MENU

स्मृतिदंशमा चितवन

635x90

रेशम विरही शनिवार, माघ २९, २०७३ 8424 पटक पढिएको

Share This

नारायणी नदी उस्तै रहेछ।पुलमा उभिएर हेरेँ। अहिले 'नगरवन' नामकरण गरिएको नारायणी नदी बीचको मझुवा जंगल पनि उस्तै रहेछ। उत्तर-दक्षिणतिर फर्किएँ। दियालो बंगला छोपेको जंगल र त्यसको पारिपट्टिको पहाड पनि उस्तै रहेछ। जस्तो मैले छोडेर नेपालगन्ज गएको थिएँ, सबै उस्तै रहेछ। गर्मीयामको तातो र ठन्डीयामको तुषारो पनि उस्तै। घाम उस्तै, जून उस्तै।

नारायणीको पुल तरेर पुल्चोक हुँदै अगाडि बढेँ र खोज्न थालेँ टिनको टहरामुनिको मंगलमानको भात होटल। तर, कतै फेला पारिनँ। टिनका छाप्राहरू एउटै छैनन्। भव्य महल र ठूलाठूला पसल देखेर म त्यसै अलमलिएँ। एकपटक त मनमा लाग्यो, म नारायणगढ होइन कुनै अर्कै सहरमा त पुगिनँ ?

गणेश चलचित्र घर पनि देखिनँ। त्यसको छेउमै रहेको ठूलो तलाउ पनि देखिनँ। भरतपुरबाट झर्ने ठाडै ओरालोको दायाँतिर एक्लै टिंग्रिङ्ङ बसेको डा. केशरजंग रायमाझीको घर थियो। त्यो पनि कता पुगेछ, थाहै पाइनँ। कुनै पसलको साइनबोर्डमा आँखा पर्‍यो, 'लायन्स चोक, नारायणगढ।' म झसंग भएँ।

उहिले त यहाँबाट 'लायन'हरू हिँड्दै भरतपुरको सालघारीतिर पस्थे। अहिले त सहर भएर चोकको नाम नै लायन्स चोक भएछ कि ? त्यहाँबाट भरतपुर जाने ग्राविल उकालो हेरेँ। त्यो पनि सम्मै भएछ- फराकिलो र कालोपत्रे पनि। त्यो सडक हेर्दै जाँदा तस्बिरमा देखेको सिंगापुरजस्तै लाग्यो।

मलाई अझै अगाडि बढ्न मन लाग्यो। अघि बढ्दै गएँ। नारायणीको किनारमा रहेको श्यामकृष्ण साहूको घरमा भाडामा चलेको वीरेन्द्र इन्टरमिडियट कलेज, यता आइपुगेछ। वीरेन्द्र बहुमुखी डिग्री क्याम्पसमा फेरिएछ। त्यहाँबाट पूर्वतिर लागो।

सेते थिङको सुकुटी पसल खोजेँ, प्रकाश चापागाईंको 'गुड फ्राइडे रेस्टुरेन्ट' खोजेँ। दुवै बेपत्ता। त्यहाँबाट अगाडि घना जंगल अतिक्रमण गरेर काटिएका सालका रूखका ठुटाहरू खोजेँ। अहँ कुनै नाम निसानै छैन। काठमाडौंको बालुवाटार, सानेपा वा अन्य अत्याधुनिक घरहरू भएको टोलजस्तै लाग्यो। ऐलानीनामले चिनिने भरतपुर महानगरपालिकाको वडा नं. १० को कायापलट देखेर मेरो मनमात्र होइन, म स्वयं पनि गल्लीहरूमा हराएँ।

म लखतरान भएर हिँडिरहेँ। एउटा रातो कार आएर घ्याच्चै मेरो आडमा रोकियो। म झसंग भएर उभिएँ। मेरो पुरानो गाउँको एउटा भाइले कारबाट मुन्टो निकालेर भन्यो, 'कता हो दाइ यो घाममा लखरलखर ? 'झलक्क याद आयो, 'ऊ एकताका मेरो साइकल मागेर नारायणगढमा किनमेल गर्न जान्थ्यो।'

