MENU

देशकै धेरै उद्योग रूपन्देहीमा

लक्ष्मण पोखरेल शुक्रवार, फागुन ६, २०७३ 57222 पटक पढिएको

Share This

बुटवलः छिल्लो एक वर्षमा ठूलो तथा साना लगानीका सयभन्दा बढी उद्योग रूपन्देहीमा खुले । विशेष आर्थिक क्षेत्र (सेज) भित्र उद्योग खोल्न प्रस्ताव गरेका छाडेर रूपन्देहीमा अर्बौ लगानीका उद्योग खुलेका छन् । बुटवल औद्योगिक क्षेत्रबाहेक सरकारी स्तरको उद्योग खोल्ने क्षेत्र नभए पनि जिल्लामा निजी भूमिमा ठूलो लगानीका उद्योग खोलिएका छन् । नेपालको मध्यभाग तथा भारतीय बजारबाट नजिक रहेका कारण रूपन्देही उद्योग स्थापनाको उपयुक्त स्थान बन्दै गएको छ । रूपन्देहीमा ठूला पूर्वाधार बन्न सुरु भएयता उद्योग खुल्ने क्रम बढेको हो ।

रूपन्देही ठूला उद्योग भएका जिल्लामा पहिलो स्थानमा पर्छ । जिल्लामा तीन सय ५० भन्दा बढी ठूला उद्योग छन् । पछिल्लो समय यहाँ ठूला उद्योगको चाप झन् बढेको हो । बुटवल-भैरहवा सडकको पूर्व-पश्चिम, लुम्बिनी कोरिडोर क्षेत्र लगभग उद्योगले भरिएको छ । सिक्टहन, देवदह क्षेत्रमा ठूला उद्योग खुल्ने तयारीमा छन् ।

अहिलेसम्म सीमित वस्तु उत्पादन गर्ने उद्योगमा लगानी बढाइएको छ भने साना उद्योगको संख्या बढेको छ । जिल्ला घरेलु तथा साना उद्योग कार्यालयका अनुसार जिल्लामा साढे ९ हजारभन्दा बढी उद्योग चालु अवस्थामै छन् । गत वर्ष मात्रै एक हजार ३६ वटा उद्योग दर्ता भएका थिए । यी ३ करोड लगानीभन्दा कमका हुन् । ऊर्जा, कृषि, वन पैदावार, खाद्यान्न, छाला, प्लास्टिक, स्टिल, फलामजन्य, सिमेन्टजन्यलगायत उद्योग खुलेका छन् । ठूलो लगानीका उद्योग मात्रै २ सय २१ वटा छन् । यी उद्योगमा अर्बौ लगानी छ ।

बुटवल औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका कामु प्रमुख तुलबहादुर राना पूर्वाधार, कच्चापदार्थ आपूर्तिको सुलभता, बजारीकरणमा सहजताका कारण बुटवल र आसपास क्षेत्रमा उद्योग बढिरहेको बताउँछन् । ‘रूपन्देही उद्योग स्थापनामा उर्वरभूमि नै बनेको छ', उनी भन्छन्, ‘केही वर्षपछि यहाँ तीव्र औद्योगीकरण हुने प्रशस्त आधार तयार भएका छन् ।'
मुलुककै दोस्रो ठूलो भन्सार नाका बेलहिया रहेको रूपन्देहीमा भारतबाट कच्चापदार्थ आयात गर्दा लागत कम पर्छ । उद्योगबाट उत्पादन भएका वस्तुको बजारका लागि पूर्व-पश्चिम नै सहज रूपमा जान सक्ने केन्द्र बुटवल रहेकाले उद्योगीले यस क्षेत्रमा उद्योग खोल्न चासो देखाएका हुन् ।

केही समयअघि रूपन्देही उद्योग संघले उद्योग खोल्न चाहनेहरूसँगबाट आशय पत्र माग्दा एक सातामा पाँच सय वटा आवेदन परेका थिए । रूपन्देही उद्योग संघका अध्यक्ष दिनेशराज रेग्मीका अनुसार ती उद्योगी औद्योगिक क्षेत्र निर्माण भए उद्योग खोल्न तयार थिए । कतिपयले चर्को मूल्यको जमिन खरिद गरेर उद्योग सञ्चालन गर्दै आइरहेका छन् ।

