MENU

आत्महत्याको समाजशास्त्र

केशव सिलवाल शनिवार, चैत ५, २०७३ 13900 पटक पढिएको

Share This

धम्काए तिनीहरूले
स्वर्गमा पठाउन
ताराविहीन तथा पिताविहीन, एउटा अँध्यारो पानीमा
(कुहिरोमा भेडाः सिल्भिया प्लाथ)
आत्महत्या गर्नु दुई हप्ताअघि अमेरिकी कवि सिल्भिया प्लाथले लेखेका पंक्ति हुन् यी । ‘कुहिरोमा भेडा’ शीर्षकको यो कवितामा उनले आफ्नो निराशा अभिव्यक्त गरेकी छिन् । कवि टेड ह्युजेजसँग सम्बन्धविच्छेद भएपछि ३० वर्षको उमेरमा उनले आत्महत्या गरेकी थिइन् । कोर्दै गरेको चित्र अधुरै छोडेर नेपालका कवि/कलाकार अर्जुन खालिङले आफैंले संसारबाट बिदा लिए । कुनै रोगव्याधीले च्यापेको थिएन उनलाई । बेलायतमा रहेका नेपाली चर्चित र्‍यापर/गायक यम बुद्धले पनि आफैंले आफ्नो धड्कन बन्द गरे ।

स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा पराजित भएपछि स्याङ्जा फेदीखोलास्थित सिद्धार्थ बहुमुखी क्याम्पसमा अध्ययनरत २० वर्षीया रीमा क्षेत्रीले आत्महत्या गरिन् । उनी नेपाल विद्यार्थी संघकी नेतृ थिइन् । आफ्नो हारलाई आत्महत्याको कारण भनेकी छैनन् उनले । अरू नै कुनै कारण हुन सक्ने चर्चा चल्यो ।

एउटा तीतो यथार्थ, एसएलसी (अबदेखि एसईसी) परीक्षाको नतिजाबाट निराश छात्रछात्राले हरेक वर्ष दसौंको संख्यामा आत्महत्या गर्छन् । हरेक वर्ष यसको गाइँगुइँ चल्छ । पत्रपत्रिकाले लेखेर चिन्ता व्यक्त गर्छन् । त्यसपछि कसैले सोधखोज गर्दैनन् । पानीको बाफजस्तै त्यत्तिकै सेलाएर जान्छ । भर्खर विद्यालय र कलेज पढ्दै गरेका विद्यार्थीले पनि आत्महत्या गरेका धेरै उदाहरण पाइन्छन् । नेपालको तथ्यांंक हेर्दा पनि आत्महत्या मौन महामारीका रूपमा बढ्दो पाइन्छ । आखिर, किन गर्छन् मानिसले आत्महत्या ?

सामान्य मानिसले मात्र होइन नाम कमाएर समाजमा स्थापित भइसकेका कैयौंले आत्महत्या गरेका छन् । निबन्धकार भैरव अर्यालको आत्महत्या साहित्यिकवृत्तमा जति चर्चित छ त्यति नै मर्मस्पर्शी पनि । चलचित्र क्षेत्रका निर्देशक आलोक नेम्बाङले आत्महत्या गरेर सबैलाई दुःखी बनाए । त्यस्तै नायिका श्रीषा कार्की, जेसिका खड्का र गायिका योगिता मोक्तानले पनि आत्महत्या गरे । महिला अधिकारवादी योगमाया न्यौपानेदेखि सर्वोच्च अदालतका न्यायाधीश भरतराज उप्रेतीले पनि आत्महत्या गरेको इतिहास छ ।
०००

