MENU

आर्मी र एपीएफ विजयी

अन्नपूर्ण शुक्रवार, फागुन ६, २०७३ 938 पटक पढिएको

Share This

ताप्लेजुङः दोस्रो पाथीभरा राष्ट्रिय खुला पुरुष भलिबल प्रतियोगिताको बिहीबार भएको खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब र एपीएफ क्लबले सफलता हात पारेका छन् । ताप्लेजुङ नगरपालिकास्थित आर्मीको कोर्टमा भएको प्रतिस्पर्धात्मक खेलमा आर्मीले पूर्वाञ्चललाई ३-० को सोझो सेटमा पराजित गर्यो ।

आफ्नो अपराजित यात्रालाई कायम राख्ने क्रममा आर्मीले पूर्वाञ्चलमाथि २५-१६, २५-२३, २५-१८ अंकको जित हासिल गर्यो । दर्शकको गतिलो समर्थन पाएको पूर्वाञ्चलले अन्तिम समयसम्म आर्मीलाई गतिलो चुनौती दिए पनि डिफेन्स र ब्लकमा समस्या देखिँदा अन्ततः हार स्वीकार्नु पर्यो ।

पूर्वाञ्चलका स्पाइकर नवीन रिजालको खेल प्रशंसायोग्य रह्यो । उनकै स्तरीय प्रदर्शनका कारण दोस्रो सेटमा पूर्वाञ्चलले आर्मीलाई गतिलो दबाब दिएको थियो । पूर्वाञ्चलका खेलाडीमा आपसी तालमेलको केही समस्या देखिए पनि बलियो आर्मीलाई अन्तिम समयसम्म गतिलो चुनौती दिएर दर्शकको मन भने जित्न सफल भए ।

राउन्ड रोविन लिगका आधारमा सञ्चालित प्रतियोगिताको दोस्रो खेलमा एपीएफ क्लबले मध्यमाञ्चललाई ३-० को सोझो सेटमा हरायो । एपीएफले सहज जित हात पार्ने क्रममा २५-१७, २५-१६, २५-१५ नतिजा निकाल्यो । तेस्रो दिनको खेल समाप्त हुँदासम्म आर्मी र नेपाल पुलिस क्लबले अपराजित रहँदै दुईदुई खेलबाट समान ६/६ अंक जोडेका छन् । यसैगरी दुई खेलबाट एपीएफले तीन अंक जोडेको छ ।

आयोजक पूर्वाञ्चलको तीन खेलबाट दुई र आफ्नो तीन खेलमै पराजय व्यहोरेको मध्यमाञ्चलको एक अंक छ । जिल्ला भलिबल संघले आयोजना गरेको प्रतियोगिताको विजेताले तीन लाख ३० हजार र उपविजेताले एक लाख ६५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

प्रतिकृया दिनुहोस

Annapurna Post1140X100