MENU

उदयप्रकाशसँग फेवाताल छेउछाउ

केशवशरण लामिछाने शनिवार, माघ २९, २०७३ 2791 पटक पढिएको

Share This

ब्यक्ति

'बाल्यकालको सम्झना भयो', मैले डुंगा खियाउन थाल्नासाथ उनले भावको डुंगा चढ्न थाले स्मृतिको गंगामा सयर गरे सायद। बाल्यकाल सुनाउन थाले। पुल नभएकाले उनको गाउँको नदी सोनमा डुंगा चल्दोरहेछ। फेवातालको वर्तमान र सोनसँग उनको सम्झनाबीच केही समानता भेटिए।

बच्चामा उनी स्कुल वा बजार जान डुंगा चढ्दा रहेछन्। फेवातालमा पनि अझै तालपारिका बच्चाहरू डुंगा चढेर वारि बजारतिर आउँछन्, स्कुल आतेजाते गर्छन्।फेवातालको लहरहरूसँग लहरिँदै हामी संवादमा व्यस्त भयौं।

देश दुनियाँ घुमिहिँड्ने भनेर सुनिएका उनलाई पोखरा कस्तो लाग्यो भनेर सामान्य प्रश्न गरिरहनु पर्थेन तैपनि सोधियो। उनले भने, 'बहुत सुन्दर।' उनी पोखरा होइन नेपालमै पहिलोचोटि आएका रहेछन्। डुंगा सयरको बीचमा बोले, 'कल्पना पनि गर्न सकिन्न यति सुन्दर ठाउँ।'

घरि चलायमान त घरि स्थिर भइरहेको थियो डुंगा। अर्को डुंगाबाट उनको फोटो खिच्दै थिए, कृष्णमणि बराल। फोटोका लागि पोज दिँदादिँदै पनि कुराकानीचाहिँ चलिरह्यो। मान्छे कति सजिला रहेछन् भने फोटैका लागि क्याप टोपी खिच्न भन्दा पनि सकस नमान्ने। 'ल तपाईं नै डुंगा चलाउनोस्' भन्दा पनि खुरुक्क मान्ने। बरु क्याप झिक्दा तालु टल्कने हो कि भनेर हँसाए।

पोखराले मन हरेछ उदयप्रकाशको। सायद लेखनकै लागि आउने योजना बुने। आएर बस्दा लाग्ने खर्च र होटलबारे बुझे। अनि पोखराले लगाएको मोहनी शब्दमा पोखे, 'धेरै ठाउँ घुमेँ। यति नजिक हिमाल देखेको पहिलोचोटि हो। बरफ त देखेको छु। यति अग्ला हिमालको काखमा पहिलोचोटि आइपुगेँ। साह्रै सुन्दर लाग्यो।'

फेवातालमा डुंगा सयरपछि रेस्टुरेन्ट गइयो। खाजा त बहाना थियो। खासमा अझै गफिने मन थियो उनीसँग। उदयप्रकाशसँगै हुनु र गफिने मुड नहुनु, त्यो त अस्वाभाविक भइहाल्यो नि।
...
उदयप्रकाश केवल लेखकको नाम होइन। उनी आफैंमा सिंगो व्यक्तित्व हुन्। उनी समाजको यथार्थबाट कथा टिप्छन्, त्यसलाई शब्दले सिँगार्छन् र मुद्दा बनाएर पस्कन्छन्। त्यसैले त पाकिस्तानको पत्रिका 'आज'का सम्पादक अजमल कमाल भन्छन्, 'पाकिस्तानमा सबै थोक छ जुन हिन्दुस्तानमा छ, केवल उदय प्रकाशजस्ता लेखक छैनन्।'

विनोद मेहता सम्पादित 'आउटलुक' म्यागेजिनले सन् २००९ मा गरेको सर्वेक्षणले हिन्दीमा सबैभन्दा धेरै पढिने लेखक उदयप्रकाशलाई देखायो। त्यसको अर्को वर्ष लघुउपन्यास 'मोहनदास'का लागि उनलाई 'साहित्य एकेडेमी पुरस्कार' दिइयो।

