MENU

नेपाल र ब्रह्मपुत्रको सांस्कृतिक साइनो

डा. माधवप्रसाद पोखरेल आइतवार, फागुन १, २०७३ 7996 पटक पढिएको

Share This

संस्कृति

कैलाश पर्वतबाट पग्लेको हिउँ जमेर बनेको मानसरोवरबाट बगेको पानी पश्चिमतिर लाग्दा सिन्धु, गंगा र कर्णाली नदी बन्दछन् भने पूर्वतिर लागेको खोलाको नाउँ तिब्बतमा यार्लुङ र भारतको ईशान कोणको सदियाबाट पुरानो असम भिजाएर गंगा नदीमा मिल्नुभन्दा अघि ब्रह्मपुत्र नाउँले प्रसिद्ध छ।

चिनियाँ नक्सामा ब्रह्मपुत्र नदीलाई तामाङ खोलो भनेको पाइन्छ। सम्भवत: आफूलाई म, न, ङ व्यञ्जनबाट चिनाउने तामाङ, गुरुङ, थकाली र मनाङेहरूको पुर्ख्यौली थलो त्यही हो। ब्रह्मपुत्रले बनाएको मैदानलाई पुराणमा प्राग्ज्योतिष र शोणितपुर आदि नाउँहरूले चिनाए पनि नेपालीहरूले आसाम भनेर चिन्छन्।

अहिले त्यो पुरानो आसाम सातवटा राज्य (असम, मेघालय, अरुणाचल, नागाल्यान्ड, मिजोरम, मणिपुर र त्रिपुरा)मा बाँडिएको छ। यस लेखमा तिनै सातवटा राज्यलाई समेट्ने पुरानो असमलाई ब्रह्मपुत्र ब्याँसी भन्ने नाउँ दिइएको छ।

आज ठूलो संख्यामा नेपालीहरू ब्रह्मपुत्र ब्याँसीमा बसोबास गर्नाले नेपाली संस्कृतिको प्रभाव पनि त्यस भेगमा परेको भए पनि यस लेखमा चाहिँ नेपाली संस्कृतिमा ब्रह्मपुत्र ब्याँसीका संस्कृतिको प्रागितिहासिक र ऐतिहासिक साइनो मात्र केलाउने लक्ष्य राखिएको छ।

भारतीय उपमहाद्वीपमा प्रागितिहासिक जातिहरूमा भोट बर्मेली भाषा बोल्नेहरू याङ्सी नदीको ब्याँसीदेखि दक्षिणबाट धकेलिएर अन्त्यमा चीनको सिछ्वान (चार खोला) प्रान्तबाट खोलै खोला सरेर ब्रह्मपुत्र ब्याँसी आइपुगेका हुन्।

दिमासाजस्ता केही दानव (तानव वा तानी) जातिहरूको साइनो मलेनेसिया, पोलिनेसिया, माइक्रोनेसिया, हवाई, र म्याक्सिको सम्म सामुद्रिक यात्राबाट जोडिएको पाइन्छ। असमलाई असम नाउँ दिने ताई अहोमहरू चीनबाट त्यहाँ आइपुगेका हुन्। आर्य जातिहरू इसापूर्व सातौं शताब्दीसम्म कोसीपूर्व पुगेकै थिएनन्।

नेपालमा भोट बर्मेली भाषा बोल्नेहरूको पुरानो (हिमाली) हाँगो ब्रह्मपुत्र ब्याँसीबाटै हिमालयको समानान्तर पहाडको कछाडैकछाड क्रमश: पश्चिमतिर सर्दै आएको हो भने तिब्बती भाषासँग साइनो राख्ने पछिल्लो (भोटात्मक) हाँगोचाहिँ हिमालका भञ्ज्याङ नाघेर आएको हो।

भोट बर्मेली भाषा बोल्ने पुरानो हाँगाले नै उत्तर वैदिक साहित्यमा किरात भन्ने नाउँ पाएको हो। जे भए पनि ब्रह्मपुत्र ब्याँसीसँग साइनो नगाँसी नेपाली संस्कृतिको परिभाषा अधुरो हुने हुनाले यो लेख लेखिएको हो।

मोरङ जिल्लाको नाउँ, जीउ गोद्‌ने चलन, थारू, मगर र मिथिला
हाम्रो मोरङ जिल्लाको नाउँको साइनो मणिपुरसित छ, किनभने मणिपुरको पुरानो नाउँ मोइरङ हो। अस्ट्रोनेसियाली दानव (दानी वा तानी) भाषामा मोइ भनेको धान र रङ भनेको ढुटो छुट्ट्याइएको भएकाले मोइरङ शब्दको अर्थ चामल रहेछ। मणिपुरका प्रथम राजाको नाउँ पनि मोइरङ नै लेखिएको पाइन्छ।

