MENU

साथीकाे हाेली

देबु लुइटेल आइतवार, फागुन २९, २०७३ 2525 पटक पढिएको

Share This

मौसममा आएको परिवर्तनले होला सुनितालाई ज्वरोले चापेको थियो । सञ्चो नभएकै कारण उनी स्कुल जान सकेकी थिइनन् । उनी दिक्क भएर घरमा बस्थिन् । घरी सुत्दथिन् घरी टीभी हेर्थिन् । उनको टाउको पनि असाध्यै दुखेको थियो । चिसोले होला, खोकी पनि लागेको थियो । हातगोडा झम्झमाएका थिए । त्यसो त उनले डाक्टरको सल्लाहअनुरूप औषधि पनि खाइरहेकी थिइन् ।

यसरी घरमा बस्नुपर्दा उनलाई कत्ति पनि चित्त बुझेको थिएन । साथीलाई भेट्न नपाएको हप्तौं भइसकेको थियोे । यसो आराम जस्तो भएको बेला उनी साथीहरूसँग खेल्न जान खोज्दथिन् । बेलाबेला आँगनमै साइकल खेल्छु भन्दै ढिपी पनि गर्थिन् । तर ‘सञ्चो नभएर यसरी खोक्ने मान्छेले आराम गर्नुपर्छ, यस्तो बेलामा खेल्दा झन् गाह्रो हुन्छ' भन्दै हजुरआमाले सम्झाउनुहुन्थ्यो । कालो मुख लगाउँदै तातोपानी पिएर उनी घुप्लुक्क सुत्थिन् ।


सुनिताका केही दिन यसरी नै बिते । औषधि खाइसकेपछि सुनितालाई बिस्तारै आराम हुँदै गयो । तर उनी निकै कमजोर भइसकेकी थिइन् । यसबेला उनी घरैमा हजुरआमासँग बसेर अलिअलि पढ्ने गर्थिन् । मन लागेको बेला कार्टुन हेर्थिन् । बाँकी समय भने हजुरआमाका कथा सुनेर समय बिताउँथिन् ।

एक दिन बिहानै सुनिताको घरमा फोन आयो । उनकी आमाले फोन उठाउनु भयो । उहाँले हाँस्दैहाँस्दै धेरैबेर लगाएर के के कुरा गर्नुभयो । परिवारका सबैलाई के रहेछ भनेर चासो भयो । आमाले फोन राख्नुभएपछि थाहा भयो कि त्यो फोन मावलबाट आएको रहेछ । कान्छा मामाको बिहेको निधो पो भएछ ।

सुनिताकी आमाले आप्mना भाइको विवाहका लागि भोलि नै माइत जाने योजना बनाउन थाल्नुभयो । सुनिता पनि मामाका विवाहमा मावल जान पाउने भइन् । उसै त मामाघर जान पाएको, त्यसमा पनि कान्छा मामाको विवाह । सुनिताका लागि योभन्दा रमाउने कुरा के हुन्छ र ? उनी साह्रै खुसी भइन् ।

घरमा बस्दाबस्दा दिन कटाउन गाह्रो परेकी उनी आज आप्mनै खालको व्यस्ततामा रहिन् । हजुरआमाले तातोपानी तताएर नुहाइदिनु भयो । तेल लगाइ दिनुभयो अनि घाममा बसाउनु भयो । लामो समय बिरामी परेकी सुनिताले नुहाइधुवाइपछि त आफू झनै ताजा भएको महसुस गरिन् । अर्कातिर मावल जान पाएको खुसीले सुनिताको अनुहार निकै उज्यालो भएको थियो ।

आमाको योजना भोलिपल्ट दिउँसोमात्र माइत जाने थियो । तर सुनिता भने बिहानैदेखि फर्‍र्याकफुरुक गर्दै थिइन् । उनको अनुहारमा अब रत्ति पनि बिरामी भएको जस्तो देखिन्नथियो । उनले रोइकराइ गरिन् । त्यसपछि आमाले ल्याइदिनुभएको सितारा भरेको नयाँ जामा उनले बिहानै लगाइमागेकी थिइन् । लाडिएर अनेक गनगन गर्दै उनी आमाका पाइलापाइला पच्छ्याउँदै थिइन्, यताउता काम गर्न अल्झाउँदै थिइन् । आमा बेलाबेला उनले अल्झाएको कुरालाई लिएर झर्किनुहुन्थ्यो । अनि बेलाबेला चाहिँ उनको बालसुलभ खुसी देखेर प्रसन्न हुनुहुन्थ्यो ।

