MENU

मोडलिङपछि गायनमा

अन्नपूर्ण शुक्रवार, फागुन ६, २०७३ 1741 पटक पढिएको

Share This

डेढ वर्षअगाडि अञ्जु पन्तको गीतमा मोडलिङ गरी यस क्षेत्रमा प्रवेश गरेकी विपना थापा अहिले चल्तीकी मोडेल हुन् । रामकृष्ण ढकालको भिजाउँछु प्रेम रसैले, हिमाल सागरको रहरहरू, मिलन अमात्यको आँखाबाट बर्सात् छुट्ने, सरोज लामाको चोखो मायालगायत ४० भन्दा बढी म्युजिक भिडियोमा मोडलिङ गरेकी उनी पछिल्लो समय कोरियोग्राफर हुँदै गायिका पनि बनेकी छन् । ‘कलेज क्विन नेपाल', ‘सिन्ड्रेला नेपाल', ‘एसएलसी प्रिन्सेस', ‘स्कुल प्रिन्सेस'जस्ता सौन्दर्य प्रतियोगितामा उनले कोरियोग्राफी गरेकी छन् ।

हालैमात्र ‘तिमै्र नाउँमा यो जीवन' बोल गीत रेकर्ड गराई उनले भिडियोसमेत तयार पारेकी छन् । प्रमोद कोइरालाको शब्द तथा संगीत रहेको यस गीतलाई राकेश गुरुङले संगीत संयोजन गरेका छन् । उनी आफैंले मोडलिङ गरेको यो भिडियो केही दिनभित्रै दर्शकमाझ आउने उनले बताइन् ।

पहिलो गीत भएकाले गायनमात्रै होइन म्युजिक भिडियो निर्माणमा निकै मेहनत गरेको उनको भनाइ छ । अर्जुन अधिकारीको निर्देशन, हरि हुमागाईंको छायांकन र निशान घिमिरेको सम्पादन रहेको भिडियोमा विपनालाई समिम खानले मोडलिङमा साथ दिएका छन् । भिडियोका लागि फेसन डिजाइनर कमल मानन्धरले पहिरन डिजाइन गरेका छन ।

तनहुँमा जन्मेकी विपना पाँच वर्षअघि काठमाडौं आएकी हुन् । अहिले सपरिवार काठमाडौंको सामाखुसीमा बस्दै आएकी छन् । मोडलिङ र कोरियोग्राफीसँगै उनले गायनमा पनि हात हालेकी हुन् । उनी भवियष्मा मोडलिङ, कोरियोग्राफी र गायन तीनै विधालाई सकेसम्म एकसाथ अगाडि बढाउने सोचमा छन् ।

 

प्रतिकृया दिनुहोस