन्, ‘अब यहाँ एउटा महोत्सवका लागि सरकारले ६० करोड रुपैयाँभन्दा बढी बजेट दिएको छ । हाम्रो प्रतिष्ठानमा त उता सप्पै बजेट पो चार करोडको हुँदा रहेछ । कसरी पुर्‍याऊन् त ! त्यसमा पनि, सक्रिय रंगकर्मी प्रतिष्ठान पुग्दैनन् । जो पुग्छन्, उनीहरू ठान्छन्-मैले कम दुःखले आज्र्याको पद हो र नाटकको चिन्ता गरिबस्नु ? ' ऋषिरामतिर हेरेर दया अलिनो हाँसो हाँस्छन्- यस्तै छ साथी हाम्रो हाल !
०००

एनएसडी पढ्ने अवसर थोरै नेपालीले पाएका छन् । पोखराका तीर्थ शेरचन एनएसडी पढ्ने पहिलो नेपाली हुन् । उनैबाट जानकारी पाएपछि निकै संघर्ष गरेर पुगेका सुनील पोखरेल आफ्नो ब्याचको ‘बेस्ट अलराउन्डर' बने । रंगकर्मी सोमनाथ खनाल भन्दै थिए, ‘सुनील सरको नाम यहाँ निकै सम्मानका साथ लिइन्छ ।' सिनेमा र रंगकर्ममा उत्तिकै सक्रिय अनुप बराल त्यसपछि एनएसडी पुगेका हुन् । रंगकर्मी विमल सुवेदी पछिल्ला ‘एनएसडी पासआउट' नेपाली विद्यार्थी हुन् ।

नेपाली रंगमञ्चमा ‘एनएसडी पासआउट'को छुट्टै प्रभाव छ । पोखरेललाई नेपाली रंगमञ्चको पछिल्लो पुनर्जागरणको जस जान्छ । बरालले गरेको प्रयोग र मोलेको खतरा दुवैले नेपाली रंगमञ्चलाई दिएको गति उल्लेख्य छ । पछिल्लो पुस्ताका विमल सुवेदी रंगमञ्चमा पृथक रंग दिँदैछन् । तिनैजनाको प्रभाव ग्रहण गर्ने र त्यसबाट उत्प्रेरित भएर मौलिक बाटो खोज्ने रंगकर्मीको संख्या पनि उल्लेख्य छ ।

 

दयाहाङ राई भन्छन्, ‘एक दिन राष्ट्रिय नाचघर अघिबाट हिँड्दै थिएँ । गेटैमा पेन्टी र ब्रा झुन्ड्याएका थिए बेच्नका लागि । एकैछिन हेरिरहेँ, विरक्त चल्यो।'

राजन खतिवडाले थिएटर सपना सुनील पोखरेलको ‘स्कुल'बाट हुर्काएका हुन् । त्यसपछि मण्डला थिएटरसम्मको उनको यात्राचाहिँ मौलिक पहिचानको खोजी । त्यसकै एउटा कोशेढुंगास्वरूप उनले निर्देशन गरेको नाटक हो सत्यमोहन जोशीलिखित ‘सुनकेशरी' । कथ्यशैलीको नवीनता र मौलिक कलात्मक भाषाको कसीमा उत्रिएर महोत्सवमा छनोट भएको नाटक महोत्सवको १७औं साँझ मञ्चन हुँदैछ । कर्णाली क्षेत्रमा प्रचलित लोककथा खिप्दै खसभाषा मिसाएर लेखिएको नाटकको कथन नेपालीभाषीलाई नै राम्ररी बुझ्न कठिन छ । तर, अन्तर्राष्ट्रिय दर्शकको प्रतिक्रिया सुनिन्छ, ‘गज्जबले बुझियो ।'

एनएसडीमा तेस्रो वर्षमा अध्ययनरत रोहित जैनलाई दोहोर्‍याएर सोध्छु, ‘साँच्चै सबै कथा बुझ्यौ ? ' ‘मज्जाले बुझेँ । चरित्रहरूले यसरी कथालाई उतारेका छन् कि मलाई शब्दमा जानै परेन', उनले भने । राजनको निर्देशकीय सामथ्र्य र मौलिकतालाई त्यहाँका दर्शकले बढी बोध गरे हुनन् ।
०००

नाटक मञ्चन भएको ‘सुनकेशरी' मञ्चन भयो । भोलिपल्ट बिहान ‘मिट त डाइरेक्टर' सेसन छ । अघिल्लो दिन मञ्चित ६ नाटकका निर्देशक हाजिर छन् मञ्चमा । मञ्चमै उपस्थित छन् नाटक समीक्षकहरू पनि ।
६ मध्ये एकमात्रै ‘विदेशी' नाटक ‘सुनकेशरी' । सेसनका सहभागीमध्ये उनी अतिथिका रूपमा आदर पाउँछन् । फ्लोरमा घच्चीमच्ची छ उत्साहित दर्शकको । नाटकका अनेक आयाममाथि प्रश्न-उत्तर चल्छ ।
नेपाली नाटकमाथि प्रश्न कम छ । तर, एउटा प्रश्नले मज्जैले झस्काइदिन्छ । सोधिन्छ, ‘नाटकमा महिलाको चरित्र निकै शक्तिशाली छ । कत्तिको गाह्रो छ नाटक खेल्ने महिला पाउनु ? '

