MENU

एकीकृत राप्रपा र राष्ट्रिय निकास

सगुनसुन्दर लावती शुक्रवार, फागुन ६, २०७३ 3675 पटक पढिएको

Share This

गाउँ, क्षेत्र र जिल्ला तहको अधिवेशन सम्पन्न भएयता राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने तयारीमा छ । छुट्टिएर रहेका राप्रपा एकीकृत भएपछिको सन्दर्भमा फागुन ६ देखि ९ गतेसम्म सम्पन्न हुन गइरहेको एकताको महाधिवेशनले वास्तवमा राष्ट्रिय, अन्तर्राष्ट्रिय चासो र ध्यानाकृष्ट गरिरहेको छ । मूलतः एकीकृत भइसकेको अवस्थामा राप्रपा नयाँ ऊर्जा र शक्तिका साथ राष्ट्रिय राजनीतिमा अघि बढ्छ भन्ने जनअपेक्षा छ । चौथो राजनीतिक शक्तिको रूपमा स्थापित राप्रपाले आगामी दिनमा फड्को मार्छ भन्ने विश्लेषण सर्वत्र छ ।

एकीकृत भएर शक्तिसञ्चय गर्ने क्रममा राप्रपा मुलुकको तेस्रो, दोस्रो वा कतैकतै पहिलो राजनीतिक शक्तिसमेत बन्न सक्छ भन्ने आकलन प्रवाह भएकाले आसन्न महाधिवेशनले थप महत्वव बटुलेको छ । वडादेखि जिल्ला तहसम्म संरचनागत तवरले अधिवेशन सम्पन्न गर्ने क्रममा जुन सरगर्मी देशभर सञ्चार भयो, त्यसबाट पनि पक्ष-विपक्षबीच एकीकृत राप्रपाले दर्बिलो उपस्थिति कायम गरेको देखियो । अर्थात् एकतापछिको राप्रपा संगठन निर्माण एवं जनपरिचालनको मार्गमा अघि बढिरहेको छ भन्ने राजनीतिक सन्देश स्थानीय तहका अधिवेशनले सफल रूपमा प्रवाह गर्‍यो ।

यसै पनि एकतापछिको राप्रपाले पाँच विकास क्षेत्रमा आमसभा आयोजना गर्ने क्रममा व्यापक रूपमा जनताको सहभागिता, उत्सुकता र समर्थन आकृष्ट गरेको थियो । बिर्तामोड, भक्तपुर, पोखरा, नेपालगन्ज तथा महेन्द्रनगरमा सम्पन्न क्षेत्रीय तहका जनसभा त्यसैका ज्वलन्त प्रमाण हुन् । त्यसका अतिरिक्त सिन्धुपाल्चोकको चौतारामा आयोजित खुला सभामा देखिएको जनलहरसमेत आफैंमा राप्रपा विकल्प हो भन्ने जनताको स्वीकारोक्तिको द्योतक थियो । राष्ट्रियता, प्रजातन्त्र र उदारवादको वैचारिक आधारस्तम्भमा अडेको पार्टी विद्यमान अन्योल र अभाव चिर्दै निर्णायक गतिमा अघि बढ्छ भन्ने चर्चा त्यस मानेमा अस्वाभाविक छैन ।

०६२÷६३ को परिवर्तनको सेरोफेरोमा नयाँ नेपालको नारा सर्वव्यापी बनेको थियो । नेपाली जनतासमक्ष सञ्चार गरिएका नारा र वाचामा त्यसबेला महान्, युगान्तकारी छलांगको बेलीविस्तार लगाइन्थ्यो । तत्कालीन अवस्थामा विभिन्न पृष्ठभूमि र विचारधारामा अभ्यस्त दलहरूबीच कार्यगत एकता भएको थियो । सामाजिक समावेशीकरणलाई केन्द्रबिन्दुमा राखेर राजनीतिक, सामाजिक तथा आर्थिक रूपान्तरणका प्रस्तावना अघि सारिएको थियो । पृथक् दलगत आस्था र भिन्नताबीच परिवर्तन र पुनर्संरचनाको लागि प्रस्तुत खाका मूलतः माक्र्सवादी दर्शनबाट अभिप्रेरित थियो । समाजवादउन्मुख परिवेशको नियमित र निरन्तर याचना त्यसै यथार्थको द्योतक थियो ।

