MENU

सविताले जितिन् पाँच स्वर्ण

635x90

अन्नपूर्ण शुक्रवार, फागुन ६, २०७३ 4069 पटक पढिएको

Share This

ताप्लेजुङः राष्ट्रपति रनिङ सिल्डअन्तर्गत निर्वाचन क्षेत्र नम्बर १ को छनोट प्रतियोगिताको उपाधि कञ्चन एकेडेमीले जिते पनि सदरमुकामभन्दा करिब ४५ मिनेटको दुरीमा रहेको जनता माविकी एक किशोरी प्रतियोगिता अवधिभर सबैको चासोको विषय बनिन् । बिहीबार सम्पन्न चारदिने प्रतियोगितामा जनता मावि कक्षा ९ मा अध्ययनरत सविता कार्की एक्लैले ट्र्याक एन्ड फिल्डका विभिन्न पाँचवटा स्पर्धामा स्वर्ण पदक जितेर गतिलै चर्चा बटुलिन् । उनले एक सय मिटर दौड, हाइजम्प र ट्रिपलजम्पको व्यक्तिगत स्पर्धामा स्वर्ण हात पारिन् ।

यसैगरी एक सय गुना चार र चार सय गुना चार मिटर रिले दौडमा पनि उनले टोलीका अन्य सदस्यसँग मिलेर स्वर्ण पदक जितिन् । आफ्नो उत्कृष्ट प्रदर्शनका कारण उनी छात्रातर्फको सर्वोत्कृष्ट खेलाडी पनि घोषित भइन् ।

प्रतियोगिताको समापन समारोहमा एकपछि अर्को गर्दै पाँचवटा स्वर्ण पदक थापेपछि निकै प्रफुल्ल देखिएकी सविताले यो सफलताबाट आफू निकै उत्साही भएको प्रतिक्रिया दिइन् । ‘मलाई निकै खुसी लागेको छ । अब अझ राम्रो तयारी गरेर जिल्ला स्तरीय प्रतियोगितामा सहभागी हुन्छु’, उनले भनिन् ।

प्रतियोगितामा पहिलो स्थान हासिल गरेको फुङलाङस्थित कञ्चन एकेडेमीले कुल एक सय ५३ अंक जोडेको थियो । यसैगरी दोस्रो भएको हाङदेवास्थित जनता माविले एक सय १५ अंक बटुल्यो । भलिबलमा कञ्चन माविका छात्र राजन लिम्बू सर्वोत्कृष्ट खेलाडी घोषित भए । कबड्डीको छात्रमा कञ्चन माविका स्टेफन मगर र छात्रामा पनि सोही माविकी सरिता राई सर्वोत्कृष्ट खेलाडी बने ।

National College 220X220Pix Ad for Annapurna

प्रतिकृया दिनुहोस

Annapurna Post1140X100