MENU

कुलराजको कोसेली

अन्नपूर्ण शुक्रवार, फागुन ६, २०७३ 7315 पटक पढिएको

Share This

भारतको इलाहाबादस्थित प्रज्ञा संगीत समितिबाट संगीतमा स्नातक गरेका कुलराज थापा दुई दशकदेखि सांगीतिक क्षेत्रमा क्रियाशील छन् । गायक थापा अहिले ‘कसरी देखाऊँ माया तिमीलाई' नामक गीति एल्बम लिएर श्रोतामाझ आएका छन् ।

राजधानीमा गरिने विमोचन प्रचलनलाई तोड्दै माघ अन्तिम साता दोलखा सदरमुकाम चरीकोटमा उनले आफ्नो एल्बम विमोचन गरेका थिए । एल्बममा आधुनिक, पप साथै तामाङ सेलो शैलीका सातवटा गीत समावेश छन् ।

एल्बममा समावेश गरिएको ‘चिटिक्कै परेकी'बोलको म्युजिक भिडियो अहिले चर्चामा छ । चौंरीगोठको परिवेशमा कालिञ्चोकमा छायांकन गरिएको यो भिडियो पुस्तालाई फोकस गरिएको छ । त्यसैगरी एल्बमको शीर्ष गीतको भिडियो भने उनले विदेशमा छायांकन गराएका छन् । चरीकोटमा दुई दशकअगाडि स्थापना भएको सांगीतिक समूह आरकेटीका सदस्य कुलराज थापाका साथमा रामचन्द्र थापा र तेन्जिङशेरप लामाले एल्बममा स्वर दिएका छन् ।

विद्यालय अध्ययन गर्दासम्म कुलराजलाई संगीतमा खासै सोख थिएन । तर, क्याम्पस जीवनमा साथीहरूको संगतमा लागेर उनी विस्तारै सांगीतिक माहोलमा भिज्दै गए । त्यसबेला नेपालमा ब्यान्ड खोल्ने लहर चल्यो । मंगोलियन हार्ट, नेपथ्यलगायतका ब्यान्डले सांगीतिक क्षेत्रमा तहल्का मच्चाइरहेका बेला आफ्ना दुई साथी रामचन्द्र र तेन्जिङसँग मिलेर २०५४ सालमा उनले आरकेटी ब्यान्ड स्थापना गरे । यस ब्यान्डमार्फत उनीहरूले बैंसालु मायाको नामक एल्बम बजारमा ल्याएका थिए । एल्बममा समेटिएको ‘सपनीमा आउने माया'को म्युजिक भिडियो त्यसबेला निकै चर्चित बनेको थियो । म्युजिक भिडियोमा कुलराजले मोडलिङ गरेका थिए ।

समयको क्रमसँगै रामचन्द्र बिदेसिए, तेन्जिङ विद्यालय सञ्चालनमा लागे भने कुलराज व्यवसायको सिलसिलामा काठमाडौं आए । यसैका कारण सांगीतिक क्षेत्रमा जुन गति लिनुपर्ने हो लिन सकेनन् । तापनि कुलराजले आफ्नो सांगीतिक जीवनलाई निरन्तरता दिँदै केही भजन एल्बम श्रोतामाझ ल्याए । उनको भजन एल्बम ‘शुखा श्रय'ले आध्यात्मिक जगत्मा निकै चर्चा पायो । उक्त एल्बमको एउटा गीत जयजय कृष्णको म्युजिक भिडियोसमेत निर्माण गरिएको थियो ।

अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) को ग्लोबल कमिटी सदस्यसमेत रहेका कुलराजले दोलखा भीमेश्वर, कालिञ्चोक भगवतीलगायतका भजन पनि श्रोतामाझ ल्याइसकेका छन् । हाल उनी आफ्नो नयाँ भजन एल्बम रिलिजको तयारीमा छन् । एल्बममा रामचन्द्र थापाको संगीत छ । केही महिनाअगाडि श्रोतामाझ आएको सत्य-स्वरूपको ‘प्रारम्भ'मा पनि उनका गीतहरू समाविष्ट छन् ।

तबला, तानपुरालगायतका वाद्ययन्त्रसमेत बजाउने गरेका कुलराज फलैंचा संगीत अभियानमा पनि संलग्न छन् । नेपालको पहिलो महिला सरोदवादक रूपा न्यौपानेले नेपाली संगीतप्रेमीलाई सरोद चिनाउने उद्देश्यले सुरु गरेकी यस अभियानमा उनले सक्रिय सहभागिता जनाउँदै आएका छन् । कुलराज भक्तराज आचार्य, नारायणगोपाल, बच्चु कैलाशको स्वर मन पराउँछन् ।

पहिले धेरै साधना गरेपछि मात्रै एउटा गीत जन्मने र त्यसमा मन छुने शब्दका साथमा गायन पनि त्यत्तिकै राम्रो हुने भएकाले ती कालजयी रहने उनको अनुभव छ । अहिलेका गीत छोटो समयमै हराउने हुनाले नयाँ पुस्ताले अझ मेहनत गरेर राम्रा गीत दिन आवश्यक ठान्छन् उनी ।

Yamaha

प्रतिकृया दिनुहोस

dishhomeapp