म ऊसँग सामान्य औपचारिकता पूरा गरेर अगाडि बढेँ। बडेमानको सालघारीको जंगल काटेर आवाद भएको सहरको अनुवादित अनुहार हेर्दैहेर्दै भारतीय नागरिकले चलाएको मेडिकल कलेजको शिक्षण अस्पतालको टुप्पासम्म आँखा पुर्‍याएर चौबीस कोठीतिर सोझिएँ। अखबारमा पढेको थिएँ, 'भरतपुर मेडिकल सिटीका रूपमा विकसित हुँदै।'

साँच्चै नै एउटा टुहुरो सरकारी अस्पतालको अनुहार पुलुक्क हेरेर म अस्पताल रोडतिर पसेँ। साँच्चै नै अस्पतालहरूको लहरको सहर छिचोल्दै एउटा आफन्त एडमिट भएको अस्पतालभित्र पसेँ। बाबुको स्वास्थ्योपचारका लागि पैसा नपुगेर न्याउरो अनुहार बनाएर बसिरहेको बिरामीको छोरालाई शब्दका फोस्रा सहानुभूति दिएर बाहिर निस्किएँ। र, मैले राजधानीका हजारौं बुच्चडखानाहरू सम्झिएँ।

म एउटा टुकटुके ट्याम्पु चढेर रामपुर पुगेँ। राप्तीदुन विकास परियोजनाले कृषि फार्मका रूपमा छुट्याएको एक हजार बिघा जमिनमध्ये अधिकांश हिस्सा कृषि र वन विज्ञान क्याम्पस (हाल विश्वविद्यालय) चलिरहेको फाँट हेर्दै जाँदा त्यहाँ पनि साठी वर्ष अगाडिको चितवनको कुनै निशाना फेला परेन।

गाउँगाउँमा पनि आलिसान महल, सफा र फराकिला सडकहरू, कार र मोटरसाइकलको उत्तिकै चाप। हिरो, एवान र एटलस साइकलहरू तरकारी बेच्ने तराई मूलका नागरिकबाहेक अरूले चलाएको देख्न दुर्लभ भयो।

एकताका अधिकांश महिलाले साइकल चलाउने जिल्लाका रूपमा चर्चित यो जिल्लामा अहिले अधिकांश महिलाको सवारीसाधन स्कुटर भएछ। गाउँका घरहरूमा पनि दैला अगाडि एउटा सानो कार, सानो फूलबारी र चिटिक्क परेका घर देखेर मेरो मनको स्टेरिङ २०१५ सालतिर फर्कियो र चितवनको साठी वर्षअगाडिको दृश्य नाच्यो।

त्यो भयानक डरलाग्दो ढड्डीघारी हेर्दाहेर्दै आँखाबाट हरायो। नारायणगढको गेग्य्रान र सिम्ठीघारी पनि कता हरायो थाहा छैन। समय पनि नारायणी नदीझैं सुलुलु बग्दै गयो। विस्तारै आटप्य जंगलबाट वन्यजन्तु बसाइँ सरेर बरन्डाभार जंगलतिर गए। पहाडतिरका मानिसहरूले बसाइँ सरेर चितवनको चारकोसे झाडी फाँडे।

सपनाजस्तै लाग्यो मलाई पन्ध्र वर्षअगाडिको अनुहार र सहरको दृश्य। मैले घर पुगेर सम्झिएँ, २०१५ सालको चितवन। १५ वर्षको अन्तरालको विकासको चरमचुली र ६० वर्ष अगाडिको चितवनको परिदृश्य सम्झन थालेँ। त्यस बेला मेरो बालमस्तिस्कभित्र खोपिएर बसेको अनेक दृश्य, परिदृश्य र आवादीका क्षणहरू झल्झली आँखाअगाडि आयो। त्यो बन्जर भूमि खनजोत गर्ने मेरा बाउ पुस्ताको पौरखको कथा सम्झिएँ।

पृथ्वीनारायण शाहका नाति शत्रुमञ्जन शाहले चितवनको पूर्वोत्तर उपरदाङगढीमा किल्ला जमाएर बसेका थिए। गोर्खा र काष्ठमण्डपतिर अंग्रेजहरूको प्रवेश रोक्न खडा गरिएको यो किल्ला चितवन विकासको ऐतिहासिक जग हुनपर्छ- मलाई यस्तै लाग्यो।

मनको स्थिति कहिलेकाहीँ कताकता पोखिन्छ थाहा हुँदैन। कहिले आफ्नै यात्राका भञ्ज्याङतिर दौडन्छ, कहिले आफैंले भोगेको समयको स्मृति विम्बमा ठोकिन्छ।