सन् २०१५ मा एमएम कुलबर्गीको हत्याविरुद्ध उनले नगद राशि एक लाख भारुसहितको त्यो पुरस्कार फिर्ता गरे। त्यो लघुउपन्यास यज्ञशको अनुवादमा नेपालीमा पनि उपलब्ध छ। उनै यज्ञशले अनुवाद गरेका पाँच कथाको संग्रह 'नेलकटर'को विमोचन पनि गर्ने गरी उदयप्रकाश मध्य माघमा पोखरा आइपुगेका थिए 'नेपाल लिटरेचर फेस्टिभल'को छेको पारेर। फेस्टिभलमा उनी दुई दिन गफिए।

उदयप्रकाशसँग सजिलै भेट्न पाइएला भन्ने कहीँ कतै लागेको थिएन। अनुदित आफ्नो कृतिको सन्दर्भमा माघ १५ गते अनुवादक यज्ञश र तिनै उदयसँग कुराकानी गर्दै थिएँ। १६ गते अपराह्न ३ बजे उनी साहित्य र प्रतिरोध विषयमा बोल्नु थियो।

तिनै कार्यक्रमका बेला उनलाई सुन्नु र मौका मिले सहभागीका रूपमा प्रश्न गर्नुमा सीमित हुन सकिने अड्कल अड्कलमात्र रहिरह्यो। कृति विमोचनपछि उनी सजिलै उपलब्ध भए अटोग्राफ दिन, थोरै कुराकानी गर्न पनि। एकै झलकमा लाग्यो उनी त 'डाउन टु अर्थ' रहेछन्। लोभ पलाइहाल्यो, भेटेरै गफ गर्ने।

भोलिपल्ट बिहान उनी बसेको 'होटल अतिथि'मा फोन गरियो। उनले वार्ता गर्न टाइम दिए। फोटो पत्रकार कृष्णमणि बरालको घर लेकसाइडै भएकाले उनलाई जाँदै गर्न भनेँ। भनेको थिएँ, 'आज माछापुच्छ्रे खुलेको छ, त्यसको ब्याकग्राउन्ड पारेर उदयको फोटो खिच्नोस् है, माने भने फेवातालमा डुंगा चढाएरै खिचौं।' 

उदयप्रकाश केवल लेखकको नाम होइन। उनी आफैंमा सिंगो व्यक्तित्व हुन्। उनी समाजको यथार्थबाट कथा टिप्छन्, त्यसलाई शब्दले सिँगार्छन् र मुद्दा बनाएर पस्कन्छन्।

बरालजीलाई उदय को हुन्, कस्ता लेखक हुन् भन्ने थाहा थिएनमात्रै होइन, उनको नामै पहिलोचोटि सुनेका थिए। तर पनि दौडेर पुगेछन्, जसरी कि कतै गिद्ध देखियो भनेर कसैले भन्यो भने पुग्छन् (उनको चाख साहित्यमा नभएको होइन, वातावरणमा र खासगरी गिद्ध संरक्षणमा बढी छ।) म पुग्दा त उदयलाई लिएर बसुन्धरा पार्क पुगीकन ताल र हिमालको ब्याकग्राउन्डमा फोटो खिच्न भ्याइसकेका। अर्का पत्रकार युवराज श्रेष्ठ पनि उदयलाई भेट्न उत्सुक बनेर कृष्णजीको साथै गएका थिए।

लेखक गनेस पौडेल र म बाराही मन्दिर जाने घाटमा कुरिरहेका थियौं। कृष्ण र युवराजलाई पालैपालो फोन गर्दा मरिगए उठाएनन्। बल्ततल्ल उठाएर आउँछु भने तर आउँदै आउँदैनन्। 'उहाँ त मोबाइलमा फोटो खिच्दै हिँड्नुभएको छ, केही बेर लाग्छ', उताबाट बरालजी बोले। त्यो केही बेरमा पाली टोपी (क्याप) ढल्काउँदै दोसल्ला ओढेर लुरुलुरु आइपुगे लेखक उदय प्रकाश।

