MENU

हलेसीमा पर्यटक बढे

हरिबोल आचार्य शुक्रवार, फागुन ६, २०७३ 780 पटक पढिएको

Share This

दिक्तेलः दूधकोसीमा अस्थायी बेलिब्रिज बनेपछि खोटाङको धार्मिक तथा पर्यटकीयस्थल हलेसीमा आन्तरिक र बाह्य पर्यटकको संख्या बढेको छ । मध्यपहाडी लोकमार्ग अन्तर्गत दिक्तेल-घुर्मी र ओखलढुंगाको दूधकोसीस्थित जयरामघाटमा अस्थायी बेलिब्रिज जडान गरिएपछि हलेसीमा दर्शन गर्न र भ्रमण गर्न आउने पर्यटकको संख्या बढेको हलेसी महादेवस्थान विकास समितिका कार्यकारी निर्देशक सम्बर भुजेलले जानकारी दिए।

गत मंसिर २१ गते जयराममा अस्थायी बेलिब्रिज जडान गरिएलगत्तै हलेसी आउने दर्शनार्थी बढेका छन् । बेलिब्रिजका कारण सहरबाट सिधै हलेसी पुग्ने र फर्कने वातावरण बनेपछि हलेसी आउने आन्तरिक तथा बाह्य पर्यटक बढेको कार्यकारी निर्देशक भुजेलले बताए । यद्यपि, हलेसीमा दर्शन गर्न, ध्यान गर्न, घुमफिर गर्न र भाकल पूरा गर्न आउने दर्शनार्थी तथा पर्यटकको तथ्यांक राख्ने गरिएको छैन ।

‘बेलिब्रिज जडान भएपछि हलेसीमा दर्शनार्थीको भीड छ’, कार्यकारी निर्देशक भुजेलले भने, ‘अझ बिदाका बेला तथा शुक्रबार र शनिबार हलेसीमा घुइँचो लाग्ने गरेको छ ।’ जाडो याम गएपछि हलेसीमा दर्शनार्थी र पर्यटक अझै धेरै आउने उनले बताए ।


दूधकोसीमा बेलिब्रिज सञ्चालनमा आएपछि हाल काठमाडौं, भक्तपुर, ललितपुर, पोखरा, महोत्तरीलगायतका ठाउँबाट तीर्थयात्री तथा पर्यटक गाडी रिजर्भ गरेर हलेसी आउने क्रम बाक्लिएको छ । सिक्किम, दार्जिलिङलगायतका ठाउँबाटसमेत दर्शनार्थी हलेसी आइरहेका छन् ।


हाल दैनिकजसो हलेसी-घुर्मी-कटारी र हलेसी- घुर्मी- काठमाडौं सडकखण्डमा हलेसी आउनेजाने दर्शनार्थी र पर्यटक बोकेका रिजर्भ जिप र बस बाक्लै ओहोरदोहोर गरिरहेको हलेसीस्थित ट्राफिक प्रहरी चेकपोस्टले जनाएको छ । ट्राफिक प्रहरीका अनुसार हलेसीमा दर्शनार्थी बोकेका सवारीसाधन भित्रिनेक्रम दिनानुदिन बढ्दो छ । चीन, तिब्बत, भारत, भुटान, फ्रान्सलगायतका पर्यटक भने सिधै हेलीकोप्टरमार्फत हलेसी आउने गरेका छन् ।

हलेसी आएका तिर्थयात्री तथा पर्यटकले हलेसीका स्थानीय होटेल दैनिकजसो भरिभराउ बनिरहेको हलेसी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गजुरमान राईले बताए । हलेसीमा परिवार तथा आफन्तसहित आउने बढी छन् । हलेसीमा दर्शन, भ्रमणबाहेक ‘रिफ्रेस’का लागिसमेत दर्शनार्थी आउने गरेको पाइएको छ । दूधकोसीको जयराममा पक्की पुल बनेपछि भने हलेसीमा बार्है महिना दर्शनार्थीको आउजाउ हुने कार्यकारी निर्देशक भुजेलले दाबी गरे ।

प्रतिकृया दिनुहोस

Dish latest