MENU

फ्लिनको रसिया सम्बन्धः रिपब्लिकनले पनि छानबिन गर्न माग

एजेन्सी बिहीबार, फागुन ५, २०७३ 3322 पटक पढिएको

Share This

वासिङटनः अमेरिकाको सत्तारुढ दल रिपब्लिकन पार्टीका वरिष्ठ सांसदहरूले मंगलबार राष्ट्रपति डोनाल्ड ट्रम्पका पूर्वराष्ट्रिय सुरक्षा सल्लाहकार माइकल फ्लिनको रसियाली सम्बन्धबारे विस्तृत छानबिन गर्न माग गरेका छन्।

डेमोक्रेटिक पार्टीका सांसदले फ्लिनको राजीनामापछि सोमबार उनको रसियाली सम्बन्धबारे स्वतन्त्र छानबिनको माग गर्दा सत्तारुढ दलका केही वरिठ सांसदले बेवास्ता गरेका थिए । प्रतिनिधिसभाका कतिपय डेमोक्रेट सांसदले संसदीय अनुगमन समिति (ओभरनाइट कमिटि)का अध्यक्ष जेसन चेफ्ट्ससँग फ्लिनको रसियाली सम्बन्धमाथि अनुसन्धान थाल्न सोमबार आग्रह गरेका थिए।

सिनेटमा दोस्रो वरियताका सिनेटर जन कर्निनलगायत अन्य रिपब्लिकन सिनेटरले राष्ट्रपति ट्रम्पको रसियाली अधिकारीसँगको सम्बन्धबारे छानबिन हुनुपर्ने माग गरेका छन्। सिनेटको सशस्त्र सुरक्षा समितिका अध्यक्ष रिपब्लिकन सिनेटर जोन म्याक्केनले भने, ‘फ्लिनको राजीनामाले अहिले देशको राष्ट्रिय सुरक्षा संयन्त्रले कसरी काम गरिरहेको छ प्रष्ट भएको छ । राष्ट्रपतिको रुसप्रतिको नियत के हो? ’

ट्रम्पले राष्ट्रपतिको कार्यभार सम्हाल्नुअघि नै र आफू सल्लाहका नियुक्त हुनुपूर्व फ्लिनले रसियाली राजदूतसँग रसियाविरुद्धको अमेरिकी नाकाबन्दीबारे छलफल गरेका सार्वजनिक भएपछि सोमबार राजीनामा दिन बाध्य भएका थिए । सेनाका पूर्वलेफ्टिनेन्ट जनरल फ्लिन राष्ट्रपतिको सुरक्षा सल्लाहकार नियुक्त भएको २४ दिनमै पद छाड्न बाध्य भएका थिए।
ह्वाइट हाउसका प्रवक्ताले मंगलबार बताएअनुसार राष्ट्रपति ट्रम्पले केही साताअघि नै रसियाली राजदूतसँग फ्लिनको टेलिफोन वार्ता विवादास्पद रहेको जानकारी पाइसकेका थिए।

राष्ट्रपति कार्यालयले यसै वर्ष जनवरी २६ मा भएको सम्वादबारे सूचना पाएको स्विकारे पनि फ्लिनले कुनै कानुन उल्लंघन नगरेको विश्वास गरेको जनाएको छ। त्यसपछि राष्ट्रपति कार्यालयका कानुनी सल्लाहकारहरुले यसबारे समीक्षा गरी फ्लिनसँग सोधपुछ गरे पनि विश्वस्त हुन नसकेको ह्वाइट हाउसका प्रवक्ता सिन स्पाइसरले बताए।
ह्वाइट हाउसको परामर्शदाता केलिन कन्वेले मंगलबार भनिन्, ‘अन्त्यमा घटनाले उपराष्ट्रपतिलाई समेत झुक्यायो, जसले परिस्थिति अझै जटिल बन्यो।’