आफूले प्रेम र सम्मान गरेका प्रिय मानिसले आत्महत्या गर्दा हामीलाई आहत तुल्याउँछ । हामी पीडा महसुस गर्छौं । आत्महत्या गरेपछि त्यस्ता व्यक्तिबारे विभिन्न टीकाटिप्पणी हुन्छन् । जस्तो ऊ डिप्रेसनमा थियो/असफलताले घेरिएको थियो । त्यस्तो नगरेको भए हुन्थ्यो । ऊ कयौं दिनदेखि घरबाहिर निस्किएको थिएन आदि इत्यादि । नेपालका वरिष्ठ मनोचिकित्सक मानसिक तनाव वा डिप्रेसनलाई नै आत्महत्याको प्रमुख कारण मान्दछन् । मानसिक तनाव कसरी पैदा हुन्छ र यसको समाधान के हो भन्नेबारे भने खासै खोज अनुसन्धान भएको छैन । न सरकारी संयन्त्र गम्भीर छन् न त बौद्धिक समुदाय नै ।

नेपालमा दैनिक करिब एक दर्जनले आत्महत्या गर्छन् भने बर्सेनि पाँच हजारभन्दा बढी मानिसले आत्महत्या गर्ने गरेको तथ्यांक छ । यो संख्या कुनै महामारीभन्दा कम होइन । विश्व स्वास्थ्य संस्थाको रिपोर्टअनुसार प्रत्येक एक लाख मानिसमा २५ जनाले आत्महत्या गर्ने नेपाल विश्वमै बढी आत्महत्या गर्ने देशको सूचीमा सातौं स्थानमा पर्छ ।

उमेरको हिसाबले विश्लेषण गर्र्दा प्रायः युवावयका १५ देखि ३५ वर्ष उमेरका मानिसले बढी आत्महत्या गरेको देखिन्छ । ती युवाहरू आफ्नो जीवनको सुरुवाती अवधिमा संघर्षरत हुन्छन् र सामाजिक तथा पारिवारिक दबाब झेलिरहेका हुन्छन् । त्यो संख्यालाई केलाउने हो भने महिला र पुरुष बराबर देखिन्छ । कुनै वर्ष त महिलाभन्दा बढी पुरुषको संख्याले उछिनेको हुन्छ । त्यसकारण यो महिलाको समस्यामात्र होइन पुरुष पनि त्यत्तिकै पीडित रहेको मान्नुपर्छ । प्रहरीले दिएको तथ्यांकअनुसार गएको भूकम्पपछि आत्महत्या गर्नेको दर ४१ प्रतिशतले बढेको छ ।

विश्वभरि हेर्ने हो भने बर्सेनि आठ लाख मानिसले आत्महत्या गर्ने गरेको तथ्यांक छ । लिथुवानिया, गुयना, क्रोयसिया, दक्षिण कोरिया, हंगेरी, श्रीलंकालगायत देश संसारमै बढी आत्महत्या हुने देशमा पर्छन् । विकासोन्मुख देशमात्र होइन विकसित देश पनि आत्महत्याको प्रकोपबाट पीडित छन् । यसअन्तर्गत जापान १७औं, फ्रान्स ४७ औं, अमेरिका ५०औं, जर्मनी ७७औं र बेलायत १०५औं स्थानमा पर्छन् । आत्महत्या केवल व्यक्तिगतमात्र हुँदैन । आत्महत्याका विविध रूप हुन्छन् । आत्मघाती बमर आफूसँगै धेरैको मृत्युको कारक बन्छन् । भारतमा बर्सेनि किसानहरूले गर्ने आत्महत्यालाई केवल व्यक्तिगत विषयको रूपमा मान्न सकिँदैन ।

आत्महत्याको इतिहास पनि पुरानो छ । पश्चिमी संसारको प्राचीन रोम र ग्रिसमा उत्पीडनले गर्दा दासहरूले आत्महत्या गर्थे जसलाई स्वाभाविक मानिन्थ्यो । मध्ययुगमा आत्महत्या गर्नेलाई गैरकानुनी मानिन्थ्यो र चिहानभन्दा बाहिर गाडिन्थ्यो । नेपालमा आत्महत्याको ठोस इतिहास पाइँदैन । ललितपुरका मल्ल राजा विश्वजित मल्लले वि.सं. १८१७ मा आत्महत्या गरेको रेकर्ड छ । त्यस्तै वि.सं. १८९६ साउन २० गते भीमसेन थापाले ६४ वर्षको उमेरमा गरेको भनिएको आत्महत्या निकै चर्चित छ ।

