MENU

नैतिकता र संवेदनशीलता हराएपछि

ब्रबिम कार्की शुक्रवार, फागुन ६, २०७३ 9197 पटक पढिएको

Share This

केही दिनअघि म एउटा सार्वजनिक बसमा यात्रा गरिरहेको थिएँ । बसका सिटहरू भरिएका थिए । केही मानिस उभिएका थिए । त्यो भीडमा म पनि थिएँ । कालीमाटीमा पुगेपछि बस रोकियो । दुधे बालक काखमा बोकेकी महिला बसमा चढिन् । उनी केही कमजोर र हत्तास मुद्रामा देखिन्थिन् । सिट नभएकाले उनी पनि उभिइरहिन् । ती महिला बच्चा बोकेर उभिएको सबैजसोले देखेका थिए । बच्चा रोइरहेको थियो, तर कसैले पनि उनलाई बस्न ठाउँ दिने छाँटकाँट देखाएनन् । बल्लबल्ल बस्न पाएको सिट अरूलाई छोड्ने मन कसैले पनि गरेनन् । बच्चाकी आमा बच्चालाई बोकेर उभिइरहन बाध्य भइन् ।
त्यस्तै एकजना महिला टेम्पोबाहिर झुन्डिएर यात्रा गरिरहेकी थिइन् र केही तल खसेको आफ्नो पाइन्ट सम्हाल्दै थिइन् । उनको त्यो अवस्था देखेका कोही पुरुष मित्रहरू सिट छोड्न तयार भएनन् । अर्को सवारी साधनमा एकजना महिला आफ्ना बच्चालाई दूध ख्वाइरहेकी थिइन्, तर त्यसलाई पुरुषहरू आमाको ममताभन्दा गलत नजरले हेरिरहेका थिए ।

अर्को दिन एक माइक्रोमा एकजना महिला बच्चा च्यापेर बसिरहेकी थिइन् । बच्चा रुन थाल्यो । ती महिलाले बच्चालाई दूध ख्वाइन् । पुरुषहरू घुरेर हेर्न थाले । यसैगरी अर्को दिन वसन्तपुरमा चिया खाँदै बसिरहेको बेला एकजना बच्चा रुँदै भोक लाग्यो पैसा दिनुस्न भन्दै एक व्यक्तिको हात समात्यो । ठाँटिएर बसेका व्यक्तिले ती बालकलाई झपारे, ‘अली उता बस्, जा छैन पैसा ।'

यी प्रसंग हुन् मानिसको संवेदनशीलता र नैतिकताको । सार्वजनिक साधनमा यस्तो विसंगति प्रशस्त देख्न सकिन्छ । आरक्षण सिटमा बसिरहेकाहरू शारीरिक रुपमा कमजोर र बच्चा बोकेका महिलालाई ठाउँ दिन बिरलै तयार हुन्छन् । हामीले समाचारमा पढेका छौं- ट्याक्सी ड्राइभरले आफ्नो ट्याक्सीमा भेट्टाएको पैसा र सुन सोही व्यक्तिलाई फिर्ता गरेको । त्यस्ता समाचार सुन्दा जोकोहीको आत्मसन्तुष्टि बढाउँछ । संवेदनहीनता सार्वजनिक यातायातमा प्रशस्त देख्न पाइन्छ । दुधे बालकलाई दुध खुवाइरहेकी आमाका क्रियाकलापलाई नग्नता देख्ने मानिसहरू यहाँ प्रशस्त छन् । के त्यही हो त हाम्रो नैतिकता र संवेदनशीलता ?

हामी आफ्नो खल्तीमा भएको पैसा हराएमा चासो दिँदैनौं, तर सडकमा हात पसारेर मागिरहेका असहायलाई दिन हिच्किच्याउँछौं । हामी समाजसेवा त गर्छौं, तर स्वार्थी मनले । यस्ता स्वार्थी मनले गरिने समाजसेवा फेसन हुन पुगेको छ । अरुलाई देखाउनको निम्ति मात्र सेवा गर्छौं । अरूलाई सहयोग गरेको देखाउन हामी सामाजिक सञ्जालमा तस्बिरहरू राख्छौं तर व्यवहारमा बिरलै कार्यान्वयन गर्छौं । नैतिकताले हामीलाई खुसी बन्न होइन, खुसी हुनलायक बनाउँछ ।

