MENU

विप्लव माओवादी र वाम लप्फाजी

635x90

प्रा.डा. बद्रीविशाल पोखरेल बिहीबार, फागुन ५, २०७३ 6501 पटक पढिएको

Share This

अपार जन र धनसम्पदाको संहार गरेको कथित महान् जनयुद्धको महिमामण्डन गर्दै नेकपा माओवादी ‘विप्लव’ ले यही फागुन १ गते काठमाडौंमा जनयुद्ध दिवसको दिन आठौं महाधिवेशन उद्घाटन गरेको छ । माओवादी नामको पार्टीका नाममा सुरु गरिएका उग्रवादी, अतिवादी, दुस्साहसवादी र सतही राजनीतिक गतिविधिको सैद्धान्तिक जग नै नभएको यस लेखकको ठम्याइ थियो र छ । भाटे कारबाहीजस्ता सतही क्रियाकलापका भरमा परेर तत्कालीन माओवादी क्रियाकलापको उत्तराद्र्ध कालसम्म एकोहोरा भजनमण्डली कथित बुद्धिजीवीहरू अहिले पश्चात्तापपूर्ण रोइलो गरिरहेका छन् ।

अझै पनि माओवादी नामका विप्लवलगायत कम्युनिस्ट नामका उग्रवादी, अतिवादी पार्टीहरू विगतकै नरसंहारी, जनधनको आमध्वंसकारी गतिविधिको पुनरुक्तिमा लागेको देखिन्छ । तिनले फेरि सोझासीधा सर्वसाधारण युवालाई बेवारिसे र व्यर्थको मृत्युपथमा फेरि आकर्षित गर्न सक्ने खतरा देखिन थालेको छ । उद्घाटन सत्रका प्रमुख वक्ता विप्लवले दुई दसकअघिकै जस्तो नरसंहारकारी सशस्त्र युद्धप्रति रोमान्टिक मोह प्रदर्शन गरे । उनले राइफल र जीपीएमजी बोक्न तयार हुनुपर्ने कुरा सगर्व र सगौरव उद्घोष गरे । त्यसमा थप एकीकृत जनक्रान्ति गर्ने विषय जोडे पनि त्यो आम जनतामा भ्रम छर्ने वाम लप्फाजीबाहेक नभएको देखियो ।

जनयुद्ध गरेर हतियारको बलमा कसैलाई पनि किमार्थ निषेध गर्न सकिने रहेनछ भन्ने आफ्नै घुँडाका पाङ्ग्रा र गोलीगाँठाका गेडी खुस्किएपछि माओवादीले थाहा पाएको थियो । त्यसरी थाकेर, गलेर र हत्तुहैरान भएर शान्तिपूर्ण राजनीतिक मैदानमा अवतरण गरेको विगत माओवादीको नियति देखेर पनि विप्लव त्यसलाई मान्न तयार देखिएन ।

२०६३ को ऐतिहासिक जनक्रान्ति सम्पन्न भएर एउटा सम्झौतामा पुगेर टुंगिएको थियो तर उक्त आन्दोलन र क्रान्तिलाई निरन्तरता दिन आफ्ना लडाकासहित आम जनतालाई सशक्त आह्वान गर्दा पनि कामरेड प्रचण्डको बोली एक पैसामा पनि बिकेन । जनयुद्धताका ८० प्रतिशत नेपाली भूभाग कब्जा गरेको फुईं छाँट्ने विप्लव माओवादीलाई अहिले उही ठाउँमा उक्त पार्टी नामको झारपातसमेत झरेको थाहा हुनुपर्ने हो । अलिकति राजनीतिक चेत र चिन्तन भएको मानिस किराफट्यांग्रासरि माओवादीका नाममा मर्न चाहँदैन । यो बेला राजशाही निरंकुश पञ्चायती कालरात्रिको अवस्था होइन ।

