MENU

पाहुना आएको बेला भान्सामा छिर्न डर लाग्छ

नितु घले शुक्रवार, फागुन २७, २०७३ 15027 पटक पढिएको

Share This

सानो छँदा ब्रुस लीको चलचित्र हेरेपछि मार्सल आर्टप्रति आकर्षित भएकी हुन् संगीना वैद्य । तेक्वान्दो कोचका रूपमा कार्यरत उनी पहिलो नेपाली ओलम्पियन हुन् । बच्चैदेखि खेलकी सोखिन उनी विद्यालय अध्ययन सकेर त्रिशूलीबाट काठमाडौं आइन् । काठमाडौं आएको चार महिनामा राष्ट्रिय च्याम्पियन बन्न सफल भइन् । लगभग २५ वर्ष लामो खेल जीवनपछि कोच बनेकी संगीनाले एउटा खेलाडीका लागि खानाको भूमिका कति हुन्छ, कस्तो खाना खानुपर्छ भन्ने विषयमा ललितपुरको झम्सिखेलस्थित लप्टे नेवारी रेस्टुरेन्टमा बसेर खानाको स्वाद लिँदै आफ्नो अनुभव सुनाएकी छन् ।

खानाको प्रसंग आउनासाथ उनले आफू नेवारी खानाको पारखी भएको बताइन् । ‘म नेवारी खानाको एकदमै सोखिन छु । नेवारी खाना जता पाइन्छ त्यतै गएर खाने गर्छु', संगीनाले भनिन्, ‘म त चटामरीलाई नेपाली पिज्जा भन्छु । अन्डा किमा भएको मिक्स चटामरीको स्वादै बेग्लै हुन्छ । यो एकदमै नेपाली शैलीको खाना हो ।'

उनी खानाको सोखिन भए पनि मीठो वा नमीठो भनेर कहिल्यै गुनासो गर्दिनन् । ‘लगभग २५ वर्ष खेल खेलेँ । त्यसबीचमा घरभन्दा बाहिरको खाना धेरै खाएँ । तालिममा विभिन्न मुलुकमा पुग्दा त्यहाँकै खाना खानुपथ्र्यो', उनले स्मरण गरिन, ‘कोरियामा तालिमका लागि दुई महिना बस्दा साथीहरू खानामा गाह्रो मान्थे तर म जहाँ गए पनि त्यहाँको खानामा सजिलै भिजिहालेँ ।' विदेशमा बस्दा प्रायः माछा, सुप बढी खान्थिन् उनी । उनको अनुभवमा खेलाडीका लागि सिफुड एकदमै राम्रो र स्वास्थ्यवद्र्धक मानिन्छ । खासगरी खुट्टा, जोर्नीका लागि पनि राम्रो हुने उनको भनाइ छ ।

संगीनाको अनुभवमा खेलाडीले खाना स्वादका लागि भन्दा पनि के फाइदा गर्छ, त्यसमा ध्यान दिनुपर्छ । खानाको बारेमा कुरा गर्दा खेलाडीले धेरै त्याग गर्न सक्नुपर्छ । ‘मैले स्पाइसी, गुलियो, आइसक्रिम, कोल्ड ड्रिंक्स कहिल्यै खाइनँ । अर्को दिन बिरामी भइएला, खेल्न नसकिएला भन्ने पीर हुन्थ्यो', उनले प्रस्ट्याइन् । क्याम्पसमा बस्दा प्रायः रुटिनमा खानेबस्ने गर्नुपर्ने हुन्छ । उनीहरूले बनाएको खाना खानुपर्ने हुन्छ । प्रशिक्षणका क्रममा आफ्नो अनुभवमात्रै होइन; कुन खानामा के पाइन्छ, त्यसले के फाइदा गर्छ भन्ने पढाइने हुनाले खानाका बारेमा ज्ञान हुने संगीनाको भनाइ छ । ‘कोच भएपछि अलि फ्री भएर खाना खान थालेको छु', उनी भन्छिन्, ‘म अहिले राष्ट्रिय टिम, आर्मी टिमलाई पनि हेरिरहेकी छु । पहिले आफूले मात्रै खानपिनमा ध्यान दिँदा हुन्थ्यो; अहिले अरूको स्वास्थ्य, खानपिन, मनोविज्ञान सबै बुझ्नुपर्ने हुन्छ ।'