आत्महत्या अप्राकृतिक रूपमा आफ्नो जीवनलाई आफैं समाप्त पार्नु हो । बडो मुस्किल र विशेष संयोगले प्राप्त भएको मानिसको शरीरलाई मानिस स्वयंले अन्त्य गर्छन् । यो सजिलो क्रिया भने होइन, यसका लागि मानिसले हजारौंपटक विचार गरेको हुन्छ, हजारौंपटक प्रयास गरेको हुन्छ । के यो क्रिया सिङमन्ड फ्रायडले व्याख्या गरेझैं मानसिक कमजोरीमात्र हो ? वा, यसका अरू नै कारण छन् ।
०००

बढ्दो रूपमा मानव समाजलाई नै हल्लाउने गरी भइरहेकोे आत्महत्याको घटनाले लगातार प्रश्न खडा गरिरहेको छ । यसको कारणको खोजी गर्ने तहसम्म भने कसैको ध्यान पुग्न सकेको छैन । दिनहुँजसो आत्महत्याका समाचार आउँछन्, प्रहरीले मुचुल्का उठाउँछ र केसलाई फाइलमा बन्द गरिदिन्छ । आत्महत्या केवल कुराकानीको विषयमात्र बन्छ । यसलाई गम्भीर समस्याको रूपमा व्याख्या गरिँदैन जबकि यो समाजमा महामारी भइसकेको छ । यसको पीडा तपाईं हामीलाई जुनसुकै बेला पर्न सक्छ । आखिर किन बढिरहेछ आत्महत्या ?

नेपाली समाजको ऐतिहासिक र वर्तमान संरचनाको विस्तृत विवेचना गरेर आत्महत्यालाई गम्भीर महामारीको रूपमा लिनुपर्छ । अन्यथा अझै हजारौं व्यक्तिले आत्महत्यामार्फत आफ्नो जीवन समाप्त गर्ने क्रम जारी रहनेछ ।

फ्रान्सका विद्वान ग्राभियल टार्डेले मानिसले अरूले गरेको सिकेर आत्महत्या गर्छन् भनी व्याख्या गर्छन् । तर, आत्महत्याको बढ्दो ग्राफले मानिसले सिकेरमात्र आत्महत्या गर्छन् भन्ने पुष्टि गर्दैन । टाढाका मानिस अझ अनकन्टारका मानिसले पनि आत्महत्या गरेका छन् । यो समय परिस्थितिअनुसार घटबढ हुनुले पनि मानिसले सिकेर मात्र आत्महत्या गर्छ भन्ने गलत ठहर्छ । समाजशास्त्रीले आत्महत्यालाई मनोवैज्ञानिक कारण ठान्दैनन्, यसलाई सामाजिक क्रियाको उपज नै मान्दछन् ।

मानिसलाई एउटा सीमित व्यक्तिको रूपमा मात्र बुझ्ने औसत बुझाइ गलत छ । एउटा मानिस एउटा व्यक्तिमात्र होइन । समाजशास्त्री सी राइट मिल्सका अनुसार मानिसको जीवन बुझ्न उसको इतिहास र ऊ बाँचेको समाजको संरचना बुझ्नु आवश्यक हुन्छ । समाज सम्बन्धको जालो हो र त्यस जालोमा मानिस जेलिएको हुन्छ । मानिसलाई एक्लो देख्नु एकांगी अध्ययन हो जसले मानिसको समग्र चरित्रलाई ठम्याउन सक्दैन ।
आत्महत्याबारे समाजशास्त्री इमाइल दुर्खाइम (१८५८–१९१७) ले एक सय २० वर्षअगाडि सन् १८९७ मा प्रकाशित गरेको ‘आत्महत्या’ शीर्षकको पुस्तक अहिले पनि आत्महत्याको अध्ययन गर्नको लागि कोसेढुंगा मानिन्छ । उनले विभिन्न स्थानका आत्महत्याको सूक्ष्म विश्लेषण गरेर यसको कारण पहिल्याएका छन् । उनका अनुसार आत्महत्या व्यक्तिगत क्रियाजस्तो देखिए पनि यो एउटा सामाजिक क्रिया हो जसमा समाज जोडिएको हुन्छ । आत्महत्या एउटा व्यक्तिले गरेको हुन्छ तर त्यसको कारणको हाँगा परिवार, समाज, देश र अन्तर्राष्ट्रिय क्षेत्रसम्म पुगेको हुन्छ ।