मणिपुरमा मोइरङ वंशले शासन गरेको उल्लेख छ। मणिपुरका मिथकअनुसार मिथिलातिरबाट गएका असुर (नरकासुर) हरूसितको युद्धमा मोइरङको मृत्यु भयो। अरू दानवहरू सामुद्रिक यात्राबाट मलेनेसिया, पोलिनेसिया, माइक्रोनेसिया तिर छरिँदै मेक्सिको पुगे कि भन्ने अड्कल पनि गरिएको छ, किन भने यस भेगमा झैं मेक्सिको (माया) मा पनि लिंग पूजा पाइएको छ र लिंगलाई तिनीहरू शिव नै भन्दछन् अरे अनि लिंगको नजिकै त्रिशूल गाडिएको पनि पाइन्छ अरे। यसलाई असमको सांस्कृतिक विस्तारका रूपमा पनि अर्थ्याउने चलन छ।

तानी वा तानव जातिका (जस्तै अपतानी) मानिसहरूमा सौन्दर्य बढाउन हात, खुट्टा र जीउ गोदेर बुट्टा बनाउने चलन थियो। राजा चित्रभानु र राजकुमारी चित्रगन्धाले छाला गोद्नेब त्यही चलन सम्झाउँछन्। नेपालमा पनि थारूजस्ता केही जातिमा जीउ गोद्नेे चलन छ। त्यस परम्पराले पनि नेपाली संस्कृतिको प्रागितिहासिक साइनो ब्रह्मपुत्र ब्याँसीसित भएको अड्कल गर्न सकिन्छ।

नेपालमा हात्ती कज्याउने जाति थारूमात्र हो। नेपाल तराई, त्यसमा पनि मोरङको धान खेतीसित पनि थारू जाति नै सम्बन्धित छ। हात्तीको खानी थाइल्यान्ड मणिपुरबाट धेरै पर छैन। मिथिलाबाट प्राग्ज्योतिष (असम) गएका नरकासुरले मोइरङलाई मारेर उनको सेतो हात्ती लुटे (डा. बलराम चक्रवर्ती)।

असमका पुराना अभिलेखहरूमा मणिपुरका बासिन्दालाई मग्लु र मोग्लाइ भनेको पाइन्छ (विधान सिन्हा)। तुलनात्मक भाषा विज्ञानका आधारमा यी नामले नेपालको मगर जातिलाई पनि सम्झाउँछन्।

 ती, दी, डी प्रत्यय लागेका खोलाका नाउँ
अलेक्जान्डर कनिंघमले बर्मादेखि पश्चिम नेपालैसम्मका खोलाहरूमा ती, दी, डी प्रत्यय लागेको उल्लेख गरेका छन् (डा. सुनीति कुमार चटर्जी, १९७४:४३)। ब्रह्मपुत्र ब्याँसीमा पनि ती, दी प्रत्यय लागेका नदीहरू (रोआती, नुमिती, जोनेती, मान्याओती, खान्याओती) पाइन्छन् (उत्तमचन्द बर्मन)। यसरी डिमापुरको डि र मगरातको रिडी खोलाको डी नजिकिन्छन्।

मगर भाषामा द ड को लघुतम युग्म बन्दैन, त्यसैले तनहुँ, गोर्खा, स्याङ्जा, पाल्पा र नवलपरासीका खोलाहरूको नाम डी, दी, ती मा टुङ्गिन्छ (रिडी, राम्दी, चुँदी, तादी, मस्र्याङ्दी, रिस्ती, कलेस्ती)। पाल्पा र गुल्मीको रिडी खोलाको डी अझ पश्चिममा री (भेरी) र त्यसभन्दा पश्चिममा ली (काली) हुन्छ।

असमको इतिहासमा १३औं शताब्दीदेखि सात सय वर्षसम्म कोच जनजातिले राज्य ग‍र्‍यो। कुचबिहारका कोचे राजा विश्वसिंहले बेग्लाबेग्लै देशका उन्नाइसवटी राजकुमारी बिहे गरेका थिए, तीमध्ये नेपाल नरेश प्रताप मल्लकी छोरी रत्नकान्ति पनि थिइन्।