कतिपयले बिहानदेखि भात खाएको छैन भनेको सुन्दा उनलाई अचम्म लाग्छ । उनले दालभात कहिल्यै मिस गरिनन् । धेरै समय बसेकाले कोरियन खाना उनलाई मन पर्छ । किम्ची, सुप उनलाई मन पर्ने परिकारमा पर्छ । ‘कोरियाको खाना सादा हुन्छ तर एकदमै स्वादिलो । स्वस्थकर हुन्छ तर चिल्लो पीरो बिनाको', विदेशी खानाका बारेमा संगीनाले भनिन्, ‘चाइनिज खाना पनि धेरै खान्छु । धेरै खाएन भने खेल्न पनि सकिँदैन । म जुनसुकै खाना रमाइलो गरेर खान्छु ।'

युरोपेली, एसियाली, अमेरिकी जुनसुकै मुलुकमा पुगे पनि त्यहाँको खानासँग सजिलै एडजस्ट हुनसक्ने उनको बानी छ । उनको अनुभवमा विदेशमा जसरी ब्यालेन्स डाइट गरिन्छ, नेपालमा त्यस्तो छैन । विदेशमा खाना थोरै सुप धेरै खाने गरिन्छ । प्रायः उसिनेको, चिल्लो पीरो कम भएको खाना र फलफूल सबै मिलाएर खाने गरिन्छ ।

खाना पकाउने काममा भने उनी खासै रुचि राख्दिनन् र रुचि भए पनि फुर्सद हुँदैन । कहिलेकाहीँ आमालाई भान्सामा सहयोग भने गर्छिन् । पकाउने बानी छुटेकाले उनलाई बिग्रेला कि भनेर डर लाग्छ । ‘दिदीबहिनीले किचन सम्हाले, मैले पकाउनै परेन । पकाउन खासै आउँदैन पनि । पाहुना आएको बेला त झनै भान्सामा छिर्नै डर लाग्छ', उनले भनिन् ।

लप्टे नेवारी कुसन रेस्टुरेन्टमा उनले छोइला, सेकुवा, पीरो आलु, आलुतामा, भटमास, बारा, सफोमिचा, टिस्यो, सी फुडलगायतका खानाको स्वाद लिइन् । लप्टेजस्तो मजाले बसेर नेवारी खाना खान पाइने रेस्टुरेन्टमा पुग्दा आफूलाई खुसी लागेको उनले बताइन् । ग्राहकको मागलाइ ध्यानमा राखेर लप्टेले नेवारीका साथै थाई, कन्टिनेन्टल खाना पनि सर्भ गर्न थालेको रेस्टुरेन्टका सञ्चालन रवीन्द्रराज मानन्धरले बताए । सो रेस्टुराँले विदेशी टिपिकल खानालाई नेवारी स्वादमा पनि पस्कने गरेको छ ।

होली मनाउन गाउँमा

त्रिशूलीमा हुर्केकी संगीनालाई होली रमाइलो लाग्छ । सानोमा उनीहरू सबै एकै ठाउँमा भेला भएर होली खेल्थे । आआफूले खाना पकाएर ल्याउँथे । सबै मिलेर खीर, हलुवा पकाएर खान्थे । ती दिन सम्झँदा उनलाई रमाइलो लाग्छ । यसपटक पनि संगीना होली मनाउन आफ्नै गाउँ जाँदैछिन् । उनले गाउँमा बच्चा बेलाको जस्तै खाना खाने सोच बनाएकी छन् । ‘सबैले एकअर्कालाई चिन्ने भएकाले आत्मीयता पनि हुन्थ्यो । खुब रमाइलो गरिन्थ्यो', बाल्यकालको होली स्मरण गर्दै संगीना भन्छिन्, ‘होली सभ्य तरिकाले खेल्नुपर्छ । यो एउटा राम्रो पर्व भएकाले विकृति ल्याउनु हुँदैन ।'

प्रतिकृया दिनुहोस

Annapurna Post1140X100