MENU

दिल्लीमा नेपालको पर्यटन प्रर्वद्धन

आशा थपलिया शुक्रवार, फागुन ६, २०७३ 2179 पटक पढिएको

Share This

नयाँ दिल्लीः ‘प्रदर्शनीमा सहभागी भएका धेरैले नेपालको बारेमा कुरा गरिरहेका छन्, तपाईंहरूले भौतिक संरचनाको विकासमा ध्यान दिनुपर्छ, भारतीय पर्यटक नेपाल जान चाहन्छन्’, नेपालका लागि पूर्व भारतीय राजदूतले नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख दीपकराज जोशीलाइ सुझाव दिए । भारतको राजधानी नयाँ दिल्लीको प्रगति मैदानमा भइरहेको दक्षिण एशियाली ट्राभल तथा टुर प्रदर्शनी (साट्टे २०१७ )मा घुम्दै गर्दा जोशीसँगको जम्काभेटमा नेपाल अनुभवी राजनले जोशीलाई सुझाव दिएका थिए ।

सोही प्रदर्शनीमा रहेको नेपाल पेभिलियनमा भेट भएका युनिभर्सल होलीडेज मलेसियाका प्रमुख कार्यकारी अधिकृत फैसल मन्सुरले यसरी प्रतिक्रिया दिए, ‘पर्यटकीय गन्तव्यको रूपमा नेपाल एउटा सुन्दर देश हो, प्राकृतिक सुन्दरताले भरिएको नेपाल भारतीय पर्यटकका लागि पहिलो गन्तव्य बन्न सकेको छैन, म यस कारण अचम्मित छु किनकी यसको प्रभावकारी मार्केटिङ हुन सकेको छैन ।’

‘यो अनुपात बढाउन प्रर्वद्धन जति जरुरी छ त्यति नै जरुरी छ भौतिक पूर्वाधारको विकास’, बोर्डका सीईओ जोशीले भने । पछिल्लो समय नेपाल जाने पर्यटक सडक सञ्जालको अस्तव्यस्तताले हच्किएको उनले बताए ।

नेपाल जाने भारतीय पर्यटकको संख्यामा दुई वर्षअघि भूकम्पले प्रभाव पारेको थियो । नेपालको समग्र पर्यटकीय विकासमा भारतीय पर्यटनको योगदान ३० प्रतिशत हुने गरेकोमा भूकम्पपछि यो अनुपात घटेर लगभग २० प्रतिशतमा पुगेको छ । नेपाल एयरलायन्सको भारत नेपालको रुटमा हुने ग्राहकमध्ये ३५ प्रतिशतको हाराहारीमा रहेको एयरलायन्सका स्टेसन प्रमुख अनिल घिमिरेले बताए । ‘हवाई यातायातबाट नेपाल भित्रिने पर्यटकको इन्ट्री प्वाइन्टमा विमानस्थलको अस्तव्यस्ताले र सडक यातायातबाट काठमाडौं भित्रिने पर्यटक नारायणघाट-मुग्लिङ र नागढुंगा-काठमाडौं सडकखण्डले दिक्क भएका छन्’, प्रदर्शनीमा सहभागी एक व्यवसायीले भने ।

रिब्रान्डिङ र निरन्तर प्रचारप्रसार नगरी नेपालमा पर्यटकको संख्या बढाउन नसकिने तर्क नेपाल एसोसिएसन अफ ट्राभल एन्ड टुर्स एजेन्टस (नाटा) का अध्यक्ष मधुसुदन आचार्यले राखे ।धार्मिक तथा सांस्कृतिक पर्यटकको गन्तव्य नेपाल भए पनि सेवासुविधालाई ध्यानमा राखेर पर्यटक अन्यत्रै जाने गरेको सत्यम ट्राभल एन्ड टुर्सका प्रमुख कार्यकारी अधिकृत अमृत अधिकारीले बताए । कतिपय टुर अपरेटर्सले नेपाल गन्तव्य राख्नै छाडेको अधिकारीले बताए ।


‘कैलाश मानसरोबर तथा मुक्तिनाथका बारेमा सहभागी व्यवसायीले बढी जानकारी लिइरहेका छन्’, हेलीकोप्टरको ब्रान्डिङका लागि प्रदर्शनीमा सहभागी सिम्रिक एयरका योगेश सापकोटाले भने । उत्कृष्ट सेवा तथा सुरक्षालाई आधार बनाएर हेलीकोप्टरको ब्रान्डिङ गरिरहेका सापकोटाले नेपालमा भारतीय पर्यटकको आकर्षण कम नभएको बताए ।

प्रदर्शनीमा नेपाल टुरिजम बोर्ड तथा नेपाल एयरलायन्ससमेत गरी १२ वटा स्टल छन् । भूकम्पपछिको पहिलो साट्टे प्रदर्शनीमा नेपालको भौतिक संरचना तथा अवस्थाका बारेमा मात्रै इन्क्वारीले निरास बनेका टुर व्यवासायी यस पटकको सहभागिताले उत्साही देखिएका छन् । पब्लिक रिलेसन र मार्केटिङ फोरमको रूपमा रहेको प्रदर्शनीमा अवलोकनकर्ताले नेपालबारे जानकारी लिएको माउन्टेन एडभेन्चर ट्रेकिङका दीपक रोक्काले बताए ।

ट्राभल तथा टुर क्षेत्रका व्यवसायीको बिजनेस टू बिजनेस (बी२बी) फोरमको रूपमा रहेको यो प्रदर्शनी विगत २३ वर्षदेखि आयोजना भइरहेको छ । नेपालले पनि यसमा विगत ७/८ वर्षदेखि सहभागिता जनाइरहेको छ ।

प्रतिकृया दिनुहोस

Dish latest