कच्चा पदार्थको आयात, उत्पादित वस्तुको व्यापार र तीव्र सहरीकरण भइरहेका कारण रूपन्देहीमा उद्योग खोल्न चाहनेहरू धेरै छन् । उद्योगको विकास हुँदै गर्दा राजस्व संकलनमा समेत वृद्धि भएको छ ।

उद्योगीले सडक, विद्युत्, सञ्चार सञ्जालले जोडिएकाले रूपन्देहीमा उद्योग स्थापना गर्न सहज मान्ने गरेका छन् । बुटवल पश्चिम तथा पहाडी जिल्लाको संगमस्थल मात्रै नभई लुम्बिनी अञ्चलकै प्रमुख व्यापारिक स्थल पहिलेदेखि नै छ । पछिल्लो पटक भएको विकासले बुटवल मुलुककै राम्रो सहर बन्दै गएको छ । सहरमा हुने नियमित जसोको बाक्लो चहलपहलले समेत उद्योगलाई व्यापारीकरणका लागि बुटवल सहज बन्दै गएको उद्योगीको भनाइ छ ।

भारतको प्रमुख औद्योगिक सहरसँग पायक पर्ने नाका र भैरहवा-बुटवलबाट करिब साढे २ सय किमिको दूरीमा काठमाडौं, पोखरा, नेपालगन्ज, वीरगन्ज सहरमा जोडिन पनि सहज भएकाले लगानीकर्ताको रोजाइमा यो स्थल परेको हो । नयाँ ठूला उद्योग सञ्चालन गर्न चाहनेहरूले रूपन्देहीमा पहिलो पटक प्रयास गर्ने गरेको उद्योगीको भनाइ छ । सुरक्षित तथा नयाँ भौतिक संरचनाले समेत रूपन्देहीमा उद्योग खोल्ने वातावरण बन्दै गएको हो ।

मुलुकमा हुने अधिकांश औद्योगिक तथा व्यापारिक कारोबार यही स्थान हुँदै भइरहेको छ । भौतिक पूर्वाधारका कारण नाकाको प्रयोग बढ्न थालेको हो । पछिल्लो समय अटो मोबाइल्स कम्पनी सुजुकी, महेन्द्रा, हुन्डाई, आयसर, होन्डा, मित्सुबिसी, टोयटा, किया, फोर्ड, डायसुलगायत कम्पनीका लागि रूपन्देही रोजाइमा परेको रूपन्देही उद्योग संघका अध्यक्ष रेग्मीले बताउँछन् । यहाँ ठूला उद्योग जगदम्बा, अर्घाखाँची, अग्नि सिमेन्ट, गोयन्का, पञ्चकन्या ग्रुपका विभिन्न उद्योग स्थापना भएका छन् । ठूला साबुन, चाउचाउलगायत उद्योग पनि जिल्लामा आउने तयारीमा छन् ।

औद्योगिक क्षेत्रमा अझै रुचि

प्रदेश नम्बर ५ स्तरीय औद्योगिक क्षेत्र रूपन्देहीको मोतीपुरमा बन्ने भएपछि उद्योगी अझै बढी उत्साहित भएका छन् । अन्य स्थानमा जग्गाको खोजी हुँदै गर्दा मोतीपुरमा भने डिपिआरको काम भइरहेकाले यहाँ छिट्टै उद्योग खोल्न सकिने सम्भावना छ ।

धेरै उद्योगी औद्योगिक क्षेत्रभित्र उद्योग खोल्न चाहन्छन् । बुटवल औद्योगिक क्षेत्रका कामु प्रमुख राना औद्योगिक क्षेत्रभित्र उद्योग स्थापना गर्दा सुरक्षा, भौतिक पूर्वाधारका लागि सडक, ढल, पानी, विद्युत् सहज रूपमा पाइने भएकाले धेरै उद्योगी औद्योगिक क्षेत्रमा उद्योग खोल्न आकांक्षी भएको बताउँछन् । त्यस्तै, एक अर्कोका परिपूरक उद्योग पनि यस क्षेत्रभित्र स्थापना भएका हुन्छन् । जसले उद्योग सञ्चालनमा सहज बनाउँछ ।

लामो समय लोडसेडिङको चर्को मारमा रहेका उद्योगी अहिले ऊर्जा क्षेत्रमा भइरहेको सुधारले उत्साहित छन् । नेपाल उद्योग परिसंघका केन्द्रीय सदस्य एजाज आलम ऊर्जाको व्यवस्थापन सही हुने हो भने उद्योगको विकासक्रम अझै तीव्र रूपमा हुने बताउँछन् । जलविद्युत् आयोजनाको छिटो निर्माण तथा भारतबाट पनि विद्युत् ल्याएर भए पनि विद्युत् आपूर्तिमा सहजता ल्याउनुपर्ने भनाइ उद्योगीको छ ।