दुर्खाइमकै विश्लेषणमा थपेर अरू समाजशास्त्रीले उमेर, लिंग, सामाजिक भूमिका, वैवाहिक स्थिति, जातीय विभेद, संस्कृति र रोजगारी आदिलाई आत्महत्याको कारण मानेका छन् । त्यस्ता कारणहरू पनि धेरै अर्थमा सही छन् र तिनको विश्लेषणबाट अझ गहिराइमा पुग्न मद्दत पुग्छ । तर, एक शताब्दी अगाडिको दुर्खाइमको निष्कर्ष अहिले पनि त्यतिकै सान्दर्भिक र ताजा छ ।

दुर्खाइमका अनुसार मानिसलाई समाजसँग जोड्ने सम्बन्ध बलियो वा कमजोर हुनुले आत्महत्याको स्थिति निर्माण हुन्छ । दुर्खाइमले आफ्नो पुस्तकमा विषेशतः चार किसिमका आत्महत्याको बारेमा चर्चा गरेका छन् । १. अहङ्कारपूर्ण आत्महत्या, २. परहितवादी आत्महत्या, ३. मर्यादारहित/निराशाजनक आत्महत्या र ४. नियतिवादी आत्महत्या ।

बृहद् सामाजिक एकाइमा समाहित हुन नसकेपछि मानिसले अहंकारपूर्ण आत्महत्याको बाटो समात्छ । समाजमा घुलमिल हुन नसकेपछि उसले आफ्नो जीवनलाई अर्थहीन मान्दछ । बलियो सामूहिक भावना, आपसी सुरक्षा र सामाजिक बहावमा समाहित गराउने गुण भएको समाजमा आत्महत्या हुँदैन । व्यक्तिको निजी इच्छा र चाहना बढी हुने, तर समाजले त्यसको पूर्ति हुने कुनै प्रत्याभूति दिन नसक्ने अवस्थामा अहंकारपूर्ण आत्महत्याको संख्या बढ्छ । मानिसको अहंकारले उसलाई उदास र मोहभंगको स्थितिमा पुर्‍याउँछ । नैतिकरूपमा ऊ समाजमा समाहित भएको हुँदैन । पुँजीवादको चरम विकास हुनु र भूमण्डलीकरणले सम्पूर्ण विश्वको सूचना प्रवाह गर्नु, तर समाजले त्यसको पूर्ति गर्न नसकेको अवस्थामा हालको समयमा यस्तो आत्महत्या हुने गर्छ । वर्तमान विश्वमा यस्तो किसिमको आत्महत्या बढिरहेको छ ।

समाजमा हुने समायोजन बलियो भएमा मानिस परहितवादी आत्महत्या गर्न पुग्छ । मानिस यसकारण आत्महत्या गर्न बाध्य हुन्छ कि उसलाई समुदायले नै जोड गरेको हुन्छ । समुदायको हितको निम्ति सामूहिक आत्महत्या गर्नु यस प्रकारको आत्महत्याको उदाहरण हो । त्यस्तै, कहिलेकाँही सुनिने सामूहिक आत्मदाह पनि यसको उदाहरण हो । यसमा बाध्यतामात्र हुँदैन, इमानदारी पनि हुन्छ । अहंकारपूर्ण आत्महत्या दुःख, निराशा र उपचार गर्न नसकिने चिन्ता हो भने परहितवादी आत्महत्या आशापूर्ण भविष्यको सुन्दर उद्देश्यका लागि गरिन्छ । यस्तो आत्महत्या एक किसिमको आन्दोलन पनि हो । नेपालमा यसको प्रयोग कमै भएको देखिन्छ ।