अहिले नेपालको राजनीतिमा मडारिएको पृथ्वीनारायण शाहमाथि सत्तोसराप गर्ने र पहिचान स्थापित गर्न खोज्ने आतसबाजी हेर्दा हेर्दै झन्डै साठी वर्ष अगाडिको चितवनको दृश्य मेरोअगाडि नाच्यो। मैले देखेको चितवन र मैले भोगिरहेको चितवन दुवैलाई एउटै शब्दचित्रमा उतार्दा दन्त्यकथा वा कसैको स्वैरकल्पना हो कि जस्तो पनि लाग्नसक्छ।

ढ्यांग्य्राङ... ढ्यांग्य्राङ... ढ्यांग्य्राङ... ढ्यांग्य्राङ...
अहिले पनि मेरो कानमा ढिकीमा चिउरा कुटेको यस्तो आवाजको रन्को आउँछ। २०४६ साल अगाडिको संगमचोक र त्यसपछि सहिदचोकले प्रख्यात चितवन नारायणगढको मुटु। यो चोकबाट दक्षिणतर्फको संगमरोड पुरानो नाम लंकुरोड चिउराका लागि प्रख्यात थियो।

ससाना खरका छाप्राहरू। सडकका दायाँबायाँ लहरै चिउरा कुट्ने ढिकी। बाटोमा हिँड्दा सुनिने ढ्यांग्य्राङ... ढ्यांग्य्राङ... चिउरा कुटिरहेको आवाज सम्झँदा अनौठो लाग्छ।

मैले भर्खर दुई हप्ता अघिमात्र नारायणगढ सहिदचोकमा उभिएर दक्षिणतिर हेरेँ र २०१५ सालको नारायणगढ सम्झिएँ। चिउरा कुटेको ढिकीको आवाज कानमा गुञ्जियो र लस्करै लागेका दोहोरो खरका छाप्राहरूको धमिलो दृश्य आँखामा नाच्यो।

म त्यति बेला यज्ञपुरी उति बेलाको नाम कच्कचेमा बस्थेँ। यतिमात्र भनेर थाहा पाउने को पो होलान् र अब ? मुक्तिलाल चुके होलान्, केशवराज सापकोटा होलान्। जगतबहादुर श्रेष्ठ, महेश्वरलाल आदि औंलामा गन्न सकिने नारायणगढवासी होलान्। यस्तै यो चिउरा कुटेको आवाज सुन्दै १० पैसामा एक घान चिउरा आफ्नो घलेक र दौराको फेरमा थापेर गाउँतिर लाग्ने बूढाबूढीहरू होलान्। अब त कच्कचे भन्ने नाम पनि किंवदन्ती भइसक्यो।

अहिले बीपी कोइराला स्मृति क्यान्सर अस्पताल भएको 'यज्ञपुरी बागवानी फर्म'बाट पश्चिमको गहिरो फाँटको नाम कच्कचे थियो। त्यहाँ एकजना पुराना कांग्रेसी नेता होमनाथ खनालको घर थियो।

मेरो पिताले नारायणगढबाट १० किमि दक्षिण चम्पानगरमा पाँच बिघा जमिन लिएर हामीलाई उनको घरमा डेरा लिएर राखेका थिए। २०१५ सालको आमचुनावमा उनले रूखको चिह्न छापिएको कागजको झन्डा दिएर म र मजस्तै फुच्चेहरूलाई 'नेपाली कांग्रेस जिन्दावाद'को नारा लगाउँदै नांगै भुतुंगै हिँडाएको झझल्को अहिले पनि आउँछ।

नारायणगढबाट दक्षिणतर्फ अनकन्टार भयानक ठूलो ढड्डीघारी, बाघ, भालु, गैंडा, मृग, हरिण, चित्तल आदिको बासस्थान। त्यस्तो आटप्य जंगलमा बसाइएको थियो बस्ती। कसरी कोरियो वैज्ञानिक नक्सा ? कसरी गरियो आवाद गुलजार ? सम्झदा पनि अचम्म लाग्छ। तर, आफैंले देखेको आफैंले भोगेको कुरा आफूलाई त के अचम्म लाग्नु छ र ?

