MENU

राससलाई अनलाइन पत्रकारको सुझाव

अन्नपूर्ण शुक्रवार, फागुन ६, २०७३ 2554 पटक पढिएको

Share This

काठमाडौँ : विभिन्न अनलाइन मिडियाका सम्पादक एवम् प्रतिनिधिले राष्ट्रिय समाचार समितिको समाचार सामग्रीलाई समावेसी, खोजमूलक,अनुसन्धानात्मक बनाउन सुझाव दिएका छन् ।

राससको ५६ औँ वार्षिकोत्सवको पूर्व सन्ध्यामा रासस कर्मचारी युनियन, २०७३ ले शुक्रबार आयोजना गरेको ‘उदाउँदो अनलाइन मिडिया र रासस न्यूजलाइन’ विषयक छलफल कार्यक्रममा अनलाइन पत्रकारले यस्ता सुझाव दिएका हुन् । हाल राससका एक सय ९८ कुल ग्राहकमध्ये अनलाइनका ९० ग्राहक छन्।

अनलाइन खबर डटकमका सम्पादक अरुण बरालले राससका समाचार शीर्षक र कतिपय प्रस्तुति परम्परागत नै रहेको टिप्पणी गरे।

लोकान्तर डटकमका सम्पादक विमल गौतमले आफूहरुले राससलाई स्रोत उल्लेख गर्ने गरिएको जनाउँदै कतिपय समाचारमा रासस चुक्दा हैरानी पाउने गरेको गुनासो गरे । सञ्चारिका समूहका अध्यक्ष निर्मला शर्माले राससले सेवामा सुधार गरे पनि अझै सीमान्कृत समुदायको आवाजलाई समेट्न नसकेको उल्लेख गुनासो गरिन्।

जनता समाचार डटकमका सम्पादक रामकुमार एलनले राससले प्रदेश र गाउँघरका र समावेशी सामग्री दिन तथा आफ्ना नियमित ग्राहकलाई सम्मान, पुरस्कार गर्न सुझाव दिए।

रातोपाटी डटकमका सम्पादक नेत्र पन्थीले राससमा कहिलेकाहीँ सानो घटनाका पनि धेरै तस्बिर र कहिलेकाहीँ ठूला घटनाका पनि तस्बिर नपाइने समस्या सुधार्न आवश्यक भएको बताए

कान्तिपुर अनलाइनका सहायक डेस्क संयोजक शेखर अधिकारीले राससमा समाचारको आर्काइभ राख्न आग्रह गरे । यस्तै अन्नपूर्णपोस्ट अनलाइनका लुइटेल दिनेश, पहिलो न्यूजडटकमका कार्यकारी सम्पादक मोहन बास्तोला, स्थानीय खबर अनलाइनका सम्पादक रञ्जित तामाङ, नेपालीपत्र डटकमका उद्धव थापा, नयाँ पत्रिकाका टेकराज थामीलगायतले राससको सामग्री सुधारका विविध पक्षमा सुझाव दिए।  

छलफलमा उठेका सवालको जवाफ दिँदै राससका अध्यक्ष कुलचन्द्र वाग्लेले आफूहरु श्रव्यदृष्य सेवामा जाने तयारीमा रहेको जानकारी गराएका छन् । अध्यक्ष वाग्लेले भूकम्पका बेलामा चौरमा बसेर सेवा सुचारु गरेबाट एफएम र अनलाइनले धेरै लाभ लिए पनि राससलाई स्रोत उल्लेख गर्न कञ्जुस्र्याइँ गरिएको गुनासो पनि व्यक्त गरे ।

राससका नायब महाप्रबन्धक सुरेन्द्रबहादुर नेपालीले राससको उतारचढाव र डिजिटल युगमा यसको प्रवेशबारे कार्यपत्र प्रस्तुत गर्दै विद्यमान सेवाबाट आफूहरु सन्तुष्ट नभएकाले सुधारका लागि प्रयासरत रहेको बताए।

राससका प्रशासन प्रमुख सोमनाथ लामिछानेले गणतन्त्रपछि सम्पादकीय डेस्कमा कुनै हस्तक्षेप नरहेको अनुभव सुनाए । राससका वरिष्ठ कार्यकारी सम्पादक श्याम रिमालले राससले रद्द गरेका कतिपय समाचार पनि अनलाइनले नहटाउँदा समस्या आउने टिप्पणी गरे।

सार्वजनिक संस्था कर्मचारी सङ्गठन नेपालका उपाध्यक्ष इन्दु आचार्यले कर्मचारी युनियनले संस्थानको हितमा काम गर्छ भन्ने उदाहरणका रुपमा अन्तरक्रिया कार्यक्रम सार्थक भएको बताइन। युनियनका अध्यक्ष कालिका खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सल्लाहकार प्रकाश सिलवालको सहजीकरण गरेका थिए । रासस

Yamaha

प्रतिकृया दिनुहोस

dishhomeapp