समाजको नियन्त्रक शक्ति छिन्नभिन्न भएको अवस्थामा व्यक्ति असन्तुष्ट हुन्छ । व्यक्तिको धैर्यता कमजोर हुन्छ र आत्मसन्तुष्टि नभएपछि व्यक्ति पासविक बनेर हिँड्छ । आर्थिक उन्नतिको अवसर जुन सकारात्मक हुन्छ र आर्थिक अवनति जुन नकारात्मक हुन्छ, दुवै अवस्थामा समाजमा विशृंखलता पैदा हुन सक्छ । नयाँ परिस्थितिअनुसार नयाँ मान्यता बनिसकेका हुँदैनन् । समूहले व्यक्तिको नियन्त्रण गर्न भ्याइसकेको हुँदैन । जराविहीन र मान्यताविहीन अवस्था हुन्छ । जस्तो आर्थिक अवनतिमा उद्योग बन्द भएर कामदारले काम गुमाउँछ । त्यहाँ उद्योग र कामदारबीच नियन्त्रण हुँदैन । त्यस्तै परिवार, धर्म र राज्यबाट अलग हुँदा यस्तो खालको आत्महत्याको अवस्था सिर्जना हुन्छ । अर्कोतर्फ आर्थिक उन्नतिले मानिसलाई पुरानो संरचना छोड्न र नयाँ परिस्थिति अँगाल्न लगाउँछ । नयाँ ठाउँमा घुलमिल हुन समय लाग्छ । यसरी पनि व्यक्ति नियन्त्रण बाहिर पुग्छ र आत्महत्या गर्न विवश हुन्छ । यसलाई मर्यादारहित/निराशाजनक आत्महत्या भन्न सकिन्छ ।

समाजको नियन्त्रण चाहिनेभन्दा बढी भएमा नियतिवादी आत्महत्या हुन्छ । नियन्त्रणले व्यक्तिको भविष्य निर्दयतापूर्वक रोकियो र धैर्यलाई हिंस्रक तरिकाले घाँटी अँठ्याइयो भने व्यक्ति नियतिवादी आत्महत्या गर्न पुग्छ । पहिले–पहिले दासले गर्ने आत्महत्यालाई अधिक नियन्त्रणको कारण मान्न सकिन्छ । व्यक्तिका हरेक क्रियाकलापमा नियन्त्रण गर्दा व्यक्तिले कुनै आशा नदेखेर यस्तो आत्महत्या गर्छन् । कहिलेकाहीँ आमाबाबुको अधिक नियन्त्रणले छोराछोरीले यस्तो आत्महत्या गरेको उदाहरण पाइन्छ ।
०००
नेपालमा हुने आत्महत्याको घटनालाई यी चार प्रकारका घटनामा जोड्न सकिन्छ । नेपालका केही आत्महत्याको उदाहरण हेरौं ।

· २०७३ साउनमा बैतडीका २८ वर्षीय कमल बोहराले सामान्य भनाभन हुँदा श्रीमतीको हत्या गरी आफूले आत्महत्या गरे । उनी भारतबाट २५ दिनअघि मात्र घर फर्किएका थिए । उनका दुई छोरा र एक छोरी आमाबाबु गुमाएर टुहुरा भएका छन् ।
· २०७३ असोजमा गोरखाकी ३५ वर्षीय सन्तकुमारी गुरुङले आफ्नै घरमा आत्महत्या गरिन् भने सोही दिन खोटाङ, छित्तपोखरीका २६ वर्षीय गोविन्द कार्कीले झापा दमकमा आत्महत्या गरे ।