उन्नाईसौं शताब्दीमा माक्र्सले प्रतिपादन गरेको प्रस्तावनामा सामन्तवाद, पुँजीवाद, समाजवाद हुँदै साम्यवादसम्म पुग्ने समाज विकासक्रमको परिकल्पना अघि सारिएको थियो । त्यसै अवधारणाअनुरूप सामन्तवादको अवशानपश्चात् पुँजीवादी अर्थव्यवस्था हुँदै समाजवादको दिशामा नेपाली समाज अघि बढ्छ भन्ने अवस्था चित्रण गरिएको थियो । अर्थात् साम्यवादको अन्तिम लक्ष्य प्राप्त गर्ने क्रममा नेपालको सामाजिक विकासक्रम समाजवादउन्मुख छ भन्ने सन्देश नयाँ नेपालका संवाहक हौं भन्नेहरूले प्रवाह गरेका थिए । त्यस अर्थमा एक्काईसौं शताब्दीसुहाउँदो वैज्ञानिक परिवर्तन र पुनर्संरचनाको मूल आधार उन्नाईसौं शताब्दीमा माक्र्सले प्रतिपादन गरेको विचार नै थियो, जो मार्गचित्र आफैंमा अपुरो मात्र नभएर असान्दर्भिक पनि थियो, वस्तुतः यसमा कुनै नौलोपन वा नवीनतासमेत थिएन ।

पहिलो कुरा, उदारवादी अर्थव्यवस्था विद्यमान विश्व परिवेशको यथार्थ हो । समाजको विकासक्रम यस मानेमा नेपालको हकमा समेत सामन्तवाद, पुँजीवाद हुँदै समाजवादतर्फ अघि बढेको पाइन्न । पुँजीवादकै चरणमा चलायमान रहेको विश्व परिवेश, नेपाली परिवेश माक्र्सले भनेजस्तो समाजवाद र साम्यवादको चक्रमा अघि बढेको छैन । यो नै सत्य हो, वस्तुगत यथार्थ हो । अर्थात् पुँजीवादी संरचनामा अन्तरनिहित आकार-प्रकार परिवर्तन हुन सक्लान् तर पुँजीवादको विकल्प पुँजीवाद नै हुनेछ भन्ने जारी प्राज्ञिक बहस यस अर्थमा सान्दर्भिक देखिन्छ । त्यसैले वैज्ञानिक परिवर्तन भनेर प्रस्तुत गरिएको समाजवाद, साम्यवादउन्मुख चक्र आफैंमा अपुरो थियो— प्रधानमन्त्री स्वयंबाट प्रस्तुत ‘अब मुलुक दुर्घटनामा जान्छ' भन्ने अभिव्यक्ति त्यसै गलत मार्गचित्रको परिणति हो भन्दा अतिशयोक्ति नहोला ।

निश्चित रूपमा समाज गतिशील हुन्छ, त्यसैगरी मानव परिवर्तमुखी । राप्रपाले पनि यो वस्तुगत धरातल आत्मसात गरेको छ, यद्यपि अन्य दलसँगको भिन्नता भनेको बाटो र विधिकै हो । नयाँ नेपालका प्रवर्तकहरूले जस्तो परिवर्तनका नाममा पुराना सबै भत्काउन र मिल्काउनुपर्छ भन्ने मान्यतामा राप्रपा विश्वास गर्दैन । पुराना संस्था, संरचना, परम्परा र मूल्यको विघटन एवं ध्वंसमा समृद्ध नेपाल निर्माण हुन्छ भन्ने मान्यता राप्रपाको दर्शन होइन । राप्रपा मूलतः संवद्र्धनवादमा अभ्यस्त राजनीतिक शक्ति हो ।

मुलुकको निर्णायक एवं जिम्मेवार भूमिकामा नेपाली राष्ट्रियताको जग सुढृद गर्दै विद्यमान यथास्थितिबाट मुलुक र जनताले निकास पाउनेछन् भन्ने आशा पाल्नु अस्वाभाविक देखिन्न, मूलतः राप्रपा एकजुट भएर अघि बढिरहेको परिवेशमा ।