अभिवादनको औपचारिकता सकेर 'बिहान फोन गरेर समय माग्ने मै हुँ' त भन्नै पर्‍यो। भनेँ। 'डुंगा चढेर मन्दिरसम्म पुगौं, फोटो पनि खिचौं' भनेको तयार भइहाले। उनलाई सिंगल डुंगामा राखेर फोटो खिच्ने मन थियो। उनकी श्रीमतीजी खुरुक्क अर्को डुंगामा बस्न तयार भइहालिन्। उदयजस्तै नरम स्वभावकी रहिछन्। लागेको थियो, माक्र्सवादका पुजारी लेखकलाई मन्दिर के मतबब होला ? मन्दिर पुगेपछि कन्सस देखिए। मन्दिरको इतिहास र कथा सोधे। जानेजति बताइयो।

मन्दिरनजिकै पुग्न लाग्दा जुत्ता लगाइरहेकाले धक माने।। पिठ्यूँ फर्काएर मन्दिरअघि फोटो खिच्न मिल्ने हो कि होइन भनेर पनि धकाए। मन्दिर घुम्यौं। उनीहरूका बूढाबूढीलाई सँगै राखेर फोटो खिच्न आग्रह गरियो। एकापसलाई हेर्नाेस् न भनियो। 'देख्नै नपरे हुन्थ्यो', उनी जिस्किए। श्रीमतीले थपिन्, '४० वर्षदेखि उही मान्छेलाई कति हेर्नु ? '

मन्दिर पुगेर फर्किंदा डुंगाचालक आफैंलाई बन्न मन लाग्यो। मेरो हातमा डुंगा चलाउने बहाना त थियो तर त्योभन्दा ठूलो उदय प्रकाशको जीउज्यान थियो। डुंगा र कुराकानी सँगसँगै अघि बढ्न थाल्यो।
...
ब्रेकफास्ट खाँदै उनले पहिला नेपाल आउन नपाएको दुखेसो पोखिरहे, 'पहिलोचोटि नेपाल आएको हुँ। एउटा विडम्बना थियो, धेरै देशमा गएँ। दुनियाँ काफी देखेँ। तर बगलमै भएर पनि नेपाल आउन पाइनँ। पाकिस्तान जान पाइनँ। श्रीलंका जान पाइनँ। बंगलादेश जान पाइनँ। जब कि मैले सार्क राइटर अवार्ड पनि पाइसकेको छु।'

कारण सीधा रहेछ सरकारको तर्फबाट पठाइने टोलीमा कहिल्यै पनि छिमेकी देशतिर जाने टोलीमा नपारिएको रहेछ। आफ्ना थुप्रै कृति पाकिस्तानमा पनि अनुवाद भइसकेको उनले बताए। मलयालम, तेलगु, कन्नडमा पनि अनुदित रहेछन्। भाषा र साहित्यको साइनोबारे उनी स्पष्ट छन्, 'साहित्य भाषामा सीमित हुँदैन। साहित्यमा जुन विचार हुन्छ, भावना हुन्छ, त्यसबाट निकटता मिल्छ। लेखकलाई कुन जातिको हो, कुन क्षेत्रको हो भनेर हेर्नु हुन्न।'
०००
घुमफिर, पढाइ, संस्कृति र भाषा अनि राजनीतिबारे पिउरीजस्ता उनी धाराप्रवाह बोलिरहे। उनको प्रवाहअगाडि हाम्रा सारा प्रश्न ओझेल पर्‍यो। लाग्यो, उनलाई सुनिरहँदा प्रश्न गर्नु भनेको हाँगामा बसेर गाइरहेको कोइलीलाई गुलेली ताकेर भड्काएजस्तै पाप हो।

