MENU

साइक्लिङका धरोहर

635x90

गोविन्द रेग्मी शनिवार, माघ २९, २०७३ 5653 पटक पढिएको

Share This

यातायातको दृष्टिले विकट छ, मनाङ। भर्खरमात्र कच्ची सडकको ट्र्याक खोलिएको छ। ५० वर्षअघिको उपल्लो मनाङ कस्तो थियो ? त्यति बेला खानैका लागि ठूलो संघर्ष गर्नुपथ्र्यो मनाङमा। स्कुल जाने, पढ्ने भन्ने त एकादेशको कथा। 'नेपाल साइक्लिङ संघ'का अध्यक्ष छिमि उर्गेन गुरुङले सुरुमै आफ्नो जन्मस्थान उपल्लो मनाङीले विगतको दुःख पोखिहाले।

'हामी निकै दुःखमा हुर्कियौं। मैले स्कुलमा औपचारिक पढाइको स्वाद चाख्न पाइनँ। तर, साथीभाइको संगतले मलाई आधारभूत शिक्षा दिलायो। बाल्यकालमा भारी बोकेर हिँड्थेँ। खेतबारीको काम पनि उत्तिकै गर्नुपथ्र्यो। खेतबारीको अन्नले वर्षभर खान पुग्दैन थियो। हिमपातका कारण कुनै वर्ष त अन्नबाली नै सखाप हुन्थ्यो। रासनका लागि मनाङदेखि तनहुँको डुम्रेसम्म भारी बोकेको याद अझै ताजा छ।

म सानै थिएँ। आमा र दिदीले भारी बोक्नुहुन्थ्यो। म बाटोमा खाना बनाउनका लागि प्रयोग हुने भाँडाकुँडा बोक्थेँ। बाटोमा ओडारमा बास बस्नुपथ्र्यो। बटुवा धेरै हुने भएकाले ओडारमा बस्नका लागि ठाउँ रोक्न होडबाजी नै चल्थ्यो। भारी बोक्न प्रयोग हुने नाम्लोको डोलीले ओडारभित्र छेकेर राती बास बस्नका लागि ठाउँ कब्जा गर्नुपर्ने बाध्यता थियो। मेरै धेरैपटक नाम्लोले छेरेर ओडारमा बासको बन्दोबस्त मिलाएको छु', छिमिले भने।

गरिब भए पनि छिमिका बाबा साङ्दो गुरुङ मनाङको घ्यारु गाविसका मुखिया थिए। एकपटक राजा महेन्द्र मनाङको भ्रमणमा गएका थिए। त्यति बेला मनाङीलाई धेरै दुःख थियो। छिमिका बुवाहरूले राजासँग बिन्ती गरे। वर्षभर खेत बारीमा एक बाली उत्पादन हुन्छ।

त्यो पनि हिउँ परेको वर्ष बाली सखाप भएर भोकै बाँच्नुपर्छ। सरकार यहाँको जडीबुटी स्वदेश र विदेशमा लगेर बेच्न पाए हाम्रो गर्जो टथ्र्योकी ? मनाङीको कुरालाई राजा महेन्द्रले राम्रोसँग सुने। 'मनाङीको मागमा लालमोहोर छाप लगाएर राजाले मनाङवासीलाई विदेशमा व्यापार गर्न छुट दिएपछि त्यहाँको जडीबुटीले स्वदेशी र विदेशी बजारमा स्थान पायो। मनाङीका सुखको ढोका पनि खुल्यो', ५३ वर्षीय छिमि भन्छन्।

त्यति बेला मनाङीहरू हिँडेरै जनकपुरसम्म जडीबुटी बेच्न जान्थे। विस्तारै भारत हुँदै पानीजहाजको बाटोबाट सिंगापुर, मलेसिया, लाओस, भियतनाम, कम्बोडिया, हङकङ, बर्मालगायत देशमा नेपालको जडीबुटी व्यापार गर्न पुगे। भियतनाम युद्धका बेला मनाङीको जडीबुटी त्यहाँको क्याम्पमा रहेका आर्मीले धेरै किने।