संवद्र्धनवादको दर्शनमा खडा भएर पुराना निधि र सम्पत्ति, नयाँ ऊर्जा र सम्भावनालाई एकसाथ समायोजन गराएर लैजानुपर्छ भन्ने मार्गचित्र नै राप्रपाले रोजेको बाटो हो । यसै आधारशिलामा राष्ट्रहित र जनकल्याण प्राप्त हुन्छ भन्ने राप्रपाको ढृढ निष्कर्ष हो । नेपाल पुरानो भयो, नयाँ बनाउनुपर्‍यो भन्ने लहडमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सालिक भत्काउनुपर्छ भनेजस्तो आग्रह वा अल्पदृष्टि राप्रपाले कतै अवलम्बन गर्दैन, यस्तो गल्तीकमजोरीको कतै गुन्जाइस नै रहन्न ।

एकछिन एउटा उदाहरण यहाँ उल्लेख गरौं । परिवर्तनकामी छलांगको बहानामा भारतमा राष्ट्रपिता महात्मा गान्धीको प्रतिमा भत्काइने हो भने त्यहाँ कस्तो प्रतिक्रिया प्राप्त हुन्थ्यो होला । त्यसैगरी चीनमा माउत्से तुङ र अमेरिकामा अब्राहम लिंकनको सालिक नयाँको लागि, परिवर्तनको नाममा तोडफोड हुने हो भने त्यहाँका नागरिक र जनसमुदायबीच कस्तो प्रतिक्रिया उत्पन्न हुन्थ्यो होला, हामी कल्पना पनि गर्न सक्दैनौं ।

तर हामीबीच एक किसिमको हावा बग्यो भन्दैमा विभाजित नेपाललाई एकताको सूत्रमा बाँध्ने, हुँदै नभएको नेपाल सिर्जना गर्न नेतृत्वदायी भूमिका निर्वाह गर्ने, नेपाली भएर बाँच्न दिने राष्ट्रनिर्माता तथा क्रान्तिनायक पृथ्वीनारायणको प्रतिमा भत्काउने काम गरियो यहाँनेर । विध्वंसमा अडेको, दुराग्रहले अभिप्रेरित परिवर्तनको यस्तो प्रतीक आफैंमा उपयुक्त थिएन नै । किनभने सामाजिक विज्ञानको निष्कर्ष मध्यनजर गर्ने हो भने कोही पनि भुइँफट्टा हुँदैनन् । समाज, ज्ञान र व्यक्तिविशेष सबैको विकासक्रम विगतदेखि वर्तमान हुँदै भविष्यतर्फ उन्मुख हुने हो । यो नै वैज्ञानिक, स्वाभाविक र नियमित चक्र हो ।

एकांकी मार्गचित्रको प्रतिफल, नेपाली परिवर्तनका आकांक्षा, समावेशी, समृद्ध नेपालको चाहना र परिकल्पना आज दोबाटोमा अल्झिएको यात्री झैं भएको छ । अन्योल र अस्थिर दैनिकी हाम्रो लागि चुनौतीको विषय यसै बनेको होइन । राष्ट्रिय एकता, अखण्डताका सवाललाई लिएर व्यावहारिक प्रश्न यसै खडा भएका होइनन् ।

राष्ट्रिय सद्भावलाई एकताको सूत्रमा बाँध्ने कडी के हो र के हुनुपर्छ भन्ने संवेदनशील एवं गम्भीर प्रश्न हामीतिर मुखरित भएको सन्दर्भमा एकताको सन्देश र लक्ष्य कायम गर्दै सम्पन्न हुने महाधिवेशनले सही निकास र निष्कर्षतर्फ राप्रपालाई अभ्यस्त गराउनेछ भन्ने आशा लिन सकिन्छ । मुलुकको निर्णायक एवं जिम्मेवार भूमिकामा नेपाली राष्ट्रियताको जग सुढृद गर्दै विद्यमान यथास्थितिबाट मुलुक र जनताले निकास पाउनेछन् भन्ने आशा पाल्नु अस्वाभाविक देखिन्न, मूलतः राप्रपा एकजुट भएर अघि बढिरहेको परिवेशमा ।
लावती राप्रपाका युवा नेता (केन्द्रीय सदस्य) हुन् ।

प्रतिकृया दिनुहोस

Dish latest