MENU

पुर्ख्यौली घरमा संग्रहालय

हरिबहादुर लम्जेल बिहीबार, फागुन ५, २०७३ 421 पटक पढिएको

Share This

धनकुटा: चारैतिर अग्ला पक्की महल। बीचमा झिँगटी र च्यादरले छाएको मौलिक नेपाली घर। चुन पोतिएको घरको बाहिरी भित्तामा पुराना हतियार, माहुरीको घार, परम्परागत तराजु, बाँसको जराबाट बनेका सामग्रीहरू झुन्ड्याइएको छ। घरभित्र ऐतिहासिक महत्वका सामग्रीहरू सजाइएका छन्। लाग्छ, आधुनिक सहरबाट केही शताब्दी पूर्व फर्केजस्तो।

सहिद भीमनारायण श्रेष्ठका जेठा छोरा मनोजनारायण श्रेष्ठले धनकुटा नगरपालिका-६ स्थित सिरान बजारमा रहेको आफ्नो पुख्र्यौली घरलाई संग्रहालय बनाएका हुन्। उनले ऐतिहासिक महत्वका पुराना सामग्री संरक्षण गरेका छन्।

संग्रहालयभित्र पुराना नक्सा, घरेलु हतियार, ग्रामाफोन, बेन्जुवाला, पेट्रोल मैक्स, केही ऐतिहासिक पुस्तक तथा मानापाथी, तुलो, ओखली, जाँतो, डोली पैसा, काठका भाँडाकुँडालगायत एक सयभन्दा बढी सामग्री छन्। घरका भित्तामा विभिन्न रंगको समायोजन गरी नेवारी संस्कृति झल्कने चित्रहरू कोरिएका छन्। संग्रहालयमा नेपालसहित विभिन्न देशका पुराना सिक्का राखिएका छन्।

उनका बुवा सहिद भीमनारायण श्रेष्ठको पास्नीमा प्रयोग भएका गहना, सय वर्षभन्दा पुराना पानसलगायत नेवारी सभ्यता र संस्कृतिसँग सम्बन्धित धातुहरू पनि संग्रहालयमा छन्। राणाकालीन समयमा हिलेबाट धनकुटाबजारमा खानेपानीका लागि ल्याइएको माटोबाट निर्मित पाइप पनि छन्। असुरक्षाका कारण अन्य ऐतिहासिक गरगहना राख्न नसकेको सहिदपुत्र मनोजनारायण श्रेष्ठले बताए। डेढ सय वर्षभन्दा पहिलेका ऐतिहासिक सामग्रीहरू संग्रहालयभित्र रहेको उनको भनाइ छ।

जापानी साथी ताकाहाकी करिब २१ वर्षअघि धनकुटा बजार घुम्न आउँदा पुराना वस्तु संरक्षणका लागि दिएको हौसलाबाट प्रेरित भई आफू लागिपरेको उनले बताए। उनका अनुसार २०५२ सालअघि धनकुटा सदरमुकामका सडकहरूमा ठूल्ठूला ढुंगा बिछ्याइएको थियो। ती ढुंगा अहिले संरक्षण अभावमा लोप भइसकेको उनले बताए।'हामीले आफ्ना पुराना चीजहरू संरक्षण गरेर राखेनौं भने भावी पुस्ताले कसरी हेर्छन् त ?'

२०३० सालमा तत्कालीन राजा वीरेन्द्र शाह उपस्थित विराटनगरको सहिद मैदानमा आयोजित सभामा बम विस्फोट गराएको आरोपमा यातना दिई २०३५ सालमा मृत्युदण्ड दिइएका बाबु सहिद भीमनारायण श्रेष्ठको सम्झनामा उक्त संग्रहालयलाई'सहिद भीमनारायण भवन' नामकरण गरेका छन्। भीमनारायण श्रेष्ठलाई सरकारले गत वर्ष फागुन १९ गते सहिद घोषणा गरेको थियो।

अवलोकन गर्नेको भीड
‘सहिद भीमनारायण भवन'मा संग्रह गरिएका ऐतिहासिक महत्वका सामग्री अवलोकन गर्न आउनेको भीड लाग्ने गर्छ। शैक्षिक भ्रमणमा आएका स्कुले विद्यार्थी, जिल्लामा हुने विभिन्न कार्यक्रममा आउने राजनीतिक दलका नेताहरू आउने गरेको उनले बताए। केही समयअघि पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कार्यक्रमका लागि धनकुटा आएका बेला ओलीपत्नी राधिका शाक्य पनि संग्रहालय अवलोकन गर्न आएकी थिइन्।

प्रतिकृया दिनुहोस

Annapurna Post1140X100