MENU

कफी कला र बुद्धिको तोङ्बाः

शुक्रवार, चैत ४, २०७३ 368 पटक पढिएको

Share This

नेपालमा कफी कल्चर बढ्दो छ । राजधानीमा खुलेका सुविधासम्पन्न कफी हाउसहरूमा कफीको चुस्कीसँगै गफिनेहरू प्रशस्त छन् । कफीलाई कसैले सानका रूपमा लिन्छन् भने कसैले लत । तर कफी लिँदै गफ गर्नुको मज्जा बेग्लै हुन्छ । ‘कफी भनेको बुद्धि र भावनाको झोल हो । कफीको सम्बन्ध साहित्य कलासँग जोडिएको हुन्छ', प्राडा अभि सुवेदीले भन्छन् ।

कफी हाउसको सुरुवात लन्डन र पेरिसबाट भएको मानिन्छ । हुन त कतिले मध्यपूर्वबाट कफीको सुरु भएको मान्छन् । मध्यपूर्वका एक व्यक्तिले आफैंले पिउन कफी तयार गरेका थिए । जसलाई उनको बुद्धिको उपज मान्ने गरिन्छ । प्राडा अभि सुवेदीका अनुसार सत्रौं र अठारौं शताब्दीमा कफी हाउसहरू खुलेका धेरै उदाहरण पाइन्छ । ‘एटिन सेन्चुरीमा कफी हाउस निकै प्रचलित भएको भेटिन्छ', सुवेदीले भने । कफी वास्तवमा बिउलाई पिसेर बनाएको झोल हो । तर आजकल नेसकफीले कफीलाई बिगारिदिएको सुवेदीको ठम्याइँ छ । ‘म त साहित्यप्रेमी भएकाले कफीलाई साहित्य, बुद्धि र भावनाको झोल हो भन्न रुचाउँछु', उनले भने ।

प्राडा. सुवेदीले आफ्नो जीवनमा कफीसँग जोडिएका किस्सा निकै संगालेका छन् । २०२० सालतिरको कुरा होला । आईए पढ्दा जिल्लावासी तेह्रथुमका कृष्णकुमार राई र लीला भन्ने साथीसँग बालाजु बाइसधारमा नुहाउन गएका थिए । त्यतिबेला नुहाउने ठाउँ नहुने भएकाले त्यहाँ पुग्थे उनीहरू । त्यहाँ ‘डाँफे' नाम गरेको होटेल थियो । कृष्णकुमारलाई कफीको बारेमा थाहा रहेछ । नुहाइसकेपछि उनले होटेलको एउटा केटालाई कफी ल्याऊ भने छन् । कफी पिएपछि लीलाले कफी ल्याउने भाइलाई डढेको चिया किन ल्याइस् भनेर एक थप्पड हानेछन् । ‘अलि पर बसेर बच्चु कैलाश मुसुमुसु हाँसिरहेका थिए । डढेको चिया हैन कफी हो भनेर सम्झाएपछि उनले माफी मागे', सुवेदीले स्मरण गर्दै भने, ‘मैले पनि सायद पहिला पटक कफी पिएको थिएँ होला । त्यो घटना खुब यादगर लाग्छ ।'

सिर्जना गर्दा, केही लेखिरहँदा कफीले एकाग्रता बढाउँछ । यसमा भावना मिसिएको हुन्छ । कफीलाई त म हाम्रो पूर्वेली भाषामा कला र बुद्धिको तोङ्बा भन्न रुचाउँछु ।

काठमाडौंमा त्यतिबेला खासै राम्रा कफी हाउस खुलेका थिएनन् । जब गगन प्रधानले हिमालयन जाभा खोले अनिमात्रै कफीको वास्तविक स्वादमा रमाउन पाइएको सुवेदीको भनाइ छ । उनका अनुसार, फलामको मेच नै मेच राखिएको थियो सुरुवातमा । जाभामा उनीहरूले आफैंले उमारेर फलाएको कफी पियाउँथे । जाभाले पब्लिकका लागि कफी पियाउन थालेको हो । ‘जाभाको त्यही फलामको मेचमा बसेर मैले धेरै सिर्जना गर्न भ्याएँ', उनको भनाइ छ, ‘त्यहाँ कथा, कविता, लेख लेखे, धेरै सिर्जना गरेँ, विद्यार्थीलाई पढाएँ । म अहिले पनि लेख्छु । मज्जा लाग्छ, त्यो हल्लामा बसेर कफीको स्वादमा रमाउँदै सिर्जना गर्दा कम्ता मज्जा लाग्दैन ।'

कफीले के गर्छ र किन पिउने भन्ने कुरामा उनी स्पष्ट छन् । ‘वास्तवमा सिर्जना गर्दा, केही लेखिरहँदा कफीले एकाग्रता बढाउँछ, यसमा भावना मिसिएको हुन्छ', उनी कारण भन्छन, ‘कफीलाई त म हाम्रो पूर्वेली भाषामा कला र बुद्धिको तोङ्बा भन्न रुचाउँछु । यो खाँदा अर्कै अनुभव हुन्छ ।' जाभा नखुलिन्जेल जहाँ जस्तो भेट्यो त्यही कफी पिउथे उनी । नाटक गर्न संसारभरका विभिन्न मुलुकमा पुग्दा कफी खोजीखोजी पिउने उनको बानी थियो । ‘मैले टोकियोमा सबैभन्दा मीठो कफी पिएँ । त्यहाँ एकदम उत्कृष्ट खालका कफी पाइने रहेछन्', सुवेदीले भने । उनले पिउने बियाँ ‘बिन्ज' कफी हो ।

एक पटक सेमिनारको सिलसिलामा मेक्सिको पुगेका थिए । त्यहाँ उनलाई जाभाको तलतल लाग्यो । त्यहाँ कफी पिउने ठाउँ कता छ भनेर सोधेको एकजनाले उनलाई लिएर गयो चिहानघारीमा । चिहानघारी साँच्चै रमाइलो रहेछ । विशाल रूख, चिहानका राम्रा ढुंगा थिए । ‘चिहानघारीमा पुरानो शैलीको काठको घर थियो । त्यहाँ यति मीठो कफी पाइनेरहेछ कि मैले सेमिनारभरि आठ, दस दिनसम्म त्यहाँकी कफी पिएँ', उनले भने ।

एक कप कफीले डेढ घन्टासम्म काम गर्ने सुवेदीको अनुभवले छ । तर कफीको एडिक्टेट चाहिँ भन्न रुचाउँदैनन् आफूलाई । दूध र चिनी नहालेको शुद्ध कालो कफीको पारखी हुन् उनी । मध्याह्नदेखि ८ बजेसम्म मात्रै कफी पिउने बानी छ उनको । पहिला धेरै कफी खाने बानी परेकोले मेडिकल लाइनका धेरै साथीहरूले बानी सुधार्न सुझाएका थिए । भन्छन्, स्वास्थ्यमा असर पर्ने भएपछि कम गरेको हुँ । अहिले चाहिँ उनको बिहानको रोजाइ लेभन टी हुने गरेको छ । कफी बार उनको भनाइ छ, ‘नेस्कफी खानु राम्रो हैन । अझ दूध, चिनी हालेपछि त यसले एसिडिटी झनै बढाउँछ ।'

 

प्रतिकृया दिनुहोस

dishhomeapp