एकातिर नारायणी सुसाउँथ्यो, अर्कोतिर राप्ती उर्लन्थ्यो, बाघहरू गर्जन्थे, स्यालहरू चिच्याउँथे, गैंडा र अर्ना भैंसी डुक्रँदै दगुर्थे। यस्तै डरलाग्दो जंगलको बीचमा बसेको हाम्रो बस्ती अहिले सहरीकरणतर्फ दौडिरहेको छ। अहिलेको पुस्ताका लागि यी कुराहरू स्वैरकल्पनाजस्तै त लाग्लान् नि !

नेपालकै सबभन्दा उर्वर, आर्थिक र सामाजिक दृष्टिले पनि महत्वपूर्ण मानिएको मुलुकको केन्द्रबिन्दु चितवनको नारायणगढ बजार उति बेला बन्दीपुरको बजार थियो। तनहँ बन्दीपुरका नेवारहरूले नारायणी नदीको जोखिम मोलेर नदीको किनारमा व्यापारिक बस्ती बसाए।

२०११ सालको साउन भदौमा धादिङ, गोर्खा, लमजुङमा अत्यन्त ठूलो वर्षा भयो। बाढीपहिरोले हजारौं मानिस घरबारविहीन भए। एकप्रकारले ९० सालको वा २०७२ सालको महाभूकम्पको जस्तै राष्ट्रिय विपत्ति आयो। यही प्राकृतिक प्रकोपलाई ध्यानमा राखी तत्कालीन सरकारले राप्तीदुन विकास परियोजना लागू गर्‍यो।

दक्षिण महाभारत पर्वत शृंखला र सोमेश्वर पहाडमध्ये बीचको समतल भूभाग विशाल चारकोसे झाडीमा बस्ती बसाउनु तत्कालीन सरकारका लागि चुनौतीकै विषय थियो। र, त्यो डरलाग्दो जंगलमा बस्न पनि मानिसका लागि अत्यन्त जोखिम थियो। तर, नागरिकहरूले जोखिम उठाए। राज्यले साहस गर्‍यो।

घरबारविहीन विपन्न मानिसहरू जुनसुकै जात, भाषा, भाषीका भए पनि आपसमा काँधमा काँध मिलाएर आफ्नो ठाउँको आवाद गरे। एक प्रकारले राष्ट्रिय एकताको परिचय दिए। मिश्रित सामाजिक संरचनामा हुर्किएका चितवनवासीहरूको प्रेम, भ्रातृत्व र सहयोगी भावना आदिवासी थारूहरूसँग पनि उत्तिकै कायम भयो।

पहाडबाट झरेका पहाडीहरूलाई त्यस्तो आटप्य डरलाग्दो ढड्डीघारीमा बसोबासका लागि सहज गराउन स्थानीय थारूहरूको पनि महत्वपूर्ण सहयोगी भूमिका थियो। न पहिचानको मुद्दा थियो, न त आरक्षण र लैंगिक समानताका झगडा नै थियो। एक प्रकारले समतावादी रूपमा आमनागरिक जो चिवतनमा बसोबास गर्न ओर्लन्थे, उसले पाँच रुपैयाँको निवेदनमा पाँच बिघा जमिन पाउँथ्यो। राज्यले न्यूनतम शुल्कमा त्यही पनि किस्ताबन्दीमा तिर्ने गरी झाडी फाँड्नका लागि बुल्डोजर उपलब्ध गराइदिन्थ्यो। हिजोको त्यही वैज्ञानिक र लोककल्याणकारी कार्यक्रमको उपज हो आजको चितवन।


मैले आफ्नो घरको छाप्राबाट दर्जनौं मृग समातेर काटेको देखेको छु। मृगहरू कतैबाट दौडँदै आउँथे। गाउँलेहरू खेद्न थाल्थे। विचरा मृग बुल्डोजरले खनेका ठूलाठूला डल्लामा दौडन नसकी पछारिन्थे, गाउँलेहरू समातेर काट्थे र मासुको भाग लगाएर बाँड्थे। पहाडबाट झरेका पहाडीहरूलाई त्यस्तो आटप्य डरलाग्दो ढड्डीघारीमा बसोबासका लागि सहज गराउन स्थानीय थारूहरूको पनि महत्वपूर्ण सहयोगी भूमिका थियो। 