अहिले ऊर्जा क्षेत्रमा आएको सुधारले उद्योगको उत्पादन बढ्दै गएको उद्योगी बताउँछन् । वर्षांैदेखि मुलुकमा औद्योगिक क्षेत्रको विस्तार र नयाँ स्थापना हुन सकेको छैन । औद्योगिक क्षेत्रको विस्तार तथा नयाँ स्थापनामा ध्यान नदिँदा मुलुकको औद्योगिकीकरणमा नकारात्मक प्रभाव परेको उद्योगी, व्यवसायीको भनाइ छ ।

औद्योगिक विकासका चर्का कुरा हुने तर त्यसका लागि गर्नुपर्ने काम चुस्त ढंगले अघि नबढ्नु समस्या भएको नेपाल उद्योग वाणिज्य महासंघका एसोसिएट उपाध्यक्ष शेखर गोल्छा बताउँछन् । सरकारले ल्याएको प्रदेश स्तरका औद्योगिक क्षेत्रले कुनै न कुनै रूपमा उद्योगीलाई सरकारले ध्यान दिएको मान्न सकिने उनको भनाइ छ ।

उद्योगीमा उत्साह

पाँच नम्बर प्रदेशमा सरकारले घोषणा गरेको मोतीपुर औद्योगिक क्षेत्रले यस क्षेत्रका उद्योगीमा उत्साह थपेको छ । लामो समय जग्गा नपाएर बसेका तथा बाहिर उद्योग सञ्चालन गरेका पनि अब दुई वर्षभित्र मोतीपुर औद्योगिक क्षेत्रमै उद्योग स्थापना गर्नेमा विश्वस्त छन् ।

यस क्षेत्रमा ठूला उद्योग स्थापना भएपछि हजारौंले रोजगारी पाउनेछन् । मोतीपुर औद्योगिक क्षेत्रको लालपुर्जा औद्योगिक व्यवस्थापन लि. को नाममा पुगेको छ । अहिले उक्त क्षेत्रमा कति उद्योग रहने, कस्ता उद्योग रहने, सडक, विद्युत्, ढल, साथै वातावरण प्रदूषण रोक्नका लागि गर्न सकिने विभिन्न व्यवस्थाको विषयमा अध्ययन भइरहेको छ । डिपिआर निर्माणका लागि ठेक्का सम्झौता भएको औद्योगिक क्षेत्र व्यवस्थापन लि.का महाप्रबन्धक नन्दबहादुर बस्नेतले बताए । उनले उक्त औद्योगिक क्षेत्रमा ५ नम्बर प्रदेशका अधिकांश उद्योगको व्यवस्थापन उद्योगीको चाहनाबमोजिम गर्न सकिने बताए ।

बुटवल उद्योग वाणिज्य संघ, रूपन्देही उद्योग संघ तथा अन्य सरोकारवालाले रूपन्देहीमा नयाँ औद्योगिक क्षेत्रको आवश्यकता रहेको भन्दै पटक-पटक माग गरेका बेला यहाँ प्रदेश स्तरको औद्योगिक क्षेत्र प्रस्ताव भएको हो । यसले उद्योगीमा उत्साह थपेको बुटवल उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष नवराज श्रेष्ठ बताउँछन् । मोतीपुर औद्योगिक क्षेत्र निर्माणले रूपन्देही उद्योग क्षेत्रमा बलियो हुने उनको बुझाइ छ ।

नेपालमा पहिलो पटक २०१६ सालमा बालाजु औद्योगिक क्षेत्र स्थापना भएको थियो । ०४४ सालमा राजविराज औद्योगिक क्षेत्र स्थापना भएयता नयाँ थपिएको छैन । अहिले मुलुकमा ११ औद्योगिक क्षेत्र स्थापना भए पनि धनकुटाको बाहेक १० वटा चालु छन् । औद्योगिक क्षेत्रमा उद्योग स्थापना गर्न सरकारले सहुलियतमा जग्गा दिने तथा खानेपानी, बिजुली, सडकजस्ता पूर्वाधार विकास हुने भएकाले व्यवसायी औद्योगिक क्षेत्रमा उद्योग स्थापना गर्न रुचाउँछन् । रूपन्देही उद्योग संघले मक्रहरमा २५ बिघा जमिनमा औद्योगिक क्षेत्र बनाउने भएको छ ।