रंगमञ्चमा लाग्ने सपनाको मूल्य अनेक तरहले जीवनभर तिरिरहनुपर्ने बाध्यतामा अझै छन् महिला रंगकर्मी । नाटकमा देखिने ‘बोल्ड' महिला चरित्र पितृसत्तात्मक सामाजिक-राजनीतिक संरचनाको काँडा कुल्चँदै दौडिएका रक्ताम्य पाइला नै होइनन् त ? तर, आधुनिक समयको छायामा बसेर बेवास्ता गरिरहेको पक्ष हो यो । दिल्लीजस्तो अत्याधुनिकता भोग गरिरहेको समाजको बीचबाट यस्तो प्रश्न उठ्दा संवेदना र गर्वको घोल बन्दो रहेछ । राजनले उत्तर दिए, ‘गाह्रो त छ । तर, युवापुस्तामा रंगकर्मप्रति यति धेरै लगाव छ कि त्यस्तो गाह्रो पनि छैन ।'

फणिश्वरनाथ रेणुलिखित उपन्यास ‘मैला आँचल'लाई नाटकीकरण गरेर निर्देशन गरेका पुराना पुस्ताका सुरेन्द्र शर्मा धेरै प्रश्न झेल्नेमा पर्छन् । उपन्यासलाई नाटकमा रूपान्तरण गर्ने तकनिकीदेखि लिएर पुरानो समय-सन्दर्भलाई नाटक हुने समयमा कसरी कलात्मक रूपमा जोड्ने भन्नेसम्मका विमर्शले ठाउँ पाउँछन् ।

नयाँ पुस्ताकी निर्देशक विदिशा पुरोहितको बलिया उत्तरले विमर्शको माहोल उत्साहित बन्छ । तेस्रोलिंगी-समलिंगी मुद्दामा हिमांशु जोशीले लेखेको नाटक निर्देशक गरेकी उनीसँग आफ्ना कामको ‘कन्भिन्सिङ' जवाफ छ । उनी मञ्च संरचना, चरित्रदेखि नाटकमा प्रयोग गरिएका ‘प्रप्स'मार्फत आफूले प्रवाह गर्न खोजेको विचार र त्यसको कलात्मक मूल्यप्रति स्पष्ट देखिन्छिन् । सेसनपछि दयाहाङ भन्छन्, ‘हामी पनि काम गर्दा यत्तिकै स्पष्ट भएर काम गर्न आवश्यक छ ।'

‘नेपाली रंगकर्मी कत्तिको स्पष्ट भएर काम गरिरहेका छन् त ? '
‘छन् कि छैनन्, उत्तर खोज्न उत्प्रेरित गर्दो रहेछ यस्तो कार्यक्रमले !', विकाश जोशी जोशिन्छन् ।
‘हरेक नाटकमाथि यस्तै अन्तरक्रिया गर्ने हो भने त्यो खोजको गति बढ्थ्यो कि ? ', प्रस्ताव गर्छु ।
‘यो त तत्कालै सुरु गर्न सकिन्छ', दयाहाङ उत्साहित हुन्छन् ।
०००

२१ दिने महोत्सवको १८औं साँझ नै हामी दिल्ली छोड्दै थियौं । दिउँसो एनएसडी गेटबाट निस्कँदा अघिल्लो साँझ चौरमा बसेर चिया पिउँदै राजनले भनेको सम्झिएँ, ‘मौलिक कथा र यसलाई भन्ने मौलिक तरिका खोज्नुपर्छ भन्ने लागिरहन्छ । त्यसका लागि यात्रा आवश्यक छ । तर, हामीकहाँ त्यस्तो वातावरण कहाँ छ र ? '

‘सुनकेशरी' पनि जोशीले ०२८ सालमा कर्णालीको सिञ्जा उपत्यका घुम्दा लेखेका थिए । ‘त्यसैले यसको कथा र वाचनशैली दुवैमा मौलिकता छ । सायद, महोत्सवमा छनोट हुनुको कारण पनि यही हो', निर्देशकका रूपमा पहिलोपटक एनएसडी महोत्सव पुगेका उनले भने । महोत्सवीय रंगीन साँझको एक टुक्रा समयमा उनले आफ्नो मुलायम सपना पेन्टिङ गरेजसरी लयबद्ध सुनाएका थिए, ‘थिएटरको व्यवस्थापन र प्राविधिक कामको उल्झन नहोस् । आर्थिक चिन्ता नहोस् । खोजको भोकमा वेगिँदै हिँड्न पाइयोस् । समाजको चेप्चेपमा च्यापिएका अनमोल कथा खोजी ल्याउनुहुन्थ्यो । मानिसको जीवनमा घोलिएका शैली सिकी आउनुहुन्थ्यो ।'

‘प्रतिष्ठानजस्ता निकायले चाहने हो भने सजिलै बनाउन सक्छन् नि यति वातावरण त', गोकर्ण चौथो अंगबाट बोल्दै थिए । तर, प्रतिष्ठानजस्ता निकायको हालत देखेभोगेका हाम्रो छाया दिल्लीको दर्पणमा निकै मायालाग्दो देखिएको थियो । राजनको हृदयबाट तप्किरहेको सपनाका थोपा कर्कलाको पातमा जस्तै ढलपलाइरहेका थिए, तर ती चम्किला जरुर थिए ।

Yamaha

प्रतिकृया दिनुहोस

dishhomeapp