यसरी मगर भाषाको साइनो ब्रह्मपुत्र ब्याँसीसँग गाँसिन्छ। बर्माको इरावती र काठमाडौंका बाग्मती, विष्णुमतीमा पनि भोटबर्मेली नामलाई संस्कृतीकरण गरिएको हुन सक्छ (डा. क्यारोलिन मारक)।

 शोणितपुर: थानकोट र तेजपुर
नरकासुर मिथिलाबाट शोणितपुर (असमको तेजपुर) मा राज्य गर्न गएका मिथकहरू असममा पाइन्छन् (डा. बलराम चक्रवर्ती)। शोणितपुरका राजा वाणासुरकी छोरी उषाले सपनामा श्रीकृष्णका नाति अनिरुद्धलाई देखेर मन पराइछन्। उषाले सपनामा देखेका अनिरुद्धको रूप वर्णन गरेका आधारमा अनिरुद्धको चित्र चित्रलेखाले बनाइन् अरे।

चित्रलेखाले बनाएको अनिरुद्धको चित्र हेरेर उषाले अनिरुद्धलाई कोठैमा ल्याई मागिन् अरे। चित्रलेखाको तिलस्मी शक्तिले उनले द्वारकामा निदाइरहेका अनिरुद्धलाई उषाका कोठामा उडाएर पु‍र्‍याइदिइछन्। वाणासुरले त्यो सुइँको पाएर अनिरुद्धलाई बन्दी बनाएछन्। द्वारकामा अनिरुद्ध हराएपछि खैलाबैला भएका बेलामा नारद पुगेर वाणासुरले अनिरुद्धलाई बन्दी बनाएको सुराक दिएछन्।

श्रीकृष्णले द्वारकाबाट ठूलो सेना लिएर वाणासुरको राजधानीलाई घेरे। ठूलो लडाइँ भयो। त्यसमा श्रीकृष्णले वाणासुरका हजारवटा हात काटिदिएर मारे। धेरैको हताहत भएकाले बगेको रगत (शोणित) छताछुल्ल भएकाले तेजपुरको नाउँ पनि शोणितपुर भयो। उषा र अनिरुद्धको बिहे भयो।

नेपालमा थानकोटको नाउँ पनि शोणितपुर नै छ। थानकोटमा पनि वाणासुरको राज्य भएको कुरो र उषा, अनिरुद्ध, चित्रलेखा, श्रीकृष्ण, युद्ध र रगतसित मिल्ने सबै कथा, किंवदन्ती, मिथक, जात्रा र जनविश्वासका आधारमा थानकोटलाई नै शोणितपुर मानिन्छ। तेजपुर र थानकोट दुवैको साइनो मिथिलासित छ। थानकोट गोपालीहरूको थलो हो। गोपालहरू श्रीकृष्णसँगै काठमाडौं उपत्यका आए भन्ने किंवदन्तीहरू पनि छन्।

किरात र किराती
नेपाल र ब्रह्मपुत्र ब्याँसी दुवै ठाउँका मिथक र साहित्यमा एक किसिमका जनजातिलाई जनाउन किरात शब्द प्रयोग भएको पाइन्छ। नेपाली भाषामा किरातहरूलाई किराती भन्ने चलन छ। डा. सुनीतिकुमार चटर्जी (१९७४ ई) ले पूर्वी नेपालमा चिराइतो चलाउने राई, लिम्बू र याक्खालाई किराती ठहराएका छन्।

किथ र म्याक्डोनेलको वेदिक इन्डेक्सका आधारमा अथर्व वेद र अरू उत्तर वैदिक साहित्यमा किरात शब्दले ओढारमा बस्ने, जुरो बान्ने, सिकार गर्ने र ओखतीमूलो खोज्ने उस्तैउस्तै बान्की हुने सम्भवत: नेप्टो अनुहार हुने सबै जातिलाई बुझाएजस्तो लाग्छ।

यसरी असम र नेपाल दुवै ठाउँमा फराकिलो अर्थमा किरातहरू भेटिन्छन्। कुरो जे भए पनि संस्कृत वाङ्मउयमा किरात शब्दले जनाउने सबै जातिहरू आधारभूत रूपमा दक्षिण चीनको याङ्सी नदी ब्याँसीबाट सिछ्वान हुँदै ब्रह्मपुत्र ब्याँसीकै बाटो नेपाल र भारतको उत्तराञ्चलसम्म पुगेका हुनाले धेरै नेपाली जनजातिहरूको प्रागितिहासिक साइनो ब्रह्मपुत्र ब्याँसीसित जोडिन्छ।

