MENU

आत्मविश्वास

मनोज बोहोरा आइतवार, फागुन ८, २०७३ 2299 पटक पढिएको

Share This

सृष्टिले घरमा आमालाई घुर्की लाउँदै रुन्चे स्वरमा निन्याउरो अनुहार पार्दै भनिन्, ‘अहँ जान्न म, नाइँ खान्न म ।' म त्यहाँ टुप्लुक्क पुगेकोले उनलाई जिस्क्याउँदै सोधिहाले, ‘के भयो र मेरो जून जस्ती हँसिली छोरीलाई आज ? आकाशमा कालो बादल लागेजस्तै धुम्म र मौन छ नि तिम्रो अनुहार ! कहाँ नजाने र के नखाने कुरो हो ? यसो हामी नि सुनौं न !'

‘तिम्रो स्कुलको वार्षिक परीक्षा पनि त नजिकै आउँदै छ नि होइन र ? बल्ल पो बुझेँ मैले तिम्रो कुरो । जाँच सकिएपछि मामाघर जान नपाए आज विद्यालय जान्न अनि खाना खान्न भनेको हो ? कि कुरो अरू नै छ । यसो हामीलाई नि सुनाएँ मनको बोझ हल्का त हुन्थ्यो नि !' मैले भन्दै गएँ । ‘भो छोडौं यी कुरा । अहिले मलाई बेस्मारी भोक लागेर भुँडीमा गुडुगुडु गर्दै कुदिरहेको मुसाको झगडा सुन्दै र मिलाउँदै फुर्सत छैन, तिमी चाहिँ खाना नखाने भन्छौ । तिमीलाई नि तिम्रो भुँडीमा मुसाले रेसलिङ खेलेको हेर्ने मन छ जस्तो छ होइन, बल्ल पो बुझे हौ ।'

मेरो कुरो सुनेर उनको अनुहारमा रिसको र मन्द मुस्कानको सुन्दर सम्मि श्रण सहज नै देख्न सकिन्थ्यो । भरियाले भारी बिसाउने चौतारी पाउँदाको सुखद अनुभूतिको एक चित्र सहज नै उनको अनुहारमा देखियो ।

उनले मेरो कान नजिकै मुख ल्याएर सानो रुन्चे स्वरमा भनिन्, ‘थाहा छ मलाई त सबै साथी, शिक्षक र आफ्नै घरकाले पनि पृथ्वीको बोझ भनेर सधैं गाली गर्नुहुन्छ । के म साँच्ची नै पृथ्वीको बोझ हो त ? किन नजान्ने चाहिँ कहिले जान्ने हुन सक्दैन् र ? '

यति कुरा सृष्टिका मुखबाट सुनेपछि मैले ती कलिली नानीको मानसपटलमा परेको नकारात्मक र घृणाको अमिट छापको प्रभाव जीवन्त महसुस गरेँ ।

सृष्टि कक्षा ७ की विद्यार्थी हुन् । नयाँ कुरा सिक्ने तीव्र इच्छा भए तापनि अरूजस्तो नयाँ कुरा सिक्ने तीक्ष्ण बुद्धि र विवेक उनमा थिएन् । उनी पढाएको कुरा ढिलो बुझ्थिन् । यसको अर्थ यो होइन कि उनी मन्द र सुस्त मनस्थितिकी थिइन् । नजानेको कुरा न हिचकिचाइकन जान्नेलाई सोध्थिन् । तर पाउँथिन् केबल रूखो वचन ।

सबैको सधैंजसो एउटै उत्तर हुन्थ्यो, ‘यति जाबो नि आउँदैन । कुकुरको पुच्छर बाह्र वर्ष ढुंग्रामा राखे नि जस्ताको त्यस्तै ।'

उनी परीक्षामा जसोतसो उत्तीर्ण त हुन्थिन् । तर उनी पटक्कै पनि सन्तुष्ट थिइनन् । घरमा नि दाजु र बहिनीभन्दा नजान्ने भनेर सधैंजसो हेपिनु पर्ने, टोकसहाट सहनु पर्ने बाध्यता उनको लागि दैनिकीजस्तै बनिसकेको थियो । ती कलिली नानीको मस्तिष्कमा पर्ने नकारात्मक असरबारे परिवारमा कसैले सोचेनन् ।

विद्यालयमा शिक्षक र साथीहरूबाट बुद्धु, मूर्ख, ट्युबलाइट, नजान्नेजस्ता शब्दहरू सुन्दासुन्दा विस्तारै उनलाई पनि के म साँच्चै त्यस्तै छु त भन्ने कुराले झन्झन् पिरोल्न थालेको थियो ।

मेरो अनुहारतिर हेर्दे उनले भनिन्, ‘काका तपाईं पनि मलाई अरूले सोचेजस्तै सोच्नुहुन्छ हो ? '
उनका कुरा सुनेर म छांगाबाट खसेजस्तै भएँ । मेरो अनुहारमा छाएको मलिनता र निन्याउरोपन हेर्न लायककै थियो । हुन पनि हो जान्नेलाई काखा अनि हाइहाइ र नजान्नेलाई पाखा, हेँला, तिरस्कार त म विद्यालय पढ्दा नै पनि त हुन्थ्यो । नजान्नेलाई कसले पो गन्थ्यो र । के यो राम्रो कुरा हो र ? यसले बालबालिकाको मनमा पार्ने विकराल असरबारे अभिभावक र शिक्षकले सोच्न जरुरी छैन र ?