नारायणी नदीको काखमा 'घाटमा टक्र्याकटुक्रुक्क बसेका मलामी'जस्ता ससाना खरका झुपडीहरूको बजार आजको 'भरतपुर महानगरपालिका।' वर्षा सुरु भएपछि कुन बेला नारायणीले सोत्तर पारेर बगाउने हो भन्ने त्रासले भयभीत भएर निदाउँदै नसक्ने नारायणगढवासी अहिले आलिसान महलमा रुपियाँको रासमा निदाइरहेका होलान्।

पहाडतिरबाट चितवनतिर 'औंला तेस्र्याए पनि औलो सर्ने कालापानी' का रूपमा वर्णित चितवन भोलिको सिंगापुर हो भन्दा पनि अतिशयोक्ति नहोला। सत्ताको आँखाबाट दूरदृष्टि गयो भने अथवा हिजोको सत्ताले झैं इच्छाशक्ति देखायो भने यो असम्भव विषय पनि नहुन सक्छ।औलो, हैजा, विफरजस्ता महामारीबाट गुज्रँदै गुज्रँदै वर्तमान चरणमा आइपुगेको चितवनको उत्थानको जग खगेरी सिँचाइ आयोजना पनि हो।

२०१७ सामा राजा महेन्द्रले 'कु' गर्नुभन्दा ठीक दुई महिनाअगाडि जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाले योजना तर्जुमा गरी शिलान्यास गर्नुभएको टिकौली खगेरी नहरले पश्चिम चितवनको आर्थिक कायापलट गर्‍यो। नारायणगढबाट दक्षिणका हजारौं हजार बिघा जमिन सुन फल्ने खेतका रूपमा रूपान्तरित भए र ती गाउँमा फलेका सुनका दानाहरूको व्यापारले नारायणगढ बजार समृद्ध भयो।

अनौठो छ, चितवनको विगत र उज्यालो छ चितवनको आगत पनि तर सत्ताको लुछाचुँडी र भ्रष्टाचारको चरम प्रभावले चितवनको दौड अझै रोकिएको छ। कुँजिएको छ। त्यति बेलै खगेरी सिँचाइ योजना र भरतपुर टाउन प्लानिङ आरम्भ हुनु नै चितवनले कृषि र सहरीकरणको दिशामा फड्को मार्नुको मुख्य कडी थियो।

नामैले चारकोसे झाडी। यो झाडी फाँडिन थालेपछि जैविक विविधताका दृष्टिले प्रकृतिमाथि भने घोर अन्याय भयो। जंगली जनावरमाथि पनि भयानक अत्याचार भयो। जब सर्वत्र बुल्डोजरले ढड्डीघारी जोत्न थालियो, कमजोर जनावरको बिचल्ली भयो। गैंडा, बाघ, भालु, हात्ती, अर्नाहरू बरन्डाभार जंगलतिर दौडिए। मृग, हरिण, चित्तलहरू बुल्डोजरले जोतेका डल्लाहरूमा लट्पटिएर पछारिए र गाउँलेहरूको सिकार भए।

मेरो आँखामा अहिले पनि त्यो दृश्य नाचिरहेको छ। म ६÷७ वर्षको फुच्चे। मैले आफ्नो घरको छाप्राबाट दर्जनौं मृग समातेर काटेको देखेको छु। सम्झेको छु। मृगहरू कतैबाट दौडँदै आउँथे। गाउँलेहरू खेद्न थाल्थे। विचरा मृग बुल्डोजरले खनेका ठूलाठूला डल्लामा दौडन नसकी पछारिन्थे र गाउँलेहरूले समातेर काट्थे र मासुको भाग लगाएर बाँड्थे। एकदुई वर्ष यस्तो क्रम जारी रह्यो। त्यति बेला दौडिन नसकेर पल्टिएको मृगलाई सबभन्दा पहिला जसले समाउँथ्यो उसैले त्यसको छाला पाउँथ्यो।

सुरुसुरुमा मृग समातेर काटेपछि मृगको छालामा झगडा हुन थाल्यो र गाउँलेहरूले नियम बनाए। जसले सबभन्दा पहिला मृग समाउँछ, उसैले छाला पाउँछ। यसरी मेरो घरमा पनि दुईचारवटा मृगका छाला भित्रिए। पछि मृग मार्न प्रतिबन्ध लाग्यो तर पनि गाउँलेहरू कहिलेकाहीँ दिग्भ्रमित भएर गाउँ पसेका मृगलाई लुकिछिपी मार्थे।

मिलिजुली खान्थे। मृग मार्न प्रतिबन्ध लागेपछि कतिपयले मुद्दा पनि खेपे। तर त्यति बेला ठूलाबडा कहलिएकाहरूलाई धेरै वर्षसम्म यो प्रतिबन्धले छोएन। मृग चित्तलका मासु खाइरहे। हुन त अहिले पनि सत्ताका चालक र नजिकका पालकहरूलाई केमा प्रतिबन्ध छ होला र ?