 पान सुपाडी
युन्नानबाट ताई अहोमहरूले पान सुपाडी खाने चलन असममा भित्र्याए। नेपालमा त्यो चलन असमबाटै आयो र पान सुपाडी दुइटै नेपाली संस्कृतिका अभिन्न र अनिवार्य अंग बने। प्रशान्त महासागरका टापुहरूबाट पान सुपाडी खाने चलन असममा आयो भन्ने सूचना पनि पाइन्छ।

मेचे वा बोडो
झापामा मेचे जनजाति बस्छ। मेचे बोडो जाति नै हो। मेचेहरू असमबाटै नेपाल आएका हुन्। नेपालीहरू के अड्कल गर्छन् भने मेची नदीको किनारमा बसोबास गर्ने हुनाले तिनीहरूलाई मेचे भनेको होला, तर कुरो उल्टो रहेछ। मेचेहरू नजिकै बस्ने हुनाले पो नदीको नाउँ मेची भएको होला।

असमको ग्वालपाडा जिल्लामा मेचपाडा भन्ने ठाउँ पनि रहेछ (केएम अक्मल हुसैन)। डा. मीरा देवीले मेचपाडामा कोचेलाई मेचे र मेचेलाई कोचे दुवै भन्ने चलन भएको उल्लेख गरेकी छन्, तर नेपालमा त मेचे र कोचे (राजवंशी) फरक जनजाति मानिन्छन्।

कोच, राई, नारायण, कामाख्या
असमको इतिहासमा १३औं शताब्दीदेखि सात सय वर्षसम्म कोच जन जातिले राज्य ग‍र्‍यो। कुचबिहारका कोचे राजा विश्वसिंहले बेग्लाबेग्लै देशका उन्नाइसवटी राजकुमारी बिहे गरेका थिए, तीमध्ये नेपाल नरेश प्रताप मल्लकी छोरी रत्नकान्ति पनि थिइन्।

रत्नकान्तिबाट कुचबिहारका जेठा राजकुमार नरसिंह जन्मेका थिए। सन् १५३३ मा विश्वसिंह मरेपछि प्रताप मल्लका नाति नरसिंह कुचबिहारका राजा भए, तर काशीमा पढी रहेका उनका सौतिने भाइ नरनारायण सिंह र चिला राई (संग्रामसिंह) त्यो कुरो सुनेर कुचबिहार फर्के।

चिला राईको बहादुरीले नरनारायण सिंहले महाराज नरसिंहलाई हराए। नरसिंह भागेर नेपालको मोरङ पसे तर मोरङमै चिला राई आएर ठूल्दाइलाई हराएपछि नरनारायण सिंह कुचबिहारका चक्रवर्ती राजा भए (डा. कनक डेका)। कामाख्याको आविष्कार र मन्दिरको पुनर्निर्माण कोच राजाहरूकै पालामा भएको हो।

शंकरदेवको वैष्णव धर्मको अभियान नरनारायणकै संरक्षणमा भएको थियो। पछि नरनारायण आफैं पनि वैष्णव भए। फलत: कुचबिहारका सबै कोच राजाहरू आफ्नो नाउँमा नारायण जोड्न थाले।

ग्वालपाडाको एउटा गाउँमा गारो भाषासित मिल्ने कोचहरूको छुट्टै भाषा छ अरे र ती कोचेहरूलाई तिनटेकिया कोचे भन्दछन् अरे। वास्तवमा कोचे (राजवंशी) हरू पनि राभा र गारोझैं बोडो जाति नै हुन् र सबै कोचरी समूहमै पर्छन् (शिवानन्द शर्मा), तर हिन्दु धर्म लिएपछि कोचेहरूले आफ्नो भाषा छोडेर आर्य भाषा बोल्न थाले, जसलाई सिलिगुडी तिर उत्तरी बाङ्ला भन्दा रहेछन्।

धरान विजयपुरमा नारायणपुर भन्ने एउटा ठाउँ छ, जहाँका राजाहरू आफ्नो नाउँ पछाडि नारायण लेख्थे भन्ने कुरो इमानसिंह चेम्जोङले विजयपुरको इतिहासमा लेखेका छन्। चेम्जोङले त्यसै इतिहासमा धरानको पानबारी (बारातप्पा) भन्ने ठाउँमा भएको राजधानीलाई कोचे राजा विजयनारायण राईले विजयपुर डाँडामा सारे।