· २०७३ माघमा आफ्नो अन्तरजातीय विवाहले मान्यता नपाउने देखेर झापा, कन्काई नगरपालिकाका २५ वर्षीय ईश्वर भट्टराई र २३ वर्षीया अस्मिता तालामीले संयुक्त रूपमा आत्महत्या गरे । त्यस्तै २०७३ जेठमा डोटी, बन्लेक गाविसका ३२ वर्षीय कृष्ण कामी र डँडेलधुरा कैलपालमाडौंकी २९ वर्षीया लक्ष्मीदेवी भेल्लरले पनि एकैचोटी आत्महत्या गरे ।

· २०७३ फागुनमा प्रणय दिवसको दिन प्रेमिकाले प्रस्ताव स्वीकार नगरेको भन्दै चितवनका २० वर्षीय विकल चौधरीले आत्महत्या गरे ।

· २०७३ मंसिरमा मोरङ बेलबारीका ३५ वर्षीय ताराजुन राईले एक छोरा र एक छोरीसहित आत्महत्या गरे । उनकी श्रीमती केही समयअगाडि अर्कै युवकसँग भागेकी थिइन् । त्यस्तै, २०७० भदौमा चितवनकी गीता परियारले छोराछोरीसहित आत्महत्या गरिन् । उनका श्रीमान् धनबहादुर परियारले पनि २०६९ कात्तिकमा दसैंको नवमीको दिनमा मासु किनेर खुवाउन नसकेको भन्दै आत्महत्या गरेका थिए । २०७० जेठमा कञ्चनपुर भीमदत्त नगरपालिकाका राजेश टमता (४८ वर्ष) र छोरा अजु (१९ वर्ष) ले पक्षघातको उपचार गराउन नसकेको भनेर आत्महत्या गरे ।

· २०७१ असारमा विश्वकप फुटबलको सेमिफाइनलमा ब्राजिलले जर्मनीसँग लज्जाजनक हार व्यहोरेपछि सुनसरीको भरउलकी १५ वर्षे किशोरी प्रज्ञा थापाले आत्महत्या गरिन् । सेमिफाइनल म्याच हेरेकी उनले मेरो टोली हार्‍यो भन्दै दुःखमनाउ गरेको पारिवारिक स्रोतले जानकारी दिएको थियो ।

· २०७२ फागुनमा अस्ट्रेलियामा काम गरिरहेका राजु भण्डारीले आत्महत्या गरे । उनको साथीले कोठामा झुन्डिएको अवस्था देखेपछि पुलिसलाई खबर गरे । वैदेशिक रोजगारमा गएकाहरूले आत्महत्या गरेको घटना बढ्दै गएको छ । गएको पाँच वर्षमा कतारमा आत्महत्या गर्ने नेपालीको संख्या ५० भन्दा बढी रहेको छ ।

गत सालको एसएलसी परीक्षाको नतिजा प्रकाशन भएपछि मोरङकी १७ वर्षीया छात्रा लक्ष्मी खड्काले आत्महत्या गरिन् । उनी विज्ञान विषयमा अनुत्तीर्ण भएकी थिइन् । बर्सेनि यसरी एक दर्जन विद्यार्थीको ज्यान जाने गरेको छ । अहिलेको ग्रेडिङ पद्धतिले के कस्तो हुने हो हेर्न बाँकी छ ।

नेपालको आत्महत्याका प्रकृतिको गहन अध्ययन गरेर यसको समाधानमा उचित ध्यान दिनु अत्यन्त आवश्यक भइसकेको छ । सरसर्ती हेर्दा जातीय विभेद, लैंगिक विभेद, बेरोजगारी, गरिबी र बन्देजपूर्ण सामाजिक संस्कृतिले मानिसलाई आत्महत्यातर्फ धकेलिरहेको छ । दुर्खाइमको चार प्रकारका आत्महत्यालाई नेपालको सन्दर्भमा जोडेर हेर्दा यस महामारीको स्थायी समाधान निकाल्न सकिन्छ । नेपाली समाजको ऐतिहासिक र वर्तमान संरचनाको विस्तृत विवेचना गरेर आत्महत्यालाई गम्भीर महामारीको रूपमा लिनुपर्छ । अन्यथा अझै हजारौं व्यक्तिले आत्महत्यामार्फत आफ्नो जीवन समाप्त गर्ने क्रम जारी रहनेछ ।