पहिला ठीक, पछि बेठीक

उद्योग वाणिज्य संघका पूर्व केन्द्रीय सदस्य ज्ञानेन्द्र कसजुका अनुसार बाहिर जग्गा किन्नै नसक्ने गरी भाउ अकासिएको छ । जग्गा किनेर उद्योग स्थापना गरिहाले केही वर्षमै स्थानीय समुदायको चर्को विरोधको सामना गर्नुपर्ने बाध्यता पनि छ । उद्योग स्थापनाले रोजगारी सिर्जना हुँदा खुसी हुने समुदाय कालान्तरमा प्रदूषणको कुरा उठाएर उद्योग बन्द वा स्थानान्तरण हुने समस्याबाट उद्योगी हैरान भइरहेका छन् । बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष महेशमान सिंह भन्छन्, ‘पहिला उद्योग स्थापना गर्दा रोजगारी पाउने, सडक तथा विद्युत्को व्यवस्था हुने भएकाले स्थानीय नयाँ उद्योग स्थापना गर्न आग्रह गर्छन्, पछि उनीहरू नै विभिन्न आरोप लगाउँछन् र उद्योग सञ्चालनमा अवरोध सिर्जना गर्छन् ।'

बुटवल औद्योगिक क्षेत्रमा अहिले ६४ उद्योग सञ्चालित छन् । प्रस्तावित पाँच सय ४० रोपनी जग्गामा औद्योगिक क्षेत्र विस्तार गर्न सके कम्तीमा सय उद्योग स्थापना गर्न सकिने बुटवल औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका कामु प्रमुख रानाले बताए । उनले बुटवल धागो कारखानाको अनुत्पादक जग्गा फिर्ता लिई नयाँ उद्योग प्रवद्र्धनका लागि उद्योग मन्त्रालयसँग पहल गरिरहेको बताए ।

बुटवल औद्योगिक क्षेत्र ४ सय ३४ रोपनी अर्थात् साढे ३३ बिघा जग्गामा फैलिएको छ । जसमध्ये ०६४ सालदेखि बन्द रहेको बुटवल धागो कारखानाले १ सय ४४ रोपनी जग्गा ओगटेको छ । औद्योगिक क्षेत्रमा अहिले करिब २ हजारले रोगजारी पाएका छन् । जसमा ४ सय महिला छन् ।

रूपन्देहीमा खाद्यान्न, चाउचाउ, औषधि, स्टिल रोलिङ, बिस्कुट, चप्पल जुत्ता, दाल, मैदा, बियरजस्ता झन्डै ४० उद्योग थपिँदै छन् । सेजमा पनि आकर्षण छ । भैरहवा सहरलाई व्यवस्थित र सुन्दरीकण गर्न एसियाली विकास बैंकको सहयोगमा सिद्धार्थनगर नगरपालिकाले एकीकृत सहरी विकास आयोजना सञ्चालन गरेर आवश्यक भौतिक पूर्वाधार तयार गर्न थालेको छ ।


उद्योगीलाई नेताको साथ

रूपन्देहीमा औद्योगिक क्षेत्रका आधार बन्नुमा राजनीतिक दलका नेताको भूमिका महत्वपूर्ण रहेको छ । यस क्षेत्रका उद्योगीले बनाएका योजनालाई नेताले कार्यान्वयनमा ल्याउने गरेका छन् । जिल्लामा ठूला पार्टीका नेता उद्योगीको समस्यालाई नीतिगत रूपमा समाधान गर्नसमेत जुटेका छन् ।

बजेटसमेत प्रशस्त मात्रामा पाउँदा रूपन्देहीको उद्योग र पूर्वाधारमा विकास बढेको हो । जिल्लाबाट निर्वाचित सांसद विष्णु पौडेल पटक-पटक मन्त्री बनेका छन् । उनी अर्थमन्त्री हुदा यहाँको विकास निर्माणसँगै उद्योगीका समस्या समाधान गर्ने गरेका थिए । उद्योग, व्यापार विकास गर्न उनले महत्वपूर्ण सहयोग गरेको उद्योगीको बुझाइ छ ।