हाम्रो मुलुकका राजनीति, आर्थिक, न्याय, प्रशासन, सुरक्षा, स्वास्थ्य, शिक्षा, विकास, यातायात आदि क्षेत्रमा जिम्मेवार तहमा रहेका मानिसहरूमा नैतिकता र संवेदनशीलताको सर्वथा अभाव देखिँदा ती निकाय निकम्मा हुन पुगेका छन्

आजभोलि नैतिकता र संवेदनशीलताको खडेरी परेको छ । राजनीतिले प्रायः सबै क्षेत्रलाई छोएको छ । कुनै निकाय अछुतो छैनन् । आफ्नै गोरुको बाह्रै टक्का भने झैं सबैलाई जित्नैपर्छ । लचकता, समझादारी त कुइरोको काग झैं हराएको छ । नैतिकताबिनाको राजनीतिले देश विकास सम्भव छैन । प्रायः नेताहरूमा जिम्मेवारीबोध नै छैन । जति बूढो भए पनि नेताहरू पद र शक्तिको पछाडि नै लागिरहन्छन् । चुनाउमा आशा र सपना देखाएकै भरमा चुनाउ जित्छन् र पद र शक्तिमा पुग्दासाथ सबै वाचा बिर्सिन्छन् ।

राजनीतिक क्षेत्रमा नैतिकता अपरिहार्य हुन्छ । नैतिकताको राजनीति सबैभन्दा सुन्दर अभ्यास हो । नैतिकताको राजनीति गर्ने नेताले नै सबैको मन जित्न सक्छन् । यसका लागि आफूमा जिम्मेवारीबोध हुनु नितान्त आवश्यक छ, चुनौतीको सामना गर्न क्षमता हुनुपर्छ र आफ्नो घमण्डभन्दा पनि मूल्य र मान्यतालाई महत्व दिनुपर्छ । तर अहिले नेपाली राजनीतिमा त्यो नितान्त अभाव छ । नैतिकताको कमीले भ्रष्टाचारलाई प्रोत्साहन गर्छ । यसकारण कर्मचारीदेखि दलका नेता कार्यकर्तासमेत भ्रष्टाचारमा लिप्त छन् । भ्रष्टाचारले देश जकडिएको छ र देशको आर्थिक विकासमा प्रत्यक्ष हानि पुर्‍याएको छ ।

विदेशमा कोही पनि मानिसले जिम्मेवारी पूरा गर्न नसकेमा राजीनामा दिने चलन छ, तर हामीकहाँ नैतिकताका आधारमा राजीनामा दिएको उदाहरण बिरलै भेटिन्छ । हामीकहाँ त चुनाउ हारेका मान्छे पनि प्रधानमन्त्री भएका छन् । जति नै पटक हारे पनि नेताहरू सांसद हुन्छन् । भारतको बिहारका मुख्यमन्त्री नीतिश कुमारले बीजेपीको विजयपछि नैतिकताका आधारमा पदबाट राजीनामा दिएका थिए । नेपालामा नैतिकता भएका व्यक्तिहरू नभएका होइनन् ।

प्रशस्त छन् तर विडम्बना के भने त्यस्ता व्यक्तिलाई यहाँ अवसर दिइँदैन । राम्रो काम गर्नेहरूलाई दोहोर्‍याएर मौका नै दिइँदैन । गोकर्ण बिष्ट, लालबाबु पण्डितहरूले असल कामको सुरुआत गरेका थिए । अचम्मको कुरा, यस्ता नैतिकवान् नेता तथा कर्मचारी पनि मन पराउँदैनौं । त्यस्ता कर्मचारीको सरुवा गर्न लागिपर्छौं । वास्तवमा हाम्रो मुलुकका राजनीति, आर्थिक, न्याय, प्रशासन, सुरक्षा, स्वास्थ्य, शिक्षा, विकास, यातायात आदि क्षेत्रमा जिम्मेवार तहमा रहेका मानिसहरूमा नैतिकता र संवेदनशीलताको सर्वथा अभाव देखिँदा ती निकाय निकम्मा हुन पुगेका छन् ।



प्रतिकृया दिनुहोस

Dish latest