म त मनमा यस्तै कुराहरू खेलाउँदै टोलाएछु । उनले मलाई हातले कोट्याउँदा झसंग भएँ । उनले सोधिन्, ‘काका तपाईंले पनि मेरो कुराको जवाफ दिनु भएन नि किन ? कता हराउनु भयो ? फेरि म पनि कस्तो अबुझ कस्तो प्रश्न सोधेको काकालाई ! म जस्तो छु त्यस्तै न भन्छन् अरूले । होइन त काका ? '

‘धत् यस्तो नि सोच्नुहुन्छ तिमी जस्तो ज्ञानी र बुझक्की केटीले । हेर नानी आफूलाई यसरी कमजोर नठान, बरु यसो सोच त यस संसारमा कडा परि श्रम र मेहनत गरे प्राप्त नहुने केही छ र । हरेक मानिसमा एक न एक विलक्षण प्रतिभा हुन्छ । केवल हामीले त्यसलाई चिन्नुपर्छ', मैले भनेँ, ‘संसारमा ठूला मानिस जीवनमा धेरै पटक असफल भएर पछि सफल भएका छन् । तिमीलाई थाहा छ ।

संसारमा गाह्रो, अप्ठ्यारो भन्ने केही हँदैन, केवल हामीले अप्ठ्यारो मानेकाले नै अप्ठ्यारो लागेको हो । ल भन त तिमीलाई के काम गर्दा रमाइलो लाग्छ, त्यो काम गरी रहँदा उठ्न नि मन लाग्दैन अनि मन र मस्तिष्कमा त्यही कामको मात्रै स्मरण आउँछ । त्यस्तो कुनै न कुनै काम त होला नि । हो त्यही हो तिम्रो प्रतिभा ।'

उनले उत्साहित हुँदै बीचैमा भनिन्, ‘काका, मलाई त हिसाब गर्न, चित्र बनाउन, कथा, कविताहरू लेख्दा रमाइलो लाग्छ । तर म सरले पढाएको अरूले जस्तो छिटो बुझ्न सक्दिनँ । यसैले मलाई गुरु र साथीले सधंै ट्युबलाइट भनेर बोलाउँछन् । त्यही लाजले गर्दा म आज विद्यालय नजाने भनेको हो ।'

‘त्यति सानो कुरामा पनि पढाइ बिगार्न हुन्छ ? यसरी हिम्मत हार्नु हुँदैन छोरी । अस्तिको जाँचमा कस्तो भयो ? रिजल्ट आयो ? ' मैले सोधेँ ।

‘मैले हिम्मत हारेको छैन काका । तर परिवार, साथी, गुरुबाट यस्तो व्यवहार सम्झँदा विद्यालय जान मन नै लाग्दैन । अस्तिको परीक्षामा नि राम्रो गरेको थिएँ । हेरौं के हुन्छ ।'

‘तिमीमा आत्मविश्वास छ भन्ने मलाई थाहा छ । अरूले के भन्छन् भन्ने कुराको पछि नलाग । अलि मेहनत गर्‍यौं भने सफलता टाढा छैन ।'

त्यतिकैमा सृष्टिकी आमा कोठामा आउनुभयो र भन्नुभयो, ‘के को गन्थन हो काका भतिजीको यति लामो । बरु बाबु यसो सम्झाइदिनु न यसलाई । एकै कोखबाट जन्मेका दाजु बहिनी पढाइमा कति जान्ने छन् यो चाहिँ खै के भन्नु यसलाई । म त हैरान भएँ ।'

यत्तिकैमा फोनको घन्टी बज्यो । सृष्टिकी आमाले फोन उठाउनुभयो । त्यो फोन उनको विद्यालयबाट आएको रहेछ । हेडसरको स्वर सुनियो,

‘सृष्टिकी ममी बोल्नु भएको हो ? ल बधाई छ । सृष्टि परीक्षामा प्रथम श्रेणीमा पास भइन् । अनि उनले गणितमा कक्षाकै उत्कृष्ट अंक ल्याएकी छिन् ।'

त्यो सुनेर खुसी हुँदै आमाले भन्नुभयो, ‘अरूभन्दा नजान्ने भनेर भर्खर गाली गर्दै थिएँ । यो त फस्ट भइछ । लौ छोरी मलाई माफ गर । जाउँ अब खान खाउँ । स्कुल जान ढिला भयो ।'

सृष्टि लुगा फेर्न कोठामा गइन् । मैले भनेँ, ‘देख्नु भयो त भाउजू आखिर सृष्टिले कमाल गरेर देखाई । केटाकेटीलाई हेप्न हुन्न भनेको यसैले हो । उनीहरूमा के प्रतिभा छ र कहिले त्यो बाहिर निस्कन्छ भन्न सकिन्न । गाली र आलोचना गरेर प्रतिभा मार्नु हुँदैन ।'

त्यो दिनदेखि सृष्टिप्रति परिवार, साथी र शिक्षकहरूको दृष्टिकोण बदलियो । उनीहरूले सृष्टिलाई माया र सम्मान गर्न थाले । अनि उनलाई मेहनत गर्ने थप ऊर्जा र हौसला पनि मिल्यो ।

प्रतिकृया दिनुहोस

Dish latest