त्यति बेला चितवनलाई सोह्र हजार चितवन भनिन्थ्यो। २००८ सालको जनगणनाले चितवनको जनसंख्या सोह्र हजार देखाएकाले सोह्र हजार चितवन भनिएको हो भन्ने भैले बूढापाकाहरूबाट सुनेको थिएँ। चारकोसे झाडी फाँडिनुअघि आदिवासीका रूपमा रहेका थारूको जनसंख्या हुनसक्छ।

आवादी हुनुअघि पनि पूर्वी चितवन र चितवनका पहाडी भागमा बस्ने अन्य जातिहरू पनि यो संख्याभित्र परेका हुन सक्छन्। अझ चितवनको भूबनोटका आधारमा खास चारकोसे झाडीलाई 'सोह्र हजार चितवन उत्तर बेलोद प्रगन्ना' भनिन्थ्यो। यो वास्तवमा प्रशासनिक संरचना र प्रादेशिक योजना मुताविक विकास योजना बनाइएको थियो। यसले के पुष्टि गर्छ भने त्यति बेला पनि संघीयताको ढाँचामा योजनाहरूको तर्जुमा हुने गर्थ्यो।

त्यो विकट चितवनलाई विकासको सन्निकट ल्याउन र गरिब जनतालाई यथोचित र सम्भाव्य राहत दिन तत्कालीन सत्ताले देखाएको तदारुकता वन्दनायोग्य नै मान्नुपर्छ। जंगली जनावरको भय, औलो, हैजा र विफरजस्ता रोगसँग जुधिरहेका जनतालाई गोरु खरिद गर्न तीन सय रुपैयाँ निर्ब्याजी ऋण, तीन मन निःशुल्क गहुँ र २५ पैसामा काठदाउरा उपलब्ध गराउनुका अतिरिक्त मलेरिया नियन्त्रणका लागि गाउँका छाप्राछाप्रामा डीडीटी पाउडर छरिएको थियो।

मलाई राम्रोसँग सम्झना छ, हरेक वर्ष वर्षायाम आउनुअघि डीडीटी पाउडरका पोका र स्प्रेयरको ट्यांकी बोकेका पहेँलो टोपीधारी मानिसहरू लस्कर लागेर गाउँ पस्थे। 'मेरा साना दुःखले आज्र्याको मुलुक होइन' भनेजस्तै भयानक विपत्तिसँग सामना गर्र्दै, ठूलो इच्छाशक्तिले मात्र अहिलेको चितवन महानगरपालिकाको चितवन भएको हो।

चितवनको सामाजिक सांस्कृतिक ऐक्यबद्धताको दृश्य पनि म सम्झिरहेको छु यति बेला। मूलतः थारूहरूको होली र जितियामा पहाडियाहरूको सम्मिलन प्रेमपूर्वक हुने गथ्र्यो। होली पर्वमा थारूहरूको लस्कर मयूरका प्वाँख जडेका डम्फु बजाउँदै पहाडियाहरूको घरघरमा रमाइलो गर्थे र पहाडीहरू पनि यथासक्य खुसीराजीले दक्षिणा दिन्थे।

यस्तै जितियामा पनि महिलाहरू कालो चोली र सेतो धोतीमा कल्ली र पाउजुले सजिएर घरघरमा आफ्नै भाषा गीत गाउँदै आउँथे। अहा ! कति मनमोहक र चित्ताकर्षक थियो थारू जातिको जितिया र होली ! आजकल यो हराउँदाहराउँदै सामान्य रूपमा थारूहरूको घरमा मात्र सीमित होला ! कसले छुट्यायो यो ऐक्यबद्धता र सद्भावको सीमारेखा ?