मनाङबाट जडीबुटी लिएर विदेश गएको व्यक्ति एकदेखि डेढ वर्षपछि मात्र घर फर्किन्थे। कसैले वर्षमा १० हजार रुपैयाँसम्म कमाएर गाउँ आएका हुन्थे। त्यति बेलाको १० हजार अहिले एक अर्ब रुपैयाँ बराबर हो। कसैले १० हजार बोकेर गाउँ आएको छ भन्ने सुनेपछि गाउँमा खुसियाली छाउँथ्यो। त्यसपछि खादा र छ्याङ बोकेर उसलाई सम्मान गर्न जानेको लर्को लाग्थ्यो।

छिमि पहिले १० वर्षका उमेरमा बाबुसँग काठमाडौं झरेका थिए। मनाङको सिरेठोमा बसेका उनलाई काठमाडौंले धेरै लोभ्यायो। पहिलोपटक केही दिन घुमेर मनाङ नै फर्किए। १५÷१६ वर्षको उमेरमा उनी फेरि काठमाडौं आए। ठमेलको ज्याठामा बसेका छिमिले व्यापार सुरु गरे। त्यति बेला ज्याठामा उनको छिमेकी रजनी जोशी राम्रो ब्याडमिन्टन खेलाडी थिइन्।

रजनीको प्रेरणाले छिमि पनि ब्याडमिन्टन खेलमा लागे। वीरेन्द्र सिल्ड प्रतियोगितामा भाग लिए। विस्तारै राष्ट्रिय ब्यान्डमिन्टन प्रतियोगितामा भाग लिए। कल्पना राणासँग मिलेर मिक्स डबल्समा रजत पदकसम्म जिते। २०३५ सालको कुरा, काठमाडौंमा म्याराथन प्रतियोगिता भएको थियो। त्यति बेला बैकुण्ठ मानन्धर र अर्जुन केसी एथलेटिक्सका चर्चित खेलाडी थिए। उनीहरूको खेल देखेर छिमीलाई पनि ईष्र्या लागेछ।

'दौडनका लागि मेरो कुनै तयारी त थिएन तर पनि बैकुण्ठ दाइलाई 'म पनि दौडन्छु' भनेँ। उहाँले 'हुन्छ' भन्नुभयो। पहिलोपटक म्याराथन दौड तीन घन्टामा पूरा गरेँ। त्यसपछि सबैले स्याबासी दिए। विस्तारै ट्र्याक एन्ड फिल्डको राम्रो खेलाडी भएँ। आठ सय मिटरमा राष्ट्रिय च्याम्पियन बनेँ। सन् १९८७ मा भएको एसिएन ट्र्याक एन्ड फिल्डमा भाग लिएँ', छिमिले भने।

छिमिलाई त्यति बेला दौडिएर पनि पुगेन। मनाङ मर्स्याङ्दी क्लबबाट फुटबल खेलाडी बन्ने जोश पलायो। 'रंगशालामा अरूले फुटबल खेलेको देख्दा मलाई पनि हुटहुटी हुन्थ्यो। मन थाम्नै सकिनँ। त्यसपछि मनाङ मर्स्याङ्दीको गोलरक्षकबाट खेल्न थाले। पछि मनाङ क्लबको अध्यक्ष भएँ', उनले थपे। खेलसँगै उनले हङकङ, सिंगापुरलगायत देशमा व्यापार पनि गर्दै आएका थिए। व्यापारकै सिलसिलामा सन् १९८६ मा हङकङ जाँदा त्यहाँ भर्खर माउन्टेन बाइक निस्किएको थियो। माउन्टेन बाइकले उनलाई मोहनी लगायो।

छिमिले हङकङमा ४८ हजार रुपैयाँमा माउन्टेन बाइक किनेर नेपाल ल्याए। त्यति बेला काठमाडौंभर हल्ला चल्यो। फलानोको छोरो बौलायो ४८ हजार हालेर साइकल ल्याएको छ रे भनेर। धेरै मानिस घरमै हेर्न आए। त्यही वर्ष उनले सुजुकी मोटरसाइकल ६४ हजार रुपैयाँमा किने।

'त्यति बेला स्वयम्भू आसपासमा ७० हजार रुपैयाँमा एक रोपनी जग्गा आउँथ्यो। ठमेलमा साइकल गुडाउन थालेपछि पर्यटकले भाडामा दिने हो भनेर सोध्ने। लाटो भए पनि मलाई माउन्टेन बाइकको महत्व थाहा भयो। विस्तारै पर्यटकलाई माउन्टेन बाइक भाडामा पनि लगाउन थालेँ। राम्रो गाडीमा ६ गेयरसम्म हुन्छ। माउन्टेन बाइकमा ३० गेयरसम्म हुन्छ। उकालोमा पनि लैजान सकिने। नेपालको कच्ची बाटोमा माउन्टेन बाइक गुडाउन मिल्ने।

