MENU

मोबाइल हब बन्यो ताम्राकार हाउस

रञ्जनहरि कोइराला शुक्रवार, फागुन ६, २०७३ 24897 पटक पढिएको

Share This

काठमाडौः ताम्राकार हाउस निर्माणकर्ताले कम्प्लेक्स ठड्याउँदा यसलाई मोबाइल बजार बनाउने सोचेका थिएनन् । मोबाइलकै पसलले कम्प्लेक्स भरिने सोच्न सकिने अवस्था पनि थिएन । निर्माण हुँदै गर्दा बजारमा नोकिया, मोटोरोला एकाध ब्रान्डका मोबाइल उपलब्ध थिए । धरौटी राखेर सिम लिनुपर्ने भएकाले मोबाइल उच्च आय हुनेका लागि मात्र थियो ।

ताम्राकार हाउसको निर्माण सकिँदा टेलिकमले प्रिपेड सिम बजारमा ल्याएकाले मोबाइलमा पहुँच पुग्नेको संख्या ह्वात्तै बढेको हो । तैपनि, कम्प्लेक्स तयार भएपछि सुरुमा रेडिमेड गार्मेन्ट्स, साडीलगायत विविध थरीका पसल खुलेका थिए । कम्प्लेक्सको तल्लो भागमा त साडी पसल नै थिए । प्रिपेडको सिम लाखौं उपभोक्ताको हातमा पुग्न थालेपछि नोकियाका सेटको बजार गर्मायो ।

न्युरोडमा मोबाइल पसल थिए, पाकोको ताम्राकार हाउसमा थिएनन् । ‘०६४ सालमा नोकियाको सर्भिस सेन्टर खुल्नु ताम्राकार हाउस मोबाइल कम्प्लेक्समा परिणत हुने टर्निङ प्वाइन्ट थियो,' ताम्राकार मोबाइल व्यापार संघका अध्यक्ष जगत साउद भन्छन् । दशक अघिसम्म एउटै मोबाइल पसल नभएको ताम्राकार हाउस अहिले मोबाइल मात्रको बजार बनेको छ । मोबाइलबाहेक अन्य सामानको व्यापार यहाँ हुन्न । त्यति मात्र होइन, मुलुकमै सबैभन्दा बढी मोबाइल कारोबार हुने हब पनि यही कम्प्लेक्स बनेको हो ।

मोबाइल किन्न हरेक दिन ७५ जिल्लाकै ग्राहक ताम्राकार हाउस पुगेकै हुन्छन् । कुनै पनि ब्रान्डका लागि सबैभन्दा पहिला पसल खोल्ने रोजाइको ठाउँ हुन्छ, ताम्राकार हाउस । नयाँ ब्रान्डलाई स्थापित गराउन त ताम्राकार हाउसमा सोरुम खोल्नु पहिलो सर्त हुने गर्छ । यहीबाट कतिपय ब्रान्ड÷मोडल सार्वजनिक हुन्छन् । ‘अन्य ठाउँमा बजार लिन नसकोस्, ताम्राकार हाउसमा बजार लिए त्यो ब्रान्ड ढिलो-चाँडो अन्त पनि स्थापित हुन्छ', साउद भन्छन, ‘यसैले यहाँ सटर पाउन ठूलो हानथाप हुन्छ ।' दैनिक १५÷२० हजार ग्राहकले ताम्राकार हाउसको चक्कर लगाउँछन् । दिनमा २ हजारभन्दा बढी सेट एउटै छतमुनिबाट बिक्री हुन्छ ।

सुरुको चरणमा यो कम्प्लेक्समा मोबाइल पसल नचल्ने हो कि भन्ने डरले पसल बेचेर हिँडेका मोबाइल व्यापारी पनि छन् । जो अहिले आएर थकथकाएको अवस्था छ । अहिले कम्प्लेक्सको हरेक स्थान बहुमूल्य छ । यहाँ सुनको भाउले पनि नभ्याउने भएको छ । पहिलो त अब यहाँ पसल किन्छु भन्दा पाउन मुस्किल पर्छ । कसैलाई बेच्नुपर्‍यो भने पसलमा भएको सबै सामान निकालेर ठाउँ मात्र पनि करोडौंमा बिक्री हुने गर्छ । यो त पसलको कुरा भयो कम्प्लेक्सको भर्‍याङमा समेत कम्पनीले आफ्नो विज्ञापन गर्न ठूलो रकम खर्च गर्नुपर्छ ।