अहिले देश, जनता र जनजीविकाको लागि संगठित रूपमा राजनीतिक काम गर्ने अनेक बाटा छन् । काठमाडौं जान अहिले पिच बाटो, कच्ची बाटो, घोडेटो बाटो, सात घुम्ती र चौध घुम्तीको बाटो आदि अनेक बाटा र मार्गहरू खुला छन्, तर माओवादी विप्लव अक्कर, भीर, रागेभिर र बिनबित्थामा लडिमर्ने र मराउने बाटो खोजेर हिँड्दैछ । आफ्ना पार्टी समर्थक विद्यार्थीको शून्यप्रायः अवस्थालाई ध्यानमा राखेर आसन्न निर्वाचनको माहोल बिथोल्न एकाध युवा परिचालन गरेर फेरि पुरानै आतंक कायम गर्न विप्लव पार्टी लागिरहेको देखिन्छ । त्यसैले अहिले पनि विगत माओवादी शक्तिको धमास दिनेहरूले माओवादी नामको अहिले शिथिल, सुस्त र शून्यप्रायः रहेको टड्कारो अवस्था नबुझेको ठहर्छ ।

त्यति मात्र होइन, प्रधानमन्त्री हुँदा वा नहुँदा अनेक छलछाम र प्रपञ्च रचेर प्रचण्डले शस्त्रबलका भरमा बारम्बार राज्यको शासकीय सत्ता कब्जा गर्न नखोजेको हो र ? विगतजस्तै सबै शत्रु देख्ने रोगग्रसित विप्लवले उद्घाटन सत्रमा गालीको बौछार गर्न कसैलाई बाँकी राखेनन् । अर्थात् उनका बोलीबाट विगत झैं सक्कली कम्युनिस्ट, क्रान्तिकारी र इमानी हामी मात्र हौं भन्ने अति अहंवादी उद्घोष बोध हुन्थ्यो । पाँच महिनासम्म नेपाल र नेपालीलाई पछार्न भारत प्रायोजित घोर अमानवीय नाकाबन्दीलाई ओली सरकार र आम नेपाली जनताको एकीकृत प्रयासबाट निस्तेज पारेको देखिदेखि विप्लवले खसीबाख्री एउटै धोक्री पाराले सबै पार्टीलाई पाँडे गाली गर्न भ्याए ।

मन्तव्यका क्रममा नेताहरूले उग्रवाद, अतिवाद तथा भावी दिनमा फेरि नेपाली समाजलाई आतंकको अग्निकुण्डमा होम्ने स्पष्ट संकेत दिए । जसरी विगत कालमा प्रचण्ड र बाबुराम नेतृत्वले संसारमा वैज्ञानिक समाजवाद नै आएको छैन, त्यो समाजवाद हामी मात्र ल्याउन सक्छौं र संसारमा सक्कली कम्युनिस्ट हामी मात्र हौं भन्थे । उनीहरू आफूलाई एक्लो वीर ठान्थे, शस्त्रबललाई शीर्ष स्थानमा राख्थे, वर्गीय आन्दोलन उठाउन धेरै समय लाग्ने भएकाले जात, भात, नाक र नश्लको राजनीतिलाई सर्वोपरि ठान्थे, माक्र्सवादी वैज्ञानिक नियमसंगत सामाजिक परिवर्तन अस्वीकार गर्थे, उनीहरू त्यसबेला मात्रात्मक हुँदै गुणात्मक परिवर्तनलाई निषेध गर्थे, उनीहरू अराजकता, अन्योल र अस्थिर स्थितिभित्रबाट छलाङ मार्नेजस्तो यान्त्रिक तथा अमाक्र्सवादी दृष्टिकोण राख्थे ।

ठीक त्यस्तै खालको नीति, सिद्धान्त, कार्यदिशा र कार्यनीतिक दृष्टिकोण प्रायः सबै माओवादी नेता वक्ताहरूले बताएका थिए । कहाँसम्म भने स्थायी समितिका सदस्य वक्ताहरूको बोलीमा अबौद्धिक प्रस्तुति गरेको पनि सुनियो । तिनले कथित जनयुद्धमा मारिएका मात्र सहिद हुन् भन्ने आशयका साथ सहिदप्रति श्रद्धाञ्जली प्रकट गरे । हजार सिद्धान्तभन्दा एक व्यवहार धेरै प्रभावशाली हुन्छ भन्ने तिनले बिर्सेजस्तो भान हुन्थ्यो । माक्र्सवादी शब्दावलीभित्र वैज्ञानिक र वस्तुनिष्ठ दृष्टिकोण हुन्छ ।