तिनै विजयनारायण राईका नाउँबाटै त्यो डाँडाको नाउँ विजयपुर रह्यो। पछि टिस्टादेखि कोसीसम्म, पुर्णियाँदेखि हिमालयसम्म फैलेको राज्यको नाउँ नै विजयपुर राखियो। पाल्पाका राजा मुकुन्द सेनका कान्छा छोरा लोहाङ सेनले कोचेहरूबाट विजयपुर राज्य जितेपछि विजयपुर सेन राज्य भयो।

सेनहरूले किरातीहरूलाई राय (राई) उपाधि र पहाड तिर स्वायत्तता दिए। विजयपुर राज्यमा राजा चाहिँ सेन देवान (मन्त्री) चाहिँ किराती (लिम्बू) हुने थिति बाँधे। वास्तवमा राई थर पनि, देवान पद पनि कुचबिहारबाटै विजयपुर राज्यमा आएका हुन्। पृथ्वीनारायण शाहको नेपाल एकीकरण अभियानले विजयपुर राज्यलाई नेपाल राज्यमा गाभ्यो।

नेपालमा किराती, दनुवार र मगरहरूमा राई थर पाइन्छ। राई थर संस्कृत राजा शब्दबाटै राया हुँदै बनेको हो। नरनारायणका भाइ चिला राई र विजयपुर राज्य बनाएर धरानको पानबारीबाट विजयपुर डाँडामा राजधानी सार्ने विजय नारायण राईको थरले पनि कोच वा कोचे (राजवंशी) सँग विजयपुरको साइनो गाँस्छ।

तन्त्र र कुमारी पूजा
नेपाल र ब्रह्मपुत्र ब्याँसी दुवै ठाउँको संस्कृतिमा तान्त्रिक प्रभाव छ। तन्त्र नेपालबाट बंगाल वा असमतिर होइन, बंगाल वा असमबाट नेपालतिर आएको हो। काश्मीर र बंगाल वा असमको तान्त्रिक अभ्यास (व्यक्ति, आनन्द, लीला र लैंगिक परिपूरकता) मा तात्विक फरक छ (डा. प्रेम शरण)।

अनेक तान्त्रिक ग्रन्थहरू असममा लेखिए। तिनीहरूमध्ये योगिनी तन्त्र कुचबिहारका कोच राजाहरूले लेखाएका हुन्। त्यस तन्त्रमा कुमारी पूजाको महत्व पनि उल्लेख गरिएको छ। कुमारी पूजा पनि तान्त्रिक अभ्यास हो, जो नेपालको कुमारी थानमा र असमको कामाख्या मन्दिरमा पाइन्छ। नौ वर्षको उमेरदेखि रजस्वला नहोउन्जेल कुमारीको पूजा गर्ने चलन कामाख्या मन्दिरमा छ (डा. अपूर्वचन्द्र बड्ठाकुरिया)।

मछिन्द्रनाथ र गोरखनाथ
मछिन्द्रनाथको पूजा नेपालमा नरेन्द्रदेव (आठौं शताब्दी) का पालादेखि भएको हो (डा. सुनीतिकुमार चटर्जी, १९७४:६७)। नाथ सम्प्रदाय ब्रह्मपुत्र ब्याँसीमा पनि पाइन्छ।

डा. प्रफुल्लकुमार नाथले असममा प्रचलित गोरखनाथ र मछिन्द्रनाथसँग सम्बन्धित गाथाहरूको अध्ययन गर्दै के लेखेका छन् भने त्यहाँको नाथ समुदायमा गोरखा विजय भन्ने गाथा पनि गाउने चलन रहेछ। गोरखनाथका गुरु मछिन्द्रनाथले असममा एउटा स्त्री राज्यको शासन गरेको कुरो एउटा गाथामा पाइएको कुरो उनले उल्लेख गरेका छन्।

माथि उल्लेख गरिएका असम र नेपालका सांस्कृतिक समानताबाहेक नगाउँ र पानबारी, पानबारा भन्ने ठाउँ नेपाल र असम दुवै ठाउँमा पाइन्छन् (सुचित्रा सिन्हा)।

चीनको युन्नानबाट नेपालसम्म बाँसको संस्कृति असममार्फत नै पुगेको हो अनि नेपालमा पवित्र मानिने मुगा, अन्डी र रेडीको कपडा असममै उत्पादन हुन्छ र नेपालमा त्यो कपडा असमकै संस्कृतिको प्रभाव हो। उल्लिखित विवरणका आधारमा नेपाल र असमको सांस्कृतिक साइनो ऐतिहासिकमात्र होइन, प्रागितिहासिक देखिन्छ।

Yamaha

प्रतिकृया दिनुहोस

dishhomeapp