ताम्राकार मोबाइल व्यापार संघका कोषाध्यक्ष अनिल ढकालका अनुसार कम्प्लेक्समा छिर्नेबित्तिकै देखिने पोस्टरले कम्प्लेक्सलाई मोबाइल कम्पनीले दिएको महत्व देखाउँछ । त्यसमा कम्पनीले लाखौं रकम खर्चेका छन् । त्यहाँ हुने विज्ञापनको प्रभाव सिधै ग्राहकमा पर्छ । यहाँ कम्पनीले आफ्नो उत्पादन बेच्न राख्दिनुपर्‍यो भनेर आग्रह गरिरहेका हुन्छन् । पसलमा राखेर बेचिदिएकोमा पसलेलाई कम्पनीले आकर्षक कमिसन रकम बुझाउने गर्छन् । प्रतिस्क्वायर फिटको ३ सय हाराहारीमा पसलेले भाडा तिरेका छन् । त्यस हिसाबले ४० हजारसम्म एउटा सटरको भाडा पर्ने गर्छ । ‘यो भाडा बाहिरको तुलनामा भने सस्तो हो', ढकालले भने, ‘बाहिरको तुलनामा भाडा सस्तो भएकै कारण पनि ताम्राकार कम्प्लेक्समा अन्य स्थानको तुलनामा मोबाइल कम मूल्यमा बिक्री गर्न सकिएको छ ।'

स्मार्टफोनको बजारको रुपमा ४५ वटा मोबाइल पसल सञ्चालनमा रहेको कम्प्लेक्समा अहिले २५ भन्दा बढी ब्रान्डका मोबाइल रहेका छन् । मोबाइलका साथै मोबाइल मर्मतका लागि कम्पनीको आफ्नै मर्मतकेन्द्र भएकाले पनि कम्प्लेक्समा ग्राहक तानिएका छन् । आफ्नै मर्मतकेन्द्र नभएका कम्पनीले त्यहाँका पसलेसँग सहकार्य गरी मोबाइल मर्मत गराउने काम गरेका छन् । जसको प्रतिफल अहिले कम्प्लेक्समा दैनिक दुई करोड हाराहारीमा कारोबार हुन्छ । पछिल्लो समय कम्प्लेक्स स्मार्टफोनको हबका रूपमा परिणत हुँदै गएको छ । यहाँ ९० प्रतिशत स्मार्टफोन बिक्री हुन्छ । बारफोनको ग्राहक थोरै मात्रामा यो स्थानसम्म आइपुग्ने बताउँछन् ढकाल ।

कम्प्लेक्स यहाँसम्म आइपुग्नुमा थोरै कम्प्लेक्सका सञ्चालका अनि व्यवसायीको हात छ । त्यो भन्दा पनि ठूलो हात रहेको छ ग्राहकको । आज गाउँ-गाउँसम्म मोबाइल किन्ने उपयुक्त स्थान ताम्राकार कम्प्लेक्स भनेर चिनिएको कारण नै मोबाइल किन्न आउने ग्राहक हुन् । एकबाट अर्को हुँदै फैलिएको कम्प्लेक्सको नामले आज गाउँ-गाउँसम्म पनि यो चिनिएको हो । यसको प्रचार नै मानिसबाट मानिसमा हँदै जानु हो । ‘मैले मोबाइल ताम्राकार कम्प्लेक्समा किनेको त्यहाँ सबै खालको मोबाइल पाइन्छ भनेर एउटाले अर्कोलाई भनेको भरले यो कम्प्लेक्स परिचित भएको हो', ढकालले भने, ‘कम्प्लेक्सको आफैंले प्रचार-प्रसार गर्ने काम पछिल्लो एक÷दुई वर्षमा मात्र भएको छ ।'

कम्प्लेम्सको सफलता सँगै यसमा समस्या पनि सिर्जना हुँदै गाएका छन् । राम्रो पार्किङको व्यवस्था नहुनु कम्प्लेक्सको सबैभन्दा ठूलो समस्या भएको छ । यो स्थानमा पार्किङको व्यवस्था नहुँदा कम्प्लेक्सको बजारमा कमी आएको छ । गाडी पार्किङ गर्न नपाएर कतिपय ग्राहक त्यसै फर्किने गरेका पनि छन् । अर्को समस्या भनेको मोबाइलको यो बजार सधैं यही स्थानमा रहन्छ वा रहँदैन भन्ने हो । परिवर्तित मोबाइल बजार कति वर्ष यहाँ रहन्छ भन्ने विषय त्यहाँका व्यवसायीको चिन्ता र समस्याको विषय बनेको छ । ‘मोबाइलको बजार परिवर्तित छ', अध्यक्ष साउदले भने, ‘बसपार्कमा बन्ने भ्यु टावरको निर्माणपछि भने यो बजारलाई असर पर्ने हो कि ।'

प्रतिकृया दिनुहोस

Annapurna Post1140X100