जनमतमार्फत सामाजिक परिवर्तन गर्ने अनुकुल अवस्थामा हतियार उठाउन रहर गर्नु भनेको क्रान्ति र परिवर्तनलाई भड्खालोमा हाल्नु हो । यस्ता कृत्यले कम्युनिस्टका नाम र नेतृत्वमा कम्युनिस्टलाई नै बद्नाम गर्नु हो । कम्युनिस्ट नामका उग्रवादबाट आन्दोलन नै धराशायी भइरहेको देखीदेखी फेरि त्यही गल्ती दोहोर्‍याउनु अर्को चिहान खन्नु हो ।

त्यसलाई सिर्जनात्मक तथा व्यावहारिक रूपमा उदाहरणसहित अभिव्यक्त गर्दा आम जनतामा गहिरो प्रभाव पनि पर्छ तर प्रायः नेपाली कम्युनिस्टहरू रटिरटाउ शब्द मात्रै फलाकिरहेका हुन्छन् तर तिनको अर्थ, आशय र तात्पर्यका बारेमा धेरैजसो आफैं अस्पष्ट पनि देखिन्छन् । त्यसैले एमाले अध्यक्ष केपी शर्मा ओलीले बोलीले होइन व्यवहारले एमाले हुन, देखिन र जनताको मन जित्न आम कार्यकर्ता र नेतालाई आग्रह गरेका छन् । उनको आशय लप्फाजीका भरमा नेता र कार्यकर्ता हुन सकिन्न भन्ने नै हो ।

अहिलेजस्तो खस ब्राह्मण लक्षित एकोहोरो सत्तोसराप गर्नबाट यो पार्टी अलग रहेजस्तो लाग्थ्यो । विप्लवले यस खालका अति जातीय संकीर्णतालाई साँच्चो रूपमा परित्याग गरेको हो भने जाती कुरा हो । हुन त यस पार्टीले विगतका उग्रवादी सैद्धान्तिक, सांगठनिक तथा कार्यक्रमिक बाटो नसच्याई कुनै सफलता हात पार्ने छैन । माओवाद कसरी हो र हुन सक्छ ? यसलाई पुष्टि गर्ने विप्लवसित कुनै तर्क देखिँदैन । वाद भनेको सार्वकालिक, सार्वजनिन तथा सार्वभौमिक दर्शन, दृष्टिकोण, राजनीति, अर्थनीति र संस्कृति हो ।

माओले नै माओवाद भन्न रुचाएनन् । चीनको विशेष सन्दर्भ र परिस्थितिमा सिर्जना गरिएको माक्र्सवादको विशिष्ट पुनर्सिर्जन नै माओको विचार हो । माक्र्सवादजस्तो माओवाद किमार्थ वाद होइन । तर उग्रवादले कहिले गोन्जालोपथ भन्छ, कहिले नक्सलवाद भन्छ अनि प्रचण्डपथ पनि भन्छ र भन्यो । सामन्तवादमा जस्तो कम्युनिस्ट पार्टीमा प्रमुख नेतालाई देवत्वकरण गर्नेजस्ता चरम विकृति पनि कथित कम्युनिस्ट पार्टीहरूमा देखिन्छ । भारतीय नक्सलवादीहरू पनि जनयुद्धजस्तै वर्षगाँठ मनाउँछन्, तर ती सबै गर्व र गौरवपूर्ण दिवस क्रियाकर्म दिवसमा रूपान्तरण भइरहेका छन् । स्वयं माओले रूसी कम्युनिस्ट क्रान्तिको हुबहु नक्कल गर्ने कुराबाट टाढा रहेर मात्र चिनियाँ क्रान्ति सफल पारेका हुन् ।

देशीय र अन्तरदेशीय स्थिति परिस्थिति तथा पार्टीको आत्मगत र भौतिक अवस्था र स्थिति नहेरी सशस्त्र संघर्षलाई रहर र लहडको विषय बनाउँदा उग्रवाद असफल भएको विगतको जनयुद्धलाई नै राम्ररी नियाले पुग्छ । अनि यसैलाई पुनपुष्टि गर्नु भनेको अर्को नरसंहारको यात्रा सुरु गर्नु हो । हुँदाहुँदा मदन भण्डारीको प्रसंग उठाएर महामहिम राष्ट्रपति विद्यादेवी भण्डारीलाई समेत फतुर आरोप लगाउन पनि माओवादी नेताले भ्याए । जननेता मदन भण्डारीलाई संशोधनवादी गद्दार भनेर नथाक्ने विप्लव पार्टी अहिले आएर मदनको षड्यन्त्रपूर्वक हत्या गरेकोमा गोहीको आँसु चुहाउन थालेको छ ।