हाम्रो नेपाली समाज खुल्ला होइन, बन्देजयुक्त समाज हो । धर्म, संस्कृति र राज्यसत्ताले नेपाली समाजलाई बन्दसमाज बनाएका छन् । विभिन्न संस्कार र परम्पराले समाजलाई संकुचित बनाएका छन् । जस्तो एउटा दलितले पानीको धारा छोयो भने पनि त्यसलाई समाज निकाला गरिन्छ । नेपालमा अन्तरजातीय विवाहलाई स्वीकार गरिँदैन र कसैले त्यस्तो विवाह गरेमा सामाजिक नियन्त्रणद्वारा बहिष्कार गरिन्छ । यस्तो कडा नियमन भएको अवस्थामा अन्तरजातीय विवाह गर्ने दुवैजनाले सँगै आत्महत्या गरेको उदाहरण प्रशस्त छन् । यस्ता आत्महत्यालाई चौथो किसिममा राख्न सकिन्छ ।

बाबुआमाले आफ्ना सन्तानलाई कसरी सामाजिकीकरण गर्नुपर्छ भन्ने बुझिसकेका छैनन् । अहिले पनि सन्तानको रुचिले उसको भविष्य निर्धारण गर्दैन । भविष्यामा आफ्ना छोराछोरीलाई के बनाउने भन्ने आमाबाबुले तय गर्छन् । यस्तो अवस्थामा छोराछोरीले आफ्नो कुरा खुलेर राख्न सक्दैनन् । तब कक्षा १० को नतिजापछि विद्यार्थी आत्महत्या गर्न विवश हुन्छन् । यसको जिम्मेवारी घरपरिवारमात्र होइन सरकार र समाज दुवैले लिनुपर्छ । कक्षा १० को नतिजा प्रकाशनपछि हुने आत्महत्यालाई दुर्खाइमको आत्महत्याको किसिमसँग जोड्दा चौथो किसिमकै आत्महत्या हो जसमा समाजको नियन्त्रण शक्ति बलियो हुन्छ । एक क्षेत्रमा फेल हुँदैमा अन्य सम्भावना बाँकी हुन्छन् भन्ने कुरा समाजले सिकाउन सकेको छैन ।

नेपाली समाज गणतन्त्र र पुँजीवादी विकासको संक्रमणकालीन अवस्थाबाट अगाडि बढ्ने प्रयासमा छ । राजनीतिक स्थिरता कायम भइसकेको छैन । भूमण्डलीकरण र पुँजीवादले व्यक्तिको आकांक्षा बढाएको छ तर समाजको विकास धिमा हुनाले व्यक्तिमा निराशा छाउँछ । यस्तो अवस्थामा मानिसले पहिलो किसिमको आत्महत्या गर्छन् । नयाँ काम खोज्नु, तर पाउन नसक्नु तथा विदेश गएर काम गर्दा पनि उपलब्धि हासिल नभएपछि यस्तो किसिमको आत्महत्या भएको देखिन्छ ।

आत्महत्या महामारीका रूपमा फैलिरहँदा पनि यसको कारणबारे चर्चा हुन नसक्नु दुःखद् हो । यसलाई व्यक्तिगत कारण हो भनेर पन्छाउनु बेवास्ता गर्नु हो । मूलतः यो सामाजिक कारण नै हो । समाजमा खोट भएपछि आत्महत्याको दर बढ्ने नै भयो । समाजलाई सही दिशामा हिँडाउन नसक्दा यो महामारी अझ फैलिने निश्चित छ ।

प्रतिकृया दिनुहोस

dishhomeapp