उदार, सहयोगी र अनेक सीप भएका थारूहरूको माछा मार्ने जाल, ढकेरी र काठमा गाडाहरू सायद अब लोप भइसके। थारू जातिको वैवाहिक कार्य पनि अचम्म, रमाइलो र लोभलाग्दो हुने गथ्र्यो। त्यति बेलाको थारू समाजमा एकप्रकारको समाजवाद थियो। सबै थारू परिवारको आर्थिक हैसियत लगभग समान थियो। जिमिनदारी र हरुवाचरुवा पनि थिए तर अरू जातिमा जस्तो हरुवाचरुवामाथि दासताको व्यवहार हुँदैनथ्यो।

सयौं जनसंख्याको परिवार हँदा पनि संयुक्त रूपमा बस्न रुचाउने थारूहरूको विवाहमा सयौं काठे गाडाको लस्कर देखिन्थ्यो। दुलाहादुलही र जन्तीहरू सबै काठे गाडामा चढेर जन्त जाने चलन थियो।मेरो लेखनको अभीष्ट जातिजाति वा सम्प्रदायको परम्परा र संस्कारको उत्खनन गर्नु होइन, तीव्र रूपमा सहरीकरणको दिशातर्फ गइरहेको चितवनको तत्कालीन अवस्थाको स्मृति विवरणमात्र हो।

२०१३ साल माघ ८ गते नेपाल सरकारद्वारा नेपाल गजेटमा राप्तीदुन जमिन बिक्रीवितरण नियम २०१३ प्रकाशित गरी आरम्भ भएको बस्ती विकास योजनाका प्रथम डाइरेक्टर कृष्णबम मल्ल थिए। अत्यन्त शालीन, मृदुभाषी र इमानदार प्रशासकका रूपमा विख्यात कृष्णबम मल्लको नाम मभन्दा एक दशक पुराना पुस्ताले अहिले पनि सम्मानपूर्वक लिने गर्छन्। त

त्कालीन हाकिम, बडाहाकिम, नेता, साहित्यकार, आदिलाई राजा महेन्द्रको ठाडो आदेशमा थुप्रै जग्गा बाँडियो। अहिले भरतपुर हाइटमा लीलाराज विष्ट, विश्वबन्धु थापा लगायतकाको अझै पनि आफ्नो मूल्यवान् मौजा बाँकी होला। धर्मराज थापा लगायतले पनि मौजा प्राप्त गरेका छन्। तर, स्वयं जग्गा वितरणका अधिपति कृष्णबम मल्ल आफूले पनि जग्गा लिएनन् र जग्गा लिन खोज्ने आफ्ना सहोदर भाइलाई पनि जग्गा दिएनन्।

यो चितवन बसोबास आरम्भकालका हरेक नागरिकको स्मृतिमा छ र सबैले उनलाई त्यागी व्यक्तिका रूपमा चित्रण गर्छन्।देवघाट सप्तगण्डकी हुँदै भारतीय सीमा त्रिवेणीघाटसम्म लमतन्न सुतेको चितवन अहिले विकासको गतिमा जसरी जुरुक्क उठेको छ, यसलाई मात्र हेर्दा हिजोका काहालीलाग्दा दिनहरू सम्झनामा आउँदैनन्। तर मेरो पुस्ताले थोरैमात्र भोगेको चितवन अहिलेको पुस्ताले कसरी बुझिरहेको होला ? मैले आफैंसँग सोधेँ।

चितवनको यस्तो कायापलटमा अर्को एउटा महत्वपूर्ण तन्तुका रूपमा नारायणगढ-मुग्लिन सडकखण्ड तेर्सियो। यसको उपस्थितिले त्रिभुवन राजपथको लामकीरोजस्तो त्रासदपूर्ण यातायातको पनि आयु समाप्त भयो। मुग्लिन सडकखण्ड तयार भएपछि नारायणगढ बजारको व्यापारिक महत्तामात्र बढेन कि चितवन जिल्ला नै नेपालभरिकै आकर्षण केन्द्र बन्यो।

दिन दुगुना रात चौगुनाले चितवनको मूल्यवृद्धि वर्तमान कालखण्डमा जति उकासिँदैछ। यो क्रम अझै लम्बिँदै जानुले चितवनमा पाँच रुपैयाँ जग्गा लिएर बसेका नागरिकलाई आर्थिक समृद्धिको दिशातिर बढाइरहेको स्पष्ट हुन्छ।

National College 220X220Pix Ad for Annapurna

प्रतिकृया दिनुहोस

Annapurna Post1140X100