नेपालमा अहिले पनि ७० प्रतिशत सडक 'अफ रोड' छ। यहाँ माउन्टेन बाइक कुदाउन धेरै राम्रो हुन्छ। विश्वमा माउन्टेन बाइक पर्यटनको आफ्नै महत्व छ', छिमि भन्छन्।माउन्टेन बाइकका लागि ट्राभल एजेन्सीसमेत सञ्चालनमा ल्याएका छिमिले वर्षमा नेपाल, भारत र भुटानसम्म छोटो र लामो दूरीको साइक्लिङ पर्यटकलाई सेवा प्रदान गर्दै आएका छन्।

उनको एजेन्सीबाट वर्षमा औसत एक हजारभन्दा बढी साइक्लिङ पर्यटकले सेवा लिने गरेका छन्। साइकल पर्यटन व्यवसाय नै सुरु गरेका छिमि विस्तारै खेलमा पनि लागे। साइक्लिङको राम्रो खेलाडी भए। त्योभन्दा बढी खेल व्यवस्थापनमा लाग्न थाले।

सन् १९९५ मा उनी पहिलोपटक नेपाल साइक्लिङ संघका अध्यक्ष भए। साइक्लिङ संघ धेरै वर्ष तदर्थ समितिमै चल्यो। छिमिले आफैं प्रशिक्षकको पनि भूमिका निर्वाह गरे। साइक्लिङ खेलाडी उत्पादन र प्रशिक्षणमा धेरै मिहिनेत छ उनको। नेपालका ९० प्रतिशतभन्दा बढी साइक्लिङ खेलाडी उनकै विद्यार्थी हुन्।

नेपाल साइक्लिङ संघमा निरन्तर अध्यक्षको भूमिकामा रहँदै आएका छिमिले सन् २००८ मा काठमाडौंको चोभारमा १४औं एसिएन साइक्लिङ च्याम्पियनसिप आयोजना गरी सफलतापूर्वक सम्पन्न गरे। केही समय नेपाल ओलम्पिक कमिटीको कोषाध्यक्ष रहेका एक व्यक्ति अनेक खेलका छिमिलाई साइकलमा अझै केही गरेर छाड्ने इच्छा छ।

'युरोपमा साइकल चढ्ने संस्कृति दिनप्रतिदिन बढ्दो छ। व्यक्तिको स्वास्थ्य, वातावरण र पर्यटनको दृष्टिले पनि साइक्लिङ धेरै राम्रो छ। नेपालमा पनि साइकल संस्कृति विकास गर्न सकिन्छ। माउन्टेन बाइकको माध्यमबाट ग्रामीण पर्यटनको विकास गर्न सकिन्छ। विभिन्न क्षेत्रका सेलिब्रेटीलाई उपस्थित गराएर महिनाको एकपटकमात्र साइकल चढ्नका लागि जनचेतना जगाउन सके धेरै परिवर्तन हुन्छ', छिमि भन्छन्।

ओलम्पिक खेलकुदमा समावेश साइक्लिङलाई सरकारले विशेष ध्यान दिएर अगाडि बढाउन आवश्यक छ। नेपालमा मुख्य समस्या भनेको साइकलका लागि लेन हो। सडक विस्तारका क्रममा छुट्टै साइकल लेन बनाइदिए हुन्थ्यो।

नेपालमा त फुटपाथ नै हटाउने काम हुन थाल्यो। साइकल लेनको कुरा त धेरै पर। एक व्यक्ति र संस्थाले चाहेरमात्र कुनै पनि चिज माथि जाँदो रहेनछ, छिमि चिन्तित देखिए। स्कुलको कुनै पनि औपचारिक पढाइ नभएका छिमिलाई अंग्रेजीलगायत विभिन्न भाषाको पढाइ र लेखाइमा राम्रो ज्ञान छ।

National College 220X220Pix Ad for Annapurna

प्रतिकृया दिनुहोस

Annapurna Post1140X100