MENU

बल्ल मल्हमपट्टी लाग्यो श्रीकृष्णसँग वियोगिएको मनमा

रामकला खड्का शुक्रवार, फागुन ६, २०७३ 70566 पटक पढिएको

Share This

पर्दामा अहिले ‘मस्ट वेटिङ एक्ट्रेस'का रूपमा रहेकी श्वेता खड्काले दर्शकको त्यो चाहनालाई पूरा गर्ने ‘ग्रिन सिग्नल' दिइसकेकी छन् । सन् २०१० मा बनेको सुपरहिट चलचित्र ‘कहाँ भेटिएला'बाट रजतपट टेकेकी उनले ‘हाँसिदेऊ एक फेर', ‘ श्रीमान् श्रीमती' हुँदै पछिल्लो चलचित्र ‘कोहीनुर'मा अभिनय गरिन् ।

यो चलचित्र राम्रो व्यवसायको एउटा मानक बन्न सफल भयो । सो चलचित्रसँगै पति वियोगको सामना गर्नु परेपछि उनको जीवन निराशातिर धकेलियो । धेरै दिन, धेरै रात उनले आँसुसँग साटिन् । यही चोटसँगै उनका सारा सपना पनि तहसनहस भए । तर परिवार, समाज र चलचित्र उद्योगबाट उनले यति धेरै सान्त्वना पाइन् कि उनको छियाछिया भएको मनमा विस्तारै मल्हमपट्टी लाग्न थाल्यो । उनले आफूलाई समाल्ने प्रयास गर्न थालिन् ।

 श्रीदादाले मलाई केही भइहाले पनि तिमी सधैं खुसी भएर हिम्मतका साथ अगाडि बढ्नु । मेरो आत्माले तिमीलाई हेरिरहेको हुन्छ । तिम्रा हरेक दुःखमा म तिम्रो साथ हुनेछु भनेको सम्झिरहन्छु ।

 

दुई वर्ष ६ महिनासम्म आइपुग्दा बल्ल उनका ओठहरू मुस्कुराउन थालेका छन् । उनलाई लाग्थ्यो, ‘जीवनमा अब हाँसोका दिन सकिए ।' परिवार, समाजसँगै संसारको माया एकातिर पति श्रीकृष्ण श्रेष्ठको माया अर्कोतिर राख्दा श्रीकृष्णको माया सयौं गुणा बढी हुन्थ्यो । त्यही माया दैवले छिनिदिए पछि उनको ओठबाट मुस्कान हराएको थियो । धमिलो खोला पनि बगिरह्यो भने सङ्लो हुन्छ भनेझैं उनको मनका पीडाहरूमा पनि विस्तारै खाटा बस्न थालेका छन् । सार्वजनिक कार्यक्रममा उनी अलि बढी देखिन थालेकी छन् । ‘जीवन छ र अब केही गर्नुपर्छ भनेर म यहाँसम्म आइपुग्न सकेकी हुँ', श्वेताले भनिन् ।

 म एक हिसाबले मरिसकेको थिएँ । त्यतिबेला खाना खान, नुहाउनसमेत नसक्ने अवस्थामा पुगेछु । सबैको मायाले जीवन छ र अब केही गर्नुपर्छ भनेर म यहाँसम्म आइपुग्न सकेँ

अझ पति श्रीकृष्णले जीवनको अन्तिम घडीमा ‘मलाई केही भइहाले पनि तिमी सधैं खुसी भएर हिम्मतका साथ अगाडि बढ्नु । मेरो आत्माले तिमीलाई हेरिरहेको हुन्छ । तिम्रो हरेक दुःखमा म तिम्रो साथ हुनेछु' भनेको उनले बिर्सेकी छैनन् । हालै उनले पति श्रीकृष्ण जन्मिएको सिन्धुपाल्चोकको ठूलो सिरुबारीस्थित झ्याँडी गाउँ पुगेर भूकम्पबाट प्रभावित बस्ती निर्माणमा सघाउने प्रतिबद्धता जनाइन् । त्यहाँको माझी बस्तीका बासिन्दालाई उनले आफ्नो पतिको समाजसेवाको सपना आफूले पूरा गर्ने पनि वाचा गरेकी छन् ।

श्रीकृष्ण श्रेष्ठ र श्वेता खड्काको जोडीलाई पर्दामा मात्रै होइन वास्तविक जीवनमा पनि हजारौं प्रशंसकले रुचाएका थिए । रिल र रियालिटीका हिट जोडी लामो समय रहन सकेन । जीवनमा कल्पनै नगरेको घटना घटेपछि नयाँदिल्लीस्थित अस्पतालबाट काठमाडौंसम्म कसले कसरी ल्यायो भन्ने होस उनलाई थिएन । त्यसपछिका पीडादायी दिन स्मरण गर्दै श्वेताले भनिन्, ‘म पनि एक हिसाबले मरिसकेको थिएँ ।' त्यसबेला खाना खान, नुहाउनसमेत नसक्ने अवस्थामा उनी पुगेकी थिइन् । तर परिवारको साथ र धेरै परामर्शदाताहरूले दिएको सल्लाहसुझावले उनमा साहस पलायो । अहिले उनी होम प्रोडक्सनमार्फन नयाँ चलचित्र निर्माणको घोषणा गर्ने तयारीमा छिन् । ‘आवश्यक तयारी पूरा भएपछि पत्रकार सम्मेलन गरी नयाँ चलचित्रको नाम घोषणा गर्नेछु', उनले भनिन् ।

Yamaha

प्रतिकृया दिनुहोस

dishhomeapp