खाजा खाँदाखाँदै उनले रोचक कथा हाले, 'एकजना थियो, जसलाई ४० वर्षमा अचानक जिज्ञासा जाग्यो- म को हुँ ? उसको परिवार थियो। बच्चा थिए। तर ४० वर्षपछि उसलाई लाग्यो, यो मेरो परिवार होइन, मेरी पत्नी होइनन्, बच्चा मेरा होइनन्। ऊ घरबाट निस्कियो। म को हुँ खोज्छु भनेर घरबाट हिँड्यो। पूरै दुनियाँ घुम्यो। पछि ऊ तिब्बत पुग्यो। पहिलोचोटि बर्फिला पहाडहरू, एक्लोपना देखेपछि उसलाई लाग्यो- यो ठाउँ त म सपनामा देखिरहन्थेँ।

उसले देख्यो, एउटा झुन्ड ऊ भएकैतिर आइरहेको छ। झुन्ड जसैजसै नजिक आइरहेको थियो, त्यहीँबाट एक महिला दौडँदै ऊ भएतिर आइरहेकी थिई। भन्दै थिई, ली ली ली.. माई ली। उसका पछिपछि बच्चाहरू पनि थिए। अन्ततः उसले आफ्नो परिवार भेट्यो। ऊ ली झु थियो। उसले अमेरिकामा ४० वर्ष बिताएको थियो। यो कथा निकै महत्वपूर्ण छ। तपाईं जहाँको हुँ भन्नुहुन्छ सिर्फ त्यहाँको नहुन सक्नुहुन्छ। तपाईं अन्तको पनि हुन सक्नुहुन्छ। यही द्वैध नै उपनिषद्हरूको सार हो।'

बिहानैदेखि उदयसँगै रहेका चितवनका उदय अधिकारीले प्वाक्क भने, 'यहाँचाहिँ राम्रो भयो, उदय प्रकाशजी भन्दै कुनै महिला आइनन्।' उनकी श्रीमतीले थपिन्, 'एक त आएकी थिई होइन र ? ' अब नहाँसी सुख ?
०००
समाजवादी ट्याग लागेका यी लेखकलाई बारम्बार सोधिँदो रहेछ, 'समाजवाद त खत्तम भइसक्यो नि ? ' उनी भन्दा रहेछन्, 'के लोकतन्त्र खत्तम भएको छैन र ? १७८९ मा फ्रान्सेली क्रान्ति भएको थियो लोकतन्त्रका लागि। लोकतन्त्रको तीन नारा दिइएको थियो— समानता, बन्धुत्व र स्वतन्त्रता। तर, लोकतन्त्रमा आज कहाँ छ समानता, बन्धुत्व र स्वतन्त्रता ? '

प्रसंगमै उनले आफूलाई साह्रै मन पर्ने भन्दै पोल्यान्डका कवि तदेउसरोजेविचको 'शब्दहरू' शीर्षकको एक कविता सुनाए ः

'शब्दहरू जुन छन्
टेलिभिजनमा सुन्दर ओठहरूबाट

चुँइंगम बनेर निस्किरहेका छन्,
र, बेलुन बनेर फुटिरहेका छन्,

शब्दहरू जुन छनराजनीति नेताको दाँत चम्काउन र
कुल्ला गर्न काम आउँछन्,

शब्दहरू जुन छन्
अखबारहरूमा छापिन्छन्
ती गल्लीहरूमा फ्याँकिन्छनर सडिजान्छन्..!

उदय प्रकाशसँग सधैं सोधिने प्रश्नका बग्रेल्ती उत्तरहरू धेरैपटक छापिइसकेका छन्। त्यसैले त्यतापट्टि जाने मन थिएन। समय पनि घर्किसकेको थियो। फेस्टिभलतिर पनि जानु थियो। उनलाई पनि होटल गएर फ्रेस हुनु थियो। रेस्टुरेन्टबाट दिन माछापुच्छ्रेबाट उँभो लागिसकेको थियो।

Yamaha

प्रतिकृया दिनुहोस

dishhomeapp