बिस्तारै सुनिताको मावल जाने समय आइपुग्यो । आमाले उनलाई हिँड्ने तयारी गराउन थाल्नुभयो । उहाँले सुनिताको छड्के सिउँदो पारेर कपाल कोरिदिनु भयो । त्यसपछि उस्तै राम्रा चप्पल पनि लगाइदिनु भयो । आफू तयार भएपछि उनी ढल्कीढल्की ऐना हेर्न थालिन् । ‘नानी त पुतलीजस्तै राम्री पो देखिइन् त....! अब मावल पुगेपछि हामीलाई बिर्सिने हो कि ? पुतली छिटो आउनू है ' भन्दै हजुरआमाले जिस्क्याउनुभयो । जामाको फेर समाएर ‘हुन्छ' भन्दै सुनिता मुसुक्क मुस्कुराइन् ।

सुनिताकी आमा झोलासोला मिलाउन लाग्नुभयो । बाबा पनि उनीहरूलाई पर गाडी लाग्ने ठाउँसम्म पुर्‍याउने तयारी गर्दै हुनुहुन्थ्यो । चञ्चले सुनिताले एकैछिन पनि पर्खन सकिनन् । उनलाई आफ्नो नयाँ जामा र चप्पल देखाउन हतारो भएको थियो । त्यतिमात्र होइन आफूमा मावल जान लागेको कुरा छिमेकका साथीलाई भन्नु थियो । उनी आफ्नै सुरमा दौड्दै घर बाहिर निस्किहालिन् । उनी सुटुक्क गएको कसैले पत्तै पाएन ।

फागुपूर्णिमा आउनै लागेको थियो । केटाकेटीहरू हिजोअस्तिदेखि नै बेलुनमा पानी भरेर लोला खेल्न थालिसकेका थिए । कसैले रङ खेल्यो भने ‘रङ त होलीको दिनमात्र पो त !' भन्थे र सङ्लो पानीमात्र प्रयोग गर्थे । बाटो हिँड्ने ठुला मान्छेलाई भिजायो भने गाली खाने डर हुन्थ्यो । भुराभुरा आफूआपू खेलेर उनीहरू रमाउँथे । मावल जाने धुनमा सुनितालाई साथीको सल्लाहबारे पत्तै भएन । उनीहरूले त आज रङ नखेल्ने धैर्य गुमाइसकेका रहेछन् । घर बाहिर आएपछि सुनिताले देखिन्, उनीहरू त हातमा लोला लिएर यताउता दौडदै पो रहेछन् ।

सुनिता धेरै दिनपछि बाटामा देखिइन् । त्यो पनि नयाँ र राम्रा लुगाको पहिरनमा । साथीहरूलाई त आफ्नो खुसी साट्नु थियो । अरू कुनै कुराको मतलव नै थिएन । तर उनका होली खेल्ने साथीहरूलाई अरू मसला के चाहियो र ! आफ्नै सुरमा दौडदै गरेकी उनलाई सिङ्गै समूहले ‘ह्यापी होली सुनिता....!' भन्दै अनुहारभरि रातो पहेँलो र विभिन्न रङ दलिदिइहाले । उनीहरूले रङ मिसिएको पानी पनि छ्यापिदिए । सुनिताले केही बोल्नै भ्याइनन् । उनी भिजेर निथु्रक्कै भइन् । साथीहरू भने उनीलाई रङ पोतिदिन पाएकोमा खुसी हँदै रमाउँदै चिच्याए । बिचरा उनको नयाँ लुगा बिग्रियो । सारा शरीरभरि रङ नै रङ भयो । उनी सुक्क सुक्क गर्दै रुन र रिसाउन थालिन् । ‘होली खेल्दा रुन लाज लाग्दैन ? तिमी पनि खेल न...!' भन्दै उनीहरूले उल्टै सुनितालाई नै जिस्क्याए ।

यता घरबाट हिँड्न लाग्दा छोरीलाई नदेख्दा सुनिताका बाआमा अत्तालिनु भयो । उनलाई खोज्न उहाँहरू भान्छामा जानुभयो, बाथरुमतिर हेर्नुभयो । उनी कतै थिइनन् । उनी हजुरआमासँग पनि थिइनन् । त्यसपछि उहाँहरू सुनितालाई खोज्न बाहिर निस्कनुभयो । त्यहाँ नजिकै त उनको केही चालचुल देखिएन । उहाँहरू अलि पर बाटामा पुग्नुभयो । त्यहाँ सुनिताको हालत देखेर उहाँहरू छक्क पर्नुभयो ।