नेपाली कांग्रेसबाट रक्षा मन्त्री बनेका बालकृष्ण खाँण, राप्रपाबाट आपूर्तिमन्त्री बनेका दीपक बोहरा पनि रूपन्देहीका सांसद हुन् । उनीहरूसहित जिल्लाका १४ जना सांसदले विकासका लागि योजनाबद्ध काम गर्ने गरिरहेका छन् । जसकारण विकासमा रूपन्देहीले फड्को मारेको छ । पाल्पाका सांसद सोमप्रसाद पाण्डे उद्योगमन्त्री र विष्णु पौडेल अर्थमन्त्री भएका बेला मोतीपुरमा औद्योगिक क्षेत्र बनाउने प्रस्ताव बनेको हो । यसमा जिल्लाका अन्य सांसदको पनि योगदान रहेको बुटवल उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष नवराज श्रेष्ठ बताउँछन् ।

रूपन्देहीमा हुँदै गरेको तीव्र सहरीकरण तथा वित्तीय संस्थाको बलियो उपस्थितिले पनि उद्योग व्यवसायमा सकारात्मक प्रभाव परेको छ । डेभलपमेन्ट बैंकर्स एसोसिएसनका उपाध्यक्ष प्रकाश पौडेलका अनुसार यहाँ रहेका २ सय १६ वित्तीय संस्थाबाट उद्योग स्थापनाका लागि ठूलो कर्जा प्रवाह भएको छ ।

राजस्वमा महत्ववपूर्ण योगदान


नयाँ खोलिने उद्योगसँगै भन्सार नाकाबाट सामान आयात र निर्यात गर्दा राजस्वमा पनि महत्वपूर्ण योगदान जिल्लाले दिएको छ । अन्तर्राष्ट्रिय रूपमा जोडिने भैरहवामा एसियाली विकास बैंकले दुई अर्ब लगानीमा पूर्वाधार निर्माणको तयारी गरेको छ ।
व्यापारिक र औद्योगिक प्रयोजनका लागि यो नाकाको प्रयोग बढेपछि भैरहवा भन्सारले चालू आवमा लक्ष्यभन्दा धेरै राजस्व असुलेको छ ।

पछिल्ला आर्थिक वर्षमा धरै राजस्व संकलन गरेको छ भने प्रत्येक आर्थिक वर्षको लक्ष्य पनि बढाएको छ । बेलहिया भन्सारले आर्थिक वर्ष ०७१/७२ मा लक्ष्यको एक सय १९ प्रतिशत राजस्व संकलन गरेको थियो । यस्तै, आर्थिक वर्ष ०७२/७३ मा एक सय १६ प्रतिशत राजस्व संकलन गरेको छ । भन्सारका सूचना अधिकृत गोपाल भट्टराईले आयात हुने वस्तुका कारण नै राजस्वको दर प्रत्येक वर्ष थपिँदै गएको बताए ।

भन्सार कार्यालयका अनुसार बाहिरबाट आयात गरिने मुख्य वस्तुमा जिप, कार, भ्यान, मोटरसाइकल, सिमेन्ट क्लिनङ्कर परेका छन् । रूपन्देहीबाट आयात वृद्धिसँगै निर्यातको अवस्थामा पनि केही सुधार हुँदै गएको छ । यो आर्थिक वर्षमा सेन्थेटिक यार्न, रेसाका कपडा, बोराका झोला, अदुवा सुठो, प्यालाटिङको बिर्को ढकनी, तारका जाली ग्रिल, दालचिनी, खोटो रोजिन, रद्दी कागज निर्यात भएका छन् ।

भन्सारमा आर्थिक वर्षका लागि ३० अर्ब लक्ष्य तोकिएको थियो । साढे चार महिनाअघि लक्ष्य पूरा भएपछि भन्सार विभागले लक्ष्यमा संशोधन गरेर ५३ अर्ब कायम गरेको छ । असार मसान्तसम्ममा ६० अर्ब पुर्‍याउने अनुमान छ । वीरगन्ज नाका सहज भइसकेपछि पनि यतै पायक पर्ने र कार्यसम्पादन छिटो हुने जनाउँदै उद्योगीले बेलहिया भन्सारलाई निरन्तरता दिएका छन् । भैरहवा, बुटवल, देवदह, सैनामैना, तिलोत्तमा, लुम्बिनी नगरपालिमा भित्री गाउँ र बस्तीमा उद्योग निर्माण अत्यधिक बढ्न थालेपछि भन्सार राजस्वमा पनि प्रभाव पर्न थालेको हो ।

प्रतिकृया दिनुहोस

Dish latest