संसदीय व्यवस्था समूल समाप्त गरेर एक्कैचोटि वैज्ञानिक समाजवाद स्थापना गर्ने मनगढन्ते उद्घोष गर्ने यस पार्टीका नीति र नियति चरम उग्रवाद आधारित देखिन्छन् । समाज परिवर्तन गर्भस्थ शिशु धर्तीमा अवतरण गर्नुसरह हो । गर्भस्थ शिशुलाई अमूक व्यक्तिको हुटहुटी र हतारमा ५ वा ६ महिनामा जबर्जस्ती अवतरण गराउन खोजेजस्तै माओवादी विप्लव नेपाली समाजलाई जोरजबर्जस्तीपूर्वक परिवर्तन गर्ने सपनामा लट्ठ परेका छन् । माक्र्सवाद र यसका समाज परिवर्तनका नकारको नकार जस्ता यथार्थ, सत्य र वैज्ञानिक विषयलाई पूरै नजरअन्दाज गरेर रातारात वैज्ञानिक समाजवादको सपना बाँडेर युवा पुस्तालाई दिग्भ्रमित पारिरहेका छन् ।

द्वन्द्ववादले बहुआयामिक द्वन्द्व उजागर गरेको छ । वैचारिक, सैद्धान्तिक द्वन्द्वले सत्यापनसिद्ध गर्न ठूलो बल प्रदान गर्छ । मानिस मारेर विचार मार्न सकिन्न । जबसम्म समाज वर्ग रहन्छ र त्यसबेला वर्गीय विचार कायम रहन्छ । वैचारिक अध्ययन, छलफल र विमर्शबाट कन्फ्युसियस धर्मावलम्बी माओ माक्र्सवादी बनेका हुन् । विचार नमिल्नेबित्तिकै जीवनलीला समाप्त गरेर कथित माओवादी जनयुद्धका कारण कम्युनिस्टका नाममा १७ हजार निरपराध मानिस मारिए ।

माक्र्स, माओ, लेनिनले सशस्त्र संघर्षलाई रहर र लहडको विषय बनाएको पाइन्न । जनमतमार्फत सामाजिक परिवर्तन गर्ने अनुकुल अवस्थामा हतियार उठाउन रहर गर्नु भनेको क्रान्ति र परिवर्तनलाई भड्खालोमा हाल्नु हो । यस्ता कृत्यले कम्युनिस्टका नाम र नेतृत्वमा कम्युनिस्टलाई नै बद्नाम गर्नु हो । कम्युनिस्ट नामका उग्रवादबाट आन्दोलन नै धराशायी भइरहेको देखीदेखी फेरि त्यही गल्ती दोहोर्‍याउनु अर्को चिहान खन्नु हो ।

क्रान्ति नामका उग्र, अराजक, हिंसात्मक गतिविधिका पछाडि वैदेशिक प्रभाव नहोला भन्न सकिन्न । किनकि सारा परिवर्तनकारी र अग्रगामी शक्तिलाई एक ढिक्का हुन दिनु भनेको नेपालको समग्र प्रगतिको दरिलो आधार बन्नु हो । फुटाऊ र शासन गर नीतिबाट नेपाललाई कमजोर पार्न सकिने कतिपय छिमेकीको देखिन्छ । यसको लागि आन्तरिक र बाह्य शक्तिहरू नेपाली पार्टीहरूभित्र घूसपैठ गरिरहेका छन् र तिनले अनेक दर्घादिशा, दरदाम र दबाबमार्फत आन्तरिक फुट, विग्रह र विभाजनमार्फत नेपाली एकतामा भाँजो हालिरहेका छन् । अहिले यसको पछिल्लो संस्करण र अवतार विप्लव माओवादी हुनसक्छ ।

National College 220X220Pix Ad for Annapurna

प्रतिकृया दिनुहोस

Annapurna Post1140X100