न्युयोर्क टाइम्सले फ्लिन–रसियाली राजदूत टेलिफोन कुराकानीको विवरण नै सार्वजनिक गरेको थियो । विवरणअनुसार ट्रम्पका सहयोगीहरूले राष्ट्रपति निर्वाचनभन्दा एक वर्षअघि देखि नै वरिष्ठ रसियाली गुप्तचर अधिकारीसँग बारम्बार सम्पर्क गरेका छन्।

तर, न्युयोर्क टाइम्सले कुराकानी गरेका सरकारी अधिकारीले भने ट्रम्पको निर्वाचन अभियान र रसियाले डेमोक्रेटिक पार्टी कार्यालयमा गरेको ह्याकिङबीच कुनै सम्बन्ध रहेको वा चुनाव प्रभावित भएको कुनै प्रमाण अहिलेसम्म प्रमाण नपाएको दाबी गरेका थिए।

संघीय अनुसन्धान ब्युरो (एफबिआई) तथा सिनेट र प्रतिनिधिसभा दुवै संसदका गुप्तचर समितिले फ्लिन काण्डभन्दा अघि नै राष्ट्रपति निर्वाचनमा रसियाली संलग्नतासम्बन्धमा छानबिन गरिरहेका छन्। फ्लिनले यसअघि अमेरिकी नाकाबन्दीसम्बन्धमा रसियाली राजदूत सर्गेई किस्लाकसँग छलफल गरेको अस्विकार गरेका थिए। उपराष्ट्रपति माइक पेन्सले पनि उनका तर्फबाट सार्वजनिक रुपमा आरोप खण्डन गरेका थिए।

अमेरिकी सञ्चारमाध्यमले ट्रम्पको राष्ट्रिय सुरक्षा सल्लाहकार नियुुक्त भएको दिनमै एफबीआईका अधिकारीले फ्लिनसँग सोधपुछ गरेको जनाएका छन्। अनुदारवादी अमेरिकी वेबसाइट द डेली कलर मंगलबार प्रकाशित गरेको अन्तरवार्तामा फ्लिनले रसियाली राजदूतसँग कुराकानी गरेर आफूले कुनै कानुन उल्लंघन नगरेको दाबी गरेका छन्। उनले राजदूतसँग नाकाबन्दीबारे नभएर ३५ जना रसियाली कूटनीतिज्ञको निस्काशनबारे कुराकानी गरेको बताएका छन्।

तर अमेरिकी सञ्चारमाध्यमले उनको टेलिफोन वार्ताको विवरण नै सार्वजनिक गरेपछि सोमबार उनीमाथि राजीनामा गर्न दबाब परेको थियो ।
अमेरिकामा राष्ट्रपतिले अन्तर्राष्ट्रिय र सुरक्षा मामिलामा सल्लाह लिन आफ्ना मुख्य सल्लाहकारका रुपमा राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त गर्ने परम्परा छ ।
राष्टपति निर्वाचन अभियानका बेला फ्लिनले डेमोक्रेटिक उम्मेदवार हिलारी क्लिन्टनलाई विदेशमन्त्री हुँदा व्यक्तिगत ईमेल प्रयोग गरेकोमा ‘हिलारीलाई जेलमा हाल’ नारा लगाएका थिए।

‘कसरी चुहावट भइरहेको छ?’

फ्लिनकाण्डबारे पहिलोपल्ट सार्वजनिक टिप्पणी गर्दै राष्ट्रपति ट्रम्पले भने मंगलबार सामाजिक सञ्जाल ट्विटरमा लेखे, ‘समाचारको विषय फ्लिन होइनन् । कसरी यी चुहावट भइरहेको छ, त्यो समाचारको विषय हो । मैले उत्तर कोरियालाई सम्बोधन गरें भने पनि के यस्तै चुहावट भइरहनेछन्?’

संसदको इन्टेलीजेन्स कमिटिका सभापति डेभिन नन्सले मंगलबार पत्रकारसँग आफूले यस्ता चुहावटको छानबिन गर्न चाहेको र एफबीआईले पनि किन फ्लिनको कुराकानी रेकर्ड गरेको स्पष्टिकरण दिनुपर्ने बताएका छन् ।

प्रतिकृया दिनुहोस

थप सामग्री

Dish latest