सुनिता त रङपानीले निथ्रुक्कैे भिजेकी थिइन् । उनी लुग्लुगी काम्दै पनि थिइन् । यस्तो देखेर सुनिताका बाआमा रिसले आगो हुनुभयो । ‘होलीको दिन आउन नै नपाई यो केको तमासा ? बिरामी भएर राम्ररी तंग्रिसकेको पनि छैन, मावल जान भनेर नयाँ लुगा लगाएको छ, अनि यो जात्रा केका लागि ? ' सुनितालाई गरेको यो गालीको आवाज उनका बुबाको थियो । उहाँ यतिले मात्र रोकिनु भएन र फेरि ठुल्ठूलो स्वरले कराउनुभयो ‘को मान्छे कुन मोडमा छ भन्ने ख्याल नै नगरी कसैलाई यसरी रङ पोतिदिने को हो ? त्यो पनि बिरामी बच्चालाई.....!'

सुनिताका बुबाआमालाई देख्नेबित्तिकै होली खेल्ने उनका साथीहरू भागिसकेका थिए । बिजोगको अवस्थामा त्यहाँ रोकिने त सुनिता एक्लै भइन् । उनी सुँक्कसुँक्क गर्दै बोल्न थालिन् ‘समीप, सरिता, उमेश, रमिता.... । सप्पैले ओरिपरिबाट घेरेर एक्कैचोटि रङ दलिदिए । मैले पर्ख भन्न नि भ्याइनँ । उनीहरूले मेरो कुरै सुनेनन् ।'

यस्तो परिणाम बच्चाहरूको निर्दोष मनोरञ्जनको कारण भएको थाहा पाएपछि सुनिताका बाआमाले आफ्नो रिसलाई केही शान्त पार्ने प्रयत्न गर्नुभयो । उनका बुबाले ती सबै केटाकेटीलाई भेला पारेर सम्झाउने विचार गर्नुभयो । उत्तिबेलै उहाँले होली खेल्ने समूहका सबैलाई छेवैमा बोलाउनुभयो र भन्न थाल्नुभयो ‘अरू नै कोही थियो भने म आज नराम्रै हुने थियो ।

तिमीहरू त हाम्रा आफ्नै केटाकेटी पो रहेछौ । हेर ! सुनिता त आज नयाँ लुगा लगाएर मामाको विवाहमा मावल जान लागेकी थिइन् । तिमीहरूले उनको यस्तो गति बनाइदियौ । अब उनले यस्तै कसरी मावल जाने ? फेरि तिमीहरूलाई थाहै छ, उनी धेरै दिनदेखि बिरामी थिइन् । आज बल्ल उठेकी थिइन् । उनलाई पुरै निको त अझै भएको छैन । यसरी भिजेपछि फेरि हिजोअस्ति जस्तै बिरामी परिन् भने गति के हुन्छ ? त्यसैले सुन । होली पर्वका नाममा यसरी जसलाई पायो त्यसलाई जतिबेला पायो त्यतिबेला रङ पोती दिनु हुँदैन । तिमीहरूसँग खेल्न इच्छै नभएको मान्छेलाई सोध्दै नसोधी किन रङ दलिदिएको ? किन पानी छ्यापिदिएको ? '

यति कुरा भनिसक्दा सुनिताका बुबाको रिस प्रायः मरिसकेको थियो । उहाँले तिनीहरूलाई फेरि भन्नुभयो, ‘मान्छे सबैको आआफ्नो व्यस्तता हुन्छ । बाटो हिँड्नेलाई जथाभावी यसरी चलाउन पाइन्छ त ! फेरि यस्तो रङले एलर्जी पनि त हुन सक्छ नि । अबदेखि यसरी जसलाई भेट्यो त्यसलाई नछ्याप्नु है । तिमीहरू पनि खेल्नु तर कहिले, कोसँग र कसरी खेल्दा कसैलाई हुँदैन विचार पुर्‍याउनु । नत्र हेर त, अरूलाई पीर पर्नु र आफूलाई पीर पर्नु उस्तै त हो नि!'

सुनिताका बुबाको कुराले केटाकेटीहरूलाई आफूले गरेको कमजोरीको महसुस भयो । डरै डरले भरिएको अनुहार लिएर उनीहरू भेला भए । उनीहरूको शिर झुकेको थियो । त्यसपछि उनीहरू सबैले आआफ्ना हातमा भएका लोला खुत्रुक्क भुइँमा राखे । अनि यसरी बाटो हिँड्ने मान्छेलाई जथाभावी होली नछ्याप्ने निधो गरे ।

प्रतिकृया दिनुहोस

Annapurna Post1140X100